`

कांग्रेसले विशेष महाधिवेशनबाट गगनलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्छ : मन्सुर

Nepal One HD १८ पुष २०८२ १६:४७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै महामन्त्री गगनकुमार थापालाई सभापति र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै मन्सुरले नियमित महाधिवेशनका लागि समय र अवस्था अनुकूल नभएकाले विशेष महाधिवेशन नै व्यवहारिक विकल्प भएको दाबी गरे ।

उनका अनुसार कांग्रेसभित्र देखिएको जटिलता समाधान गर्न र जनताको विश्वास जित्न गगन थापाको नेतृत्व आवश्यक छ । ‘आम नेपाली जनताले गगनमाथि भरोसा गरेका छन् । देश र पार्टीभित्रका समस्या पार लगाउन उहाँ सक्षम हुनुहुन्छ’, मन्सुरले भने, ‘त्यसैले विशेष महाधिवेशन गरेर उहाँलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस चुनावमा जानुपर्छ ।’

उनले पार्टीभित्र परिवर्तनविरोधी शक्तिहरूले महाधिवेशन रोक्न खोजेको आरोप पनि लगाए । महाधिवेशनपछि आफ्नो प्रभाव घट्ने र चुनावमा टिकट बाँड्ने अधिकार गुम्ने डरले केही पदाधिकारीहरू प्रक्रिया अवरुद्ध गर्न लागेको उनको भनाइ छ । मन्सुरले कांग्रेस नयाँ नेतृत्व, नीति र स्पष्ट कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्नेमा जोड दिँदै महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमार्फतै नेतृत्व चयन गरी पार्टीलाई पुनर्जीवित गर्नुपर्ने उनको निष्कर्ष छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *