`

कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरुको प्रधानमन्त्रीसँग दुई घण्टा छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले आज (मंगलबार) बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको नेता गुरुराज घिमिरे जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका हौं ।’ साढे २ घण्टासम्म भएको छलफलमा प्रधानमन्त्री कार्कीले कांग्रेसभित्र विकसित घटनाक्रम र विशेष महाधिवेशनको सम्भावनाबारे समेत चासो राखेकी थिइन् । कांग्रसेको विशेष महाधिवेशन अभियानका नेताहरूले प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री भेट्न विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँसहित नेताहरू गुरु घिमिरे,देवराज चालिसे,उज्ज्वल बराल,टेकराज पौडेल,छडुप तामाङ र सन्दिप निरौला बालुवाटार पुगेका थिए ।

पार्टीलाई फुटबाट बचाउने हो भने पुसभित्रै महाधिवेशन अनिवार्य : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन आगामी पुसभित्रै गरिसक्नु पर्ने बताएका छन् । उनले केही नेताहरूले महाधिवेशन वैशाख वा सोभन्दा पनि ढिलो गर्ने अभिव्यक्ति दिएको प्रति असन्तुष्टि व्यक्त गर्दै पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा ४० बढी युवाहरूसँगको कुराकानीमा कोइरालाले भने, ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुप¥यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ । अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन् । मेरो कुरा अहिले पनि त्यही छ–मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं ।’

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । तर, विशेष महाधिवेशनमा जाँदा असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर सनाखत गराएर भन्दा पनि केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर जानु उपयुक्त हुने कोइरालाले बताए ।

‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने के गर्ने ? केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने निर्णय गर्ने । बहुमतका आधारमा होइन, केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्ने र विशेष अधिवेशनमा जाने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ ।’

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । ती हस्ताक्षर सनाखत गराउन सुरु गरेमा पार्टी विभाजनमा जान सक्ने दाबी गर्दै कोइरालाले विवादरहित बनाउन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय लिनुपर्ने बताए । नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले कोइरालालाई उद्धृत गर्दै भने, ‘तपाईं युवाहरूले पार्टी विभाजन भएको देख्नुभएको छैन । मैले त आँखैअगाडि पार्टी विभाजन भएको देखेको छु, अहिले हस्ताक्षर सनाखत गराउन थाल्ने हो भने विभाजन हुन सक्छ, म पार्टी विभाजनको पक्षमा छैन ।’

विशेष महाधिवेशन नभए महामन्त्रीले राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत रूपमा उठेको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न नसकिने चेतावनी दिएका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित गरेको लिखित माग विपरीत पार्टीले निर्णय गरे आफू महामन्त्री पदबाट राजीनामा गर्न तयार रहेको स्पष्ट सन्देश दिएको स्रोतले जनाएको छ । शुक्रबार सिंगापुरबाट फर्केका देउवालाई भेट्न शर्मा आइतबार मध्यान्ह हात्तीसार पुगेका थिए। झण्डै डेढ घण्टा चलेको भेटमा शर्माले विशेष महाधिवेशन पार्टी विधानले व्यवस्था गरेको बाध्यकारी प्रक्रिया भएकाले त्यसलाई बेवास्ता गर्न नहुने धारणा राखेका थिए । देउवालाई भेटेर फर्केपछि उनले केही सीमित नेताहरूसँग पनि भेटमा राखेको आफ्नो धारणा साझा गरेका छन्।

शर्माले विशेष महाधिवेशन संविधानसम्मत माग भएको बताउँदै भनेका छन्, ‘संसद् विघटन संविधानसम्मत भएन भनेको कांग्रेसले हो । अब विधानले दिएको अधिकारभित्र बसेर माग गरिएको विशेष महाधिवेशनलाई बुझाइएन भने हामी आफूले भनेको कुरामै टिक्न सक्दैनौँ ।’

उनका अनुसार विशेष महाधिवेशनका मागविपरीत पार्टीले अन्य निर्णय गरे निर्णय लागू भएको मितिदेखि नै आफू महामन्त्री पदबाट हट्ने जानकारी देउवालाई गराइसकेका छन् । उनले राखेको धारणा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पनि बताइए पनि कांग्रेस नेताहरूले पुष्टि गरेका छन् ।

विधानको धारा १७(२) का अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर आग्रह गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन् । असोज २९ मा सो लिखित माग पेश भएकाले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ ।

सिंगापुरबाट फर्केलगतै देउवा कांग्रेसभित्रको ‘किचलो’ मिलाउन सक्रिय

काठमाडौँ । सिंगापुरको १८ दिन लामो बसाइपछि स्वदेश फर्केका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र महिनौंदेखि उब्जिएको महाधिवेशन विवाद ‘अनौपचारिक’ रूपमा समाधान गर्न सक्रिय बनेका छन् । उपचारबाट फर्केको भोलिपल्टैदेखि उनले पार्टी नेताहरूसँग भेटघाट र छलफलको गति बढाएका छन्, जसले कांग्रेसको आन्तरिक शक्ति–समीकरण फेरि तातिएको छ ।

स्वास्थ्य उपचारमा रहेका बेला उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि हाल देखिएको द्वन्द्व ‘साम्य पार्ने’ जिम्मा देउवा स्वयंमले सम्हालेको स्रोतहरू बताउँछन् । शनिबार बिहानै खड्काले एक महिने केन्द्रीय समिति बैठकका विवादबारे रिपोर्टिङ गरेपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतलाई छलफलका लागि बोलाए ।

स्रोतका अनुसार देउवाको स्पष्ट सन्देश थियो, ‘जति सकिन्छ, मिलेर अघि बढौं ।’ यही लाइन लिएर कार्यवाहक सभापति खड्का पनि शनिबारै ललितपुरस्थित हिमालय होटलमा इतर धारका नेताहरूसँग संवाद गर्न पुगे । तर त्यो बैठक ‘बालुवामा पानी’ सावित भयो–कुनै समझदारीको टुंगो लागेन । कांग्रेसभित्र अहिले मूल द्वन्द्व महाधिवेशनको मितिमा छ । स्थापन पक्ष (देउवा समूह) चुनाव पछि महाधिवेशन गर्नुपर्नेमा अडिग छ । इतर समूह डा. शेखर कोइराला, तथा महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा– चुनाव अगाडि महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

यही मतभेदका कारण असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकै ‘अनिर्णय’ को मोडमा अड्किएको छ । स्थिति झनै जटिल यस कारण छ कि संस्थापन पक्षकै २४ केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति खड्कालाई ज्ञापन बुझाइसकेका छन् । यसैले स्थापन पक्षभित्रै दुई धार देखिन थालेको हो ।

शनिबार साँझ देउवाले संस्थापन पक्षका प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई भाडाको निवास चुनदेवीमा बोलाएर दुई घण्टा बढी छलफल गरे । भेटबारे महतले भनेका छन्, ‘उहाँले चुनावको तयारी महत्वपूर्ण छ भन्नु भयो । विवाद तपाईंहरूले मिलाउनुस् भन्ने जोड थियो ।’ उनका अनुसार देउवाहरू चुनावपछि महाधिवेशन गर्ने पक्षतिर झुकिरहेको स्पष्ट देखियो ।

अब देउवाले आइतबार सात जना पूर्व पदाधिकारी—विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र प्रवक्ता महतसँग छुट्टै भेटघाटको तयारी गरेका छन् । तर यिनीहरूमध्ये केहीले ‘भेट हुने निश्चित भए पनि समय नतोकिएको जानकारी दिएका छन् । एकातिर उपचारबाट फर्किएको भोलिपल्टै देउवाको सक्रियता कांग्रेसभित्र ‘पार्टी अध्यक्ष अब फेरि ठोस रूपमा खेलमा फर्किए’ भन्ने संकेतका रूपमा हेरिएको छ । अर्कोतिर महाधिवेशन कहिले गर्ने भन्ने विवाद झनै ‘तातेको’ छ—संस्थापन पक्षभित्रै एकमत नदेखिनु त्यसको ठूलो सूचक हो ।

 

कांग्रेसले नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकोले धैर्य गर्न आग्रह गरेका छन् ।

एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ । त्यसतर्फ लक्ष्य गर्दै कार्यवाहक सभापति खड्काले देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिलो भएको बताएका हुन् ।

‘मेरोबारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्तोसुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहने छ । यिनै टिप्पणी नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न्’, खड्काले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ ।’

सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिन र धैर्यता राखिदिन पनि कार्यवाहक सभापति खड्काले अपिल गरेका छन् । गत असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले बोल्ने क्रम सकिएर सहमति खोज्ने भन्दै बैठक स्थगित भएको छ ।

अब सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्नेछ । उपचार गर्न सिंगापुर गएका सभापति शेरबहादुर देउवा पनि शुक्रबार बेलुकी स्वदेश फर्किएका छन् । कांग्रेसमा चुनावअघि वा पछि नियमित महाधिवेशन गर्ने कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर मागेअनुसार विशेष महाधिवेशन गर्ने भन्नेमा मतभेद छ ।

 

सबै धारलाई मिलाएर टिकट वितरण नभए कांग्रेसको अस्तित्वमै संकट आउँछ : बानियाँ

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा दोस्रो दिन पनि तीव्र राजनीतिक बहसको माहोलमा जारी छ । शुक्रबारबाट सुरु भएको यो बैठकले आगामी महाधिवेशनको तयारी, क्रियाशील सदस्यता सम्बन्धी विवाद र पार्टीभित्र उब्जिएको ध्रुवीकरणलाई कसरी रोक्ने भन्ने विषयलाई केन्द्रबिन्दु बनाएको छ ।

बैठकको उद्घाटन प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए । उद्घाटन वक्तव्यमै उनले क्रियाशील सदस्यता विवाद टुंगोमा नलगाई महाधिवेशनको मिति तोक्न खोजिएको केन्द्रीय नेतृत्वको प्रयास ‘अनावश्यक विवाद’ भएको बताए । बानियाँका अनुसार, केन्द्रले सबैभन्दा पहिले विधान समिति र क्रियाशील सदस्य छानबिन समिति गठन गरेर, सो समितिको प्रतिवेदन आएपछि मात्रै १५ दिनभित्र महाधिवेशनको मिति घोषणा गर्नुपर्नेछ ।

बैठकमा सहभागी १३ जिल्लाका सभापति, प्रदेश समितिका १३० सदस्य र ३७ प्रदेशसभा सदस्यबीच क्रियाशील सदस्यताको विषय महाधिवेशनअघि अनिवार्य रूपमा समाधान हुनुपर्नेमा एकमत देखिएको छ । केन्द्रीय समितिले दुई फरक कार्यतालिका सार्वजनिक गरेपछि प्रदेशभर फैलिएको अन्योल चिर्न ‘पहिले विवादको निकास, तब मात्र महाधिवेशन’ भन्ने धारणा प्रबल बनेको सहभागीहरू बताउँछन् ।

मुख्यमन्त्री बानियाँले पार्टीभित्र फैलिएको अर्को विवाद—चुनावी टिकट वितरणबारे समेत कडा टिप्पणी गरेका छन् । कुनै पनि सभापति आए पनि पार्टीका सबै धारलाई मिलाएर अधिकतम सहमतिमा टिकट वितरण नगरे कांग्रेसको जनआधार खुम्चिने मात्र होइन, ‘अस्तित्वमै संकट’ आउने चेतावनी उनले दिए । बजारमा फैलिएको ‘टिकट मिल्यो, मिलेन’ भन्ने हल्लाबाट कार्यकर्ता मात्र होइन, आम समर्थकसम्मै अन्योल मच्चिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

दुई दिने बैठकले प्रदेशका नेताहरूबीच गहन छलफल गराउँदै केन्द्रीय समितिलाई ठोस र व्यावहारिक सुझाव दिने तयारी गरेको छ ।सहभागीहरुको भनाइमा, यस बैठकले पार्टीभित्र लामो समयदेखि जारी तनावलाई अन्त्य गर्दै आन्तरिक एकता मजबुत बनाउने मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । नगरकोटको शांत वातावरणमा जारी यो बैठकले महाधिवेशनलाई लक्षित गर्दै बागमती कांग्रेसभित्र नयाँ राजनीतिक सन्देश दिने सम्भावना बढेको छ ।

