`

दुई दशकदेखि भारतमा व्यापार गरिरहेका व्यक्ति कांग्रेसको समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति डा. सरोज कुमारले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र पठाएर समानुपातिक उम्मेदवार छनोटमा ध्यानाकर्षण गराएका छन् । उनले बुधबार पठाएको ध्यानाकर्षण पत्रमा पार्टी संगठनमा नभएका व्यक्ति मो. अन्सार खाँलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खाँलाई मुस्लिम क्लस्टरमा राखिएको छ ।

पत्रमा भनिएको छ, ‘सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएका मो. अन्सार खाँ कहि कुनै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो ।’ उनी भारतमा बसेर व्यापार गर्दै आएको पत्रमा स्मरण गराइएको छ । ‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेका व्यक्ति कसरी कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ?’ प्रश्न गरिएको छ ।

यसलाई सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘पार्टी संगठनमा दिनरात काम गर्ने, पार्टी भनेर जीवन नै समर्पण गर्ने आदरणीय साथीहरूको मनोभावना कुल्ची, अन्याय गरि एक्कासी पहुँच, पैसा, पावरको भरमा आउने यी र यस्ता नामहरूको घोर निन्दा तथा भत्र्सना गर्दै नामावली यथाशिघ्र सच्याउन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछौँ ।’

 

 

मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक विधि नमान्दा देशमा झन ठूलो समस्या दोहोरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने भन्दै दुवै दिन कानुन मिच्नेहरूमाथि कारबाही हुनुपर्ने स्पष्ट पारे । महतले भदौ २३ गते उठाइएका मागहरू ठिक भएको बताए । तर सरकारले त्यस दिन अत्यधिक बल प्रयोग गरेको स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकार सुन्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘तर २४ गते भएको विध्वंश पनि गलत हो ।’ उनले २३ गते कानुन मिच्ने र २४ गते कानुन मिच्ने दुवैलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताए । आफूलाई भगाउने व्यक्ति पक्राउ परे पनि लुटपाट गर्ने व्यक्ति भने नसमातिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन,’ उनले भने, ‘अदालतमा पठाएपछि बाहिर आएको हो ।’ महतका अनुसार २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्न मिल्दैन। उनले लोकतान्त्रिक विधि नअपनाउँदा समस्या निरन्तर दोहोरिने बताए । देश निर्वाचनतर्फ गइसकेको उल्लेख गर्दै उनले नयाँ संसद्ले विगतका कमी–कमजोरीको समीक्षा गर्ने बताए ।

भदौ २४ गतेको घटनाले देशलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै अन्तर्राष्ट्रिय आंकलनअनुसार करिब दुई वर्षको बजेट बराबर नोक्सानी भएको उनले दाबी गरे । उनले त्यस घटनाले लगानीको वातावरण अत्यन्तै खराब बनेको बताए । विदेशी लगानी आउन नसकेको र स्वदेशी पुँजी पलायन तीव्र रूपमा भइरहेको उनको भनाइ छ । ‘महत्वाकांक्षा धेरै छ, तर उपलब्धि पुगेको छैन,’ उनले भने, ‘रोजगारी हुँदाहुँदै पनि विदेश जाने प्रवृत्ति बढेको छ ।’ महतले समाज सामाजिक सञ्जाल र भावनामा बग्नु अहिले विश्वव्यापी चुनौती बनेको बताए । सबै समस्याको समाधान कानुनभित्रै खोज्नुपर्नेमा जोड दिँदै उनले २३ र २४ दुबै दिनका दोषीलाई अनिवार्य रूपमा कारबाही गर्नुपर्ने बताए । ‘कानुनी शासन सबैले पालना गर्नुपर्छ,’ उनले भने, ‘यसले मात्रै लगानीको वातावरण बन्छ । अहिले यत्तिकै छोडियो भने भोलि फेरि यस्तै हुनसक्छ, त्यसैले कानुनी दायरामा ल्याउनै पर्छ ।’

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् । राष्ट्रिय एकता र मेलमिलापको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दैं उनले विशेष महाधिवेशनको पक्षमा आफूलाई साथ दिन आह्वान गरेका छन् । उनले भने, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’ गगनले आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंहलगायतका नेता नेपाल फर्किएको दिनको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको गगनले बताएका छन् । उनले भनेका छन्, ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’
गगनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगानुकूल जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि राजनीतिक दौडमा

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि परेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्व राष्ट्रपति रामवरण यादवका छोरालाई राखिएको हो ।

खस आर्यमा महिलातर्फ राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल रहेकी छन् । संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । त्यस्तै, पूर्व राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक सूचीमा राखिएको छ । चन्द्रमोहन कांग्रेको केन्द्रीय सदस्य पनि हुन् । त्यस्तै, सोलुखुम्बाट पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि समानुपातिक सूचीमा छिन् ।
कांग्रेसको समानुपातिक उम्मेदवार सूची

कांग्रेस सभापतिमा पूर्ण, शेखर र गगनबीच प्रतिष्पर्धाको संकेत, देउवाकाे साथ कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा सभापतिका लागि त्रिकोणीय प्रतिष्पर्धा हुने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने सम्भावना रहेको बताउँदै पहिलो चरणमै नतिजा नआउने दाबी गरेका छन् ।

महाराजगञ्जस्थित निवासमा नेताहरू तथा शुभेच्छुकहरूसँगको अनौपचारिक भेटघाटमा देउवाले महाधिवेशन जुनसुकै समयमा भए पनि दोस्रो चरणमा मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको बताएका हुन् । ‘शेखर पनि लड्नु हुन्छ, पूर्णबहादुर त कार्यवाहक नै भएकाले लड्नु हुन्छ, गगन त लडिहाल्नु हुन्छ’, भन्दै देउवाले पहिलो चरणमै परिणाम आउने सम्भावना न्यून रहेको धारणा राखेका थिए ।

यद्यपि, पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले आफ्नो समर्थन स्पष्ट रूपमा पूर्णबहादुर खड्कालाई रहने बताएका छन् । उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्कालाई नै सहयोग गरेर अघि बढ्ने उनको भनाइ छ । ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि यही कुरा भनेको छु’, देउवाले स्पष्ट पारे । आफू भने अब सभापतिको उम्मेदवार नहुने देउवाले दोहोर्‍याएका छन् । विधानअनुसार तीन पटकभन्दा बढी सभापति हुन नमिल्ने उल्लेख गर्दै उनले भावी नेतृत्वलाई आवश्यक परे सल्लाह दिने तर प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका छन् । ‘म गिरिजाबाबुसँग पनि लडेको हुँ, शेखर–गगन पनि मसँग लडेका हुन्’, भन्दै उनले पार्टीभित्र प्रतिष्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिने बताएका छन् ।

डा. शेखर कोइराला र गगन थापा सभापतिको दाबेदार हुने चर्चा चलिरहे पनि औपचारिक रूपमा सहयोग मागेर आफू कहाँ नआएको देउवाले बताएका छन् । गगन थापा भने भेटघाटका क्रममा आए पनि आफूले खड्कालाई सहयोग गर्ने कुरा स्पष्ट रूपमा सुनाएको देउवाको भनाइ छ । विशेष महाधिवेशनको बहसबारे देउवाले नकारात्मक धारणा राखेका छन् । निर्वाचनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै त्यसले पार्टीभित्र थप तिक्तता बढाउने उनको तर्क छ । ‘महाधिवेशनमा हार्नेको रिस चुनावमा असर गर्छ’, भन्दै उनले निर्वाचनअघि नेतृत्व परिवर्तनको बहस अव्यावहारिक भएको बताए । समग्रमा, कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा सभापतिका लागि बहुपक्षीय प्रतिष्पर्धा देखिए पनि देउवाको राजनीतिक वजन भने पूर्णबहादुर खड्कातर्फ केन्द्रित हुँदै गएको स्पष्ट संकेत देखिन्छ ।

निर्वाचन हुने अवस्था छ कि छैन भन्ने प्रश्न गम्भीर छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मङ्गलवार मोरङ समाज काठमाडौँको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन् ।

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम प्रश्न रहेको उनले बताए । उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए । सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे ।

उनले भने ‘सबै राजनीतिक दलहरूले समानुपातिकको सूची पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहिँ अहम् प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्‍यो । शान्ति सुरक्षा त दिनसक्नु पर्‍यो । समाजमा शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ । प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ ।’

उनले भने, ‘नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ । बुथमा बस्ने भनेको प्रहरी नै हो । प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ । भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा । अर्को कुरा ५ हजार कैदीहरू जसमा सार्फ सुटरहरु पनि छन्, ती भागेका छन् । राज्यले खोज्नुपर्‍यो । लुटिएका हतियारहरू पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनु पर्छ भन्ने नेपाली कांग्रेसको मात्र होइन सबै दलहरूको माग हो ।’

नेता कोइरालाले २३ भदौमा भएको जेन–जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने बताए । यद्यपि २४ भदौमा भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उनको भनाइ छ । उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे । यो सब कांग्रेस–एमालेको सरकार हटाउनको लागि मात्र हो त ? उनको प्रश्न छ । उनले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरूको निकास निस्कन नसक्ने जिकिर गरे ।

कांग्रेसले पनि बुझायो उम्मेदवारको बन्दसूची, रामवरणका छोरादेखि को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसले रातिदेखि बिहानसम्मको कसरतपछि प्रतिनिधिसभाको समानुपातिक बन्दसूची बुझाएको छ । सूची बुझाउने अन्तिम समय गए रातिसम्म भएकाले हिजै कांग्रेसले निर्वाचन आयोगमा निस्सा राखेको थियो । पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुंगो लगाएको थियो ।

त्यही सूची लिएर प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्ण प्रसाद पौडेल राति आयोग पुगे पनि सूची सच्याउन भन्दै सभापति शेरबहादुर देउवाकहाँ गएका थिए । सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले बुझाएको छ । कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएपछि सूची बुझाउन ढिला भएको एक केन्द्रीय सदस्यले बताए ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । कोशी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

हेर्नुस् आंशिक सूची

भीष्मराज आङ्दम्बे
गोपालमान सिंह राजभण्डारी
थलकुमार लिंखा विजय सोम्बाहाम्फे
गीता गुरुङ गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरुङ गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रुक्मिणी देवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मिया
गोमा के.सी.

डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चन्द्रेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी

रामसुन्दर महरा
कन्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मो. अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव

रामनरेश कुशवाहा राजेन्द्र जयसवाल
प्रियन्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ता कुमारी तामाङ
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोद प्रकाश कायस्थ
डा. जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेन दास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
कमला राजभण्डारी
शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.
श्रीविनोद भट्टराई
सितादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
सर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा

विशेष महाधिवेशन हुँदै हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिष्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए पनि बाधक भने नबन्ने उनले स्पष्ट पारेका छन् ।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औं महाधिवेशनको प्रतिष्पर्धी नभएकाले तटस्थ रहने बताएका छन् । ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिष्पर्धामा असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नु हुन्छ भने मैले रोक्ने कुरा हुँदैन।’

देउवाले १५ औं महाधिवेशनमा विधानतः आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने बताए । विशेष महाधिवेशन भने नहुने उनको दाबी छ । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यस कारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’

कांग्रेस पनि बल्ल पुग्यो समानुपातिक उम्मेदवारको सूची बुझाउन

काठमाडौं । नेपाली कांग्रेसले ढिलो गरेर समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगले तोकेको अन्तिम समय नजिकिँदै गर्दा मंगलबार बिहान कांग्रेसका नेताहरू सूची लिएर आयोग पुगेका हुन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माको नेतृत्वमा नेताहरू आयोग पुगेका थिए। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समय दिएको थियो । कांग्रेस सोमबार नै सूची बुझाउने तयारीमा थियो, तर अन्तिम समयमा सूचीमा समेटिएका नामहरूमा हेरफेर गर्नुपरेपछि प्रक्रिया लम्बिएको नेताहरूको भनाइ छ ।

