`

बालेन र कांग्रेस नेता शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

Nepal One HD १० पुष २०८२ १३:३३
नेपाली कांग्रेस

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढाएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको उक्त भेटमा संसद् पुनः स्थापनाको सम्भावना र त्यसका राजनीतिक प्रभावबारे छलफल केन्द्रित रहेको डा. शर्माले बताएका छन् ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. शर्माले संसद् पुनःस्थापना भए के–के परिणाम आउन सक्छन् र त्यसले मुलुकको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा संवाद भएको बताए । उनका अनुसार छलफल तथ्य र सम्भावनामा आधारित थियो, कुनै ठोस निष्कर्ष वा निर्णयमा भने नपुगेको संकेत उनले दिए ।

अन्य राजनीतिक दल वा समूहसँग बालेन शाहले गरिरहेको सम्भावित छलफलका विषयमा आफूलाई जानकारी नभएको भन्दै डा. शर्माले भने, ‘अरूसँग के भइरहेको छ, त्यो मलाई थाहा हुने कुरा भएन ।’ यसले भेटलाई दुई व्यक्तिबीचको विचार–विमर्शको रूपमा सीमित राखिएको बुझाइ दिन्छ ।
राजनीतिक भविष्यबारे सोधिएको प्रश्नमा डा. शर्माले आफू नेपाली कांग्रेसमै रहने स्पष्ट पारे । कांग्रेस छोड्ने अड्कलबाजीलाई खारेज गर्दै उनले ५–१० वर्षपछि पार्टी नेतृत्वको आकांक्षा व्यक्त गरे ।

‘हामी कांग्रेसमै बसेर ५-१० वर्षपछि सभापति हुने मान्छे हौं’, उनले भने, ‘कहाँ छोड्छौं र ?’ यो भेटलाई लिएर विभिन्न कोणबाट व्याख्या भइरहेका बेला दुवै पक्षले औपचारिक राजनीतिक सहकार्यको घोषणा नगरे पनि, वर्तमान राजनीतिक तरलतामा यस्ता संवादहरूले बहसलाई थप गतिशील बनाउने देखिन्छ । संसद् पुनः स्थापना जस्ता संवेदनशील विषयमा विचार आदान–प्रदान हुनु लोकतान्त्रिक अभ्यासकै अंश भएको टिप्पणी पनि हुन थालेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *