`

कांग्रेस महाधिवेशन तालिकामा गगन थापाको अतिरिक्त प्रस्ताव, हस्ताक्षर फिर्ता नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति तोकिए पनि संशय भने बाँकी नै रहेको छ । केन्द्रीय समितिको बैठकमा आफूले धारणा राख्न मौका नपाएको भन्दै महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष अतिरिक्त धारणा दर्ता गराएका छन् ।

थापाले महाधिवेशनको तालिका, समय अन्तराल तथा तयारी प्रक्रियाबारे प्रश्न उठाउँदै तोकिएको मितिमा महाधिवेशन हुन नसके ‘हस्ताक्षर फिर्ता नहुने’ र त्यसपछि विशेष महाधिवेशनको स्थिति सिर्जना हुने स्पष्ट संकेत दिएका छन् ।

दोस्रोतर्फ, महामन्त्री विश्वप्रकाश शर्माले पनि पुस २६–२८ मा तय भएको महाधिवेशन मिति धकेल्ने कुनै प्रयास भए ‘विशेष महाधिवेशन’ को विकल्प अनिवार्य हुने चेतावनी दिएका छन् । सानेपामा सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा त्यसलाई अन्योलमा पार्न खोजिनु पार्टीको आन्तरिक लोकतन्त्रविरुद्ध जाने बताएका हुन् ।

शर्माले विशेष महाधिवेशन माग्दै गरिएको हस्ताक्षर अझै केन्द्रीय कार्यालयमा सुरक्षित रहेको उल्लेख गर्दै नेताहरूले त्यसलाई बिर्सिन नहुने टिप्पणी गरे । सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिने बताइसकेका कारण उनलाई विशेष महाधिवेशनमा तान्ने प्रयास अनुचित हुने उनको भनाइ छ ।

आगामी विधान संशोधनले युवालाई नेतृत्वमा आउन सहज बनाउने भन्दै उनले पार्टीका सबै तहमा तयारी अवस्थामा बस्न आग्रह गरे । यसैबीच, कार्यवाहक सभापति खड्काले प्रस्तुत गरेको तालिकालाई केन्द्रीय समितिले स्वीकृति दिए पनि शीर्ष नेताहरूका फरक धारणा र चेतावनीसहित कांग्रेसभित्र महाधिवेशनको समय, प्रक्रिया र नेतृत्व हस्तान्तरणको बहस थप तीव्र बन्दै गएको छ ।

देउवा नेतृत्वको कांग्रेस कार्य समितिको थपियो म्याद

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थपिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो ।

अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।

‘अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैन’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् । सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने स्पष्ट पारेका हुन् ।

‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुप¥यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि,’ महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

उनले विशेष महाधिवेशनको माग निष्कृय हुने बताए । ‘स्वतः निष्कृय यस मानेमा पनि हुन्छ किनकी हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौं । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५ औंले,’ महतले भने, ‘विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’ विशेष महाधिवेशन पक्षधरले २९ असोजमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

 

पुस २६–२८ सम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । अहिले कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । असोज २८ देखि जारी बैठक महाधिवेशन मितिबारे सहमति नजुट्दा पटक–पटक सर्दै आएको थियो । लामो छलफलपछि संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको तालिका ल्याउन सहमत भएसँगै आज बैठक बसेको हो ।

सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको तालिका पेस गर्ने तयारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए । तर, देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारेर अघि बढ्न तयार भएको एक नेताले बताए ।

आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी : जे–जे परिणाम आउँछ, व्यहोर्नु पर्ला

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको समय र प्रकृतिबारे चलिरहेको दीर्घ विवाद फेरि चर्किएपछि सभापति शेरबहादुर देउवा आफै अगाडि बढेर हस्तक्षेप गर्न बाध्य भएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी गरेसँगै संस्थापन समूहभित्रै असहमति सतहमा आएको थियो ।

पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्ण सिटौलालगायत देउवा निकट नेताहरूले फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा महाधिवेशन गर्नु पार्टीका लागि उचित नहुने अडान लिँदै आएका थिए । उनीहरूले कार्यवाहक खड्का तथा रमेश लेखकमाथि ‘सम्झौता विपरित अघि बढेको’ आरोप समेत लगाएका थिए, जसपछि संस्थापन पंक्तिभित्र नै तनाव बढेको थियो ।

यही परिस्थितिमा देउवाले आफ्नै समूहका असन्तुष्ट नेताहरूलाई निवासमा बोलाएर कडक भाषामा चेतावनी दिएका छन् । छलफलमा देउवाले खड्काले पेस गर्ने महाधिवेशनसम्बन्धी सबै प्रस्ताव स्वीकार्न निर्देशन दिँदै सहमतिमा नआए ‘जे–जे परिणाम आउँछ, त्यो व्यहोनुपर्ने’ चेतावनी दिएको सहभागी एक नेताले बताए । देउवाको यस्तो सक्रियताले खड्कामाथिको दबाब केही घटे पनि समग्रमा पार्टीभित्रको वैचारिक तथा सांगठनिक द्वन्द्व भने झनै खुल्दै गएको छ । महाधिवेशन विशेष गर्ने कि नियमित भन्ने विषयमा केन्द्रीय समिति असोज २८ गतेदेखि नै मतैक्यमा पुग्न नसकेपछि देउवा स्वयम् सक्रिय भएका हुन् ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य नेताहरूलाई समेत समेटेर ‘मध्यमार्गी’ कार्यतालिका ल्याउने प्रयासमा रहेका खड्काले आजको बैठकमा पुस २६ गतेलाई लक्षित गर्दै १५औं महाधिवेशनको प्रारम्भिक तालिका पेस गर्ने तयारी गरेका छन् । यसअघि सभापति निवासमा बसेका सतही तथा अंतर्घातपूर्ण छलफलहरूले पुस अन्तिम साताभित्र महाधिवेशन सम्बन्धी कार्ययोजना सार्वजनिक गर्ने सहमति बनाएको थियो । तर देउवानिकट नेताहरूको असहमति पुनः कगचाबअभम भएपछि देउवाले निर्णायक हस्तक्षेप गरेका हुन् । यससँगै महाधिवेशनको गति औपचारिक रूपमा अघि बढ्ने देखिए पनि आन्तरिक असन्तुष्टिको प्रभाव भने आगामी दिनमा अझ प्रस्ट रूपमा देखिने संकेत मिल्दैछ ।

 

कांग्रेस केन्द्रीय समितिअघि सानेपामा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका छन् । आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । लामो रस्साकस्सीपछि पुसभित्र नियमित महाधिवेशन ल्याउने सहमति कांग्रेसमा जुटेको छ । महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू सहमत भए पनि पूर्व पदाधिकारी विमलेन्द्र निधि र कृष्ण सिटौलालगायतका केही नेताहरूले असहमति राख्दै आएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने भएका छन् । महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो । सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्ताव पेश गरिने भएको छ ।

चुनावको तयारीमा लाग्नु पर्ने बेला कांग्रेस महाधिवेशन कति सम्भव ?

काठमाडौँ । करिब तीन महिनादेखि महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको माग र नेतृत्वबीचको तानातानमै अल्झिएको नेपाली कांग्रेस अहिले विवाद समाधानतर्फ अघि बढेको छ । लम्बिएको विवाद रोक्न सभापति शेरबहादुर देउवाको सक्रियतापछि शीर्ष तहमा पुस भित्रै नियमित महाधिवेशन गर्ने सहमति बनाइए पनि त्यसलाई व्यवहारिकरूपमा सम्पन्न गर्न सकिने कि नसकिने भन्नेमा नेताहरू बीच असमझदारी यथावत छ ।

कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएपछि विवाद एकाएक चर्किएको थियो । शेखर कोइराला समूह, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षीय नेताहरू विशेष महाधिवेशनको भूमिकामा उभिए पनि फागुनमा सम्भावित निर्वाचन नहुने आंकलनले अब नियमित महाधिवेशनमै सहमति खोज्ने वातावरण बनेको नेता बताउँछन् ।

नेताहरूका अनुसार संसद् विघटन प्रकरणमा सर्वोच्चको निर्णय नआइसक्दा, तयार वातावरण नदेखिँदा र फागुन २१ का लागि तोकिएको निर्वाचन समयमै हुने आशंका कमजोर बनेपछि पुसमा महाधिवेशनको कार्यतालिका ल्याउने सहमति तुलनात्मक रूपमा सजिलो बनेको हो। पार्टी विभाजनको जोखिम बढ्दै गएको स्थितिमा कम्तीमा वडा–क्षेत्र तहसम्म अधिवेशन प्रक्रिया सुरु गर्न सके महाधिवेशन केही समय पछाडि सार्न सकिने विकल्प समेत नेताहरूले देखेका छन् । तर कार्यान्वयनको मोर्चामा स्पष्टता छैन । गगन थापा निकट केन्द्रीय सदस्य प्रकाश रसाइली कार्यतालिका आए पनि चुनावअघि महाधिवेशन पूरा हुन कठिन हुने तर्क गर्छन् । उनका अनुसार ‘चुनावअघि अधिवेशन हुन सक्दैन, विशेष गर्नुपर्छ’ भन्ने धारणा बोकेका प्रदेश–जिल्ला–वडास्तरका नेताहरू नै फास्ट ट्रयाकमा लागेनन् भने महाधिवेशन फेरि पनि धकेलिन सक्छ ।

यता प्रदीप पौडेल, जसले यसअघि नै पुसमा महाधिवेशन गर्न लिखित प्रस्ताव पेस गरेका थिए, अहिले कार्यतालिका आउँदा समयको अत्यधिक चाप बढेको बताउँछन् । उनका अनुसार सदस्यता वितरण र सम्बन्धित प्रक्रियाहरू तत्काल टुंग्याउन सके मात्र महाधिवेशन व्यवहारिक तवरले सम्पन्न हुनसक्छ, नत्र ‘घोषणा मात्र’ मा सीमित हुन सक्ने आशंका बढेको छ । शेखर कोइराला समूहकी नेतृ सरिता प्रसाईं भने डेढ महिनामा पनि महाधिवेशन सम्भव रहेको दाबी गर्छिन् । उनका अनुसार माओवादी र एमालेले महाधिवेशन पूरा गरिसक्दा कांग्रेस यथास्थितिमा चुनावमा जाँदा जनतामा नकारात्मक प्रतिक्रिया बढ्न सक्छ, त्यसैले चुनावअघि नै अधिवेशन आवश्यक छ ।

देउवा निकट नेता नैनसिंह महर पनि सबै पक्ष एकताबद्ध हुन सके चुनावको चापका बीच पनि पुसमै महाधिवेशन सम्भव छ भन्नेमा विश्वस्त छन् । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय अहिलेको आवश्यकता हो,’ महरको भनाइ छ । त्यस्तै नेता योगेन्द्र चौधरीले पनि असहमतिको मनोविज्ञान छोडेर सबैले सहयोग गरे चुनावअघि नै महाधिवेशन पूरा गर्न सकिने तर्क प्रस्तुत गरेका छन् ।