सूची बुझाउन थप ढिलाइ हुनुको अर्को कारण पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिनु रहेको बताइएको छ । डिजिटल हस्ताक्षर अस्वीकृत भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितका नेताहरू मंगलबार बिहान महाराजगञ्जस्थित देउवाको निवासमा पुगेर हस्ताक्षर गराएका थिए । त्यसपछि मात्र सूची आयोगमा पेस गरिएको हो । निर्वाचन आयोगले कांग्रेसले समयमै निवेदन दिइसकेको र उम्मेदवारको सनाखत प्रक्रिया पूरा भएकाले मंगलबार पनि सूची बुझाउन सकिने स्पष्ट पारेको थियो । कांग्रेसले यस पटक समानुपातिक उम्मेदवार छनोटमा नयाँ अनुहारलाई विशेष प्राथमिकता दिएको जनाएको छ । पार्टीका अनुसार २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि नेताको नाम यसपटकको सूचीमा समावेश गरिएको छैन ।

प्रचार विभाग प्रमुख विश्वकर्माले प्रादेशिक भूगोल र जनसंख्याका आधारमा प्रतिनिधित्वको कोटा निर्धारण गरेर उम्मेदवार छनोट गरिएको जानकारी दिए । उनका अनुसार समानुपातिक सूचीमा ५ प्रतिशतभन्दा बढी ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत भागबन्डा गरेर सूची तयार गरिएको कांग्रेसको भनाइ छ। समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे र वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम पनि समेटिएको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँडफाँट गरिएको कांग्रेसले जनाएको छ । त्यसअनुसार कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समावेश गरिएको छ । ढिलाइ भए पनि कांग्रेसले समावेशीता, पुस्तान्तरण र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखेर समानुपातिक सूची तयार गरेको दाबी गरेको छ ।

 

सहमहामन्त्री आङ्दम्बे कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बे समानुपातिकतर्फ उम्मेदवार बन्ने भएका छन् । उनी जनजाति समूहबाट समानुपातिकको बन्द सूचीमा रहने निश्चित भएको कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसका पदाधिकारीमध्ये आङ्दम्बे समानुपातिकको उम्मेदवार बन्ने भएका हुन् । गएको निर्वाचनमा पाँचथरबाट प्रत्यक्ष उम्मेदवार बनेका आङ्दम्बे नेकपा (एमाले) का वसन्त नेम्वाङसँग ४७ मतले पराजित भएका थिए । तर यस पटक उनी प्रत्यक्षतर्फको उम्मेदवार नै नबन्ने भएका हुन् । कांग्रेसले समानुपातिकको बन्द सूची टुंग्याउने अन्तिम तयारी गरिरहेको छ । निर्वाचन आयोगमा सोमबार बन्द सूची बुझाउने अन्तिम दिन हो ।

कांग्रेसको समानुपातिक सूची तयार, पहिलो नम्बरमा केसी

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची अन्तिम चरणमा पुर्‍याएको छ । केन्द्रीय कार्यसम्पादन तथा केन्द्रीय कार्यसमितिको बैठकले सूची अनुमोदन गरेपछि आजै निर्वाचन आयोगमा पेस गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । पार्टी स्रोतका अनुसार कांग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम राखिएको छ । ‘हालसम्म उहाँकै नाम एक नम्बरमा रहेको जानकारी आएको छ’, एक नेताले भने, ‘केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय भएपछि मात्रै अन्तिम सूची सार्वजनिक हुन्छ।’

समानुपातिक सूची तयार गर्ने जिम्मेवारी कांग्रेसले सातै प्रदेशका सात जना नेतालाई दिएको थियो । कोशी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाशशरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले आ–आफ्नो प्रदेशको सूची तयार गरी सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन् । ती सूचीहरूलाई समेट्दै अन्तिम रूप दिन केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको कांग्रेसले जनाएको छ । पार्टी नेतृत्वले समावेशीता, क्षेत्रीय सन्तुलन र पार्टीभित्रको सहमतिलाई आधार मानेर सूची टुंग्याएको बताइएको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा अर्जुननरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । पछि जेनजी आन्दोलनपछि उनले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका थिए । यस पटक भने उनी समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन दलहरूलाई आजसम्मको समय दिएको छ । संविधानअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० जना सदस्य चयन हुने व्यवस्था छ । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत ३२ जना उम्मेदवार निर्वाचित भएका थिए । सो निर्वाचनमा एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट जितेका थिए । यस पटकको सूचीले कांग्रेसको आगामी संसदीय उपस्थिति र आन्तरिक शक्ति सन्तुलन दुवैको संकेत गर्ने नेताहरूको बुझाइ छ ।

 

कांग्रेसले समानुपातिकमा नयाँलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवारमा नदोहोर्‍याउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिने छैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहने छन् ।’ कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ । निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि छ। कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका थिए ।

राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ । कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले आज अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदै सो माग गरेको हो । भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए ।

यही पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो । जनताका आवाज उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न कांग्रेसले माग गरेको थियो ।

सुध्रिन नसके कांग्रेसको चारैतिर चुनौति नै चुनौति छन् : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिन सके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् ।आइतबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गरे । उनले सुध्रिएर जनता माझ जानसके तल्लोेस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताए । कांग्रेस आफै लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गरे ।

उनले भने, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नु पर्दैन । कांग्रेस आफै लोकतन्त्रको संरक्षक, संवाहक हो ।’ कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताए । उनले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताए ।

उनले भने, ‘पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नु पर्ने हो । क्रियाशिल सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशिल सदस्यहरु दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’ नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताए ।

 

‘सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो चुनौति दिएका हुन् । उनले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउँँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यी नयाँ पार्टीहरु कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ ।’ उनले भने, ‘युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यी गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन ।’ उनले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताए । उनले फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी समेत दिए ।

 

 

 

रवि–बालेन सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए ।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नु पर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

चुनावमा जान वातावरण र सुरक्षाको व्यवस्था हुनुपर्‍यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा शनिबार बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनु पर्ने बताएका हुन् । ‘कांग्रेसलगायत सबै पार्टीहरू चुनावमा जान तयार छन्, तर वातावरण बनिसकेको छै, वातावरण बनाउनुपर्‍यो, सुरक्षाको व्यवस्था हुनुपर्‍यो,’ उनले भने ।

एमाले पनि चुनावमा जान तयार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही दिन यता बसिरहेको छ ।

यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । संस्थापनइतर मात्र नभएका संस्थापन पक्षका केही नेताहरूले समेत नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि शुक्रबार पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई स्मरण पत्र बुझाएका हुन् । यसअघि कांग्रेसले यही पुस २६–२८ मा १५ औं महाधिवेशन गर्नेगरि कार्यतालिका तय गरेको थियो ।