गगन–विश्वप्रकाशले अडान नछाड्दा पूर्णबहादुरलाई पर्‍यो ‘सकस’

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलगायत विवादित विषयले आकार लिँदै गएपछि कार्यसम्पादन समितिले यसको समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मुख्य समन्वयकर्ताको भूमिकामा अगाडि सारेको छ ।

ललितपुरको धोबीघाटमा बसेको कार्यसम्पादन समितिको आजको बैठकमा खड्कालाई पदाधिकारीदेखि असन्तुष्ट ध्रुवहरूसम्म सबैसँग छलफल गरी साझा प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए ।

महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अडान नछाड्दा पार्टीभित्र सहमति खोज्न कठिनाइ बढिरहेको छ । उनीहरू नियमित महाधिवेशन सम्भव नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने मागमा स्थिर छन् । यतिबेला संस्थापन पक्ष भने वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा रहेकाले दुवै धारबीचको टकराव अझ बलियो बनेको छ ।

अब पदाधिकारी बाहिर रहेका प्रमुख नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलगायतसँग पनि विस्तृत परामर्श थालेका छन् । यी नेताहरूबीच विभिन्न धारणा रहेकाले सहमति जुटाउन सजिलो हुने अनुमान गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट आज (शुक्रबार) फर्किदै छन् । शीर्ष नेताहरूले देउवाको सहभागितामा अन्तिम रूपले सहमति मिलाउने प्रयास गर्ने बताइएको छ।

खड्काले तयार गर्ने प्रस्ताव भोलि बस्ने कार्यसम्पादन समितिको बैठकमा पेस हुनेछ । प्रस्तावमा सहजै सहमति भए भोलि नै निर्णय टुंगिन सक्छ। असहमति रहिरहे पर्सी मात्र केन्द्रीय समितिको बैठक बस्ने सम्भावना रहेको राठौरको भनाइ छ । महाधिवेशन कहिले गर्ने भन्ने प्रश्न कांग्रेसभित्र पछिल्ला दिनहरूमा प्रमुख विवादको विषय बनेको छ । अब सबैको नजर खड्काले तयार पार्ने सहमति प्रस्ताव र शीर्ष नेताहरूबीच हुने अन्तिम समन्वयतर्फ केन्द्रित भएको छ ।

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) स्वदेश फर्किदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले जानकारी दिएका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए । सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

सुतेको पार्टी लिएर चुनाव जान सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुसभित्र नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् । जारी केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै चुनावअघि नै महाधिवेशन गर्नको लागि तीन विकल्प अघि सारे । उनले भने, ‘कसैले पनि ५४ प्रतिशत हस्ताक्षर भएको छ । त्यस कारणले अब एक हप्ता पछि भनेको छैन । यसलाई रुजु गर्नु पर्‍यो, सनाखत गर्नु पर्‍यो । सनाखत गर्दै गर्दाखेरि ५४ को ठाउँमा ५० देखियो भने के फरक पर्‍यो ? त्यसबीचमा १०–१५ प्रतिशतले थप हस्ताक्षर लिएर आयो भने के फरक पर्‍यो ?’

उनले हस्ताक्षरलाई कसैले पनि यो हो, यो होइन भन्न नमिल्ने बताएका छन् । उनले भने, ‘अब हामीले एउटा निर्णय गरौँ र महाधिवेशनको लागि चाहिँ हामीसँग तीन वटा विकल्प छ भन्ने लाग्छ । पहिलो विकल्प १५औँ महाधिवेशन पुस १६–१९ मा गर्ने गरी महामन्त्री गगन थापाले राखेको जो प्रस्ताव छ, बिपी कोइरालाले मेलमिलापको नीति लिएर देश आएर त्यो ऐतिहासिक तिथिमा दिएको सन्देशबाट आज पनि देश प्रभावित छ । त्यो मिति एउटा उपयुक्त मिति हुन सक्छ ।’ महामन्त्री थापाको प्रस्ताव अनुसार पुस १६ मा महाधिवेशन भ्याइँदैन सकिँदैन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर बमोजिम १७ (२) बमोजिम मंसिर भित्रै विशेष महाधिवेशन गर्न सकिने बताएका छन् ।

