`

गगनको दावी : सभापति लड्छु, जित्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी समेत गरे । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए । उनले अहिले क्रियाशिल सदस्यको कामहरु पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए । उनले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘अहिले तलबाट क्रियाशिल सदस्यको कामहरु हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशिल सदस्य पठाइ दिनुपर्ने कुराहरु जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्नसक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ । पत्रपत्रिकाहरु हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो ।’

उनले भने, ‘मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो ।’ महामन्त्री थापाले नियमित अधिवेशन हुनुपर्ने वा विशेष महाधिवेशन हुनैपर्ने बताए । महाधिवेशन बिना नेपाली काँग्रेस महाधिवेशनमा नजाने बताए ।

 

संवैधानिक राजसंस्थाले केही फरक पर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताए । उनले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताए ।

अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्दे समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताए । हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भए पनि हुन नसकेको बताए । संवैधानिक राजतन्त्रले कुनै फरक नपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘आज एउटा ठूलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन ? होला की नहोला । भुनाव भएन भने के होला ? चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदैन । एउटा पाटो हो । फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ । चुनावको परिणाम के होला ? हाम्रो लागि कति अनुकूल होला ? कति प्रतिकूल होला ? त्यो हाम्रो आन्तरिक विषय हो । हामी छलफल गरौँला, त्यसलाई अनुकूल बनाउने कोशिस गरौंला । थप मेहनत गरौँला ।’

उनले भने, ‘तर फागुन २१ गते चुनाव हुने कुरा किन महत्वपूर्ण छ भने संविधान ट्रयाक भन्दा बाहिर गएको छ, लिक भन्दा बाहिर गएको छ । संविधानलाई लिकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने, निर्वाचनले नयाँ संसद ल्याउँछ, नयाँ संसदले विस्तारै यसलाई आफ्नो काम गर्ने हो । नेपालमा चुकेको कुरा भनेको २०१५ सालमा पाल्र्यामेण्ट आयो, ५ सालमा निरन्तर निर्वाचन भएको भए नेपाल आज अर्कै ठाउँमा हुन्थ्यो, संवैधानिक राजतन्त्र हुन्थ्यो, केही फरक पर्दैन थियो नि त । अब चुनाव भएन भने हामी एउटा ठूलो अनिश्चयमा जानसक्छौँ ।’ महामन्त्री थापाले समयमै निर्वाचन नभए नेपाल ठूलो अनिश्चयमा जानसक्ने जिकिर गरे ।

‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् भएको बताए । सडकमा आक्रोश व्यक्त हुनु स्वभाविक भएको पनि उनले बताए । उक्त घटनाबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताए । सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा भएको जिकिर गरे । नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उनको भनाइ छ । आफू पदमा भएको भए त्यसको जिम्मेवारी आफूले लिने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘भाद्र २३ गते एउटा अकल्पनीय घटना भयो । नेपालको इतिहासको एउटा दुःखद् घटना, कालो दिन । जहाँ हाम्रा थुप्रै नौजवानहरु गुमायौँ । त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । आक्रोश व्यक्त भयो सडकमा । त्यसको अर्को पाटो पनि छ । हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ ।’

उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानविन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरुले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’ महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेन–जीहरुले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेका थिए

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म (कालीकोट) ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।

प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताएका छन् । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।

देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । देउवाले भोलि (शनिबार) बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूलाई छलफलमा बोलाएका हुन्। स्रोतका अनुसार सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङलाई छलफलमा बोलाएका हुन्। यस्तै देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बैठकमा बोलाएका छन् । उनीहरूबीचको छलफल आगामी महाधिवेशनका विषयमा केन्द्रित हुने बताइएको छ।

स्रोतका अनुसार महाधिवेशनमा प्रस्तुत गर्ने विधान शंसोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ। ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाई भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’ यसबाहेक क्रियाशील सदस्यता नवीकरण वितरणको अवस्था, संसद् पुनःस्थापनाको पक्षमा भइरहेको हस्ताक्षर, निर्वाचनको वातावरणलगायत विषयमा छलफल हुने स्रोत बताउँछ। ‘पुस अन्तिममा महाधिवेशन गर्ने भनिएको छ। क्रियाशीलको फारमकै विषयमा लफडा भयो,’ स्रोतले थप्यो, ‘महाधिवेशन कार्यतालिकामा यसले पार्ने प्रभावलगायत विषयमा छलफल हुनेछ।’

पार्टीले यही पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले रकेट स्टाइलमा महाधिवेशन गर्ने गरी कार्यतालिका आएको भन्दै व्यंग्य गर्दै आएका छन्। उनी बाहेक नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलालगायत नेता कार्यकर्ताले कार्यतालिका व्यवहारिक नभएको भन्दै कार्यान्वयन नहुने चिन्ता व्यक्त गर्दै आएका छन्। कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ।

 

गगन थापाले चलाएको पार्टी देखिसकियो, अब आफूले चलाएर देखाउने इच्छा छ : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् । उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे । उनले पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए ।

उनले भने ,‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे  हो । यसमा लजाउने कुरा भएन । मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरु जस्तो तपाईहरुसँग झुटो बोल्दिनँ । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । तल सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु ।’ उनले भने, ‘सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनु भएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जादैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’ उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।

 

कांग्रेस निर्वाचनको मिति कुरेर बसेको छ, तर सरकारको तयारीमा शंका छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा आयोजित स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले निर्वाचन नै प्रजातन्त्रको मुख्य आधार भएकाले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए ।

कोइरालाले संविधानको रक्षा र मुलुकलाई वर्तमान संक्रमणकालीन अवस्थाबाट बाहिर निकाल्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । ‘संविधान जोगाउने र देशलाई स्थायित्वतर्फ लैजाने एकमात्र माध्यम निर्वाचन हो’, उनले भने, ‘हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी र गतिविधि हेर्दा समयमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका उत्पन्न भएको छ ।’ उनले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको आरोप पनि लगाए । कोइरालाका अनुसार अझै पनि देशमा सुरक्षासम्बन्धी गम्भीर चुनौतीहरू कायम छन् ।

‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान नदिएको अवस्था छ, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन्’, उनले भने, ‘यी सबै विषयमा सरकारले के सोचिरहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।’ सरकारले समयमै विश्वसनीय वातावरण निर्माण नगरे निर्वाचनको विश्वसनीयतामै प्रश्न उठ्ने उनको भनाइ थियो । यसका साथै उनले पार्टीभित्रका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । ‘कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी होइन’, कोइरालाले भने, ‘जनताको बीचमा गएर लोकतन्त्रको पक्षमा उभिन हामी सबै एकजुट हुनुपर्छ ।’ स्थानीयस्तरको भेटघाटमा कोइरालाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनका अनुसार समयमै निष्पक्ष र स्वतन्त्र निर्वाचन भए मात्रै मुलुक राजनीतिक स्थायित्व र लोकतान्त्रिक बाटोमा अघि बढ्न सक्छ ।

 

 

 

सभापति देउवा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन् । साथै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा नेता कोइराला र रिजाल सभापति देउवाकहाँ गएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

भेटमा कोइरालाले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई बताएका थिए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन आग्रह गरेका थिए । अनुशासन कारबाहीका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने बताएका थिए । सुदूरपश्चिमका विभिन्न जिल्लामा नम्बर बिनाका क्रियाशील सदस्यता फारम पुगेपछि विवाद भएको थियो ।