गगन–विश्वले भने–अब विशेष महाधिवेशन अनिवार्य बन्यो

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन समयमै हुन नसक्ने संकेत देखिएसँगै विशेष महाधिवेशनको बहस निर्णायक मोडमा पुगेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानले तोकेको समय सीमाभित्र नियमित महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशन अनिवार्य हुने स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री थापाले पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य दायित्व बन्ने बताए ।
उनले भने, ‘यदि पुसभित्र नियमित महाधिवेशन भएको भए ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको माग स्वतः सम्बोधन हुने थिया े। तर अब त्यो सम्भव नदेखिएकाले विशेष महाधिवेशन विधानको अनिवार्य व्यवस्था हो ।’ थापाले विशेष महाधिवेशनको प्रक्रिया र कार्यविधिबारे केन्द्रीय कार्यालयमा छलफल गरी निष्कर्षमा पुगिने पनि स्पष्ट पारे ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको धारणा पूर्ण रूपमा साझा रहेको बताउँदै विधानको पालना गर्नु पार्टी नेतृत्वको सामूहिक जिम्मेवारी भएको उल्लेख गरे । उनले भने, ‘विधानमा जे लेखिएको छ, त्यसलाई लागू गर्नु महामन्त्री, केन्द्रीय समिति र कार्यवाहक सभापति समेतको दायित्व हो । अब विशेष महाधिवेशनको स्पष्ट कार्यतालिका बनाउन कार्यसम्पादन समितिमा प्रस्ताव लैजान्छौँ ।’ यसैबीच, विशेष महाधिवेशन पक्षधर समूहले पार्टीले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिकामाथि कडा असन्तुष्टि जनाएको छ । उनीहरूले उक्त कार्यतालिका ‘प्रथम दृष्टिमै अविश्वसनीय’ रहेको निष्कर्ष निकाल्दै नियमित महाधिवेशन गर्ने गम्भीर प्रयास वा स्पष्ट नियत नदेखिएको आरोप लगाएका छन् ।

कार्यवाहक सभापतिलाई बुझाइएको स्मरण पत्रमा उनीहरूले विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न माग गरिएको उल्लेख गरेका छन् । अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम स्वतः विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको माग छ ।पत्रमा उल्लेख भएअनुसार, २४८८ जना महाधिवेशन प्रतिनिधि (५४.५८ प्रतिशत) ले २०८२ असोज २९ गते विशेष महाधिवेशनको मागसहित पार्टी केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गरिसकेका छन् । पक्षधरहरूले प्रारम्भमा केन्द्रीय कार्यसमितिलाई ‘शङ्काको सुविधा’ दिँदै केही समय पर्खिए पनि पछिल्ला केन्द्रीय समिति बैठक र त्यसपछिका गतिविधिले समयमै महाधिवेशन गर्ने इच्छाशक्ति नदेखाएको निष्कर्षमा पुगेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरहरूको यो दबाब, महामन्त्रीद्वयको सार्वजनिक समर्थन र विधानको स्पष्ट व्यवस्थाले नेपाली कांग्रेसभित्र आगामी दिनमा विशेष महाधिवेशनको राजनीतिक बहस झनै तीव्र हुने संकेत देखिएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण–पत्र

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण–पत्र बुझाएको छ । नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरुले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण–पत्र बुझाएका हुन् । नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको जानकारी दिए । देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।

सञ्चारमन्त्रीलाई देउवाले भने–सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने विश्वासिलो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन् । सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन् । देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्ने छन् । सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।

देउवालाई भेट्न महाराजगञ्ज पुगे सञ्चारमन्त्री खरेल, आजै ओली र प्रचण्डलाई भेट्दै

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।

देउवालाई भेटेपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्ने छन् । अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ । यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्रता दिएको छ । साथै यसबीच सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको छ ।

कांग्रेसमा अब महाधिवेशन कि चुनाव ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको अन्योल झन गहिरो बनाएको छ । क्रियाशील सदस्यता टुंग्याउन नसक्दा महाधिवेशन तालिका हेरफेर हुनसक्ने चर्चा चलिरहेका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशनअघि नेतृत्व परिवर्तन नभए संसदीय निर्वाचन नलड्ने घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।

बैठकमा महामन्त्री शर्माले अबको १६ दिनमै क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरे । महाधिवेशनको मिति केही दिन सार्न सकिने उनको संकेत थियो । तर प्रगति न्यून देखिँदा दुवै महामन्त्री आक्रामक रूपमा प्रस्तुत भए ।

गगन थापाले फागुन २१ को निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको भन्दै त्यसो नभए आफू चुनाव नलड्ने स्पष्ट चेतावनी दिए । ‘नेतृत्व नफेरिए चुनावमा जान सकिन्न, अरू लड्नुस्, म लड्दिनँ,’ उनको भनाइ थियो । झापा–१ बाट एकल सिफारिस भएका विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा दोहोर्‍याउँदै नयाँ र युवा उम्मेदवार अघि सार्नुपर्ने तर्क गरे ।

महामन्त्रीहरूको यस्तो अभिव्यक्तिपछि बैठकमा चर्को असन्तुष्टि देखियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आक्रोशित हुँदै महामन्त्रीहरूको अभिव्यक्तिले कांग्रेस कमजोर देखिएको आरोप लगाए । ‘नेतृत्व परिवर्तनले मात्र होइन, एकताले पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।

महाधिवेशनको तालिका सार्वजनिक भए पनि क्रियाशील सदस्यता र तल्ला तहका अधिवेशनमै अड्किएको कांग्रेसमा अब ‘महाधिवेशन कि चुनाव’ भन्ने बहस निर्णायक मोडमा पुगेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ः०० बजे बैठक पुनः बस्ने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरू बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसकेका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको बताएका छन् । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने उनको भनाइ छ । निर्णायक ‘क्याम्पेनर’ मानिने महामन्त्रीहरू नै चुनावबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेस आगामी निर्वाचनमा कुन बाटो समात्छ भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।

गगनलाई महतले भने–जिम्मेवार भएर बोल्नू

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई जिम्मेवार भएर बोल्न आग्रह गरेका छन् । आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा प्रवक्ता महतले सबैले जिम्मेवार हुनुपर्ने बताए ।महामन्त्री थापाले बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक सभापति दिएको आरोप लगाएका थिए ।

