`

विशेष महाधिवेशनलाई ‘काउण्टर’ दिन देउवा पक्ष सक्रिय, तीन छुट्टाछुट्टै भेला तय

Nepal One HD २४ पुष २०८२ १४:०३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको आन्तरिक विवादबीच संस्थापन पक्षले काउन्टर रणनीतिलाई तीव्र बनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले केन्द्रीय सदस्य, युवा तथा जिल्ला सभापतिहरूको छुट्टाछुट्टै भेला गर्ने निर्णय गरेको हो ।

सभापति देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले शुक्रबार बिहान साढे १० बजे केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा हुने उक्त भेलामा संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यसहित केन्द्रीय सदस्यहरू मात्रै सहभागी हुनेछन् । शीर्ष नेताहरूलाई भने जानाजानी नबोलाइएको संस्थापन पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार भेलाको मुख्य एजेन्डा विशेष महाधिवेशनलाई कसरी काउन्टर गर्ने भन्ने विषयमै केन्द्रित हुनेछ । ‘भोलि केन्द्रीय सदस्यहरूबीच मात्रै छलफल हुन्छ, विशेष महाधिवेशनको रणनीतिबारे स्पष्ट धारणा बनाइन्छ’, ती नेताले बताए । यस्तै, विशेष महाधिवेशन हुने भनिएको दिनमै संस्थापन पक्षले पार्टी कार्यालयमै शक्ति प्रदर्शनजस्तै कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । हालै सभापति देउवा निवासमा बसेको संस्थापन पक्षका शीर्ष नेताहरूको बैठकले पुस २७ गते तरुण दलको आयोजनामा युवा भेला गर्ने र पुस २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो ।

पुस २७ गते हुने युवा भेलाको संयोजन तरुण दलका अध्यक्ष विद्वान गुरुङले गर्नेछन् भने २८ गतेको जिल्ला सभापति भेलाको समन्वय केन्द्रीय सदस्य जीतजंग बस्नेत र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई जिम्मा दिइएको छ । देउवा निवासमा भएको बैठकमा सभापति देउवासहित बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत नेताहरू सहभागी थिए । बैठकपछि बाहिरिएका एक नेताका अनुसार विशेष महाधिवेशनलाई असंवैधानिक र पार्टी विधानविपरीत ठहर गर्दै त्यसविरुद्ध संगठनात्मक रूपमा सशक्त सन्देश दिने तयारी गरिएको छ ।

‘विभिन्न तहका कार्यक्रममार्फत संस्थापन पक्षको धारणा स्पष्ट पार्ने तयारी भइरहेको छ’, उनले भने । महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी भइरहँदा, त्यसलाई रोक्न वा कमजोर पार्न संस्थापन पक्ष समानान्तर कार्यक्रममार्फत दबाब बढाउने रणनीतिमा देखिएको छ । यसले कांग्रेसको आन्तरिक राजनीतिक द्वन्द्व आगामी दिनमा अझ चर्किने संकेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *