के गर्लान् कार्यवाहक सभापति खड्का ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्का दलभित्रको राजनीतिक समीकरणको केन्द्रमा छन् ।यसबीच सुर्खेत क्षेत्र नं. १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनको एकल नाम सिफारिस गर्दै खड्काको सांगठनिक पकड पुनः पुष्टि गरेको छ ।
यसअघि २०७९ सालमा पनि उनी यही क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका थिए । समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लका नाम सिफारिस गरिएका छन्।जेनजी आन्दोलनका क्रममा घाइते सभापति शेरबहादुर देउवाले नेतृत्व खड्कालाई हस्तान्तरण गरेपछि दलभित्र उनको भूमिका बढेको हो । उपसभापति हुँदै कार्यवाहक सभापति बनेका उनले २०४८ सालमा संसदीय यात्रा सुरु गरेदेखि मन्त्री, महामन्त्री, उपप्रधानमन्त्री–रक्षामन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्मको अनुभव बटुलेका छन् ।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा सभापति पदका दाबेदारहरू खुल्न थालेका छन्–डा. शेखर कोइराला र गगन थापा स्पष्ट रूपमा मैदानमा छन् । ‘सात भाइ’ समूह भने एकमतमा पुग्न सकेको छैन । यिनैबीच खड्काको नाम संस्थापन पक्षका सम्भावित उम्मेदवारको रूपमा भित्रभित्रै चलाइएको देखिन्छ । पार्टीभित्र देउवाको ‘पछिल्लो विकल्प’ का रूपमा उनलाई हेर्ने धारणा पनि बढेको बताइन्छ ।
खड्का निकट नेताहरूका अनुसार उनले सभापति देउवाको समर्थनको खोजी गरिरहेका छन् र आन्तरिक छलफलहरुमा देउवाबाट सकारात्मक संकेत आएको दाबी पनि छ । कार्यवाहक सभापतिसँग नजिक ठानिने नेता रामहरि खतिवडाले ‘दाबी स्वाभाविक भए पनि उनले अझै सार्वजनिक रूपमा नबोलेको’ बताएका छन् । भेटघाटमा खड्काले आफू सभापतिको आकांक्षी भएको संकेत गर्ने गरेको उनी बताउँछन् ।
संस्थापन पक्षीय केही नेताले महाधिवेशनअघिको शक्ति–सन्तुलन जटिल भएकाले देउवाले नाम सार्वजनिक नगरेको तर आन्तरिक छलफलमा खड्कातिर झुकाव देखिएको बताएका छन् । समूहभित्र अन्य नेताहरूको तुलनामा खड्कालाई ‘कम विवादित’ विकल्पका रूपमा पनि व्याख्या गरिने गरिएको छ । यद्यपि कांग्रेसभित्र प्रमुख प्रश्न अझै अनिश्चित छ–‘सात भाइ’ समूह एकै ठाउँमा टिक्छ कि फुट्छ ? र खड्का अन्तिम घडीमा संस्थापनको एक मात्र उम्मेदवारको रूपमा उभिन्छन् कि अर्कै संयोजन बन्छ ?