त्यसबारे सोधिएको प्रश्नको उत्तरमा प्रवक्ता महतले भने, ‘उहाँ (गगन थापा) त पार्टीको महामन्त्री । उहाँबाट देशभरका नेता कार्यकर्ताले जिम्मेवारीको अपेक्षा गर्छन् । त्यसैले यी विषयलाई हामी कसैले पनि अतिरञ्जित तरिकाबाट सार्वजनिक गर्नु हुँदैन ।’ महाधिवेशनलाई लिएर सभापति देउवालाई दोष दिएर पन्छिन नहुने महतको भनाइ थियो । ‘अहिले कसैलाई दोष दिने कुरा छैन । सभापतिले कार्यवाहक दिएर सम्पूर्ण जिम्मेवारी दिनु भएको छ । उहाँ (पूर्णबहादुर खड्का) ले मिटिङ सञ्चालन गरिराख्नु भएको छ ।’

त्यस्तै, जिल्ला तथा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्तालाई दोषारोपण नगर्न पनि महतले आग्रह गरेका छन् । जिल्लाबाट तदारुकताका साथ काम भइरहेको बताउँदै बरु केन्द्रबाटै कमिकमजोरी भएको उनको भनाइ थियो । ‘एक–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ,’ महतले भने, ‘जिल्लाका साथीहरूलाई दोष दिनु हुँदैन । कतिपय यतैबाट कमिकमजोरी भएका छन् ।’ क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारममा क्रम संख्या उल्लेख नभएको पाइएको थियो । जसले गर्दा क्रियाशील सदस्यता वितरणमा ढिलाइ भएको थियो । केन्द्रबाट महामन्त्रीले नै फारम पठाउने व्यवस्था छ ।

 

 

बालेन र कांग्रेस नेता शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढाएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको उक्त भेटमा संसद् पुनः स्थापनाको सम्भावना र त्यसका राजनीतिक प्रभावबारे छलफल केन्द्रित रहेको डा. शर्माले बताएका छन् ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. शर्माले संसद् पुनःस्थापना भए के–के परिणाम आउन सक्छन् र त्यसले मुलुकको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा संवाद भएको बताए । उनका अनुसार छलफल तथ्य र सम्भावनामा आधारित थियो, कुनै ठोस निष्कर्ष वा निर्णयमा भने नपुगेको संकेत उनले दिए ।

अन्य राजनीतिक दल वा समूहसँग बालेन शाहले गरिरहेको सम्भावित छलफलका विषयमा आफूलाई जानकारी नभएको भन्दै डा. शर्माले भने, ‘अरूसँग के भइरहेको छ, त्यो मलाई थाहा हुने कुरा भएन ।’ यसले भेटलाई दुई व्यक्तिबीचको विचार–विमर्शको रूपमा सीमित राखिएको बुझाइ दिन्छ ।
राजनीतिक भविष्यबारे सोधिएको प्रश्नमा डा. शर्माले आफू नेपाली कांग्रेसमै रहने स्पष्ट पारे । कांग्रेस छोड्ने अड्कलबाजीलाई खारेज गर्दै उनले ५–१० वर्षपछि पार्टी नेतृत्वको आकांक्षा व्यक्त गरे ।

‘हामी कांग्रेसमै बसेर ५-१० वर्षपछि सभापति हुने मान्छे हौं’, उनले भने, ‘कहाँ छोड्छौं र ?’ यो भेटलाई लिएर विभिन्न कोणबाट व्याख्या भइरहेका बेला दुवै पक्षले औपचारिक राजनीतिक सहकार्यको घोषणा नगरे पनि, वर्तमान राजनीतिक तरलतामा यस्ता संवादहरूले बहसलाई थप गतिशील बनाउने देखिन्छ । संसद् पुनः स्थापना जस्ता संवेदनशील विषयमा विचार आदान–प्रदान हुनु लोकतान्त्रिक अभ्यासकै अंश भएको टिप्पणी पनि हुन थालेको छ ।

 

 

कांग्रेसको पार्टी कार्यालय यसरी हुँदैछ पुनर्निर्माण {तस्वीरहरु}

काठमाडौं । भदौं २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनर्निर्माण धमाधम भईरहेको छ । प्रदर्शनकारीहरु गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेर नष्ट भएको थियो । अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ ।

डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्प्युटर जस्ता सामान पनि जलेको थियो । भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

तस्वीर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसभित्र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भई बयान दिनुपर्ने विषयमा व्यापक छलफल भएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धानका क्रममा लेखकलाई बयानका लागि बोलाएपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकमा यो विषय उठाइएको हो ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरूले लेखकले आयोगमा उपस्थित भएर बयान दिनु नै उपयुक्त हुने धारणा राखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा आयोगले बयानका लागि बोलाएको विषयमा गम्भीर छलफल भएको थियो। ‘उहाँलाई बयानमा बोलाइएको विषयमा छलफल भयो । अधिकांश नेताहरूले बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिनुभएको छ’, उनले पत्रकारहरूलाई बताए ।

केन्द्रीय समिति बैठकमा पनि यही विषय दोहोरिएको थियो । आयोगले औपचारिक रूपमा पत्र पठाएर लेखकलाई बयानका लागि बोलाइसकेको सन्दर्भमा पार्टीभित्र पारदर्शिता र संस्थागत जिम्मेवारी देखिनुपर्ने मत धेरै नेताहरूले व्यक्त गरेका थिए । नेताहरूले आयोगसँग सहकार्य गर्नुले पार्टी र नेताको विश्वसनीयता बढ्ने धारणा राखेका छन् । यद्यपि, कांग्रेसभित्रै केही फरक मत पनि देखिएको छ ।

स्रोतका अनुसार लेखक बयान दिन तयार रहेको मनस्थितिमा भए पनि पार्टी सभापति शेरबहादुर देउवाबाट नजान दबाब परेको दाबी केही नेताहरूले गरेका छन् । यसबारे पार्टीले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक नगरे पनि आन्तरिक छलफलले लेखकलाई बयानमा जान सकारात्मक सन्देश दिएको देखिन्छ । आयोगले भदौ २३ र २४ गते भएका घटनाको तथ्य र जिम्मेवारी पहिचान गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूसँग बयान लिँदै आएको छ । यस्तो अवस्थामा तत्कालीन गृहमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेसभित्र बहुमत नेताहरूले कानून र प्रक्रियाप्रति सम्मान देखाउँदै आयोगसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

 

 

प्रदेशको समानुपातिक सूचीका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने पनि उनले बताएका छन् ।

१५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए । उनकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको बताए ।

उनले भने, ‘बैठकमा पार्टीको महाधिवशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्री ज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूचि पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो । यसमा अझै काम गर्ने विषय उहाँले राख्नुभयो । अनुशासन समितिका संयाजकले पनि अनुशासन समितिले गरेको कारबाही र समितिमा परेका निवेदनका विषयमा पनि कुरा राख्नुभयो । यसमा केही साथीहरु आज बोल्नु भयो ।’

उनले भने, ‘भोलि फेरि १ बजे कार्यसम्पादन समितिको बैठक बस्छ र महाधिवेशनको कार्यतालिका सम्बन्धमा र समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल अगाडि बढ्छ । प्रदेश सभाको बन्दसूचीमा रहेका साथिहरुले त्यहाँबाट आफ्नो नाम हटाएर अन्यत्रै जान चाहेका १९ जनाको सूचि बैठकले पास गरेको छ । यसबारे निर्वाचन आयोगलाई जानकारी दिने कुरा भएको छ । महामन्त्रीले वडा र क्षेत्रीय महाधिवेशन गरेर एकैचोटि केन्द्रको महाधिवेशन गर्ने कुरा राख्नु भयो । क्रियाशीलको काम समयमै नसकिने उहाँको भनाइ थियो । त्यसमा अन्य साथीहरुले कार्यतालिकालाई व्यवहारिक हुने किसिमले निर्णय गर्नुपर्ने कुरा राख्नु भयो ।’ कार्यसम्पादन समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिएका छन् ।

 

खड्का नाम मात्रका कार्यवाहक, शक्ति सबै देउवामै : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रको कार्यवाहक दिएर कांग्रेस आफैंले चलाएको आरोप लगाएका छन् । थापाले कार्यतालिका संशोधन गरेर गतिका साथ अगाडि नबढे विशेष महाधिवेशनमा जानुको विकल्प नहुने बताएका छन् ।

बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले नाम मात्रको कार्यवाहक दिएर सभापतिले शक्तिको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । देउवाकै कारण महाधिवेशन प्रभावित भएको उनले बताए । ‘सभापतिजीले कार्यवाहक दिनुभयो, नाम मात्रको कार्यवाहक दिनुभयो । उहाँ यहाँको बैठकमा आउनु भएको छैन बाँकी रहेको शक्ति त्यहीबाट अभ्यास भइरहेको छ,’ थापाले भने । देउवाले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए । महामन्त्री थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा जान नसक्ने बताए ।

‘कार्यतालिका संशोधन गरेर गतिका साथ अधिवेशनमा जाने निर्णय भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ थापाले भने, ‘अधिवेशन नगरी, नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान हुँदैन । कांग्रेसप्रति चिन्ता भएका सबैले यो बुझ्नु पर्छ ।’ पुस २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन समयमा नहुने देखिए पछि कांग्रेसले कार्यसम्पादन समितिमा छलफल शुरू गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार पुनः बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

कांग्रेस महाधिवेशन कार्यतालिका अन्योलमा, तीन तहको अधिवेशन प्रस्तावमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा पार्टीको आगामी महाधिवेशन कार्यतालिका पुनः अन्योलमा परेको छ । समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनको तयारी, राष्ट्रियसभा निर्वाचन र उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा केन्द्रित बैठकमा मुख्य चासो भने महाधिवेशन समयमै सम्पन्न गर्न सकिने–नसकिने विषयमै देखिएको छ ।

कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि त्यसका लागि आधारभूत मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम अझै टुंगिन सकेको छैन । कार्यतालिका अनुसार काम अघि नबढेपछि तोकिएको समयमै वडा, क्षेत्र, प्रदेश हुँदै केन्द्रसम्मका सबै तहका अधिवेशन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन् । यही कारणले बैठकमा हालको अवस्थामा सबै तहको अधिवेशन सम्भव नभएकाले तीन तहको अधिवेशन मात्रै गरेर केन्द्रीय महाधिवेशनमा जाने विकल्पबारे गम्भीर छलफल भएको छ ।

मंसिर १५ गते सार्वजनिक गरिएको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गरी छ तहको अधिवेशन पूरा गर्दै पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्ने योजना थियो । तर सदस्यता वितरणकै काम नसकिँदा उक्त तालिका व्यवहारिक नभएको नेताहरूको बुझाइ छ । त्यसैले वडा अधिवेशनको मिति केही पर सार्दै पुस २० गतेतिर वडा, पुस २३–२४ तिर क्षेत्रीय र पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बैठकमा अघि सारिएको छ, जसमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

महामन्त्री गगन थापाले आम निर्वाचनअघि महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने धारणा राख्दै तीन तहको अधिवेशन गरेर भए पनि पार्टीलाई महाधिवेशनमा लैजान सकिने प्रस्ताव अघि सारेका छन् । उनको तर्क छ– संगठनात्मक वैधता र नेतृत्व चयनबिनै चुनावमा जानु पार्टीका लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ । यसका विपरीत सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू भने अहिलेको अवस्थामा महाधिवेशन गर्न समय अपुग हुने भन्दै आवश्यक परे वैशाखसम्म सार्नुपर्ने मतमा देखिएका छन् ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेमा विशेष महाधिवेशनको विकल्प समेत तयार राख्ने महामन्त्री थापा पक्षको रणनीति रहेको बताइएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा उम्मेदवारको मापदण्ड र पार्टीको भूमिका बारे पनि छलफल हुने कार्यक्रम छ । कार्यसम्पादन समिति बैठकको निष्कर्षले कांग्रेसको महाधिवेशनको दिशा मात्र होइन, आगामी आम निर्वाचनतर्फ पार्टी कसरी अघि बढ्छ भन्ने कुरा पनि तय गर्ने अपेक्षा गरिएको छ ।

 

 

कांग्रेस महाधिवेशन धकेलिन सक्छ, देशमा निर्वाचनको माहोल छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरुले धेरै चासो देखाउन जरुरी नरहेको उल्लेख गरे । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशिल सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताए । आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा हुँदा मिडियालाई पनि किन चिन्ता लागेको हो मैले बुझेको छैन । नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको ? एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार चार वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि नेपाली काँग्रेसको अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली काँग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’

उनले भने, ‘अब यो पत्रकारहरुले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ । तर क्रियाशिल सदस्य नयाँ थपिए । नयाँ क्रियाशिल सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’ नेता कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको बताए ।

 

 

 

 

कांग्रेस पार्टी कार्यालयमा सन्तनेता भट्टराईको शालिक

पाटन (ललितपुर)।  नेपाली कांग्रेस ललितपुरको पार्टी कार्यालयमा सन्तनेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राखिने भएको छ ।

नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहेका सन्तनेता भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले उनको सालिक राख्ने स्थानको शिलान्यास गरेका छन् ।

शिलान्यास पश्चात् मन्तव्य राख्दै कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले किसुनजी आफ्नो आदर्श व्यक्तित्व भएको बताउँदै उनको आश्रमलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् ।

‘किसुनजीका नाममा विसं २०५६ मा भवनको शिलान्यास भएको थियोे, आज शालिक शिलान्यास भएको छ, तत्कालीन अवस्थामा डेराबाट पार्टी कार्यालय चलाउनुपथ्र्यो, धर्म महर्जनले जग्गा दिएर स्वर्गीय केदारबहादुर अमात्यको पहलमा भवन बनेपछि त्यो समस्या समाधान भयो । धेरैको योगदानमा भवन बन्यो, नेपाली कांग्रेसको सम्पत्तिको रुपमा कास्कीले घर बनाएपछिको यो दोस्रो घर हो’, उनले भने ।

नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले आज शिलान्यास भएको शालिक निर्माण सम्पन्न गरी केही दिनमा नै अनावरण गर्ने प्रयास रहेको बताएका छन् । ‘सबै साथीहरूको योगदान भवन निर्माणमा रह्यो, हामी नेतृत्वमा आइसकेपछि भवनलाई व्यवस्थित ग¥र्यौँ, शालिक निर्माणमा योगदान गर्नेको मूल्याङ्कन हुनेछ’, उनले भने ।

उनले पार्टीको अधिवेशनका क्रममा प्रतिनिधि ल्याउने र क्रियाशील दिने कुरामा कसैले कसैलाई प्रतिबन्ध र बन्देज गर्न मिल्दैन भन्दै यसमा ध्यान दिनुहोला भन्ने आग्रह गरेका छन् ।

सरकारले निर्वाचन गराउन नसके संसद् पुनर्स्थापना हुनुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचन गराउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले निर्वाचन गरेर सरकारले संसद् ल्याउने अवस्था नभए प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताएका हुन् ।

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्थिति यही हो ।’ सरकारले फागुन २१ गते निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस चुनावका लागि तयार रहेको बताए । ‘जनताले जे म्याण्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसद्मा प्रकट हुन्छ,’ महतले भने, ‘त्यो संसद्ले आवश्यक सुधारका कुरादेखि संवैधानिक सुधारका कुराहरू र अरू कुराहरू अगाडि बढाउँछ ।’ उनले बंगलादेशको पछिल्लो अवस्थाको उदाहरण दिँदै नेपाललाई पनि त्यही बाटोमा जान दिन नहुने बताए । ‘त्यहाँ एकदम अन्योलता छ । उग्रवादको पराकाष्ठा भइरहेको छ । निर्वाचन झन् अनिश्चिततातर्फ गइराखेको छ,’ उनले भने, ‘हाम्रो देशलाई पनि त्यही बाटोमा राख्नु भएन ।’

महाधिवेशन विना निर्वाचनमा गए कांग्रेसको शर्मनाक हार हुन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् । आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनु पर्नेमा जोड दिए ।

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गरे । साथै उनले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गरे । उनले भने, ‘महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।’

पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसकेको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिष्पर्धा गर्ने जानकारी गराए । नेता पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको शर्मनाक हार हुने बताएका छन् । संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने उनको भनाइ छ । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्‍यो नि ।’

 

 

 

कांग्रेसले बोलायो कार्यसम्पादन बैठक, के–के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

बैठकमा विकसित राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर कार्यतालिका अनुसार काम गर्न सकेको छैन । भोलिको बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् । मंगलवार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् । जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको उनले बताए ।

निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाए । पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको बताए । उनले भने, ‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन । कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ । कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन । सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ । पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन ।’

उनले भने, ‘हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौँ । हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौँ । कसैको मताधिकार नखोसियोस् । मत हाल्ने अधिकारबाट वञ्चित नहोस् । अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरुको मतदानको कुरा छ । चर्चाका लागि मात्रै कुरा नगरौँ । निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ ।’

गुरुङले भने, ‘सबै राजनीतिक दलहरु उपस्थित हुने र त्सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्झौता गर्नेहरुले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरुकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ । यहाँहरुको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’ उपसभापति गुरुङले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने बताए । उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गरे । उनले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्दै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताए ।

 

 

 

अनुगमनका लागि कांग्रेस पार्टी कार्यालय पुग्यो सरकारी टोली

काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन र निरीक्षण गरिएको छ । सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुसँग छलफल समेत गरेको छ ।

टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरुसँग छलफल गरेको छ । यसपछि आजै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

कार्यतालिकामा पछि पर्‍यो कांग्रेस, पुसमै होला नियमित महाधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको तयारी सुरुदेखि नै तय कार्यतालिकामा अगाडि बढ्ने भनिए पनि व्यवहारमा त्यो सम्भव नहुने अवस्था देखिएको छ । पार्टीले पुस अन्त्यमा महाधिवेशन गर्ने दाबी गरे पनि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम अपेक्षित गतिमा अघि नबढेपछि पुसमै नयाँ नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको कांग्रेसकै नेताहरू स्वीकार गर्न थालेका छन् ।

