`

विशेष महाधिवेशन पक्षधरले भने–अब विशेष महाधिवेशनको विकल्प रहेन, बोलाउनै पर्छ

Nepal One HD १८ पुष २०८२ १२:४९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग पुनः तीव्र बनेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले अब अरू कुनै विकल्प बाँकी नरहेकाले पार्टीले अनिवार्य रूपमा विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्ष सार्वजनिक गरेका छन् । शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न पार्टी केन्द्रको जिम्मेवारी रहेको बताए । उनले यो माग कसैको जित–हारका रूपमा नभई पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउने अवसरका रूपमा बुझ्न नेतृत्वलाई आग्रह गरे ।

पोखरेलले भने, ‘हामीलाई विश्वास छ, केन्द्रले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्नेछ । यो माग पार्टी एकता कायम राख्दै जनताप्रति जवाफदेही बन्ने ऐतिहासिक अवसर हो । विशेष महाधिवेशनमार्फत कांग्रेसलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र एकतासहित अघि बढाउन सकिन्छ ।’
उनका अनुसार असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । त्यसपछि नियमित महाधिवेशन गर्ने आश्वासन आएपछि केही समय माग स्थगित भए पनि कार्यतालिका सार्वजनिक भएपछि फेरि विषय सतहमा आएको हो । बिहीबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत विशेष महाधिवेशनको पक्षमा सक्रिय देखिएका छन् ।

पोखरेलले पार्टीले घोषित समयमै महाधिवेशन नगरी मिति सार्ने सुविधा नपाउने स्पष्ट चेतावनी दिँदै भने, ‘हामीले पहिल्यै भनेका थियौँ-घोषित समयमा महाधिवेशन नगरे विशेष महाधिवेशनको माग स्वतः जीवित रहन्छ । असोज २९ मा दर्ता भएको माग कार्यान्वयन गर्नु पार्टीको बाध्यकारी कर्तव्य हो।’ उनले विशेष महाधिवेशन कुनै ‘विकल्प’ वा ‘छनोट’ नभई महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबी गरे । ‘लोकतान्त्रिक पार्टी भएर पनि यदि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको कुरा गरेर जनतामाझ जाने नैतिक आधार कसरी रहन्छ ?’ उनले प्रश्न गरे ।

पत्रकार सम्मेलनमै विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनको प्रयास भनेर आलोचना गरिँदै आएको विषयमा पनि नेताहरूले स्पष्ट जवाफ दिएका छन् । नेता देवराज चालिसेले विशेष महाधिवेशनले पार्टी फुट्ने होइन, बरु एकता बलियो बनाउने बताए । ‘विधानअनुसार महाधिवेशन माग गर्दा कसरी पार्टी विभाजन हुन्छ ?’ चालिसेले प्रश्न गरे । उनले सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उनले पार्टीलाई क्षतविक्षत बनाउने कल्पना गर्न नसकिने बताए ।

‘जुन पार्टीले नेताहरूलाई यो हैसियत दियो, त्यही पार्टीलाई दुर्घटनामा लैजान्छन् भन्ने सोच नै गलत हो’, उनले भने, ‘सबै पक्षले विन–विन गर्ने बाटो खोज्नुपर्छ। एकता बहसबाट आउँछ, तर त्यो सकारात्मक हुनुपर्छ ।’ ५४.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन हुँदा विभाजनको प्रश्न उठ्नु नै अस्वाभाविक भएको चालिसेको तर्क छ । ‘हामीले कसैलाई बाध्य बनाएका होइनौँ, विधानले दिएको अधिकार प्रयोग गरेका हौँ’, उनले भने । अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सडकमा हुलहुज्जत गर्ने होइन । विधानले यही बाटो दिएको छ भने त्यसैअनुसार अघि बढ्ने हो ।’ कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कँदै जाँदा अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले राजनीतिक वृत्तको ध्यान तानेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *