कांग्रेसको समानुपातिक सूची तयार, पहिलो नम्बरमा केसी
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची अन्तिम चरणमा पुर्याएको छ । केन्द्रीय कार्यसम्पादन तथा केन्द्रीय कार्यसमितिको बैठकले सूची अनुमोदन गरेपछि आजै निर्वाचन आयोगमा पेस गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । पार्टी स्रोतका अनुसार कांग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम राखिएको छ । ‘हालसम्म उहाँकै नाम एक नम्बरमा रहेको जानकारी आएको छ’, एक नेताले भने, ‘केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय भएपछि मात्रै अन्तिम सूची सार्वजनिक हुन्छ।’
समानुपातिक सूची तयार गर्ने जिम्मेवारी कांग्रेसले सातै प्रदेशका सात जना नेतालाई दिएको थियो । कोशी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाशशरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले आ–आफ्नो प्रदेशको सूची तयार गरी सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन् । ती सूचीहरूलाई समेट्दै अन्तिम रूप दिन केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको कांग्रेसले जनाएको छ । पार्टी नेतृत्वले समावेशीता, क्षेत्रीय सन्तुलन र पार्टीभित्रको सहमतिलाई आधार मानेर सूची टुंग्याएको बताइएको छ ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा अर्जुननरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । पछि जेनजी आन्दोलनपछि उनले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका थिए । यस पटक भने उनी समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन दलहरूलाई आजसम्मको समय दिएको छ । संविधानअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० जना सदस्य चयन हुने व्यवस्था छ । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत ३२ जना उम्मेदवार निर्वाचित भएका थिए । सो निर्वाचनमा एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट जितेका थिए । यस पटकको सूचीले कांग्रेसको आगामी संसदीय उपस्थिति र आन्तरिक शक्ति सन्तुलन दुवैको संकेत गर्ने नेताहरूको बुझाइ छ ।
