`

टिकट र तालमेलको टुङ्गो लगाउँदै कांग्रेस, आज सानेपामा कार्यसम्पादन समितिको वैठक

Nepal One HD २२ पुष २०८२ ८:०२
समाचार

काठमाडौँ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उम्मेदवार छनोट, सिट बाँडफाँट र अन्य दलसँगको चुनावी समन्वयबारे निर्णायक छलफल हुने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन २०८२ का विविध पक्षमाथि प्रारम्भिक विमर्श भएको थियो । तर सबै पदाधिकारी तथा सदस्यहरूको धारणा राख्ने क्रम पूरा नभएकाले बैठक आज पुनः बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजोको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार तथा कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्ना धारणा राखेका थिए । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा तथा प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आफ्नो मत व्यक्त गरेका थिए ।

आजको बैठक मूलतः माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको रणनीति के हुने भन्नेमा केन्द्रित रहनेछ । उम्मेदवार चयनका मापदण्ड, सुरक्षित सिटको पहिचान र गठबन्धनभित्रको समन्वय प्रमुख एजेण्डा हुने बताइएको छ । गठबन्धन दलहरू र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चलिरहेको सिट बाँडफाँटको रस्साकस्सीलाई टुंग्याउन नेतृत्वलाई आवश्यक म्यान्डेट दिने तयारीमा बैठक रहेको बुझिन्छ ।

यसैबीच, सोमबार साँझ कार्यवाहक सभापति खड्काले भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त संवादलाई राष्ट्रियसभा निर्वाचनमा सहमतिको आधार खोज्ने प्रयासका रूपमा हेरिएको छ । आजको बैठकले यही संवादको जगमा टेकेर उम्मेदवार छनोट र गठबन्धनको अन्तिम खाका कोर्ने अपेक्षा गरिएको छ ।

संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रियसभामा आफ्नो प्रभाव कायम राख्न चाहेको कांग्रेसका लागि आजको बैठक निर्णायक मानिएको छ । अब सानेपामा चल्ने विमर्शले कांग्रेसको चुनावी दिशा र गठबन्धनको स्वरूप कति स्पष्ट बनाउँछ, त्यसतर्फ राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *