प्रदेशको समानुपातिक सूचीका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने पनि उनले बताएका छन् ।
१५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए । उनकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको बताए ।
उनले भने, ‘बैठकमा पार्टीको महाधिवशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्री ज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूचि पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो । यसमा अझै काम गर्ने विषय उहाँले राख्नुभयो । अनुशासन समितिका संयाजकले पनि अनुशासन समितिले गरेको कारबाही र समितिमा परेका निवेदनका विषयमा पनि कुरा राख्नुभयो । यसमा केही साथीहरु आज बोल्नु भयो ।’
उनले भने, ‘भोलि फेरि १ बजे कार्यसम्पादन समितिको बैठक बस्छ र महाधिवेशनको कार्यतालिका सम्बन्धमा र समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल अगाडि बढ्छ । प्रदेश सभाको बन्दसूचीमा रहेका साथिहरुले त्यहाँबाट आफ्नो नाम हटाएर अन्यत्रै जान चाहेका १९ जनाको सूचि बैठकले पास गरेको छ । यसबारे निर्वाचन आयोगलाई जानकारी दिने कुरा भएको छ । महामन्त्रीले वडा र क्षेत्रीय महाधिवेशन गरेर एकैचोटि केन्द्रको महाधिवेशन गर्ने कुरा राख्नु भयो । क्रियाशीलको काम समयमै नसकिने उहाँको भनाइ थियो । त्यसमा अन्य साथीहरुले कार्यतालिकालाई व्यवहारिक हुने किसिमले निर्णय गर्नुपर्ने कुरा राख्नु भयो ।’ कार्यसम्पादन समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिएका छन् ।
