विश्राम लिएका भनिएका देउवा फेरि चुनाव लड्ने तयारीमा लागेका हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा चुनावमा डडेलधुराबाटै पुनः उम्मेदवारी दिने तयारी गरेको खुलासा गरेका छन् । कार्यकर्तासँगको भेटघाटमा उनले यस पटक नै अन्तिम पटक निर्वाचनमा प्रतिष्पर्धा गर्ने संकेत दिएका छन् । डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारीप्रति स्पष्ट इच्छा व्यक्त गरिसकेकाले जिल्ला समितिले उनको एकल नाम सिफारिस गर्ने तयारी अघि बढाएको छ । महत्वपूर्ण नेताहरूको भेटघाटका क्रममा देउवाले ‘यो अन्तिम चुनाव हुने’ सूचक अभिव्यक्ति दोहोर्याइरहेको साउदले बताएका छन् ।
गत सातादेखि महाराजगञ्जस्थित देउवा निवासमा पुगेका सुदूरपश्चिमका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूले पनि देउवाले निर्वाचनमा उठ्ने इच्छालाई पुनः पुष्टि गरेका छन् । मंगलबार उनलाई भेटेका नेविसंघ नेता भुवन भट्टले समेत देउवाले अन्तिम पटक प्रतिष्पर्धामा उत्रने संकेत दिएको जानकारी दिएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ ।
पार्टी विधानअनुसार प्रत्येक क्षेत्रमा एक महिलासहित तीन जनाको नाम केन्द्रमा पठाउनु पर्ने प्रावधान छ भने जिल्ला समितिलाई मंसिर २५ भित्र सिफारिस टुङ्ग्याउन निर्देशन गरिएको छ । २०४८ सालदेखि निरन्तर डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका देउवा अबको चुनावमा पनि त्यही क्षेत्रबाट होमिन इच्छुक देखिएका छन् । पार्टी सभापतिबाट भने विधानका कारण अवकाश लिनुपर्ने निश्चित भइसकेको अवस्थामा उनी सांसदको भूमिकाबाट पनि विदाइ लिने कि निरन्तरता दिने भन्ने चासोबीच पुनः प्रतिष्पर्धा गर्ने तयारीले डडेलधुरा मात्रै होइन, कांग्रेसभित्र नै नयाँ चर्चाको सुरुआत गरेको छ ।