१५ मंसिरमा बसेको केन्द्रीय समिति बैठकले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै पुस अन्त्यमा महाधिवेशन सम्पन्न गर्ने ‘रकेट स्टाइल’ कार्यतालिका सार्वजनिक गरेको थियो । तर, सो कार्यतालिका पारित भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि प्रारम्भिक चरणकै काम पूरा हुन सकेको छैन । नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या नहुनु, ढिलो वितरण हुनु र कतिपय जिल्लामा फाराम नै नपुग्नु जस्ता समस्याले कार्यतालिका सुरुमै प्रभावित बनेको छ । केन्द्रीय कार्यालय स्रोतका अनुसार अझै पनि सबै जिल्लाबाट नयाँ र नवीकरण गरिएको क्रियाशील सदस्यताको विवरण केन्द्रमा आइपुगेको छैन । कतिपय जिल्लाले एक्सेलमार्फत विवरण पठाएका छन् भने कतिले सफ्टवेयर प्रयोग गरेका कारण यकिन तथ्यांक निकाल्नै समय लागिरहेको छ । अनुमानमा करिब ५० जिल्लाबाट मात्र नवीकरणको विवरण आएको बताइन्छ ।

यसबीच, महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण पुस ९ गते मध्याह्न १२ बजे र नयाँ क्रियाशील सदस्यता वितरण पुस १० गते ‘सिस्टम लक’ गर्ने निर्णय गरेको छ । समितिले त्यसपछि बैठक बसेर प्रमाणित विवरण पार्टीलाई बुझाउने जनाएको छ । तर, यति छोटो समयमै देशभरका १६५ निर्वाचन क्षेत्र, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका सबै विवाद, उजुरी र छुटेका नाम टुंग्याउन कठिन हुने नेताहरूको ठम्याइ छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कार्यतालिका सुरुदेखि नै अव्यावहारिक रहेको र अब परिवर्तन अपरिहार्य भएको बताएका छन् । उनका अनुसार क्रियाशील सदस्यता छानबिन मात्र दुई दिनमा सकिन नसक्ने भएकाले महाधिवेशन पुस अन्त्यमा हुन सम्भव छैन । समिति सदस्य योगेन्द्र चौधरी पनि कार्यतालिकाबाट पार्टी केही बाहिर गइसकेको स्वीकार गर्दै नयाँ कार्यतालिकाबारे छलफल चलिरहेको बताउँछन् ।

विदेशस्थित जनसम्पर्क समितिहरूमा समेत समस्या देखिएको छ । विशेषगरी क्यानडा, युके, अस्ट्रेलिया र जापानमा क्रियाशील सदस्य बन्न चाहनेको संख्या बढी हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको समितिको भनाइ छ । विवादित करिब ८ देखि १० निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम अझै नपुगेको अवस्था छ । यस्तो परिस्थितिमा वडा अधिवेशनदेखि माथिल्ला तहका अधिवेशनहरू पनि प्रभावित हुने निश्चित देखिन्छ । यद्यपि पार्टीले औपचारिक रूपमा कार्यतालिका संशोधनको निर्णय गरिसकेको छैन । पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा नियमित महाधिवेशन गर्ने कार्यतालिका अझै कायम छ, तर नेताहरू स्वयं त्यसप्रति आशावादी देखिँदैनन् ।

यदि तोकिएको मितिमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको दबाब बढ्ने छ । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्, जसअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहने छ । तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशनका पक्षमा छैनन् । महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता प्रक्रिया नै अल्झिँदा कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास फेरि अन्योलमा परेको छ । अब पार्टीले नयाँ कार्यतालिका ल्याएर प्रक्रिया अघि बढाउने वा संवैधानिक दबाबअनुसार विशेष महाधिवेशनतर्फ जाने भन्ने निर्णय छिट्टै गर्नुपर्ने अवस्था देखिएको छ ।

 

 

 

 

 

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो–नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्नुपर्ने बताएको छ । सोमवार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् । उनले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।

उनले निर्वाचनका लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए । उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो ।

उनले भने, ‘सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । कांग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ । तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ । अहिले यो सरकारबाट पनि त्यस्तो आओस् । कसैले रिसीवी साँध्ने काममा सरकार नजाओस । डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरु नै हो । त्यसैले राजनीतिक दलका शिर्ष नेताहरुसँग पनि कुरा गर्नुस् । र अहिले जुन कानून ल्याउन खोज्नु भएको छ । त्यो राम्रो भए पनि समयले हामीलाई साथ दिँदैन ।’ सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरुलाई बेवास्ता गरेर कुनै पनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।

 

चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिरहेको भेटियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको आफ्नो घरमा आफ्नै लुगा लगाएर चोर सुतिरहेको भेटिएको घटनाको खुलासा गरेका छन् । भदौ २४ गते रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा पठाइयो भने थापा आफैं अर्को स्थानतर्फ गए ।

घटनापछि तेस्रो दिन थापाका साथीहरूले घरमा गएर निरीक्षण गर्दा चोर आफ्नै लुगा लगाएर उनीहरूको खाटमा सुतेको भेटिएको थियो । चोरलाई सोध्दा उनले पहिलो दिन लुगा चोरेको र केही बाँकी रहेको हेर्न आएको र एकछिन सुत्न मन लागेको बताएको थापाले सुनाए । घटनास्थलमा चोरलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको थियो ।

थापाले आफ्नो बसाइसम्बन्धी समस्या पनि सार्वजनिक गरे। घर जलेपछि बानेश्वरमा डेरा खोज्दा घरबेटीले सुरुमा कोठा दिने भनी भने पनि पछि ‘यहाँ पानी आउँदैन’ भन्दै बस्न नदिएको उनले बताए । पछि उनी बूढानीलकण्ठ चपलीमा आफ्ना आमाबुबासँगै बस्न बाध्य भए । घर जल्नुको घटना सामान्य रुपमा लिनुपर्ने उनको प्रतिक्रिया रहेको छ । उनले भने, ‘आमाले भन्नु भयो, तेरो ज्यान जोगियो, त्यही ठूलो कुरा भयो ।’ जन्मेको घर पूर्ण रूपमा जलेर पुनर्निर्माण आवश्यक भएकोले केही दिनभित्र घर भत्काएर पुनः बनाउने तयारी भइरहेको उनले जानकारी दिए । यसैबीच, थापाले आफ्नो अनुभव सुनाउँदै निर्दोषको मृत्यु हुने अन्य घटनासँग आफ्नो घर जल्नु सामान्य घटना भएको प्रतिक्रिया व्यक्त गरे ।