आफू निकट विशेष महाधिवेशन पक्षधरसँग शेखर कोइरालाको छलफल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी विकल्पको खोजीका लागि नेताहरू खटाएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि धकेलेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले मध्यमार्गी विकल्पको खोजीका लागि आफू नकिट नेताहरूलाई खटाएका हुन् । विधानअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने र विशेषको औचित्य समाप्त भइसकेको अडानका कारण कांग्रेसमा विवाद चर्किएको छ ।
नेता कोइरालाले सोमबार बिहान बसुन्धरास्थित निवासमा आफू निकट (विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेकासहित) नेताहरूसँग सम्भावित मध्यमार्गी विकल्पबारे छलफल गरेका छन् । छलफलमा सहमहामत्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, हस्ताक्षर अभियानको नेतृत्व गर्नेमध्येका देवराज चालिसेलगायतको सहभागिता थियो । ‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनु भएको थियो,’ छलफलमा सहभागी नेता पोखरेलले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नु भएको छ ।’
नेता कोइरालासँगको छलफलपछि चालिसे हस्ताक्षरका लागि अभियान सञ्चालन गरेका नेताहरूसँग परामर्शमा जुटेको पोखरेलले जानकारी दिए । ‘देवराजजी आफ्नो टिमसँग छलफल गर्दै हुनुहुन्छ,’ नेता पोखरेलले भने, ‘शेखर दाइले हामीहरूलाई पनि कसरी मिलाउन सकिन्छ भनेर संवाद गर्न लगाइरहनुभएको छ । एकछिन पछि देवराजजी र हामी फेरि भेट्छौं ।’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७–२८ का लागि गरेको विशेष महाधिवेशनको आह्वानको विपक्षमा उभिएका नेता कोइरालाले आफू निकट विशेष महाधिवेशन पक्षधरलाई मनाउने प्रयास गरिरहेका छन् । पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८–३१ का लागि नियमित महाधिवेशन तोकेपछि विशेष महाधिवेशन पक्षधर नेतालाई पार्टीको निर्णय बाहिर नजान कोइरालाको सुझाव छ ।