यस्तै, अनुशासन कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराए । २०७९ को निर्वाचन गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने भन्दै उनले सबैको कारबाही फुकुवा गरेर पार्टी महाधिवेशन र आमनिर्वाचनमा खट्न निर्देशन दिनुपर्ने धारणा राखे । पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयले कांग्रेसभित्र तनाव बढाएको छ ।

प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाई छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता भएको उनले औंल्याए ।

संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उनले बताए । प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्न सके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ । कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले संघीयता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघीयता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनु पर्छ, त्यो समाधान होइन । संघीयतालाई छरितो बनाउने चाहीँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनु पर्‍यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा एउटा प्रशासनमन्त्री तीन जनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन । हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्‍यौँ भने नेपालको चालु खर्चको दुई तिहाई कटौती हुन्छ ।’

उनले भने, ‘विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रियसनमा कसरी प्रयोग गर्ने त्यसको कानूनी प्रष्टता जरुरी छ । यसबाट केही नकारात्मक विषयहरु पनि आएका छन् । यसलाई दुरुपयोग पनि गरिएको छ । दुरुपयोग हुन नदिनको लागि नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनु पर्दछ । स्वतन्त्रता खोसेर छिटफुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन । दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदमै स्वतन्त्रताको ग्यारेन्टी गरेर गर्न सकिन्छ ।’
उनले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहे पनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उनको भनाई छ ।

 

 

 

 

 

रामहरि खतिवडाको आरोप : अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिंड्न थाल्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिंडेको उनले आरोप लगाए । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ । उनले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्ने जस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उनले बताए ।

उनले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरुलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरु आएका छन् । केही मान्छेहरु काम गर्ने जस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीब्रतर गतिमा लागेका छौँ ।’ उनले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनको लागि हाल क्रियाशिल सदस्य नविकरण र वितरणको काम भइरहेको बताए ।

मतदाता र भोटले पछ्याउने कांग्रेस बनाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नु पर्ने आवश्यकता रहेको बताए । विगतमाझैं अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको बताए ।

देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए । ठिक ढंगले काम गर्नसके निर्वाचन आफै जितिने उनको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्न सके मतदाताहरु आफै पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताए । नेपाली कांग्रेसलाई मतले पछ्याउन सक्ने बनाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातीय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एक पटक नेपाललाई सम्हाल्ने कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली कांग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी कांग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ। चुनाव आफै जितिन्छि । चुनाव चुनाव भन्नै पर्दैन, आफै आउँछ । मतदाताले आफै पछ्याउँदै आउँछ, भोटले आफै पछ्याउँदै आउँछ । हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन । भोटले हामीलाई पछ्याउने बनाउन सक्नु पर्छ । मतले हामीलाई पछ्याउन सक्ने बनाउनु पर्छ ।’

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताए । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।

निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दावी समेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए ।

२०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा, छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ । मुद्दा दर्ताको क्रममा रहेकाले विस्तृत विवरण आउन बाँकी छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित सांसद चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि (सोमबार) बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि झण्डै डेढ महिना चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई साताअघि मात्रै सकिएको थियो । गत असोज २८ गते सुरु भएको बैठक विभिन्न निर्णय गर्दै मंसिर १५ गते सम्पन्न भएको थियो । बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

कांग्रेसमा वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’ मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।

आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे । आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्‍याएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए । ‘सयौं योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ’, उनले भने, ‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।’

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन नै भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठानेको स्मरण गराए । उनले भने, ‘मुलुकलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र माध्यम निर्वाचन हो ।’

उनले सरकारले निर्वाचनको वातावरण बनाउन सकिनुपर्ने पनि बताए । ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचनको वातावरण तयार पार्ने दिशामा अघि बढेका छन् कि छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘हामी यसतर्फ गम्भीर छौं र सरकार पनि यसमा गम्भीर हुनुपर्छ ।’ जेनजी आन्दोलनको घटनाबारे गठित आयोगले गरेका निर्णयले पनि निर्वाचनको वातावरण तयार पार्न पर्याप्त योगदान नगरेको खड्काले बताए । ‘नेताहरूका स्थानसम्बन्धी निर्णयहरू र अन्य कार्यहरूले शंका बढाएका छन्। आयोग सतर्क हुनुपर्छ,’ उनले जोड दिए ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू अत्यन्तै अकल्पनीय रहेको उनको भनाइ थियो । उनले यस घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्दै गएको र भविष्यमा अझ खुल्ने बताए । हालको राजनीतिक परिस्थितिमा सबै दल एकजुट भएर लोकतन्त्रलाई सुरक्षित गर्नुपर्ने खड्काको धारणा थियो । उनले विगतमा पनि लोकतन्त्र रक्षा गर्न राजनीतिक दलहरूले एकजुट भएर काम गरेको स्मरण गराए ।

 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृह जिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् । पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरुलाई मौका दिने बताएका हुन् । २०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेनजी आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।

आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिदै चुनाव नलड्ने उनले बताएका छन् । पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तक्र्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन् । उनका अनुसार अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पु¥याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ ।

पूर्व मन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ‘पर्यटन मन्त्री वर्ष ‘ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागिपरेको उल्लेख गरे । आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरेका छन् । कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिष्पर्धा गर्ने भन्ने विषय पार्टीका साथी तथा नेताहरूसँगको सल्लाहमा तय गर्ने समेत बताए ।

 

 

 

निर्वाचन वैशाखमा गर्दा उपयुक्त : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभाको चुनाव आगामी वैशाखमा भए पनि स्वीकार्नु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै शर्माले फागुन २१ गतेको निर्वाचन सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा त्यसलाई स्वीकार गर्ने बताएका हुन् ।

शर्माले फागुन २१ गतेको निर्वाचन वैशाखमा सार्नु तीन कारणले उपयुक्त हुने तर्क पनि गरेका छन् । जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र नेपाली हिमाली क्षेत्रलाई सहज बनाउन पनि वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनले उल्लेख गरेका छन् । उनले सरकार र जेनजीबीच दुई दिनअघि भएको सहमतिलाई स्वागत गरेका छन् । ‘विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्वपूर्ण छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलतः जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नु पर्दछ ।’

उनले जेनजीसँग सहमति गर्दा सरकारले राजनीति दलहरुलाई सहभागी नगराएकोमा भने आलोचना गरेका छन् । ‘राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नु पर्दथ्यो,’ शर्माले भनेका छन्, ‘त्यसो गरेर भोलिकालागि भरपर्दो बनाउन सरकार नचुक्नु पथ्र्यो।अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ ।’

उनले गएको भदौ २३ को बल प्रयोग उपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले जेनजी र सरकारबीचको दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को लागि घोषित निर्वाचनको मिति बाधक बन्नु हुन्न भन्नेमा जोड दिएका छन् । ‘हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौं । तर मुल प्रश्न समाधान र संविधान हो, अत जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर बैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’

 

