कांग्रेस सभापतिका लागि तीन खेमाको ‘दौडधूप’
काठमाडौं । नेपाली कांग्रेसकाे १५औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको सत्ता–सन्तुलन, नेतृत्वको वैकल्पिक संरचना र शीर्ष नेताहरूको महत्वाकांक्षा बढ्दै गएको छ । इतर समूहदेखि देउवा खेमासम्म, पुराना अनुहारदेखि नयाँ पुस्तासम्म सबै सभापति पदमा आँखा लगाइरहेका छन् । तर निर्णायक व्यक्ति भने अहिले पनि शेरबहादुर देउवा नै मानिन्छन्—जसले अझै कुनै कार्ड खोलेका छैनन् ।
१४ औं महाधिवेशनमा देउवासँग हारेका शेखर कोइराला फेरि मैदानमा उत्रिने तयारीमा छन् । यो बीचमा पार्टीभित्र इतर खेमाको नेतृत्व सम्हालेका उनले देशभरिकै संरचना जित्ने दाबी गर्छन् । कोइराला परिवारको ‘ब्राण्ड’ र ६० वर्षमाथिका नेताहरूको मनोविज्ञान आफूले पढेको भन्दै उनी पक्षधरहरूले उनलाई ‘सर्वमान्य’ दाबी गरिरहेका छन् । यता, गगन थापा खुलेरै सभापति बन्ने घोषणा गरिसकेका छन् । विशेष महाधिवेशनको मागमा दुई–तिहाइ जति हस्ताक्षर जुटाउन सक्नु, जेनजी आन्दोलनपछि उभिएको नयाँ पुस्ताको समर्थन, १४औं महाधिवेशनमा पाएको उच्च मत—यिनै आधारमा थापा आफूलाई ‘यो समयको आवश्यक नेतृत्व’ मानिरहेका छन् । देउवाले अन्तिम क्षणमा आफ्नो समर्थन गर्ने गगनको विश्वास रहेको देखिन्छ ।
तेस्रो प्रमुख प्रत्यासी कार्यवाहक सभापति पूर्णबहादुर खड्का मानिन थालेका छन् । देउवा विदेशमा हुँदा पार्टी सञ्चालन गरेको र देउवाको निर्देशनमा भूमिकाहरू निर्वाह गरेको ‘इमानदार छवि’ उनी पक्षधर नेता बताउँछन् । उनी सार्वजनिक घोषणा गर्न बाँकी भए पनि तयारी भने भित्रभित्रै गरिरहेका छन् । देउवाको नजिक मानिने ‘सात भाइ’ समूहभित्र नेतृत्वको लडाइँ झन अव्यवस्थित छ । कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठ सबै सभापतिका आकांक्षी देखिएका छन् । विजयकुमार गच्छदार र प्रकाशशरण महत भने तुलनात्मक रूपमा पछाडि देखिएका छन् ।
देउवाले तीन नेताहरूलाई भनेका छन्, ‘तिमीहरू मिलेर एउटा नाम लिएर आउ, म साथ दिन तयार छु ।’ तर पाँच–छ आकांक्षीबीच अहिलेसम्म सहमति जुट्न सक्ने संकेत देखिएको छैन । मिलेर नउठे समूह फुट्नेसम्मका चिन्ता नेताहरूले व्यक्त गरिरहेका छन् । ‘बुढा’ नेता र ‘उदीयमान’ नेताका प्राथमिकताहरू फरक–फरक छन् । देउवाकै समूहमा ९० भन्दा बढी केन्द्रीय सदस्यहरू पनि आफ्नो–आफ्नै आकांक्षा र समीकरणमा छन् । यता देउवाले कसैलाई वचन नदिएको कुरा दुवै समूहका नेताहरू स्वीकार गरेका छन् । कांग्रेसमा पछिल्ला तीन महाधिवेशन जस्तै पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउने सभापति निस्कने सम्भावना कम छ । यो स्थितिले देउवालाई ‘किंगमेकर’ बनाई दिने छ–यही बुझेर सबै नेता उनलाई मनाउन धाउने क्रम बढेको छ ।
१४ औं महाधिवेशनमा एउटै टिममा रहेका शेखर–गगन अहिले प्रतिद्वन्द्वी बन्ने देखिएका छन् । गगनले विशेष महाधिवेशनको अभियानबाट आफ्नो शक्ति प्रदर्शन गरे, तर यस कदमले शेखर पक्ष केही असन्तुष्ट भएको देखिन्छ । उता थापा पक्षका धेरै जिल्ला नेताले देउवालाई खुलेरै ‘गगनलाई साथ देऊ’ भनिरहेका छन् । यसैबीच शेखर पक्षले ‘सर्वपुस्ता नेतृत्व–सन्तुलन’ को कार्ड खेलिरहेको छ, जसले ६० वर्ष नाघेका नेताहरूलाई आकषिर्त बनाएको छ । महाधिवेशनको तालिका सार्वजनिक भएसँगै सबै आकांक्षी वडादेखि केन्द्रसम्म दौडधूपमा छन् । तर ठूलो प्रश्न–देउवा खेमाले एक नाम दिन सक्छ कि सक्दैन ? यदि देउवा समूह एकमत हुन सकेन भने कांग्रेसमा त्रिकोणात्मक मात्र होइन, बहुकोणीय प्रतिष्पर्धा हुन सक्ने देखिएको छ । यदि मिल्यो भने प्रतिष्पर्धा मुख्यतः तीन खेमामा सीमित हुने देखिन्छ–गगन थापा, शेखर कोइराला र देउवा–समर्थित एक उम्मेदवार ।
