कांग्रेसको विशेष महाधिवेशनका लागि हल ‘बुकिङ’, दुई महामन्त्रीले संयुक्त आह्वान गर्दै
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक राजनीति तातेको छ । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौँको भृकुटीमण्डमा हल ‘बुकिङ’ गर्दै तयारी तीव्र पारेका छन् भने अर्कोतिर सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न संस्थापन पक्षसँग परामर्शमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार, नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि विधानअनुसार विशेष महाधिवेशनको बाटो रोज्न बाध्य भएको उनीहरूको दाबी छ । गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भइसकेको थियो । कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यसअघि दुवै पक्षबीच पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन ।
यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । महामन्त्री थापाले यसअघि नै पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरिसकेका छन् । उता, सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनको जोखिम बढाउने तर्क गर्दै त्यसको विपक्षमा छन् ।
विशेष महाधिवेशन रोक्ने रणनीतिका लागि देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् । सोही क्रममा उनले बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका छन् । स्रोतका अनुसार देउवाले विशेष महाधिवेशन पक्षधरहरूको गतिविधि–हल खोज्ने, विधानसम्बन्धी तयारी गर्ने लगायतका काम तीव्र भएपछि त्यसलाई कसरी रोक्ने भन्ने विषयमा ‘काउन्टर मुभ’ बारे परामर्श गरेका हुन् । यसरी, एकातिर विशेष महाधिवेशनको तयारी औपचारिक चरणमा प्रवेश गरिरहेको छ भने अर्कोतिर पार्टी नेतृत्व त्यसलाई रोक्न सक्रिय देखिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्षले आगामी दिनमा पार्टीको दिशा र एकतामाथि गहिरो प्रभाव पार्ने देखिएको छ ।
