`

कांग्रेस महाधिवेशन : प्यानलसहित सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

Nepal One HD १८ मंसिर २०८२ १२:०८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुलेर मैदानमा उत्रिन थालेका छन् । महामन्त्री गगन थापा र डा. शेखर कोइराला पहिले नै उम्मेदवारी संकेत गरिसकेका छन् । अघिल्लो महाधिवेशनमा पाँचौं स्थानमा पुगेका कल्याण गुरुङले पनि यस पटक प्यानलसहित सभापतिमा दावेदारी गर्ने घोषणा गरेका छन् ।

गुरुङले आफूले गत महाधिवेशनमा प्यानल नबनाउनु ठूलो कमजोरी भएको बताएका छन् । त्यसैले यस पटक टीम नै बनाएर प्रतिस्पर्धामा उत्रिने उनको भनाइ छ । उनले भने, ‘केही दिनभित्रै प्यानल सार्वजनिक गरेर औपचारिक घोषणा गर्छु ।’ कांग्रेसको संस्थापन–इतर धार तथा सात पूर्व पदाधिकारीहरूको समूह अहिले साझा उम्मेदवार खोज्ने प्रयासमा छ ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच पटक–पटक छलफल भए पनि साझा नाममा सहमति जुटेको छैन । यीमध्ये गच्छदार र महतबाहेक पाँच जनाले सभापतिमा दाबी गरिरहेका छन् । यसैबीच गुरुङले भने आफूले अन्य आकांक्षीलाई समर्थन गरेर पछि हट्ने अवस्था नभएको प्रस्ट पारे । उनले भने, ‘उहाँहरूले मलाई साथ दिन चाहनु हुन्छ भने सहकार्य सम्भव छ, तर म अरूलाई समर्थन गर्न सक्दिनँ ।’ १४औं महाधिवेशनमा गुरुङले २२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएका थिए । दोस्रो चरणको मतदानमा उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । यस पटक भने मतदाताको बुझाइ, संगठनमा आफ्नो उपस्थिति र नयाँ प्यानलले आफ्नो दावेदारीलाई मजबुत बनाउने उनको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *