पूर्वमन्त्री खड्काको घरमा तोडफोड–आगजनी : तीन जनामाथि साढे सात करोडको मुद्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले तीन जनाविरुद्ध साढे सात करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनको अव्यवस्थित भीडको क्रममा घरमा व्यापक क्षति पुर्याइएको भन्दै प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बुढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेष्ठ र काभ्रेकी ३९ वर्षीय रेखा सुनार (सानी सुनार) लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले संकलन गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ भने रेखालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ । पूर्वमन्त्री खड्काका भाइ जीवन खड्काले दिएको जाहेरीअनुसार बुढानीलकण्ठ–१ को कित्ता नम्बर ५४ मा रहेको साढे दुई तले घरमा क्षति पुर्याइएकै साथै बा २४ च ५०७०, बा.प्र.–०१–०२९ च ३३०४ नम्बरका निजी गाडी तथा बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरका सरकारी गाडी जलाइएका थिए।

यसबाहेक घरभित्रबाट ६ तोलाको सुनको रानिहार, सुनका चुरा, डायमण्ड र मोती हारका सेट, ६ तोलाका ६ थान सुनका औंठी, मुगाको टप र औंठीको सेट, सुनको तिलहरी, डायमण्डका ४ थान टप, बालबालिकाका ५ तोला बराबरका सिक्री, नगद ५ लाख, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर, ब्यागलगायत विभिन्न बहुमूल्य सामग्री चोरी भएको दाबी गरिएको छ । तीनै जनामध्ये रणबहादुर सिंह ११ वर्ष सेनामा काम गरेर २०६८ सालमा अवकाश लिएपछि बुढानीलकण्ठमै बस्दै आएका थिए । सुसम श्रेयठ त्यही क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् भने रेखा सुनार दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी थिइन् । आरोपितहरूविरुद्ध दायर साढे सात करोड रुपैयाँ बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा चलिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