आज बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२९ भित्र महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी छ । तर समानुपातिक उम्मेदवार सूची बुझाउने पुस १४–१५, राष्ट्रियसभा सदस्य उम्मेदवारी दर्ता पुस २३ र आगामी फागुन २१ को निर्वाचन कार्यतालिकासँग दौडिनुपर्ने बाध्यताका कारण महाधिवेशन कति यथार्थ रूपमै सम्भव छ भन्ने जिज्ञासा कांग्रेसभित्र गहिरो बनेको छ । केन्द्रीय नेताहरू आशावादी छन्–यदि पार्टीभित्र आजकै निर्णय सर्वसम्मत भयो भने महाधिवेशन सम्भव छ । तर मूल प्रश्न उस्तै छ—कांग्रेसले सहमति बनाएझैं तीव्र गतिमा काम गर्न सक्छ कि फेरि मतभेद र प्रक्रियागत ढिलाइमै फस्छ ? देशको राजनीतिक अनिश्चितताबीच कांग्रेसको निर्णय आजै निर्णायक मोडमा जाने अपेक्षा गरिएको छ ।

कांग्रेसको बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका टुंग्याउने तयारी

काठमाडौं । लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) दिउँसो २ बजेदेखि सानेपास्थित पार्टी मुख्यालयमा बस्दैछ । १५औं महाधिवेशनको कार्यतालिकालाई अन्तिम रूप दिने उद्देश्यसँगै बस्न लागेको बैठकलाई निर्णायक चरणको रूपमा हेरिएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका बैठकमा पेस गर्ने तय भएको पार्टी स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले पुस अन्तिम साताभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने तयारी गर्दै आएको छ । प्रारम्भिक योजना अनुसार पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार पारिएको छ । तर नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै पक्षका नेताहरूबीच सहमति नजुट्दा अन्तिम निर्णय बारम्बार ढिलिएको हो ।

गत असोज अन्त्यबाट चलिरहेको बैठकहरुमा सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आम निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने देउवाको धारणा र मध्यमार्गी प्रस्तावहरू पछि नजिकिएका नेताहरूको सहमतिबाट आजको बैठक निर्णायक बन्न सक्ने देखिएको छ ।

असोज २९ गते विशेष महाधिवेशन बोलाउन मागसहित निवेदन दर्ता भएपछि पुस २८ गतेभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधानले पार्टीमा थप दबाब सिर्जना भएको छ । यही कारण पुस २७ देखि महाधिवेशन चलाउन सकिने वैकल्पिक समयतालिका तयारी भइरहेको र आजको बैठकमा औपचारिक रूपमा टेबुल हुनसक्ने एक नेताले बताएका छन् ।

महामन्त्री गगन थापा नेतृत्वको समूहले समेत सबै शीर्ष नेताहरू इमानदारीपूर्वक अघि बढे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा राखेपछि सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन प्रस्ताव तयारी गर्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशनको माग फिर्ता हुने संकेत देखिन थालेसँगै नियमित महाधिवेशनको कार्यतालिकामा सहमति बन्ने वातावरण तयार हुँदैछ । यसैले आजको केन्द्रीय समिति बैठकबाट आधिकारिक कार्यतालिका टुंग्याई कांग्रेस महाधिवेशनतर्फ औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

देउवा निवासमा आज पनि पदाधिकारी छलफल, खाँणले बोलाए छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको स्वरूप र समय निर्धारणलाई लिएर चलिरहेको रस्साकस्सी आज पनि तीव्र रूपमा अघि बढेको छ । सभापति शेरबहादुर देउवाले केही दिनदेखि सुरु गरेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको छलफल आज (आइतबार) पनि निरन्तरता पाउनेछ भने नियमित महाधिवेशन पक्षधर समूहले बालकृष्ण खाँणको नेतृत्वमा छुट्टै भेला बोलाएको छ ।

शनिबार गरिएको बैठक निष्कर्षविहीन भएपछि देउवाले आज पुनः छलफल डाकेका हुन् । महाराजगञ्जस्थित आफ्नै निवासमा दिउँसो १ बजेबाट सुरु हुने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, शेखर कोइराला र रमेश लेखक सहभागी हुने जनाइएको छ । नियमित वा विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवाद आजै टुंग्याउने सभापति देउवा पक्षको तयारी रहेको पदाधिकारीहरूले बताएका छन् ।

यसैबीच, पार्टीभित्र नियमित महाधिवेशनको पक्षमा उभिएको समूहले भने आज दिउँसो २ बजे मध्यवानेश्वरको सनराइज क्याफे एन्ड ब्याकेटमा छुट्टै भेला राखेको छ । करिब ७० जना बढी केन्द्रीय सदस्यको उपस्थिति रहने अपेक्षा गरिएको यो भेला समूहलाई एकताबद्ध राख्ने र आगामी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको हो ।

खाँण नेतृत्वको समूह विशेष महाधिवेशन गर्नु नपर्ने अडानमा छ । उनीहरू १५औं महाधिवेशन चुनावअघि विशेष महाधिवेशनको आवश्यकता नरहेको र आगामी वैशाखमै नियमित महाधिवेशन गर्नुपर्छ भन्ने धारणा अघि सार्दै आएका छन् । पार्टीभित्र दुवै धार तीव्र रूपमा अगाडि बढिरहेका बेला देउवा निवासमा बस्ने छलफल र खाँण पक्षको भेला—दुवैको परिणामले कांग्रेसको आगामी राजनीतिक मार्गचित्र निकै हदसम्म निर्धारण गर्ने देखिएको छ ।

रवि अपराधी होइनन्, चुनावी अभियानमा सहभागी हुने अधिकार पाउनु पर्छ : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले रवि लामिछानेले चुनावी अभियानमा सहभागी हुने कानुनी अधिकार राख्नु पर्ने बताएका छन् । नेता शर्माले भने, ‘रवि अपराधी होइनन्, त्यसैले उहाँले स्वतन्त्र रूपमा आफ्नो विचार राख्ने र चुनावी अभियानमा भाग लिन पाउनु पर्छ ।’

शर्माले भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा छोटो अवधिको जमानत दिँदा दिएको सन्देश उदाहरण स्वरूप प्रस्तुत गर्दै भने, ‘चुनाव जनहितको विषय हो । कुनै व्यक्ति दोषी प्रमाणित नहुँदासम्म राजनीतिक प्रक्रियामा सहभागी हुनबाट रोक्नु हुँदैन । अदालतले स्पष्ट रूपमा भनेको छ कि अपराध प्रमाणित नभएसम्म राजनीतिक सहभागिताबाट रोक्नु समाजका लागि खतरा होइन ।’

उनले थपे, ‘यही न्यायिक सिद्धान्तको आधारमा, रवि लामिछाने आफू उम्मेदवार बन्न कानुनी रूपमा रोकिएका भए पनि, चुनावी अभियानमा सहभागिता जनाउने अधिकार उनीसँग रहनु पर्छ । उनी अहिले सहकारी ठगी प्रकरणमा अभियुक्त मात्र हुन् र कुनै अपराधमा दोषी ठहर भइसकेका छैनन् ।’

डा. शर्मा अनुसार लोकतान्त्रिक मुलुकमा कुनै पनि शीर्ष राजनीतिक व्यक्तित्वलाई पूर्ण रूपमा चुनावी प्रक्रियाबाट अलग राख्नु प्रत्यक्ष रूपमा प्रतिस्पर्धाको निष्पक्षता कमजोर पार्ने अभ्यास हो । यो केवल कुनै व्यक्ति वा पार्टीको पक्षमा मात्र नभई नेपालको समग्र लोकतान्त्रिक मूल्य र राजनीतिक निष्पक्षताको संरक्षणको पक्षमा रहेको विषय हो ।

नेता शर्माले निष्कर्षमा भने, ‘हामीले प्रतिस्पर्धालाई दबाएर होइन, खुलेर सामना गरेर बलियो लोकतन्त्र निर्माण गर्नुपर्छ । यस्ता न्यायिक र राजनीतिक नजिरहरूले हाम्रो लोकतान्त्रिक चरित्र सुदृढ बनाउँछन् र न्यायिक प्रक्रियाको विश्वसनीयता पनि कायम राख्छन् ।’ नेता शर्माले केहि दिनअघि पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई ललितपुरको नख्खु कारागारमै पुगेर भेटेका थिए ।

भेटपछि उनले अघिल्लो सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको बताएका थिए । उनले अघिल्लो सरकारको पालामा एउटै प्रकृतिको मुद्दामा अरुलाई छुट दिइएको बताउँदै लामिछानेमाथि भने भिन्नै व्यवहार गरिएको टिप्पणी गरेका थिए । उनले जेनजीको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले रविको मुद्दामा चासो देखाउनु पर्ने बताउँदै उनी भाग्छन् भन्ने लागे आफू कागजमा औठाछाप लगाएर जिम्मा लिन तयार रहेको बताएका थिए ।

 

देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीको छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर उत्पन्न भएको विवाद चुलिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा लगातार तेस्रो दिन पनि शीर्ष पदाधिकारीसँग गहन छलफलमा जुटेका छन् । नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने निर्णयमा मतैक्य नजुटेपछि देउवा पक्ष र महामन्त्रीहरूबीच संवादको शृङ्खला झन् तीव्र बन्दै गएको छ ।

शनिबार दिउँसो २ बजे देउवाको महाराजगञ्जस्थित निवासमै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मासहित पदाधिकारीहरूबीच फेरि छलफल बस्नेछ । २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका निष्कर्षमा पुर्‍याउन नसकेपछि समस्या समाधानलाई शीर्ष तहकै संवादमार्फत टुंग्याउने प्रयास भइरहेकामा यद्यपि ठोस सहमति बन्न सकेको छैन ।

देउवा पक्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई ‘अव्यवस्थित’ बनाउनु नहुने तर्क राख्दै आएका छन् । तर सभापति देउवा भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् । उता दुई महामन्त्रीले समय अभावका कारण नियमित महाधिवेशन गर्न नसकिने परिस्थिति आए विशेष महाधिवेशन अपरिहार्य हुने जिकिर गरिरहेका छन् ।

शुक्रबारको छलफलमा देउवा नेताहरूबीचको अनावश्यक तानातानप्रति रोष प्रकट गरेको एक पदाधिकारीले बताएका छन् । उनका अनुसार देउवाले आफू नेतृत्व छाड्न तयार भइसकेको अवस्थामा पनि नेताहरू ‘नियमित कि विशेष’ भन्ने नाममा विभाजित हुनु खेदजनक भएको टिप्पणी गरेका थिए । पुस मसान्तभित्र महाधिवेशन सक्ने संकल्पसहित अगाडि बढ्नु पर्ने उनको जोड रहेको स्रोत बताउँछ । लगातार तीन दिनदेखि चल्दै आएको संवादले अब समाधानतर्फ उन्मुख भएको दाबी समेत पदाधिकारीहरूको छ । शनिबारभित्रै सहमति टुंग्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

अब कसरी सल्टेला कांग्रेसमा महाधिवेशनको ‘किचलो’ ?

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि महाधिवेशन विवाद सुल्झिनुको सट्टा झनझन जटिल बन्दै गएको छ । सभापति शेरबहादुर देउवा स्वयं सक्रिय भएर नेताहरूलाई एक ठाउँमा ल्याउन खोजिरहे पनि न त सहमतिको सूत्र भेटिएको छ, न त असन्तुष्ट पक्षको अडान नै कमजोर भएको छ । उल्टै, संस्थापन र इतर पक्षबीचको दूरी झन बढेको छ । त्यसमाथि देउवा निकट नेताहरू नै दुई धारमा विभाजित हुँदा कांग्रेस नै सग्लो रहन्छ कि रहँदैन भन्ने चिन्ता बढाएको छ ।

देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र आफू नजिकका अन्य नेतासँग निरन्तर छलफलमा छन् । सहमति नजुटेपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि समेतलाई बोलाएर अर्को ‘रेस्क्यु डायलग’ प्रयास गरेका थिए । तर प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कुनै टुंगो लागेको छैन-बरु देउवाले विशेष महाधिवेशन अस्वीकार गरिसकेको तथ्य मात्र स्पष्ट बन्दै गएको छ । महत भन्छन्, ‘अब हुनुपर्ने नियमित महाधिवेशन हो, विशेष महाधिवेशनको सम्भावना सकियो ।’

तर यही बिन्दुमै गगन–विश्व पक्ष कतै झुक्ने पक्षमा छैन । उनीहरू कार्यतालिका होइन–‘विशेष महाधिवेशन नै’ माग्दै अडानमा उभिएका छन् । देउवाले विशेष महाधिवेशन माग आत्मसात गर्न कार्यतालिका देखाएर समय धकेल्न खोजेको आशंका उनीहरूको छ । उनीहरू ठोकुवा गर्छन्–अब नियमित महाधिवेशनको गुञ्जायश टरेको छ, एक मात्र बाटो विशेष महाधिवेशन नै हो ।

यो रस्साकस्सीबीच देउवा निकट नेताहरूमै विभाजन देखिनु कांग्रेसका लागि अर्को समस्या भएको छ । चुनावअघि महाधिवेशनमा जान नसकिने भन्ने प्रमुख पदाधिकारीहरू एक छेउ उभिए भने, पहिलेदेखि महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य अर्को छेउ । आज त उनीहरूले बानेश्वर र कुपण्डोलमा बेग्लाबेग्लै भेला गरी आ–आफ्नै निष्कर्ष निकाले । एकले ‘चुनावअघि महाधिवेशन असम्भव’ भने, अर्कोले ‘तुरुन्त मिति घोषणा गर’ भन्दै दबाब दिए ।

यसबीच, देउवा–गगन संवाद भने रोचक मोडमा पुगेको छ । महामन्त्री गगन थापाले देउवालाई दुई विकल्प दिएका छन्-‘कि ओलीझैं मैदानमा उत्रनुस्, नत्र ‘पिसफुल एक्जिट’ लिनुस् ।’ गगनले केपी ओलीको उदाहरण दिंदै भने, ‘ओली फ्रन्टमा उत्रे, महाधिवेशनमा पार्टीलाई लगे, अध्यक्षमा नै प्रतिस्पर्धा गर्दैछन् । तपाईंले त्यो मौका गुमाउनु भयो । अझै पनि मैदानमा आउन सक्नु हुन्छ-हामी प्रतिस्पर्धा गर्छौं ।’

उनले पर्दा पछाडि बसेर निर्णय रोकेकाले पार्टीलाई झनै जटिल बनाएको आरोप पनि लगाए । संवादमा गगनले ‘बटमलाइन’ प्रष्ट राखे-‘पुस २७ मा नियमित महाधिवेशन, नभए पुस २८ मा विशेष महाधिवेशन ।’ संस्थापन पक्षले भने विशेष महाधिवेशन नगर्ने आधारमा धेरै विकल्प राखे, तर गगन–विश्व पक्ष लचक नहुने पक्षमा देखिएका छन् ।

दबावमा देउवा : खड्कासहित आज पनि दुई महामन्त्रीसँग छलफल, संस्थापन समूह छुट्टै रणनीतिमा

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय सीमा र विशेष महाधिवेशन हुने–नहुनेलाई लिएर उत्पन्न विवाद थप तीव्र बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले आज पुनः कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग निर्णायक छलफल गर्न लागेका छन् ।

शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा आगामी महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने संवेदनशील विषयमा केन्द्रित छलफल हुने बताइएको छ । सो टोलीले बिहीबार साँझ पनि सभापति देउवासँग बैठक गरेको थियो, तर महाधिवेशनसम्बन्धी विवादमा ठोस सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबार सारिएको छ ।

महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनका पक्षमा लिखित माग राखेपछि नेतृत्वमा थप दबाब परेको छ । गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले फागुन २१ को निर्वाचनअघि नेतृत्व परिवर्तन अनिवार्य रहेको दाबी गर्दै विशेष महाधिवेशन बोलाउन देउवामाथि निरन्तर दबाब बढाइरहेका छन् ।

यसैबीच, विशेष महाधिवेशनको विपक्षमा रहेको संस्थापन समूह भने आफ्नै आन्तरिक तयारी र रणनीति बनाउन अलग्गै बसेको छ । बानेश्वरस्थित आनन्दभूमि होटलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालासहित करिब ७० भन्दा बढी नेताहरू सहभागी रहेको बैठक बिहान ९ बजेदेखि नै जारी छ। संस्थापन समूहले आगामी फागुन २१ को निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने अडान दोहोर्याउँदै आएको छ । एकातिर देउवा–खड्का–महामन्त्री तिकडीले समाधान खोज्ने प्रयास चलाइरहेका बेला अर्कोतिर संस्थापन समूहले बलियो संगठनात्मक सतर्कता अपनाएको संकेत देखिएको छ । महाधिवेशनको समय, स्वरूप र नेतृत्व रूपान्तरणको बहसले कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरणलाई थप रोचक मोडमा पुर्‍याएको छ ।

जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु : खड्का

काठमाडौं । नेपाली कांग्रेसको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सारेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।

उनले बैठक सारिएको विषयमा जानकारी गराउँदै सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् । उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरे पनि स्वीकार गर्ने प्रतिक्रिया दिए ।

‘माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ । जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु । म कार्यवाहक रहेसम्म’, उनले बिहीबार राति एक्समा लेखेका छन् । महाधिवेशनको विषयमा विवाद भएपछि कांग्रेसको बैठक पटक–पटक सर्दै आएको छ । अब बैठक आइतबार दिउँसो २ बजे बस्नेछ ।

विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनहरूमा तीव्र रूपमा बढेको महाधिवेशनसम्बन्धी विवाद बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा पुनः केन्द्रीकृत भयो । पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन–यही मुद्दाले नेताहरूबीच वैचारिक ध्रुवीकरण झनै गहिरिँदै गएको छ ।

बिहीबार साँझ देउवाले पदाधिकारी तथा शीर्ष नेताहरुलाई निवासमा बोलाएर छलफल गरे । छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई नै ‘विशेष महाधिवेशन’ गराएर नेतृत्वले नै निकास दिनुपर्छ भनेर कडा प्रस्ताव राखे । थापाका अनुसार नियमित महाधिवेशन समयमै नसकिने संस्थापन पक्षले नै स्वीकारिसकेको अवस्था भएकाले, विशेष महाधिवेशनले पार्टी र नेतृत्व दुवैको हित सुरक्षित हुने तर्क उनले दोहोर्‍याए ।

तर देउवाले गगनको आग्रहलाई अस्वीकार गरेका छन् । छलफलमा सहभागी एक पदाधिकारीका अनुसार देउवाले भने, ‘विशेष महाधिवेशन गरे पार्टी फुट्छ । त्यो म हेर्न सक्दिनँ । सहमतिमै अगाडि जाऔं ।’

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक पनि सहभागी थिए । लेखकले ‘नियमित महाधिवेशनको स्पष्ट कार्यतालिका ल्याएर मात्र विवाद समाधान सम्भव हुने’ सुझाव दिए । तर लेखकको ‘नियमित महाधिवेशनको क्यालेन्डर आएपछि विशेष नहुने ग्यारेन्टी’ मागलाई दुवै महामन्त्रीले अस्वीकार गरे । महामन्त्री शर्माले भने, ‘अब विशेष बाहेक अरू विकल्प छैन ।’

यतिबेला पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिरहेका छन् । तर सभापति देउवा र उनको समूह भने आगामी फागुन २१ गतेको उपनिर्वाचनपछि मात्र नियमित महाधिवेशनतर्फ जाने अडानमा छन् । सहमति खोज्ने जिम्मा पाएका उपसभापति खड्का निरन्तर बैठक सार्दै बसेका छन् ।

‘मेरो नाम भजाएर विवाद नगर’
महाधिवेशन विवाद चर्किदै गएपछि देउवाले बिहीबार नै संस्थापन पक्षका नेताहरूलाई छुट्टै छलफलमा बोलाएका थिए । सहभागी नेताका अनुसार देउवाले विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुने चेतावनी दिए र आफ्नो नाम प्रयोग गर्दै पार्टीमा तनाव सिर्जना नगर्न भन्दै नेताहरूलाई ‘हप्काएको’ रूपमा अभिव्यक्ति दिएका थिए ।

देउवाले आफू अब कार्यकारी भूमिकामा नरहेको र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेको पनि दोहोर्‍याए । ‘अर्को महाधिवेशनबाट म सभापति हुँदिनँ, मलाई विवादमा किन तानिरहने ?’ भन्दै उनले नेताहरूलाई पार्टी एकता प्राथमिकता दिन निर्देशन दिएका थिए ।

देउवाले स्पष्ट भने, ‘विशेष महाधिवेशन नगर । नियमित महाधिवेशन सहमतिमै गरौं । पार्टी फुटेको हेर्न म सक्दिनँ ।’ उनले बैशाखमा महाधिवेशन गर्ने भन्दै मिति तोकेर हिँड्ने काम पनि नगर्न निर्देशन दिए । बीचमा निर्वाचन परे महाधिवेशन रोकेर चुनावमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । छलफलमा खड्का, पूर्व पदाधिकारीहरू, नेता एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मालगायत सहभागी थिए ।

