कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति पुस २६–२८ गतेका लागि तोकेपछि पार्टीभित्र क्रियाशील सदस्यता सम्बन्धी कामले पुनः गति लिएको छ । यही प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ आज बुधबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाले बैठक आह्वान गरेका हुन् । लामो समयदेखि निष्क्रिय जस्तै बनेको यो समिति महाधिवेशनको काउन्ट डाउनसँगै पुनः सक्रिय भएको हो । केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) का अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा दुवै प्रक्रियालाई सहज बनाउने विषयमा विस्तृत छलफल हुनेछ ।
पार्टीले केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकमार्फत क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहजता र उदारता अपनाउने निर्णय गरेपछि समितिले सो निर्णयलाई तल्लो संगठनसम्म कार्यान्वयन गर्ने तयारी थालेको छ । रसाइलीका अनुसार हालसम्म भएका कामहरू लिपिबद्ध गर्नेदेखि लिएर सदस्यता व्यवस्थापनको प्राविधिक पक्षलाई सक्षम बनाउनेसम्मका मुद्दा आजको बैठकको एजेण्डामा छन् । महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका अनुसार पुस १२ गतेभित्र सबै तहबाट क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझिसक्नु पर्नेछ । यही कारण समितिको सक्रियता थप बढेको छ ।
महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये करिब तीन लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । बाँकी सदस्यता अद्यावधिक गर्न समितिले आवश्यक संयोजन र निर्देशिका कार्यान्वयनलाई तीव्र बनाउने बताइएको छ । थापाको संयोजकत्वमा रहेको व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्यका रूपमा रहेका छन् । महाधिवेशनलाई क्रियाशील सदस्यता विवादबाट मुक्त राख्न र स्पष्ट, प्रमाणित सदस्यता दायरा तयार गर्न समितिको आज बस्ने बैठक महत्वपूर्ण मानिएको छ ।