डडेल्धुराबाट देउवाको एकल नाम सर्वसम्मत सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री एवं सपभाति शेरबहादुर देउवाको नाम सर्वसम्मत रुपमा एकल सिफारिस गरेको छ । बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए । ‘डडेल्लधुराबाट सर्वसम्मत रुपमा सभापति ज्यूको एकल नाम सिफारिस गरेका छौँ,’ सचिव चटौतले भने ।

त्यस्तै, समानुपातिक उम्मेदवारका लागि नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । कांग्रेस डडेल्धुराले राष्ट्रिय सभाको उम्मेदावरका भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको सचिव चटौतले जानकारी दिए । जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नाम सिफारिस गरेको हो । अब प्रदेशले कांग्रेस केन्द्रमा नाम पठाउनेछ । त्यसपछि कांग्रेस केन्द्रले उम्मेदवार तय गर्नेछ ।

सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचन लड्ने इच्छा देखाएका थिए । सभापति देउवा डडेलधुराबाट आठौं पटक सांसदको निर्वाचन लड्ने तयारीमा देखिएका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेलधुराबाटै विजयी भइसकेका छन् ।

सर्वोच्चलाई आरजु देउवाको जवाफ : मेरो घरमा नोट जलेको भनेर अफवाह फैलाइयो

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको जिकिर गरेकी हुन् । उनले लिखित जवाफ दिँदै भनेकी छन्, ‘म र मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ सो जिकिर समेत गलत छ ।’

राष्ट्रिय सुरक्षा परिषद्को सदस्य समेत रहेकी आरजु राणा देउवा लगायतले बेलैमा बैठक डाकेर सेना परिचालन नगर्दा जनधनको क्षति भएकाले उनीहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो । त्यसैको जवाफ दिँदै पूर्व परराष्ट्रमन्त्री राणाले भनेकी छन्, ‘शान्तिपूर्ण आन्दोलनमा उछृङ्खल व्यक्तिहरू हाम्रो निजी निवासमा प्रवेश गरी ममाथि भौतिक आक्रमण गरी मेरो निवास समेत जलाइएको र हामी घाइते हुन पुगेका थियौं ।’ ‘जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएका अफवाहको सरकार र सम्बन्धित निकायबाट जाँचबुझ भइ क्षतिको मुचुल्का समेत भई गएको अवस्था छ,’ उनले जवाफमा लेखेकी छन्, ‘आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ ।’

कांग्रेस सभापतिका लागि तीन खेमाको ‘दौडधूप’

काठमाडौं । नेपाली कांग्रेसकाे १५औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको सत्ता–सन्तुलन, नेतृत्वको वैकल्पिक संरचना र शीर्ष नेताहरूको महत्वाकांक्षा बढ्दै गएको छ । इतर समूहदेखि देउवा खेमासम्म, पुराना अनुहारदेखि नयाँ पुस्तासम्म सबै सभापति पदमा आँखा लगाइरहेका छन् । तर निर्णायक व्यक्ति भने अहिले पनि शेरबहादुर देउवा नै मानिन्छन्—जसले अझै कुनै कार्ड खोलेका छैनन् ।

१४ औं महाधिवेशनमा देउवासँग हारेका शेखर कोइराला फेरि मैदानमा उत्रिने तयारीमा छन् । यो बीचमा पार्टीभित्र इतर खेमाको नेतृत्व सम्हालेका उनले देशभरिकै संरचना जित्ने दाबी गर्छन् । कोइराला परिवारको ‘ब्राण्ड’ र ६० वर्षमाथिका नेताहरूको मनोविज्ञान आफूले पढेको भन्दै उनी पक्षधरहरूले उनलाई ‘सर्वमान्य’ दाबी गरिरहेका छन् । यता, गगन थापा खुलेरै सभापति बन्ने घोषणा गरिसकेका छन् । विशेष महाधिवेशनको मागमा दुई–तिहाइ जति हस्ताक्षर जुटाउन सक्नु, जेनजी आन्दोलनपछि उभिएको नयाँ पुस्ताको समर्थन, १४औं महाधिवेशनमा पाएको उच्च मत—यिनै आधारमा थापा आफूलाई ‘यो समयको आवश्यक नेतृत्व’ मानिरहेका छन् । देउवाले अन्तिम क्षणमा आफ्नो समर्थन गर्ने गगनको विश्वास रहेको देखिन्छ ।

तेस्रो प्रमुख प्रत्यासी कार्यवाहक सभापति पूर्णबहादुर खड्का मानिन थालेका छन् । देउवा विदेशमा हुँदा पार्टी सञ्चालन गरेको र देउवाको निर्देशनमा भूमिकाहरू निर्वाह गरेको ‘इमानदार छवि’ उनी पक्षधर नेता बताउँछन् । उनी सार्वजनिक घोषणा गर्न बाँकी भए पनि तयारी भने भित्रभित्रै गरिरहेका छन् । देउवाको नजिक मानिने ‘सात भाइ’ समूहभित्र नेतृत्वको लडाइँ झन अव्यवस्थित छ । कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठ सबै सभापतिका आकांक्षी देखिएका छन् । विजयकुमार गच्छदार र प्रकाशशरण महत भने तुलनात्मक रूपमा पछाडि देखिएका छन् ।

देउवाले तीन नेताहरूलाई भनेका छन्, ‘तिमीहरू मिलेर एउटा नाम लिएर आउ, म साथ दिन तयार छु ।’ तर पाँच–छ आकांक्षीबीच अहिलेसम्म सहमति जुट्न सक्ने संकेत देखिएको छैन । मिलेर नउठे समूह फुट्नेसम्मका चिन्ता नेताहरूले व्यक्त गरिरहेका छन् । ‘बुढा’ नेता र ‘उदीयमान’ नेताका प्राथमिकताहरू फरक–फरक छन् । देउवाकै समूहमा ९० भन्दा बढी केन्द्रीय सदस्यहरू पनि आफ्नो–आफ्नै आकांक्षा र समीकरणमा छन् । यता देउवाले कसैलाई वचन नदिएको कुरा दुवै समूहका नेताहरू स्वीकार गरेका छन् । कांग्रेसमा पछिल्ला तीन महाधिवेशन जस्तै पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउने सभापति निस्कने सम्भावना कम छ । यो स्थितिले देउवालाई ‘किंगमेकर’ बनाई दिने छ–यही बुझेर सबै नेता उनलाई मनाउन धाउने क्रम बढेको छ ।

१४ औं महाधिवेशनमा एउटै टिममा रहेका शेखर–गगन अहिले प्रतिद्वन्द्वी बन्ने देखिएका छन् । गगनले विशेष महाधिवेशनको अभियानबाट आफ्नो शक्ति प्रदर्शन गरे, तर यस कदमले शेखर पक्ष केही असन्तुष्ट भएको देखिन्छ । उता थापा पक्षका धेरै जिल्ला नेताले देउवालाई खुलेरै ‘गगनलाई साथ देऊ’ भनिरहेका छन् । यसैबीच शेखर पक्षले ‘सर्वपुस्ता नेतृत्व–सन्तुलन’ को कार्ड खेलिरहेको छ, जसले ६० वर्ष नाघेका नेताहरूलाई आकषिर्त बनाएको छ । महाधिवेशनको तालिका सार्वजनिक भएसँगै सबै आकांक्षी वडादेखि केन्द्रसम्म दौडधूपमा छन् । तर ठूलो प्रश्न–देउवा खेमाले एक नाम दिन सक्छ कि सक्दैन ? यदि देउवा समूह एकमत हुन सकेन भने कांग्रेसमा त्रिकोणात्मक मात्र होइन, बहुकोणीय प्रतिष्पर्धा हुन सक्ने देखिएको छ । यदि मिल्यो भने प्रतिष्पर्धा मुख्यतः तीन खेमामा सीमित हुने देखिन्छ–गगन थापा, शेखर कोइराला र देउवा–समर्थित एक उम्मेदवार ।