विशेष महाधिवेशन पक्षधरको चेतावनी : अविश्वसनीय कार्यतालिकाले रोकिन्न, चुनावमा जान सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीको वर्तमान नेतृत्वलाई चुनाव अघि विशेष महाधिवेशन नगरी अघि बढ्न नहुने चेतावनी दिएका छन् । उनीहरूले पार्टी विधान र जनअपेक्षाको पालना नगरी निर्णय लिन नसक्ने नेतृत्व लिएर चुनावमा जाने अवस्था अस्वीकार्य भएको बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरको भनाइ अनुसार, पार्टीमा आउने नियमित महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन प्रयोग गरिएमा त्यो स्वीकार्य हुने छैन । उनीहरूले स्पष्ट पारेका छन् कि वर्तमान कार्यसमितिको समयावधि बढाइएर नियमित महाधिवेशन सम्पन्न भए मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । नत्र, पार्टी विधानले दिएको वैधानिक अधिकार—विशेष महाधिवेशन—कसैले रोक्न वा अतिक्रमण गर्न सक्दैन ।

पक्षधरहरूले महाधिवेशनको कार्यतालिका मात्र नभई यसको सुनिश्चितता खोजेको बताएका छन् । उनीहरूका अनुसार, ‘हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं ।’ पार्टी विधान अनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा आह्वान गर्नुपर्ने अवस्था रहेको छ।

नेता देवराज चालिसेले पत्रकार सम्मेलनमा भने, ‘विधानभन्दा माथि कोही छैन । पार्टीका नेता–कार्यकर्ताको मनोबल उकास्ने नेतृत्व लिएर मात्रै चुनावमा जान सकिन्छ । हामीले पार्टीको संरचनागत सुधार गर्ने गरी विशेष महाधिवेशन माग गरेका हौं ।’ उनले अहिलेको नेतृत्व डेढ महिनादेखि निर्णय गर्न नसकेको उल्लेख गर्दै यस्तो नेतृत्वसँग चुनावमा जान नसकिने बताए । चालिसेले थपे, ‘महाधिवेशन समयमै सम्पन्न नभएमा पार्टी कमजोर हुन्छ । समयमै विशेष महाधिवेशन गरेर जनअपेक्षाको नीति अख्तियार गर्दै बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जानुपर्नेछ ।’ उनले पार्टीको केन्द्रीय नेतृत्वले विधान पालना नगरेको आरोप पनि लगाए ।

विशेष महाधिवेशन पक्षधरले वर्तमान नेतृत्वलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दै, ‘दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व होइन। यही कारणले विशेष महाधिवेशनको महसुस भइरहेको छ । हस्ताक्षरकर्ताको विषयमा छलफल गरी विशेष महाधिवेशन बोलाउनु पर्छ’, भनि वक्तव्यमा उल्लेख गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि विशेष वा नियमित महाधिवेशनको निर्णयमा अलमल गरिरहेको छ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग अघि सारेको भए पनि नेतृत्वले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ । पक्षधरहरूले चेतावनी दिएका छन् कि निर्णय गर्न नसक्ने वर्तमान नेतृत्व लिएर चुनावमा जानु पार्टीको हित र लोकतन्त्रको हित विपरीत हुनेछ । यसैबीच पार्टीमा लामो समयदेखि देखिएको अन्योल र निर्णयहिनताले कांग्रेसलाई गम्भीर संकटको मोडमा पुर्‍याएको आरोप पनि उनीहरूले लगाएका छन् ।

हेर्नुस् विज्ञप्ती

 

 

देउवाले कांग्रेसका ‘सात भाइ’ सँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चर्को बहस चलिरहेकै बेला सभापति शेरबहादुर देउवाले आफू निकट सात पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । ‘कांग्रेसका सात भाइ’ भनिने विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महतसँग देउवाले प्रत्यक्ष संवाद गर्न लागेका हुन् ।

१५ औं महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषयमा पार्टीभित्रै मतभेद रहँदै आएको छ । निधि, सिटौला र सिंहलगायतका नेता निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । डेढ महिनादेखि यही विवाद अल्झिँदै आएपछि सभापति देउवाले फेरि व्यापक समन्वयका लागि शीर्ष नेताहरूलाई बोलाएका हुन् । नेता निधिले सभापतिको निम्तो आएको पुष्टि गर्दै आफू फागुनमा निर्वाचन र वैशाखमा महाधिवेशन गर्ने पक्षमा रहेको बताए । देउवा फर्किएपछि पनि विभिन्न समूहसँग छुट्टाछुट्टै भेटघाट भइरहेका छन् । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन–नलिनेतर्फ समेत नेताहरू दोधारमा छन् । हस्ताक्षर फिर्ता भए पुसमै महाधिवेशन गर्ने माग छ भने नियमित महाधिवेशन भए हस्ताक्षर स्वतः निष्क्रिय हुने धारणा अर्को समूहको छ ।

यसैबीच ऋषि लेखक, गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का लगायत नेताहरूबीच पनि सहमतिमूलक विकल्प खोज्ने प्रयास जारी छ । लेखकका अनुसार विशेष महाधिवेशनले पार्टीमा विभाजन निम्त्याउन सक्ने भएकाले सबैलाई स्वीकार्य समाधान निकाल्नेतर्फ छलफल केन्द्रित छ । विभिन्न विकल्पमाथि कुराकानी हुँदै आएको र भोलिसम्म केही टुंगो लाग्न सक्ने उनको भनाइ छ ।

संस्थापन पक्षका उदयशमशेर राणा र पुष्पा भुसालले पनि विशेष महाधिवेशन समर्थक नेताहरूसँग छुट्टै भेट गरी नियमित महाधिवेशनलाई नै अघि बढाउन आग्रह गरेका थिए । विशेष महाधिवेशनका पक्षधरले भने आफूहरू महाधिवेशन प्रक्रियाप्रति प्रतिबद्ध रहेको पुनः दोहो¥याइरहेका छन् । आजै कार्यवाहक सभापति तथा महामन्त्रीद्वयसहितको अर्को बैठक पनि निर्धारित छ । पटक–पटक सारिँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने गरी तयारी गरिएको छ ।

 

 

राष्ट्रपतिले नजोगाएको भए नेताहरू आज नख्खु जेलमा हुन्थे : हरि शर्मा

काठमाडौं । राजनीतिक विश्लेषक हरि शर्मा नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा आज गरेको भेलामा सहभागी भएका छन् । उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको उल्लेख गर्दै कांग्रेस केन्द्रीय समितिले विशेष महाधिवेशन पक्षधरलाई बिरालोले मुसा खेलाएझैं खेलाएको देख्दा चित्त दुखेर आएको बताएका छन् ।

‘म यो पार्टीको सदस्य छैन तर पार्टीको छहारीभित्र हुर्केको नागरिक हुँ । मलाई जसरी तपाईंहरूको केन्द्रीय समितिले तपाईंहरूलाई बिरालोले मुसा खेलाएको जस्तो खेलायो, त्यो देखेर चित्त दुखेर आयो । तपाईंहरूलाई अपहेलना गरेको देख्दा नागरिकको हैसियतले मन रोयो, त्यसैले म यहाँ आएँ,’ शर्माले भने । शर्माले लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने आफ्नो नागरिक चेत खलबलिने बताए । ‘लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ । कुनै समयमा हामीले नेताको विवेकमा पार्टीलाई छाडेको हो । तपाईंहरूले बढो मेहनत गरेर आफ्नो अधिकार आफ्नो हातमा लिनुभएको छ, म यहाँ तपाईंहरूलाई सलाम गर्न आएको हो,’ शर्माले भने, ‘विधानमा व्यवस्था भएअनुसार विशेष महाधिवशेन माग्दा सुन्न नसक्ने ? जुन किसिमको तिष्कार कुरा यहाँ सुनेँ, त्यसले लोकतन्त्र बलियो होला जस्तो मलाई लाग्दैन ।’

उनले विधि र कुनै पनि डरबिना नेतृत्व छान्न शुभकामना दिएका छन् । सभापति शेरबहादुर देउवा कुटिँदा यो पार्टी कहाँ थियो र त्यो परिस्थिति कसरी र किन आयो भन्ने प्रश्न पनि उनले गरेका थिए । सामाजिक सञ्जाल बन्द गर्न नहुने उनको भनाइ थियो । ‘नेताहरूले गल्ती स्वीकार गरेको खासै सुनिँदैन, गगन थापाले गल्ती स्वीकार गरेको सुनेँ, गल्ती स्वीकार गर्नु नेतृत्वको ठूलो कुरा हो,’ शर्माले भने, ‘अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन । यो राज्य भत्केको होइन, पग्लेको हो ।’

उनले राष्ट्रपति र गणतन्त्रले स्थिति सम्हालेको पनि बताएका छन् । ‘गणतन्त्र र राष्ट्रपतिले जोगाएको हो हामीलाई, नत्र आज नेताहरू नख्खु जेलमा हुन्थे,’ उनले भने, ‘रक्षा बमलगायतले प्रधान सेनापतिलाई तपाईंले कू गर्न खोजेको हो भनेर गरेको प्रश्नले लोकतन्त्र जोगाएको हो, प्रश्नले लोकतन्त्र जोगाउँछ ।’ उनले लोकतन्त्र र षड्यन्त्र सँगसँगै जानै नसक्ने पनि बताए । उनले लोकतन्त्र बचाउन, चुनाव गराउन र नागरिकलाई चयनको अधिकार दिन पनि आग्रह गरेका छन् ।

‘नेतृत्वको हैकम तपाईंहरूले बुझ्नु भएको छ, लोकतन्त्रमा देश, समाज र नागरिकको भविष्य रहन्छ । त्यसको संवाहक झण्डा बोक्ने तपाईंहरू हो,’ उनले भने, ‘कांग्रेसले चुनावमा जाने निर्णय गरेर अरू पार्टीलाई पनि त्यसतर्फ डोहोर्‍यायो ।’ उनले पार्टीको नयाँ नीति र नेतृत्व चुन्न पनि आग्रह गरेका छन् । साथै नयाँ पुस्तालाई भरोसा लाग्ने पार्टी बनाउन पनि आग्रह गरेका छन् ।

 

रविलाई बाहिर निकाल्दा भाग्छन् भन्ने लाग्छ भने त्यसको जिम्मा म लिन्छु : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले प्रतिशोध राखेर थुनामा पठाएको आरोप लगाएका छन् । ललितपुरस्थित नख्खु कारागार पुगेर पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई भेटेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अघिल्लो सरकारले गरेको आपराधिक निर्णयहरू फिर्ता लिन सरकारसँग माग गरे ।

उनले भने, ‘सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई भन्न चाहन्छु, तपाईहरूले मुद्दा फिर्ता लिँदा रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस् । म दुई वटा ल्याप्चे लगाएर रविजीलाई निकाल्न म तयार छु ।’ उनले सहकारी पीडितहरूको पैसा फिर्ता हुने सुनिश्चिततासहित रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन माग गरे ।

