देउवालाई भेटेर युवाहरूको आग्रह : कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाओस्
काठमाडौं । नेपाली कांग्रेसका केही युवाहरूले आज (बिहीबार) सभापति शेरबहादुर देउवालाई भेटेर प्रतिनिधि सभा चुनावमा पार्टीबाट युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । नेविसंघ पूर्व महामन्त्री सरोज थापासहित युवाहरूको एक समूहले सभापति देउवालाई निवास महाराजगञ्ज पुगेर शुक्रबार भेटेका हुन् । ‘फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शीता हासिल गरेका युवाहरूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्नुपर्छ भनेर हामीले सभापति ज्यूसँग भन्यौं,’ थापाले सुनाए ।
उनकाअनुसार नियमित महाधिवेशन पक्षधरका तर्फबाट आज सभापति देउवासँग भेटवार्ता भएको हो । त्यसक्रममा सभापति देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने बताएका थिए । ‘यो महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्छ र निर्वाचनमा पनि एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ,’ सभापति देउवाको भनाइ थियो, ‘नियमित महाधिवेशनतर्फ नै पार्टी अघि बढेका बेला विशेष महाधिवेशनको चर्चा असान्दर्भिक छ ।’ सभापति देउवाले वडादेखि केन्द्रसम्म तोकिएको समयमै अधिवेशन हुनुपर्ने र त्यसका लागि तयारीमा लाग्न पनि युवाहरूलाई आग्रह गरेका थिए । युवाहरूले पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।