 

 

पूर्वमन्त्री रामनाथ अधिकारी चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेस धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारीले आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।

अधिकारी पूर्ववर्ती सरकारमा कृषि तथा पशुपंक्षी विकासमन्त्री थिए । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–२ धादिङ नाम उल्लेख गरिएको फेसबुक पेजमा राखिएको भिडियोमा अधिकारीले भनेका छन्, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु ।’ उनले उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई निर्वाचनमा जिताउने जिम्मेवारी भने रहेको बताएका छन् ।

‘यति कुरा भनिरहँदा निर्वाचन जिताउने जिम्मेवारी पनि मसँग छ,’ अधिकारीले भनेका छन्, ‘मलाई राम्रो ढंगबाट जानकारी छ ।’ जिल्ला सभापति अधिकारीले अहिले आन्तरिक विवाद गर्ने समय नभएको जिकिर गर्दै बैठकमा सकेसम्म एक मात्र उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘सम्भव भएसम्म एक जनाको मात्रै सिफारिस गरौं । अहिले विवाद गर्ने समय होइन,’ अधिकारीले भनेका छन्, ‘आगामी दिनमा विद्रोही उम्मेदवार उठ्नेदेखि यावत कुरा नआओस् । त्यो परिस्थिति आउन दिन हुन्न ।’

कांग्रेसमा क–कसले ताक्दैछन् सभापति ?

काठमाडौं । नेपाली कांग्रेसमा आगामी महाधिवेशन नजिकिँदै जाँदा सभापति पदको प्रतिष्पर्धा तीव्र बन्दै गएको छ । दुई कार्यकालपछि पुनः सभापति बन्न नपाइने संवैधानिक प्रावधानका कारण वर्तमान सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्न नपाउने भएपछि पार्टी नेतृत्व नयाँ व्यक्तिको हातमा जाने निश्चित जस्तै बनेको छ । यही स्थितिले कांग्रेसभित्रका विभिन्न तहका नेतामध्ये ११ जना सभापतिको आकांक्षी खुल्दै सार्वजनिक रूपमा सक्रिय भएका छन् ।

कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा गरेसँगै नेतृत्वको आकांक्षीहरू विस्तारै खुल्न थालेका हुन् । पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै आकांक्षीहरूले दाबी गर्न थालेका हुन् । यद्यपि, निर्धारित समयमा महाधिवेशन हुनेमा कांग्रेसका नेताहरू नै ढुक्क हुन सकेको छैनन् । महाधिवेशनको सबैभन्दा महत्वपूर्ण हिस्सा क्रियाशील सदस्यताको विषय अझै टुङ्गिएको छैन । महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने गृहकार्य अगाडि बढाइसकेका छन् ।

अब हुने महाधिवेशनबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन् । अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् । देउवालाई नेतृत्वमा दोहोरिने विधानले पनि दिँदैन । देउवा नेतृत्वमा नआउने भएपछि आगामी महाधिवेशनमा उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउमा उनी निकट नेताहरूको हानथाप छ । देउवाले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

अहिले कार्यवाहक भूमिकामा रहेका खड्काको आगामी नेतृत्वमा दाबी स्वाभाविक हो। तर, महाधिवेशनको मिति विवाद सल्टाउन समेत देउवाकै मुख ताकेको भन्दै उनको कार्यक्षमतामाथि नेताहरूले प्रश्न उठाएका छन् । असोज २८ गतेबाट सुरु भएको बैठकले महाधिवेशनको मिति विवाद समाधान गर्न नसकेपछि देउवा आफै सक्रिय भएर पार्टीभित्रको विवाद समाधान गरेका थिए । देउवाको उत्तराधिकारी बन्न सात पूर्व पदाधिकारीहरू पनि निरन्तर छलफलमै छन् ।

यता सभापति पदका लागि सर्वप्रथम उम्मेदवारी घोषणा गर्ने नेता बनेका छन्–डा. शेखर कोइराला । उनी १४ औं महाधिवेशनमा देउवासँग दोस्रो चरणसम्म प्रतिष्पर्धा गरेका थिए । कोइरालाले आफू संस्थापन–इतरको साझा उम्मेदवार बन्ने कि स्वतन्त्र टिम बनाएरै चुनावी मैदानमा उत्रने संकेत गरिसकेका छन् । यस्तै, १४ औँ महाधिवेशनमा २२ मत पाएका कल्याण गुरुङले यस पटक प्यानलसहित सभापतिमा प्रतिष्पर्धा गर्ने तयारी गरेको घोषणा गरिसकेका छन् । संस्थापन निकट सात पूर्व पदाधिकारी–विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत—आफूमध्ये एक जनालाई साझा उम्मेदवार बनाउने उद्देश्यले निरन्तर छलफलमा छन् ।

तर आकांक्षा धेरै, सहमति न्यून हुने परिस्थितिमा उनीहरूले अहिलेसम्म कुनै एक नाम तय गर्न सकेका छैनन् । निधि, सिंह, सिटौला र डा. शशांकले खुलेर दाबी गरिरहेका छन् भने गच्छदार र महतले चाहना बोके पनि सार्वजनिक रूपमा केही घोषणा गरेका छैनन् । गोपालमान श्रेष्ठले देउवा नउठे मात्रै आफू सभापति पदका दाबेदार हुने बताएका छन् । पछिल्लो समय कोइराला परिवार चुनावमा एक हुने देखिएको छ । यसकै संकेत गर्दै केहि समयअघि डा. शंशाक कोइरालाले आफू सभापतिको दावेदार भए पनि दाजु शेखरसँग सल्लाह भइरहेको र दुईमध्ये एक जना उम्मेद्वार हुनसक्ने बताएका छन् ।

गगन थापाले युवापुस्ताले नै नेतृत्व लिनुपर्ने भन्दै खुला रुपमा सभापतिमा उठ्ने पटक–पटक सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । उनले सभापतिमा दावी गर्दै युवा नेताहरूबीच समन्वय गरिरहेका छन् । तर पार्टीभित्र धेरैले उनलाई आगामी महामन्त्री उम्मेदवारका रूपमा पनि हेर्दै आएका छन्। यसैबीच नेता डा. चन्द्र भण्डारीले समेत आज (बुधबार) मात्र आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार भएको घोषणा गरेका छन् । अहिलेसम्मको अवस्थामा कम्तीमा ११ जना नेताले सभापति पदमा दाबी राखिरहेका छन् । एउटै समूहबाट धेरै आकांक्षी देखिँदा अन्तिम क्षणमा सहमति जुटाउन कठिन हुन सक्ने आंकलन पनि गरिएको छ ।

गगन थापा काठमाडौं–४ बाट पनि एकल सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो । क्षेत्रीय सभापति श्यामकृष्ण संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।

संगतका अनुसार प्रत्यक्षतर्फ थापाको नाममा पूर्ण सहमति जुटेको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक सूचीमा राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा परेका छन् । यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट पनि सिफारिस भएको थियो । थापा काठमाडौं–४ बाट तीन पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन् ।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनले बताएका छन् । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् । ‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले लेखेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’ १४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १,५८० मत पाएर भण्डारी चौथो भएका थिए ।

के गर्लान् कार्यवाहक सभापति खड्का ?

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्का दलभित्रको राजनीतिक समीकरणको केन्द्रमा छन् ।यसबीच सुर्खेत क्षेत्र नं. १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनको एकल नाम सिफारिस गर्दै खड्काको सांगठनिक पकड पुनः पुष्टि गरेको छ ।

यसअघि २०७९ सालमा पनि उनी यही क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका थिए । समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लका नाम सिफारिस गरिएका छन्।जेनजी आन्दोलनका क्रममा घाइते सभापति शेरबहादुर देउवाले नेतृत्व खड्कालाई हस्तान्तरण गरेपछि दलभित्र उनको भूमिका बढेको हो । उपसभापति हुँदै कार्यवाहक सभापति बनेका उनले २०४८ सालमा संसदीय यात्रा सुरु गरेदेखि मन्त्री, महामन्त्री, उपप्रधानमन्त्री–रक्षामन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्मको अनुभव बटुलेका छन् ।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा सभापति पदका दाबेदारहरू खुल्न थालेका छन्–डा. शेखर कोइराला र गगन थापा स्पष्ट रूपमा मैदानमा छन् । ‘सात भाइ’ समूह भने एकमतमा पुग्न सकेको छैन । यिनैबीच खड्काको नाम संस्थापन पक्षका सम्भावित उम्मेदवारको रूपमा भित्रभित्रै चलाइएको देखिन्छ । पार्टीभित्र देउवाको ‘पछिल्लो विकल्प’ का रूपमा उनलाई हेर्ने धारणा पनि बढेको बताइन्छ ।

खड्का निकट नेताहरूका अनुसार उनले सभापति देउवाको समर्थनको खोजी गरिरहेका छन् र आन्तरिक छलफलहरुमा देउवाबाट सकारात्मक संकेत आएको दाबी पनि छ । कार्यवाहक सभापतिसँग नजिक ठानिने नेता रामहरि खतिवडाले ‘दाबी स्वाभाविक भए पनि उनले अझै सार्वजनिक रूपमा नबोलेको’ बताएका छन् । भेटघाटमा खड्काले आफू सभापतिको आकांक्षी भएको संकेत गर्ने गरेको उनी बताउँछन् ।

संस्थापन पक्षीय केही नेताले महाधिवेशनअघिको शक्ति–सन्तुलन जटिल भएकाले देउवाले नाम सार्वजनिक नगरेको तर आन्तरिक छलफलमा खड्कातिर झुकाव देखिएको बताएका छन् । समूहभित्र अन्य नेताहरूको तुलनामा खड्कालाई ‘कम विवादित’ विकल्पका रूपमा पनि व्याख्या गरिने गरिएको छ । यद्यपि कांग्रेसभित्र प्रमुख प्रश्न अझै अनिश्चित छ–‘सात भाइ’ समूह एकै ठाउँमा टिक्छ कि फुट्छ ? र खड्का अन्तिम घडीमा संस्थापनको एक मात्र उम्मेदवारको रूपमा उभिन्छन् कि अर्कै संयोजन बन्छ ?

पूर्वमन्त्री खड्काको घरमा तोडफोड–आगजनी : तीन जनामाथि साढे सात करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले तीन जनाविरुद्ध साढे सात करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनको अव्यवस्थित भीडको क्रममा घरमा व्यापक क्षति पुर्‍याइएको भन्दै प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बुढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेष्ठ र काभ्रेकी ३९ वर्षीय रेखा सुनार (सानी सुनार) लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले संकलन गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ भने रेखालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ । पूर्वमन्त्री खड्काका भाइ जीवन खड्काले दिएको जाहेरीअनुसार बुढानीलकण्ठ–१ को कित्ता नम्बर ५४ मा रहेको साढे दुई तले घरमा क्षति पुर्याइएकै साथै बा २४ च ५०७०, बा.प्र.–०१–०२९ च ३३०४ नम्बरका निजी गाडी तथा बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरका सरकारी गाडी जलाइएका थिए।

यसबाहेक घरभित्रबाट ६ तोलाको सुनको रानिहार, सुनका चुरा, डायमण्ड र मोती हारका सेट, ६ तोलाका ६ थान सुनका औंठी, मुगाको टप र औंठीको सेट, सुनको तिलहरी, डायमण्डका ४ थान टप, बालबालिकाका ५ तोला बराबरका सिक्री, नगद ५ लाख, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर, ब्यागलगायत विभिन्न बहुमूल्य सामग्री चोरी भएको दाबी गरिएको छ । तीनै जनामध्ये रणबहादुर सिंह ११ वर्ष सेनामा काम गरेर २०६८ सालमा अवकाश लिएपछि बुढानीलकण्ठमै बस्दै आएका थिए । सुसम श्रेयठ त्यही क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् भने रेखा सुनार दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी थिइन् । आरोपितहरूविरुद्ध दायर साढे सात करोड रुपैयाँ बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा चलिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

कैलाली–५ बाट आरजु राणाको नाम पहिलो नम्बरमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न सिफारिस भएकी छन् । उनको नाम कैलाली क्षेत्र नम्बर–५ बाट पहिलो नम्बरमा सिफारिस भएको हो । मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

उनीसँगै निवर्तमान सांसद डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ र केन्द्रीय सदस्य नृपबहादुर ओडको नाम पनि सिफारिस भएको छ । पन्त गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनी रानालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विश्राम लिएका भनिएका देउवा फेरि चुनाव लड्ने तयारीमा लागेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा चुनावमा डडेलधुराबाटै पुनः उम्मेदवारी दिने तयारी गरेको खुलासा गरेका छन् । कार्यकर्तासँगको भेटघाटमा उनले यस पटक नै अन्तिम पटक निर्वाचनमा प्रतिष्पर्धा गर्ने संकेत दिएका छन् । डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारीप्रति स्पष्ट इच्छा व्यक्त गरिसकेकाले जिल्ला समितिले उनको एकल नाम सिफारिस गर्ने तयारी अघि बढाएको छ । महत्वपूर्ण नेताहरूको भेटघाटका क्रममा देउवाले ‘यो अन्तिम चुनाव हुने’ सूचक अभिव्यक्ति दोहोर्‍याइरहेको साउदले बताएका छन् ।

गत सातादेखि महाराजगञ्जस्थित देउवा निवासमा पुगेका सुदूरपश्चिमका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूले पनि देउवाले निर्वाचनमा उठ्ने इच्छालाई पुनः पुष्टि गरेका छन् । मंगलबार उनलाई भेटेका नेविसंघ नेता भुवन भट्टले समेत देउवाले अन्तिम पटक प्रतिष्पर्धामा उत्रने संकेत दिएको जानकारी दिएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ ।