 

गुरुराज घिमिरेको कटाक्ष : विश्वकै लामो बैठक बस्दा पनि पार्टीले निष्कर्ष निकालेन

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समितिको बैठक अनावश्यक रूपमा लामो बनाइएर पनि कुनै ठोस निर्णय ननिस्किएको भन्दै नेतृत्वमाथि कडा आलोचना गरेका छन् । विशेष महाधिवेशन माग गर्दै आयोजित भेला सम्बोधन गर्दै उनले कांग्रेसको निर्णय–क्षमता र नेतृत्व शैली नै प्रश्नवाचक बनेको टिप्पणी गरेका छन् ।

असोज २८ गतेदेखि निरन्तर चलिरहेको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने विषयमा समेत निष्कर्ष निकाल्न नसकिरहेको उल्लेख गर्दै घिमिरेले भने, ‘हामी आफै बिग्रिएका हौं । सच्चिएर अघि बढ्ने तरिका खोज्नुपर्ने बेलामा बैठकलाई विश्वकै लामो बनाइ दियौं ।’ उनका अनुसार एकजना नेताले संसारमा सबैभन्दा लामो समयसम्म बसेका पार्टी बैठकहरूबारे खोज्दा चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिन मात्र चलेको देखिएको छ । ‘हाम्रो त डेढ महिना । भोलि पनि बस्ने भनिएको छ, सर्ने हल्ला पनि छ, त्यो हल्ला पनि यहाँ प्रायः सत्य हुन्छ’, उनले कटाक्ष गरे ।

घिमिरेले मुलुक र पार्टी दुबैलाई निकास दिन विशेष महाधिवेशन नै एक मात्र विकल्प रहेको दाबी गरे । विगतमा समयमै महाधिवेशन हुन नसकेका घटना स्मरण गर्दै उनले नेतृत्वले विधानअनुसार चल्न नसकेको आरोप लगाए । ‘हामीले ३ वर्षअघि नै महाधिवेशन प्रक्रिया अघि बढाउन भनेका थियौँ, तर सुन्न पनि चाहिएन’, उनले भने । उनका अनुसार विशेष महाधिवेशनको मागसहित २,४८८ जनाको हस्ताक्षर केन्द्रमा बुझाइसकिएको छ । ‘यो झगडा होइन, अनुशासनहीनता पनि होइन । संस्थापकहरूले देखाएको बाटो अनुशरण गर्ने प्रयास मात्र हो’, उनले स्पष्ट पारे ।

३६ वर्षसम्म विभिन्न चरणमा सरकार सञ्चालन गरेको कांग्रेसले अब आफ्नै कमजोरी र विफलताको खुला समीक्षा गर्नुपर्ने अवस्था समेत आएको उनले बताए । पार्टीभित्रको समस्याको सामाधान विशेष महाधिवेशनबाट मात्र सम्भव हुने उनको तर्क थियो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित भेलाको अध्यक्षता कांग्रेसको २०१४ सालको पहिलो विशेष महाधिवेशनमा उपस्थित वरिष्ठ नेता ओमकार श्रेष्ठले गरेका थिए । कार्यक्रममा विशेष महाधिवेशन पक्षधर नेताको बाक्लो उपस्थिति थियो ।

 

चुनावअघि महाधिवेशन कांग्रेसका लागि प्रत्युत्पादक हुन्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावअघि पार्टीको महाधिवेशन हुने कुनै आधार नभएको बताएका छन् । उनले समय कम भएकाले चुनावअघि महाधिवेशन गर्न सहज नभएको बताएका छन् । उनले भने, ‘पुसभित्र महाधिवेशन हुने कुनै सम्भावना देख्दिनँ । निर्वाचनमा जाने कुरा प्रत्युत्पादक पनि हुन्छ । सबै विधि प्रक्रिया पुर्‍याएर गर्न भ्याइँदैन । भन्नलाई त आजै गर्छु भोलि नै गर्छु भनेपनि भयो नि ।’ उनले कार्यवाहक सभापतिले नै सहमति जुटाउँछु भनेर छलफल गरिरहेको बताए ।

सभापति शेरबहादुर देउवा फेरि सक्रिय हुनु भएको हो ? उनले भने, ‘सभापतिसँग सल्लाह सुझाव लिएका मात्रै हौँ । कार्यवाहकले नै सहमतिको प्रयासका लागि काम गरिराख्नु भएको छ । उहाँले नै बैठक टुङ्ग्याउनु हुने हो ।’ सभापतिसँग पार्टीका सबै नेताहरूले आ–आफ्नो कुरा राखिसकेको उनले बताएका छन् । उनले भने, ‘हामीले आ–आफ्नो कुरा सबैले सभापतिलाई भनिसकेका छौँ । कार्यवाहकलाई पनि भनेका छौँ । उहाँले सभापतिसहित अरू नेताहरूसँग कुरा गर्नु हुन्छ । त्यसकै आधारमा सहमतिको प्रयास हुँदैछ ।’

कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा चर्को विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला चुनावअघि महाधिवेशनको पक्षमा उभिए पनि संस्थापन पक्ष विभाजित छ । संस्थापन पक्षमा रहेका पूर्व पदाधिकारीहरू भने चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमा उभिएका छन् ।

महामन्त्रीद्वयसँग छलफल गर्दै खड्का, लेखक पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा रमेश लेखकबीच आज छलफल हुने भएको छ । छलफल दिउँसो १२ बजेपछि हुने जनाइएको छ । छलफलमा महाधिवेशन र कार्यतालिकाबारे कुराकानी हुने बताइएको छ । कांग्रेसको भोलिदेखि केन्द्रीय समिति बैठक बस्दै छ । त्यसबारे पनि कुराकानी हुने बताइएको छ । उनीहरूबीच हिजो साँझ पनि छलफल भएको थियो । तर, सहमति जुटेको थिएन ।

पार्टीको १५औं महाधिवेशन चुनावअघि गर्ने कि, तत्कालै विशेष महाधिवेशन गर्ने कि, चुनावपछि नियमित महाधिवेशन गर्ने भन्ने विवाद समाधानका लागि नेताहरू जुट्न लागेका हुन् । कांग्रेसभित्र यो विषय विगत एक महिनादेखि पेचिलो बन्दै आइरहेको छ । एक महिनाभन्दा लामो समयदेखि केन्द्रीय समिति बैठक बसे पनि महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन । संस्थापन पक्ष चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्न सकिने अडानमा छ । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्ष जुनसुकै हालतमा पुस मसान्तभित्रै नियमित या विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन भने पनि गर्नुपर्ने इतर पक्षको अडान रहँदै आएको छ । कांग्रेसले मंसिर ११ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने दबाब छ ।

 

कांग्रेस विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही मागलाई संस्थागत दबाबमा रूपान्तरण गर्न विशेष महाधिवेशन पक्षधर समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शनसहितको भेला आयोजना गरेको छ ।

नेता गुरुराज घिमिरेका अनुसार भेला दिउँसो १ बजेपछि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु हुने गरी तयारी पूरा भएको छ । भेलामा काठमाडौंका साथै बाहिरी जिल्लाबाट पनि सयौँ कार्यकर्ता सहभागी हुने नेता मनोजमणी आचार्यले जानकारी दिएका छन् ।

जेन्जी आन्दोलनपछिका निरन्तर उठेका सुधार, पारदर्शिता र संगठन पुनर्गठनका मुद्दाहरू समयमै सम्बोधन नभएको भन्दै असन्तुष्ट समूहले चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्छ भन्ने अडान राख्दै आएको छ । नियमित महाधिवेशन समयमै नहुन सक्ने संकेत देखिएपछि उनीहरूले विशेष महाधिवेशनको औपचारिक माग अघि सारेका हुन् ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर समेटिएको निवेदन असोज २८ गतेकै दिन कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको पक्षधरहरूले बताएका छन् । कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नैपर्ने संवैधानिक प्रावधान छ । यही व्यवस्थाअनुसार कांग्रेसले आगामी पुस २८ भित्र चाहे नियमित, चाहे विशेष—महाधिवेशन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

पक्षधर समूहका नेता युवराज पाण्डेका अनुसार केन्द्रीय समिति अझै अनिर्णयमा भएकाले आजको भेला दबाबस्वरूप आयोजना गरिएको हो । ‘भोलि बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनबारे स्पष्ट निर्णय नगरे विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरू आफैंले महाधिवेशन घोषणा गर्ने सन्देश यही भेलाबाट दिनेछौँ’, पाण्डेले भने । भेलाले आगामी रणनीति, संगठनात्मक कदम र नेतृत्वप्रतिको असन्तोषलाई औपचारिक रूपमै व्यक्त गर्ने बताइएकाले कांग्रेसभित्रको शक्ति–सन्तुलनमा यसले महत्वपूर्ण प्रभाव पार्ने आंकलन गरिएको छ ।

विश्वप्रकाशलाई जितजंगको जवाफ : ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई केन्द्रीय सदस्य जितजंग बस्नेतले जवाफ फर्काएका छन् । जेनजी आन्दोलनका क्रममा आगलागी भएको उदयपुर कांग्रेसको कार्यालय अवलोकनपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले कांग्रेसको विधानमा विशेष महाधिवेशनका लागि पत्र दर्ता भएको भन्दै ब्याक गियर नभएको बताएका थिए ।

शर्माले भनेका थिए, ‘कांग्रेस विधानमा दर्ताको दफा छ फिर्ताको दफा छैन । त्यसैले विशेष महाधिवेशनको ब्याक गियर हुँदैन । माग भएको ९० दिनभित्रमा विशेष महाधिवेशन गर्नैपर्छ ।’

त्यसको जवाफ फर्काउँदै बस्नेतले पार्टीको विशेष महाधिवेशन नहुने बताएका छन् । उनले भनेका छन्, ‘विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । ढुक्क हुनु होस्, वर्तमान सभापति ज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’

विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । आज (मंगलबार) उदयपुरको गाईघाटमा कांग्रेस नेता–कार्यकर्तामाझ धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘दुई महामन्त्री के भन्छन् ? या, सात भाइ के भन्छन् ? अब त्यो मुख्य कुरा होइन,’ महामन्त्री शर्माले भने, ‘असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो ।’ सभापति देउवाले त्यो दिन केन्द्रीय समितिमा दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन छुट्नु हुन्न थियो’ भनेर शर्माले भनेका छन् । ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ,’ उनले भने । अब पार्टी र देशको आजको समाधानका लागि सभापति देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने मत उनले अगाडि सारेका छन् । उनले भने, ‘उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने मलाई विश्वास छ ।’

सँगै महामन्त्री शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन फिर्ता हुने अवस्था नरहेको बताए। ‘विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको दफा छैन । त्यसैले विशेषको ब्याक गियर हुन्न,’ महामन्त्री शर्माले भने । ९० दिनभित्र विशेष महाधिवेशन गर्नै पर्ने उनले बताए। ‘सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने । ‘कांग्रेस विधानसम्मत कांग्रेस अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ महामन्त्री शर्माले भने ।

 

 

 

कांग्रेस सभापति देउवा फेरि ‘सक्रिय’ राजनीतिमा

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व–संघर्ष निर्णायक मोडमा पुगेको छ । सक्रिय राजनीतिबाट अलग हुँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएको सन्देश सार्वजनिक गरेको एक महिनामै सभापति शेरबहादुर देउवा पुनः केन्द्रविन्दुमा फर्किएका छन् । आगामी राष्ट्रियसभा (११ माघ) र प्रतिनिधिसभा (२१ फागुन) निर्वाचनका लागि दल दर्ता गर्दा कांग्रेसले देउवाकै नाम–हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेपछि विवाद झनै झाँगिएको छ ।

दल दर्तामा देउवाको हस्ताक्षर पेश हुनु नेताहरूले उनको ‘पूर्ण सक्रियता’ को संकेतका रूपमा लिएका छन् । अब निर्वाचनका सबै निर्णय, विशेषतः उम्मेदवार छनोटमा, देउवाकै प्रभाव निर्णायक हुने आंकलन छ । यता, कार्यवाहक सभापति खड्काले निर्णय क्षमताबारे उठेका प्रश्न र पार्टीभित्र बढ्दो असन्तुष्टिले संस्थापनलाई नै असहज बनाइरहेको छ ।

महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको समूह विशेष महाधिवेशनको अभियानमा झनै आक्रामक बनेको छ । ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भइसकेको विशेष महाधिवेशनको निवेदन ‘फिर्ता लिनुपर्ने’ संस्थापन पक्षको शर्तलाई उनीहरूले अस्वीकार गरिदिएका छन् । उनहरूको तर्क छ, ‘नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने सहमति भए विशेष महाधिवेशनको औचित्य आफै सकिन्छ । तर निवेदन फिर्ता लिनु भनेको महाधिवेशन नै नहुने योजना हो ।’

दल दर्तामा आफ्नै हस्ताक्षर चल्ने व्यवस्था गराएर देउवाले चुनाव व्यवस्थापनमा प्रत्यक्ष भूमिका लिन खोजेको आरोप इतरपक्षीय नेताहरूको छ । महामन्त्री थापाले खुलेरै भन्न थालेका छन्, ‘आगामी चुनावमा टिकट नयाँ नेतृत्वले बाँड्छ, देउवाले होइन ।’ यससँगै देउवा पनि नियमित-विशेष दुवै महाधिवेशन पटक–पटक अघि सार्ने रणनीतिमा लागेको आरोप तीव्र बनेको छ ।

उपसभापति खड्का स्वयं दल दर्तामा देउवाको पुनः सक्रियताप्रति असन्तुष्ट देखिएको जानकारी बाहिरिएको छ । कयौं नेताहरूको धारणा छ, ‘कार्यबाहकलाई समस्या र अपजसको भार दिने, तर टिकट वितरणको बेला देउवा आफै सक्रिय हुने—यो राजनीतिक र नैतिक दुवै दृष्टिले गलत छ ।’ जेन–जी आन्दोलनले माग गरेको ‘नेतृत्व परिवर्तन’ र ‘दुई पुस्ताबीचको संक्रमण’ को मुद्दा फेरि अगाडि धकेलिएको महसुस विशेष महाधिवेशन पक्षधर नेताहरूले गरिरहेका छन् । उनीहरू भन्छन्, ‘देउवाले कार्यबाहक दिएर फर्किनु आन्दोलनको मर्ममाथि चोट हो । नेतृत्व बदलिएन भने चुनावमा कांग्रेस कमजोर हुन सक्छ ।’

अन्तिम निष्कर्ष : कांग्रेस निर्णायक वैचारिक–संगठनात्मक मोडमा ।
आगामी केन्द्रीय कार्यसमितिको बैठक अब ‘वारपार’ को बैठक मानिँदैछ ।
– संस्थापन पक्ष महाधिवेशन वैशाख–पछि धकेल्न चाहन्छ ।
– इतरपक्ष चुनावअघि नै नेतृत्व र नीति परिवर्तन हुनैपर्ने अडानमा छ ।
दल दर्ताबाट देउवाको पुनः सक्रियता कांग्रेसभित्र महिनौदेखि चलिरहेको शक्ति–युद्धलाई खुलेआम ‘सभापति बनाम महामन्त्री’ को संघर्षमा बदलिसकेको छ ।

गगन थापालाई कल्याण गुरुङको जवाफ : कुनै हालतमा विशेष महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबारे उत्पन्न मतभेद चरम बिन्दुतर्फ उन्मुख भइरहेका बेला महामन्त्री गगनकुमार थापाको पछिल्लो अभिव्यक्तिलाई संस्थापन पक्षले खुलेर प्रतिवाद गरेको छ । थापाले विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको बारम्बार दोहोर्‍याइरहेका बीच केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले भने कुनै हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् ।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा आगामी निर्वाचनमा जाने प्रश्न संवेदनशील भएको उल्लेख गरेका थिए । उनले विधानअनुसार विशेष महाधिवेशन बोलाएर नयाँ सभापति चयन हुने र नयाँ नेतृत्वकै सहमतिमा निर्वाचनमा जाने दाबी गरेका थिए । त्यसको भोलिपल्टै गुरुङले फेसबुकमै थापालाई शैलीगत प्रतिवाद गर्दै विशेष महाधिवेशनबारे बाहिर चलेको चर्चा ‘हल्ला मात्र’ भएको जिकिर गरे ।

गुरुङका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा आजसम्म विशेष वा नियमित महाधिवेशनसम्बन्धी कुनै आधिकारिक प्रस्ताव दर्ता भएको छैन । उनले पार्टी विधानको धारा १७ (२) मा उल्लेखित प्रक्रिया लागू गर्न आवश्यक नियमावली–कार्यविधि नभएको, हस्ताक्षरहरूको प्रमाणीकरण नपुगेको र विशेष महाधिवेशनले सभापति तथा पदाधिकारीलाई हटाउने व्यवस्था नै विधानमा नलेखिएको स्पष्ट पारेका छन् । उनको तर्कमा विशेष महाधिवेशन बोलाउनुपर्ने परिस्थिति नै नबनेको र विधानले तोकेको ‘अविश्वासको प्रस्ताव’ वा सभापतिको राजीनामा बाहेक नेतृत्व परिवर्तनको बाटो खुला नरहेको उल्लेख छ ।

गुरुङले पाँच स्पष्ट कारणसहित विशेष महाधिवेशन असम्भव रहेको बताए । उनका अनुसार पार्टीले २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको हुँदा अहिलेको सबै ध्यान निर्वाचन तयारीतर्फ हुने, संगठनभित्र विवाद बढाउने कदम नचाहिने र वर्तमान नेतृत्वकै हस्ताक्षरमा पार्टी चुनावमा जाने नै यथार्थ हो । पार्टी एकता जोगाउन विशेष महाधिवेशन ‘एक पनि हुँदैन, दुई पनि हुँदैन, तीन पनि हुँदैन’ भन्दै उनले दाबी थप कडा बनाएका छन् ।

यसैबीच, थापाले भने विधानअनुसार समयसीमाभित्र विशेष महाधिवेशन अनिवार्य हुने भन्दै पार्टी नेतृत्वलाई नपुगा नबुझा भन्दै आलोचना जारी राखेका छन् । उनका अनुसार सभापतिको हस्ताक्षरसम्बन्धी विवाद टुङ्ग्याउने सबैभन्दा वैधानिक उपाय विशेष महाधिवेशनबाटै सम्भव छ, जसले आगामी निर्वाचनको वैधानिकताको पर्खाल बलियो बनाउनेछ ।

दुवै पक्षका धारणा सार्वजनिक रुपमा तीव्र हुँदै गएपछि कांग्रेसभित्र विशेष महाधिवेशनको विषय सैद्धान्तिक–राजनीतिक विवादको मुख्य केन्द्रमा उभिएको छ । एकातिर ‘विधानअनुसार महाधिवेशन अपरिहार्य’ भन्ने समूह, अर्कातिर ‘पार्टी एकता र निर्वाचन तयारी प्राथमिक’ भन्दै विशेष महाधिवेशन खारेजको घोषणा । यही द्वन्द्वले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीति झनै तातिने संकेत गरिरहेको छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई राष्ट्रपतिले भने–धेरै बोल्न मिल्दैन, मिलेर अघि बढ्नुस्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जन नेताहरूले पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा जेन–जी आन्दोलनपछिको परिस्थिति, फागुन २१ को चुनाव, कांग्रेसभित्रको विवाद लगायतको विषयमा छलफल भएको नेता घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘हामीले समग्र परिस्थितिको बारेमा कुरा राख्यौँ । त्यसपछि उहाँले आफ्नो कुरा राख्नु भयो । आफू सरकार, निर्वाचन आयोग र दलहरूसँग छलफलमा रहेकाले अहिलेको निकास निर्वाचन मात्रै रहेको बताउनु भयो ।’

कांग्रेसको निर्वाचनमा भाग लिने निर्णयले चुनावको वातावरण बन्नमा सघाउन पुग्ने विश्वास व्यक्त गरेको पौडेलले बताएका सुनाए । अहिले संविधान ट्र्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको कुरा राष्ट्रपतिले राखेको घिमिरेले बताए । उनले पार्टीभित्रको आन्तरिक विवादमा आफूले धेरै बोल्न नमिल्ने भन्दै मिलेर जान सुझाव दिएको बताए ।

उनले भने, ‘हामी विशेष महाधिवेशन पक्षधरका नेताहरू मात्रै थियौँ । उहाँले पार्टीभित्रको आन्तरिक विषयमा मैले बोल्न मिल्दैन । तपाईंहरू मिलेर अघि बढ्नुस्, विग्रहले कुनै फाइदा गर्दैन भन्नु भयो ।’ पार्टीभित्र मात्रै नभएर पुराना र नयाँ दलहरूसँग पनि मिलेर चुनावको वातावरण बनाउन सुझाएको बताए ।

देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका विषयमा दुई वटा प्रस्ताव राख्दै त्यसै सिलसिलामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि सार्न सकिने प्रस्ताव राखेका छन् । इलाम पुगेका महामन्त्री शर्माले महाधिवेशनका सन्दर्भमा दुई बुँदे प्रस्ताव राख्दै उक्त विषय पनि राखेका हुन् । ‘समय घर्कदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ?,’ भन्ने पार्टीका नेताहरूको जिज्ञासामा आफू अझै प्रस्ट रहेको महामन्त्री शर्माले बताए । उनले भने, ‘म प्रस्ट छु, सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुई वटा छन् ।’

