कांग्रेसले उम्मेदवार छनोटमा कडाइ गर्दै, तोक्यो १० योग्यता र मापदण्ड
काठमाडौं । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रियामा कडाइ गरेको छ । पार्टीले मातहतका सबै संरचनालाई परिपत्र जारी गर्दै सामाजिक विसंगति वा आपराधिक स्वरूपका दोषसिद्ध केसमा परेका व्यक्तिलाई कुनै परिस्थितिमा पनि उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको परिपत्रमा जातीय विभेद, घरेलु हिंसा, बालश्रम लगायत सामाजिक कुसंस्कार वा वेथितिसँग सम्बन्धित कुनै पनि मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिहरू कांग्रेसका तर्फबाट उम्मेदवार बन्न अयोग्य हुने प्रष्ट उल्लेख गरिएको छ । पार्टीले यसलाई उम्मेदवार हुनुका १० आवश्यक योग्यता मध्ये एक प्रमुख मापदण्डका रूपमा प्रस्तुत गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकपछि जारी गरिएको निर्देशनअनुसार प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवै प्रकारका प्रतिनिधि सभा सदस्यका साथै राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तोकिएको अवधिभित्र अनिवार्य सिफारिस गर्न भनिएको हो । निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरिसकेकाले प्रक्रिया तीव्र पार्न पार्टीले संगठनलाई आदेश दिएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई संविधानको धारा ८६ को उपधारा २ (क) अनुसार जिल्लाबाट संभावित नामावली संकलन गर्न र प्रत्येक सिटका लागि तीन–तीन जनाको नाम सहमति या बहुमतका आधारमा केन्द्रमा पठाउन निर्देशन गरिएको छ । यस्तै, फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको सिफारिस प्रक्रिया पनि समान कडाइका साथ पूरा गर्न भनिएको छ ।
परिपत्रमा प्रदेश समितिहरूले ०८२ मंसिर मसान्तभित्र राष्ट्रिय सभाका लागि तोकिएको संख्याअनुसार तीन–तीन नामका प्रस्ताव केन्द्रमा पठाइसक्नुपर्ने उल्लेख छ। पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सक्षम र नैतिक प्रतिबद्धता भएको व्यक्तित्वद्वारा भरिनुपर्ने बताउँदै आगामी चुनावका लागि आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।
यस्ता छन् १० शर्त तथा योग्यता
१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनुपर्ने ।
२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।
४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।
६) प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ ।
७) प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि तेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ ।
८) प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ ।
९) २०७९ मा सम्पन्त स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
१०) पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।