पार्टी विधानअनुसार प्रत्येक क्षेत्रमा एक महिलासहित तीन जनाको नाम केन्द्रमा पठाउनु पर्ने प्रावधान छ भने जिल्ला समितिलाई मंसिर २५ भित्र सिफारिस टुङ्ग्याउन निर्देशन गरिएको छ । २०४८ सालदेखि निरन्तर डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका देउवा अबको चुनावमा पनि त्यही क्षेत्रबाट होमिन इच्छुक देखिएका छन् । पार्टी सभापतिबाट भने विधानका कारण अवकाश लिनुपर्ने निश्चित भइसकेको अवस्थामा उनी सांसदको भूमिकाबाट पनि विदाइ लिने कि निरन्तरता दिने भन्ने चासोबीच पुनः प्रतिष्पर्धा गर्ने तयारीले डडेलधुरा मात्रै होइन, कांग्रेसभित्र नै नयाँ चर्चाको सुरुआत गरेको छ ।

संसद पुनर्स्थापनाको ‘रिट’ ले कांग्रेसमा ‘तरङ्ग’ : नेताहरू अनभिज्ञ, सांसदहरू सक्रिय

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जना निवर्तमान सांसद सर्वोच्च अदालत पुगेपछि कांग्रेसभित्र नयाँ राजनीतिक ‘तरङ्ग’ पैदा भएको छ । केन्द्रीय समितिको निर्णय अनुसार पार्टी आमचुनावमा जाने भनेर पहिले नै आधिकारिक निष्कर्ष निकालेको अवस्थामा प्रमुख सचेतक र सचेतककै नेतृत्वमा अदालत धाएको घटनाले पार्टी नेतृत्वदेखि भित्रभित्रका शक्ति–सम्बन्धसम्म पुनः चर्चा बढेको छ ।

घिमिरे र थिङले आफूहरू स्वतःस्फुर्त र सांसदको अधिकारबोधका आधारमा अदालत धाएको दाबी गरे पनि यसअघि मात्र सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएको, त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग महाराजगञ्जमा भेट भएको, त्यसपछि कांग्रेस पक्षका सांसद अदालत धाएको क्रमले धेरै प्रश्न उब्जाएका छन् । संसद विघटन असंवैधानिक भएको पार्टीको आधिकारिक धारणा भए पनि सर्वोच्चमा रिट लिएर जाने भनेर कुनै प्रत्यक्ष निर्देश पार्टी निर्णयमा थिएन ।

प्रमुख सचेतक घिमिरेका अनुसार रिट दायर गर्नुअघि नेतासँग व्यापक सरसल्लाह गरिएको थियो, तर को–को नेता भन्ने उनले खुलाएनन् । उनले संसद विघटनलाई असंवैधानिक भन्दै सांसदको पाँच वर्षे कार्यकाल बीचमै खोसिएको अधिकारका रक्षाका लागि अदालत धाएको बताएका छन् । थिङले पनि आफूहरू स्वतःस्फुर्त रूपमा अघि बढेको र यो एमालेले डोहोर्‍याएको बाटो भएको आरोप निराधार भएको दावी गरिन् । उनका अनुसार कांग्रेस नेतृत्व विदेशमै हुँदा पनि आफूहरूले ४५ हस्ताक्षर संकलन गरेर पुनस्र्थापनाको पक्षमा उभिन खोजेको, तर त्यसबेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रोकिदिएको प्रसङ्ग अझै ताजा छ ।

यता कांग्रेसभित्र अन्य शीर्ष नेताहरू भने रिटबारे अनभिज्ञ देखिएका छन् । सभापति देउवाका निकट मानिने नेता शेखर कोइरालाले यसबारे कुनै जानकारी नभएको बताउँदै रिट दर्ताको घटनाले आफू पनि आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । पार्टी महामन्त्री गगन थापाले भने केन्द्रीय समितिको आधिकारिक र अन्तिम निर्णय आमचुनावमा भाग लिने नै भएको भन्दै अदालत गएका सांसदहरूको कदमलाई ‘व्यक्तिगत निर्णय’ भएको बताएका छन् ।

पार्टीभित्रै दुई धार–चुनावमा जाने कि पुनर्स्थापनाको बाटो समाउने–पहिले नै देखिँदै आएको थियो । तर लामो छलफलपछि केन्द्रीय समितिले विघटन असंवैधानिक भने पनि अदालतलाई नै निरूपण गर्न छाड्ने तथा फागुन २१ को निर्वाचनमा जानेमात्र निर्णय गरेको थियो । यस्तो अवस्थामा रिट दायर गरिएको घटनाले कांग्रेसभित्र संस्थागत निर्णय र व्यक्तिगत राजनीतिक पहलबीचको दूरीलाई स्पष्ट देखाएको छ ।

एमाले सुरुमै अदालत पुगेको, त्यसपछि कांग्रेसभित्र हस्ताक्षर अभियान चलेको, देउवा–ओली भेटपछि फेरि कांग्रेसका सांसद सर्वोच्च धएको घटनाक्रमले राजनीतिक वृत्तमा नयाँ शक्ति गणित र सम्भावित पुनर्संयोजनबारे अड्कलबाजी हुन थालेको छ । तर रिट दायर गर्न पुगेका सांसदहरूको अडान भने एउटै छ–संसद विघटन असंवैधानिक भएको र आफ्नै जनमतप्रति जिम्मेवारीबोधका कारण अदालत धाएको । अब सर्वोच्चमा रिट दर्ता हुने क्रममा छ र बहुमत सांसद विघटनविरुद्ध उभिएको सन्देश सर्वोच्चसम्म पुगेको छ । तर पार्टी नेतृत्व र शीर्ष तहका निर्णय निर्माताहरू यसबारे आ–आफ्नै व्याख्या गरिरहेका छन् । घटनाक्रमलाई हेर्दा कांग्रेसभित्र सैद्धान्तिक मतभेद मात्र होइन, शक्ति–सम्पर्क र निर्णय प्रक्रियाको आन्तरिक असन्तुलन पनि सतहमा आएको देखिन्छ ।

मन्त्री बनौंला–नबनौंला, तर जनताको सेवा सधैँ गर्न पाउँ : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस भएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताएका हुन् । उनले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै कांग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताए ।

देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता–कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित कांग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्ने बताए । आफू मन्त्री हुने वा नहुने अर्को पाटो भए पनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘यो ०८२ सालमा चुनाव हुन्छ–हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली कांग्रेसलाई एउटा ठूलो सन्देश हो, कांग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरु ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भने जस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता–कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानु हुन्छ, नेपाली कांग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठूलो सफलता हो र ३ नम्बर क्षेत्रका सबै नेताहरु नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । मन्त्री हौंला नहोला फरक कुरा हो । तर इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवानले प्रदान गर्नु हुनेछ ।’

निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताए । मन्त्री बन्ने आशिर्वाद आफूहरुले दिनुपर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट नेपाली कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिको बैठकले डा. शर्मालाई आगामी हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नेपालभर नै नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुनेमा डा. शर्मा पहिलो समेत भएका छन् । कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ—३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन् ।

संसद् पुनःस्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

काठमाडौं ।  संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेस पनि संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको हो ।

“प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाइएको छ । “हामीले उहाँलाई वारेसमार्फत् पठाएका हौँ,” उनले भने ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

चुनाव हुनेमा संशय कायमै छ : गगन थापा

सर्लाही । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन हुन केही कठिनाइ भए पनि सरकार पक्षले वातावरण तयार गर्न नसकेको बताएका छन्।