पहिलो विकल्प–पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्य तालिका निर्माण गर्ने रहेको उनले बताए । ‘महाधिवेशन तयारी क्रममा कहिदिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले भने ।
यसैमा ‘समानुपातिकको सुची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्ने’ शर्माले दाबी गरे । ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने ।

दोस्रो विकल्पमा पार्टी सभापति शेरबहादुर देउवालाई देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन उनले सुझाव दिए । ‘त्यो भनेको २०१४ सालमाझैं स्वयं सभापतिले मार्ग प्रशस्त गर्ने,’ महामन्त्री शर्माले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ ।’ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने उनले दाबी गरे। ‘तब २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ,’ महामन्त्री शर्माले भने ।

 

फागुन २१ को चुनाव सर्न सक्ने भन्दै विश्वप्रकाशले दिए यस्ता कारण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै सम्पन्न नहुन सक्ने संकेत दिएका छन् । इलाममा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस पार्टी कार्यालय निरीक्षणपछि पार्टीका नेता–कार्यकर्तासँग कुरा गर्दै उनले दुई प्रमुख कारणले चुनाव केही पछाडि सारिने सम्भावना बढेको बताए ।

शर्माका अनुसार निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण निर्माण हुन बाँकी छ । हाल देखिएको अस्थिरता र संवेदनशील सुरक्षा अवस्थाले निर्धारित मितिमा सहज मतदान गराउन सकिने अवस्था उनी देख्दैनन् । दोस्रो कारण हिमाली क्षेत्रमा फागुन महिनामा विद्यमान प्रतिकूल मौसमी स्थिति हो । उनले उच्च भूभागमा पर्ने कठोर मौसमले मतदाता तथा सुरक्षाकर्मी दुवैको आवागमन चुनौतीपूर्ण बन्न सक्ने बताए । उनले भने, ‘समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को निर्वाचन कुनै–कुनै कारणले केही दिन पछाडि सारिन सक्छ । शान्तिपूर्ण माहोल निर्माण र हिमाली जिल्लाको मौसमी जटिलता हेर्दा राजनीतिक सहमतिमार्फत उपयुक्त मिति तय गर्नु उत्तम हुनेछ ।’

त्यस्तै शर्माले पार्टीभित्र चलिरहेको महाधिवेशनसम्बन्धी बहसमा पनि आफ्नो धारणा सार्वजनिक गरे । उनका अनुसार कांग्रेसले आगामी महाधिवेशनका लागि दुई विकल्पमा निर्णय लिनुपर्ने आवश्यकता छ । पहिलो विकल्प नियमित महाधिवेशनलाई पुसको अन्तिम सातातिर गर्ने गरी तत्कालै विस्तृत कार्यतालिका बनाउने हो । उनले तयारीका क्रममा दिन कम पर्न सके थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्न सकिने बताए । दोस्रो विकल्पका रूपमा उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गर्नुपर्ने आवश्यकता दोहोर्‍याए ।

उनका अनुसार सभापतिले पार्टीको वर्तमान अवस्था, राष्ट्रिय राजनीतिक परिस्थिति र समयको चापलाई मनन गरेर ०१४ सालमा जस्तै मार्ग प्रशस्त गर्ने निर्णय गर्न सक्ने छन् । शर्माले भने, ‘५४ प्रतिशत प्रतिनिधिको स्पष्ट मागलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन । सभापति ज्यूले सुवर्ण शमशेरले जस्तै नेतृत्वको बाटो खुलाइ दिनुभयो भने त्यसले सभापति ज्यूको सम्मान बढ्ने मात्र होइन, पार्टीले पनि निकास पाउनेछ । त्यसपछि ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र ०८३ मंसिरमा नियमित महाधिवेशन सम्भव हुनेछ ।’ उनका अभिव्यक्तिहरूले कांग्रेसभित्र संगठनात्मक दिशा–निर्देशन र आसन्न निर्वाचन दुवै विषयमा निकट भविष्यमै महत्वपूर्ण राजनीतिक सहमति बन्नसक्ने संकेत दिएका छन् ।

 

 

कांग्रेस अब देउवाको टिकट हस्ताक्षरमा चुनावमा जाँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने दावी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो ? भनेर सोधिरहेको भन्दै उनले यो नहुने बताएका हुन् ।

थापाले विधान बमोजिम विशेष महाधिवेशन हुने र उक्त महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने बताए । टिकटमा तीनै नयाँ सभापतिको हस्ताक्षर हुने पनि थापाको भनाइ छ । ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनु भएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने, ‘होइन,’ उनले भने, ‘साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनेँ, प्रष्ट छ– अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उनले यसै कारणका लागि आफूले निर्वाचनअघि महाधिवेशन हुनुपर्छ भन्दै आएको पनि स्पष्ट पारे । थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे । ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं’ उनले भनेका छन् । कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

कांग्रेसले गर्‍यो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ । आज (आइतबार) कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।गत असोज २८ गतेदेखि निरन्तर चल्दै आएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगले माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन मंसिर ७ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने समय सीमा तोकेको छ। कात्तिक २८ गते सूचना जारी गर्दै आयोगले दर्ता कायम गरेका सबै दललाई सो मितिभित्र कार्यालय समयभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

देउवाकै हस्ताक्षरमा दल दर्ता र टिकट, संस्थापनकै नेताहरु शेखरको दैलोमा

काठमाडौं । नेपाली कांग्रेसभित्र शीर्ष नेतृत्वको सक्रियता फेरि बढ्न थालेसँगै पार्टी महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक रस्साकस्सी पनि चुलिएको छ । उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा फर्किएपछि पार्टी सञ्चालनमा पुनः कार्यकारी रूपमा उपस्थित हुने तयारीमा छन् ।

असोज २८ गते केन्द्रीय समिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए, जसअन्तर्गत हालसम्मका पार्टी बैठकहरू सञ्चालित भए पनि अब देउवा विस्तारै आफ्नो भूमिकामा फर्कन लागेका हुन् । यसैबीच कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया अघि बढाइरहेको छ । दल दर्तासँगै उम्मेदवारलाई दिने आधिकारिक टिकटमा कसको हस्ताक्षर रहने भन्ने विषयमा छलफल भइरहेका बेला सभापति देउवाकै हस्ताक्षर हुनेगरी दर्ता प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयले जनाएको छ । कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर नगर्ने सहमति भइसकेको र विगतको अभ्यासअनुसार नै टिकट वितरण हुने प्रवक्ता प्रकाशशरण महतले स्पष्ट पारे । संस्थापन पक्षले प्रतिनिधिसभाका टिकट समेत देउवाकै हस्ताक्षरमा वितरण गर्ने तयारी गरेको बताइन्छ ।

यता, पार्टी महाधिवेशनको मिति निश्चय नहुँदा संगठनभित्र असन्तोष बढेको छ । महाधिवेशन प्रक्रिया ढिलो गर्न खोजिएको आशंकाबीच संस्थापन पक्षमै रहेका २४ जना केन्द्रीय सदस्यले आइतबार इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट घेराबन्दी गर्दै पुस मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने सात बुँदे मागमा समर्थन गर्न आग्रह गरेका छन् । कोइरालाले पनि महाधिवेशनबारे निर्णय हुन ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विशेष महाधिवेशनमा जाने प्रयासले पार्टी फुट्ने जोखिम रहने चेतावनी दिंदै उनले नियमित महाधिवेशन नै पुसभित्र सम्पन्न गर्नुपर्ने अडान दोहोर्‍याए ।

उक्त भेटमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, सञ्जय गौतमलगायत नेताहरूको उपस्थिति थियो । यसअघि ती २४ सदस्यले सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिसकेका छन् । अहिले पार्टीभित्र गगन थापा र महेन्द्र यादवले छुट्टाछुट्टै महाधिवेशन मिति प्रस्ताव गरेसँगै संगठनभित्र निर्णय प्रक्रिया झनै पेचिलो बन्दै गएको छ । दल दर्तादेखि टिकट वितरणसम्म सभापति देउवाको हस्ताक्षर प्रमुख बिन्दु बनेको र महाधिवेशनको मतभेद उच्च बिन्दामा पुगेको परिदृश्यले कांग्रेसभित्र आगामी केही हप्तासम्म राजनीतिक उथलपुथल रहन सक्ने देखिएको छ ।

 

एमाले लक्षित कांग्रेसको टिप्पणी : उत्तेजना फैलाउने काम वाञ्छनीय हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजना फैलाउने काम वाञ्छनीय नहुने टिप्पणी गरेका छन् ।केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए ।

उनले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ । देशलाई थप हिंसातर्फ लिएर जाने प्रवृत्तिहरू देखापरेका छन् । यस्ता गतिविधि जुन दल र समूहबाट भए पनि यो गलत छ भन्ने हाम्रो ठहर छ । हामी यसको विरुद्धमा हामी उभिन्छौं ।’

उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनताको भाषा प्रयोग नगर्न आग्रह समेत गरेका छन् । राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताए ।

अब विशेष महाधिवेशन निर्विकल्प : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्ने कुरा अब निर्विकल्प भएको बताएका छन् ।केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताए ।

उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताए । उनले नेपाली काँग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताए ।

आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरूलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताए । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि बताए । सरकार राजनीतिक दलहरूले निर्बाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ । त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरूलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरूसँग संवाद गर्दछ, उनीहरूलाई निर्वाचनमा ल्याउनु पर्छ भन्ने पहल हुन्छ । सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्बाध रूपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरूले निर्बाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन ।’

उनले भने, ‘ केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैल्याउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ । सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन् । यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ । नेपाली कांग्रेसले आजका निर्णयहरूको भारी बोकेर शिर अग्लो बनाएर गर्वका साथ हिँड्न अधिवेशन गर्नैपर्छ । आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्छ । यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ । आवधिक अधिवेशन गर्नुपर्छ । अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७, २८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ ।’ महामन्त्री थापाले नेपाली कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

कांग्रेसले चुनावमा भाग लिने, महाधिवेशनबारे अझै अनिर्णित

काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् । महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए ।

बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो । सर्वोच्च अदालतमा पनि विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ ।’ अहिलेको राजनीतिक निकास निर्वाचन नै भएको बैठकले निष्कर्ष निकालेको पनि बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्णय नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सकिएको हो । बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकका निर्णयहरू पढेर सुनाएका थिए ।

‘एकैचोटि सबै विषयमा निर्णय गरौं नै भन्ने प्रयास थियो । सबै विषयमा निर्णय नहुन सकेता पनि केही हाम्रा राष्ट्रिय राजनीतिका बारेमा निर्णय गरेका छौं,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी थप केही दिन भित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट हाम्रा बीचमा बाँकी रहेका विषयहरूलाई टुंग्याउनु पर्नेछ ।’ अर्को बैठकमा बाँकी रहेका विषयहरू टुंग्याइने महामन्त्री थापाको भनाइ थियो ।

