निर्वाचन वैशाखमा गर्दा उपयुक्त : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभाको चुनाव आगामी वैशाखमा भए पनि स्वीकार्नु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै शर्माले फागुन २१ गतेको निर्वाचन सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा त्यसलाई स्वीकार गर्ने बताएका हुन् ।
शर्माले फागुन २१ गतेको निर्वाचन वैशाखमा सार्नु तीन कारणले उपयुक्त हुने तर्क पनि गरेका छन् । जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र नेपाली हिमाली क्षेत्रलाई सहज बनाउन पनि वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनले उल्लेख गरेका छन् । उनले सरकार र जेनजीबीच दुई दिनअघि भएको सहमतिलाई स्वागत गरेका छन् । ‘विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्वपूर्ण छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलतः जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नु पर्दछ ।’
उनले जेनजीसँग सहमति गर्दा सरकारले राजनीति दलहरुलाई सहभागी नगराएकोमा भने आलोचना गरेका छन् । ‘राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नु पर्दथ्यो,’ शर्माले भनेका छन्, ‘त्यसो गरेर भोलिकालागि भरपर्दो बनाउन सरकार नचुक्नु पथ्र्यो।अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ ।’
उनले गएको भदौ २३ को बल प्रयोग उपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले जेनजी र सरकारबीचको दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को लागि घोषित निर्वाचनको मिति बाधक बन्नु हुन्न भन्नेमा जोड दिएका छन् । ‘हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौं । तर मुल प्रश्न समाधान र संविधान हो, अत जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर बैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’