नेपाल प्रेस युनियन सर्लाहीले आज (शनिबार) बिहान सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनको वातावरणका लागि सरकार पक्ष चुकेको बताए । नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधिसभा निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाउँदै महामन्त्ती थापाले दलहरु निर्वाचनका लागि तयार रहे पनि सरकार संशय हटाएर निर्वाचन गराउन प्रतिबद्ध नदेखिएको आरोप लगाए ।

जेन–जी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती बन्न सक्ने थापाले तर्क गरे । उनले तोकिएको मितिमा मधेशमा होलीको वातावरण तथा पहाड र हिमालमा मौसम प्रतिकूल पनि समस्या बन्न सक्ने बताए । यसबारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वदलीय बैठकमा जानकारी गराएको बताउँदै उनले भने, ’ ‘तोकिएको मितिमा निर्वाचन गराउन केही कठिनाइ छ । भागेका कैदीबन्दी र हतियार सरकारले नियन्त्रणमा ल्याउनुपर्छ, नभए चुनावमा संशय कायम नै रहन्छ ।’

महामन्त्री थापाले पार्टीको आसन्न १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी समेत दिने घोषणा गरेका छन् । उनले यस पटकको पार्टीको निर्वाचनमा नयाँ नेतृत्व छान्न कांग्रेसी कार्यकर्ता आतुर रहेको समेत बताएका छन् ।

मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव प्रस्ताव भएका छन् । सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारीदिएका छन् । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

कांग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुने गरी आएको प्रतिक्रिया दिएका हुन् ।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनु पर्ने समेत बताए । उनले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गरे । नेता केसीले भने, ‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ । यो कार्यतालिका कहीं पनि प्रभावित भयो । १६ गते प्रभावित नहुन सक्छ । १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । यो चाँही हामीले महामन्त्रीलाई भेटेर फेरी पनि हामीले भन्नुपर्छ । त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो । विशेष महाधिवेशन हुनुपर्छ । त्यसका लागि हामी सबै तयार हुनुपर्छ ।’

कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाए । उनले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैले गल्ती गरेको समेत बताए । सभापति श्रेष्ठले भने, ‘हाम्रो विशेष अधिवेशनको तालिका छँदैछ । त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौ । तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरु आएपछि हामी आधिकारिक हौ भन्ने हुन्छ । हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ । त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिए–हामीले नियमित भन्न हुँदैन थियो ।’ सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताए ।

देउवालाई भेटेर युवाहरूको आग्रह : कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाओस्

काठमाडौं । नेपाली कांग्रेसका केही युवाहरूले आज (बिहीबार) सभापति शेरबहादुर देउवालाई भेटेर प्रतिनिधि सभा चुनावमा पार्टीबाट युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । नेविसंघ पूर्व महामन्त्री सरोज थापासहित युवाहरूको एक समूहले सभापति देउवालाई निवास महाराजगञ्ज पुगेर शुक्रबार भेटेका हुन् । ‘फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शीता हासिल गरेका युवाहरूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्नुपर्छ भनेर हामीले सभापति ज्यूसँग भन्यौं,’ थापाले सुनाए ।

उनकाअनुसार नियमित महाधिवेशन पक्षधरका तर्फबाट आज सभापति देउवासँग भेटवार्ता भएको हो । त्यसक्रममा सभापति देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने बताएका थिए । ‘यो महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्छ र निर्वाचनमा पनि एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ,’ सभापति देउवाको भनाइ थियो, ‘नियमित महाधिवेशनतर्फ नै पार्टी अघि बढेका बेला विशेष महाधिवेशनको चर्चा असान्दर्भिक छ ।’ सभापति देउवाले वडादेखि केन्द्रसम्म तोकिएको समयमै अधिवेशन हुनुपर्ने र त्यसका लागि तयारीमा लाग्न पनि युवाहरूलाई आग्रह गरेका थिए । युवाहरूले पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आउँदो निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रष्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनु भएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ । यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

क्रियाशील सदस्यता टुङ्गो लगाउन दुई दिनभित्र देशभर फाराम पठाउन निर्देशन
यसैबीच कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी अगाडि बढाएको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।

समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्‍याउँछौं । जनसंख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’ सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए । भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको जानकारी दिए । महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

कांग्रेस महाधिवेशन : प्यानलसहित सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुलेर मैदानमा उत्रिन थालेका छन् । महामन्त्री गगन थापा र डा. शेखर कोइराला पहिले नै उम्मेदवारी संकेत गरिसकेका छन् । अघिल्लो महाधिवेशनमा पाँचौं स्थानमा पुगेका कल्याण गुरुङले पनि यस पटक प्यानलसहित सभापतिमा दावेदारी गर्ने घोषणा गरेका छन् ।

गुरुङले आफूले गत महाधिवेशनमा प्यानल नबनाउनु ठूलो कमजोरी भएको बताएका छन् । त्यसैले यस पटक टीम नै बनाएर प्रतिस्पर्धामा उत्रिने उनको भनाइ छ । उनले भने, ‘केही दिनभित्रै प्यानल सार्वजनिक गरेर औपचारिक घोषणा गर्छु ।’ कांग्रेसको संस्थापन–इतर धार तथा सात पूर्व पदाधिकारीहरूको समूह अहिले साझा उम्मेदवार खोज्ने प्रयासमा छ ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच पटक–पटक छलफल भए पनि साझा नाममा सहमति जुटेको छैन । यीमध्ये गच्छदार र महतबाहेक पाँच जनाले सभापतिमा दाबी गरिरहेका छन् । यसैबीच गुरुङले भने आफूले अन्य आकांक्षीलाई समर्थन गरेर पछि हट्ने अवस्था नभएको प्रस्ट पारे । उनले भने, ‘उहाँहरूले मलाई साथ दिन चाहनु हुन्छ भने सहकार्य सम्भव छ, तर म अरूलाई समर्थन गर्न सक्दिनँ ।’ १४औं महाधिवेशनमा गुरुङले २२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएका थिए । दोस्रो चरणको मतदानमा उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । यस पटक भने मतदाताको बुझाइ, संगठनमा आफ्नो उपस्थिति र नयाँ प्यानलले आफ्नो दावेदारीलाई मजबुत बनाउने उनको दाबी छ ।

 

कांग्रेस सभापतिमा उठ्ने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ । मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो । महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा पत्रकार निमेष बञ्जाडेसँग थापाले घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’ कांग्रेस महाधिवेशन आगामी पुस २६–२८ गते हुँदैछ ।

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति पुस २६–२८ गतेका लागि तोकेपछि पार्टीभित्र क्रियाशील सदस्यता सम्बन्धी कामले पुनः गति लिएको छ । यही प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ आज बुधबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाले बैठक आह्वान गरेका हुन् । लामो समयदेखि निष्क्रिय जस्तै बनेको यो समिति महाधिवेशनको काउन्ट डाउनसँगै पुनः सक्रिय भएको हो । केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) का अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा दुवै प्रक्रियालाई सहज बनाउने विषयमा विस्तृत छलफल हुनेछ ।