गगन र विश्वप्रकाशले भने–महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को चुनावअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने बताएका छन् । सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग आज भएको कुराकानीका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने हामी चुनाव लड्दैनौं भन्ने कुरा गर्नुभयो,’ भेटमा सहभागी रहेका केन्द्रीय सदस्य आङगेलु शेर्पाले सुनाए, ‘चुनावअघि महाधिवेशन गरेर जानुपर्छ भन्ने भनाइ उहाँहरूको थियो ।’
देउवानिकट २८ केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गरेका हुन् । चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा सभापति देउवानिकट २८ केन्द्रीय सदस्य छन् । कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्ने विवाद छ । यसबारे निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ । सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्व पदाधिकारी चुनावपछि वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्ने पक्षमा छन् ।

 

 

 

 

 

 

अन्तिम समयमा फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिएका छन् । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए ।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज (बिहीबार) का लागि बोलाएको थियो । बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा विवाद हुँदै आएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो । जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने अपेक्षा छ ।

कावा सभापति खड्काले ध्यानाकर्षण पत्र बुझ्न समेत दिएनन् समय

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन–नियमित महाधिवेशनको विवाद तीव्र बन्दै गइरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूको ध्यानाकर्षण पत्र समेत बुझ्न अस्वीकार गरेपछि आन्तरिक राजनीति झनै तातेको छ । अनामनगरमा भेला भएका विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउसम्मका दबाबमूलक कार्यक्रम घोषणा गरे पनि कार्यवाहक सभापतिबाट भेटको समय नपाएको नेताहरूले बताएका छन् ।

गुरूराज घिमिरेलगायत नेताले खड्कालाई फोन गरी भेटको अनुरोध गरे पनि उनले कुनै पनि ध्यानाकर्षण-स्मरण पत्र अब तत्काल नबुझ्ने स्पष्ट रूपमा भनेको घिमिरेले दाबी गरेका छन् । आज त खड्काले फोन समेत नउठाएको उनीहरूको भनाइ छ । विशेष महाधिवेशनको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले औपचारिक रूपमा गरेका छन् । कार्यवाहक सभापति बनेको भोलिपल्टै खड्काले हस्ताक्षर सम्बन्धी फाइल अध्ययन गर्ने संकेत दिए पनि त्यसपछि प्रक्रिया अघि बढेन ।

यद्यपि उनले कात्तिक १५ गते सानेपामा केही नेतासँग अनौपचारिक छलफल भने गरेका थिए । विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशनका विषयमा कुनै बहस नगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर सनाखत र प्रक्रिया सुरु गर्न दबाब दिने रणनीति बनाएका छन् । भोलि दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाइएकाले पार्टीभित्र चलिरहेको ध्रुवीकरण झनै तीव्र देखिएको छ । विशेष महाधिवेशन माग्ने टोलीले केन्द्रीय कार्यालय घेराउसम्मको तयारी गरिरहेका छन् भने सभापति देउवा पक्षका नेता–कार्यकर्ताहरू पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।

देउवा पक्षका करिब ८० जना बानेश्वरमा र थप २५ जना कुपण्डोलमा छुट्टाछुट्टै आन्तरिक बैठकमा जुट्ने जानकारी आएको छ । देउवा पक्षमै पनि चुनावअघि महाधिवेशन गर्ने कि वैशाखमा गर्ने भन्नेमा मतभेद देखिएको छ । सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति खड्का, शेखर कोइराला, गगन थापा, प्रकाशशरण महतलगायत नेतासँग बेग्लाबेग्लै अनौपचारिक भेटवार्ता गरिरहेका छन् । पार्टीलाई ‘एकढिक्का राख्ने’ उनको जोड छ, तर महाधिवेशन कहिले गर्ने भन्ने ठोस प्रस्ताव भने नआएको नेताहरू बताउँछन् ।

यता गगन थापाले मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशमा आफूहरू नझुक्ने र नझुक्किने प्रतिबद्धतासहित पार्टी रूपान्तरणको अभियानमा अडिग रहने बताए । थापाले त्यसअघि शेखर कोइरालासँग भेट गर्दा कोइरालाले पुसभित्रै नियमित महाधिवेशन असम्भव भए विशेष महाधिवेशनमा जान सकिने धारणा राखेका थिए । कात्तिक १८ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । साथै क्रियाशील सदस्यता नवीकरण एक सातामै सकिने तथा नयाँ क्रियाशील बाँड्ने समय समेत तोक्न सकिने उनको धारणा थियो ।

तर सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने मत राखेपछि विवाद झनै चर्कियो । देउवा निकट नेताहरूले सहमहामन्त्रीले कार्यतालिका प्रस्ताव ल्याउन नपाउने भन्दै आलोचना गरे । त्यसपछि खड्काले ती प्रस्तावहरू ‘व्यक्तिगत राय’ मात्र भएको स्पष्ट पारे । कात्तिक २७ पछि केन्द्रीय समिति बैठक नबस्नुमा यी विवाद प्रमुख कारण बनेका छन् । अन्तिम मोड : विशेष महाधिवेशन वा नियमित महाधिवेशन ? अहिले कांग्रेसभित्र मुख्य द्वन्द्व यही छ-फागुन २१ अघि विशेष महाधिवेशन गर्ने कि ? छुट्टै समयमा नियमित महाधिवेशन गर्ने कि ? असोज २८ को बैठकमा गगन थापाले पेस गरेका १० एजेन्डामाथि निर्णय हुन सकेको छैन ।

नेताहरूले सर्वसम्मत निर्णयका लागि प्रयास गरे पनि महाधिवेशनको मिति र प्रकृतिमा सहमति नजुटेपछि आन्तरिक छलफल दिनहुँजसो भइरहेका छन् । भोलिको केन्द्रीय समिति बैठक कांग्रेसको आगामी बाटो निर्धारण गर्ने महत्वपूर्ण मोड बन्न सक्छ । विशेष महाधिवेशन पक्षधरले दबाबमूलक कार्यक्रम तीव्र बनाउने तयारी गरिरहेका बेला सभापति देउवा पक्षभित्रमै बढ्दो मतभेदले कांग्रेसभित्रको शक्ति–सन्तुलन झनै जटिल बन्दै गएको छ ।

 

 

कांग्रेसकाे महाधिवेशन–दुविधा चुलिँदै : देउवा र असन्तुष्ट समूह आ–आफ्नै रणनीतिमा

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कहिले र कुन स्वरूपमा गर्ने भन्ने बहस चरम बिन्दुतर्फ पुगिरहेका बेला सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट समूह दुवै आ–आफ्नो रणनीति बनाउँदै तीव्र राजनीतिक गतिविधिमा जुटेका छन् । बुधबार निर्धारित केन्द्रीय समिति बैठकअघि देउवा नजिकका केन्द्रीय सदस्यहरू मंगलबार नै बानेश्वरमा आन्तरिक रणनीति बनाउन लागेको उनको टोलीका सदस्यहरूले बताएका छन् ।

बिहान ११ बजे करिब ८० जना केन्द्रीय सदस्यबीच छलफल हुने तयारी रहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । यसअघि शनिबार पनि उनीहरूबीच यस्तै बैठक बसेको थियो । आजको छलफलमा पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी नहुने बताइएको छ ।असोज २८ देखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राखिसकेका छन् । तर महाधिवेशनबारे सहमति नजुटेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गर्दै अनौपचारिक संवाद थालेका थिए । सभापति देउवाले पनि नेताहरूलाई एकताबद्ध रहने तरिकाबारे कुरा गर्दै ‘मध्यमार्गी’ विकल्प खोजिरहेका छन् ।

यस्तै पक्षमा विशेष महाधिवेशनका समर्थकहरू भने अझै आक्रामक बन्दै गएका छन् । १४औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २८ असोजमै विशेष महाधिवेशन माग दर्ता भइसकेको छ । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग परेपछि ९० दिनभित्र विशेष महाधिवेशन गर्नुपर्छ, जसको समय सीमा पुस २८ मा पुग्दैछ । नियमित महाधिवेशनको तालिका माग्दै आएका नेता शेखर कोइराला मंगलबार महामन्त्री गगन थापासँगको विस्तृत छलफलपछि अब विशेष महाधिवेशनको पक्षमै उभिएका छन् ।

कोइरालाको विशालनगरस्थित कार्यालयमा भएको भेटमा विशेष महाधिवेशनको मागमा हस्ताक्षर अभियान चलाउँदै आएका नेता गुरू घिमिरे र देवराज चालिसेसहितका सहभागी थिए । बैठकमा कोइरालाले नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने प्रतिबद्धता आएमा त्यसैमा जानुपर्ने तर संस्थापनले ढिलाइ गर्न खोजे विशेष महाधिवेशन नै विकल्प हुने बताए ।

उनले विशेष महाधिवेशन ५४ प्रतिशत हस्ताक्षर प्रमाणीकरण झन्झटमा नअडिकनै केन्द्रीय कार्यसमितिबाटै बोलाउनु पर्नेमा पनि उनले जोड दिए । गगन थापा र विश्वप्रकाश शर्मा भने पहिलेबाटै विशेष महाधिवेशनको छलफल अघि बढाइरहेका छन् । संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने नियमित तथा विशेष दुवै महाधिवेशन निर्वाचनअघि नगर्ने अडानमा रहेको बताइन्छ । यसबारे थप एकीकृत धारणा बनाउन उनीहरूले बुधबार भेला बोलाएका छन् । सभापति देउवा भने समाधानका लागि दोस्रो–तेस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै बोलाएर मत संकलन गरिरहेका छन्।

संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का बनाउने खालको ‘मध्यमार्गी समाधान’ खोजिरहेको बताए । उनले नियमित महाधिवेशनबाट नेतृत्व चयन गरी नीतिमुखी विशेष महाधिवेशन गर्ने विकल्प समेत अघि सारेका छन् । कांग्रेसभित्र महाधिवेशनको समय–रूपरेखा निर्णायक मोडमा पुगेको छ । देउवा पक्ष आन्तरिक एकता र ‘मध्यमार्ग’ खोजिरहेका बेला असन्तुष्ट समूह विशेष महाधिवेशन नै अपरिहार्य भन्दै कदम कडाइका साथ अघि बढिरहेको छ । भोलिको केन्द्रीय समिति बैठकले कांग्रेसको आगामी राजनीतिक दिशानिर्देशमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

राजसंस्था पुनर्स्थापनाका लागि बलिदानी दिन पनि तयार छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाका लागि आफू कुनै पनि हदसम्म जान तयार रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनः स्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए । हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ ।

उनले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन। मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ ।’

उनले नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको भन्दै आक्रोश व्यक्त गरे। कांग्रेसभित्र पद प्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए । उनले थपे, ‘पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी कांग्रेस भएको छु ।’