कांग्रेसले समानुपातिकमा नयाँलाई उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवारमा नदोहोर्याउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिने छैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहने छन् ।’ कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ । निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि छ। कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका थिए ।