पार्टीले केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकमार्फत क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहजता र उदारता अपनाउने निर्णय गरेपछि समितिले सो निर्णयलाई तल्लो संगठनसम्म कार्यान्वयन गर्ने तयारी थालेको छ । रसाइलीका अनुसार हालसम्म भएका कामहरू लिपिबद्ध गर्नेदेखि लिएर सदस्यता व्यवस्थापनको प्राविधिक पक्षलाई सक्षम बनाउनेसम्मका मुद्दा आजको बैठकको एजेण्डामा छन् । महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका अनुसार पुस १२ गतेभित्र सबै तहबाट क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझिसक्नु पर्नेछ । यही कारण समितिको सक्रियता थप बढेको छ ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये करिब तीन लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । बाँकी सदस्यता अद्यावधिक गर्न समितिले आवश्यक संयोजन र निर्देशिका कार्यान्वयनलाई तीव्र बनाउने बताइएको छ । थापाको संयोजकत्वमा रहेको व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्यका रूपमा रहेका छन् । महाधिवेशनलाई क्रियाशील सदस्यता विवादबाट मुक्त राख्न र स्पष्ट, प्रमाणित सदस्यता दायरा तयार गर्न समितिको आज बस्ने बैठक महत्वपूर्ण मानिएको छ ।

कांग्रेसले उम्मेदवार छनोटमा कडाइ गर्दै, तोक्यो १० योग्यता र मापदण्ड

काठमाडौं । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रियामा कडाइ गरेको छ । पार्टीले मातहतका सबै संरचनालाई परिपत्र जारी गर्दै सामाजिक विसंगति वा आपराधिक स्वरूपका दोषसिद्ध केसमा परेका व्यक्तिलाई कुनै परिस्थितिमा पनि उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको परिपत्रमा जातीय विभेद, घरेलु हिंसा, बालश्रम लगायत सामाजिक कुसंस्कार वा वेथितिसँग सम्बन्धित कुनै पनि मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिहरू कांग्रेसका तर्फबाट उम्मेदवार बन्न अयोग्य हुने प्रष्ट उल्लेख गरिएको छ । पार्टीले यसलाई उम्मेदवार हुनुका १० आवश्यक योग्यता मध्ये एक प्रमुख मापदण्डका रूपमा प्रस्तुत गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकपछि जारी गरिएको निर्देशनअनुसार प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवै प्रकारका प्रतिनिधि सभा सदस्यका साथै राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तोकिएको अवधिभित्र अनिवार्य सिफारिस गर्न भनिएको हो । निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरिसकेकाले प्रक्रिया तीव्र पार्न पार्टीले संगठनलाई आदेश दिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई संविधानको धारा ८६ को उपधारा २ (क) अनुसार जिल्लाबाट संभावित नामावली संकलन गर्न र प्रत्येक सिटका लागि तीन–तीन जनाको नाम सहमति या बहुमतका आधारमा केन्द्रमा पठाउन निर्देशन गरिएको छ । यस्तै, फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको सिफारिस प्रक्रिया पनि समान कडाइका साथ पूरा गर्न भनिएको छ ।

परिपत्रमा प्रदेश समितिहरूले ०८२ मंसिर मसान्तभित्र राष्ट्रिय सभाका लागि तोकिएको संख्याअनुसार तीन–तीन नामका प्रस्ताव केन्द्रमा पठाइसक्नुपर्ने उल्लेख छ। पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सक्षम र नैतिक प्रतिबद्धता भएको व्यक्तित्वद्वारा भरिनुपर्ने बताउँदै आगामी चुनावका लागि आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।

यस्ता छन् १० शर्त तथा योग्यता
१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनुपर्ने ।
२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।
४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।
६) प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ ।
७) प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि तेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ ।
८) प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ ।
९) २०७९ मा सम्पन्त स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
१०) पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

कांग्रेस महाधिवेशन : कार्यतालिका आए पनि हटेन ‘संशय’

काठमाडौं । नेपाली कांग्रेसले करिब डेढ महिना लामो रस्साकस्सीपछि १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरे पनि विशेष महाधिवेशनको विवाद भने झन तीव्र भएको छ । ५४ प्रतिशत प्रतिनिधिले असोज २९ मा दर्ता गराएको विशेष महाधिवेशन प्रस्तावको भविष्यबारे केन्द्रीय कार्यसमितिले बैठकभर एक शब्द समेत उल्लेख नगरेपछि दुई धारबीचको टकराव खुलमखुला देखिन थालेको छ ।

कार्यतालिका अनुसार पुस २६–२८ मा महाधिवेशन हुने भएकाले ‘विशेष’ अब निरर्थक भएको संस्थापन पक्षको दाबी छ । तर म्याद पुस २८ सम्म कायम राख्नुपर्नेमा केन्द्रीय समितिको कार्यकाल माघ मसान्तसम्म थपिएको निर्णयलाई विशेष महाधिवेशन पक्षधरले शंका गरिएको नियतका रूपमा लिएका छन् । उनीहरूको तर्क छ-कार्यतालिका अव्यवहारिक छ, १२ दिनमै वडादेखि केन्द्रसम्म चुनाव सम्पन्न गर्न असम्भवप्रायः छ र यिनै कारणले ‘विशेष’ अझै पूर्णतः जीवित छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बारम्बार चेतावनी दिँदै आएका छन्, ‘कार्यतालिका कार्यान्वयन भएन भने विशेष महाधिवेशन स्वतः लागु हुन्छ ।’ संस्थापन पक्ष भने निर्वाचित महाधिवेशनको तिथि तोकिइसकेकाले विशेषको औचित्य समाप्त भइसकेको दाबी गर्छ ।केन्द्रीय सदस्य कल्याणकुमार गुरूङ भन्छन्, ‘नियमित महाधिवेशनको निर्णय भएरै विशेषको पत्र सान्दर्भिकताविहीन भइसकेको छ ।’

विशेष मागकर्ता समूहका नेता गुरूराज घिमिरे र प्रकाश रसाइली ‘स्नेही’ ले भने कार्यान्वयनमा अलमल देखिए विशेषको औचित्य झन् प्रखर भएर आउने ठोकुवा गरेका छन् । उनीहरूको आरोप छ–४५ दिन कार्यतालिका पेस गर्न ढिलाइ गरियो, कार्यसमितिको म्याद अनावश्यक रूपमा बढाइयो र यो कदमले शंका झन गहिरिएको छ ।

यता महामन्त्री गगन थापाले हालको राजनीतिक परिस्थितिलाई असाधारण भन्दै प्रतिनिधिसभा चुनावअघि महाधिवेशन अनिवार्य भएको धारणा पुनः दोहोर्‍याएका छन् । सरकार ढलेको, संसद विघटन भएको र नयाँ दलहरूको उदय भएको अवस्थालाई उनले ‘कांग्रेसले सामान्य ढंगले सामना गर्न नसक्ने मोड’ का रूपमा चित्रण गर्दै भने, ‘कार्यतालिका सफलतापूर्वक लागू भएन भने पुसमै विशेष महाधिवेशनतिर मोडिनु नै एक मात्र विकल्प हुन्छ ।’ यसरी, ‘नियमित’ र ‘विशेष’ को बहस कांग्रेसभित्र शक्ति–गणितको केन्द्रबिन्दु बनेको छ । कार्यतालिका कडाइका साथ कार्यान्वयन हुन्छ कि फेरि दलभित्रको अविश्वास र आन्तरिक झमेलाले ‘विशेष’ लाई पुनः केन्द्रमा ल्याउँछ-यही प्रश्न अहिले कांग्रेसभित्र घुमिरहेछ ।