शर्माले भने, ‘गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै साथीहरू हुनुहुन्छ । हामीभन्दा मेहनत गर्ने साथीहरू हुनुहुन्छ, अनादर नगरौं । तेस्रो विकल्प, त्यसरी गर्दा उपयुक्त हुन्न भन्ने हो भने त्यही दफाले फेरि केन्द्रीय समितिले बोलाउन सक्छ भन्छ । यो तेस्रो विकल्प छ ।’

उनले थपे, ‘महाधिवेशन त्यसरी गर्दा आम निर्वाचनलाई असर गर्ला कि भनेर आदरणीय साथीहरूले राख्नुभएको चासो निश्चय नै महत्वपूर्ण छ । फागुन २१ मा रुकुममा घोटाला भन्ने, त्योभन्दा अगाडि कांग्रेसको एकापसको प्रतिस्पर्धा हुने, त्यसले असर गर्छ भन्ने कुरा पनि त्यो तर्कमा पनि दम छ । तर मलाई सँगैमा के लाग्छ भने सुतेर बसेको पार्टी लिएर निर्वाचनमा जानुभन्दा अधिवेशन र विभिन्न अभियानमार्फत जुरमुर्‍याएको पार्टी लिएर चुनावमा जाँदै गर्दा त्यसले फागुन २१ को निर्वाचनमा सकारात्मक बल पुग्छ ।’

 

कांग्रेसमा नेतृत्व परिवर्तनको माग : महिला भेलाबाट विशेष महाधिवेशनका लागि दबाब

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीब्र रुपमा दबाब बढेको छ । विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीवार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् । महिला भेलामा सहभागी नेतृहरूले समयमा नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महिला नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेतृत्व परिवर्तन गरेर जनतासँग जानुपर्ने बताइन् ।

उनले नियमित महाधिवेशन गर्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखिन् । देशभरका करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीमा दर्ता भएको जानकारी दिंँदै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भए पनि फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्वमा पार्टी अघि बढ्नु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘समयमा नै नियमित अधिवेशन गर्न नसकिने हो भने देशभरीका करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर दर्ता भईसकेको छ । यो पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भए पनि फागुनमा हुन गएको आम निर्वाचन अगाडि नै नेतृत्व परिर्वतन गरेर जानुपर्छ ।’

उनले भनिन्, ‘हामीले हाम्रो केन्द्रिय समितिमा एकमतका साथ यो महिला भेलाबाट उहाँहरुलाई अनुरोध गर्न चाहन्छौँ, केन्द्रिय समितिको बैठक लगत्तै यही मंसिरभित्र महामन्त्रीले पेश गर्नुभएको कार्यतालिकाअनुसार नियमित महाधिवेशन होस् । यदि नियमित अधिवेशन गर्ने अवस्था छैन भने पार्टीको विधानमा भएको व्यवस्थाअनुसार वर्तमान परिवेशलाई बुझेर विशेष महाधिवेशनमार्फत भए पनि यो नेतृत्व परिवर्तन हुनुपर्छ ।’

कांग्रेस नेतृ कुशुमदेवी थापामगरले पार्टी नेतृत्वले सत्ता सञ्चालनका क्रममा जनताको समस्या सम्बोधन गर्न नसकेको आरोप लगइन् । वर्तमान नेतृत्वको कारण नै जेन–जी आन्दोलन भोग्नुपरेको उनको भनाई छ । उनले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेर निर्वाचनमा नगएमा पार्टी थप संकटमा पर्ने दाबी गरिन् । उनले विशेष महाधिवेशन पक्षधरहरूसँग पार्टी नेतृत्वले हालसम्म समन्वय नगरेको पनि जानकारी दिइन् ।

उनले पार्टीको विशेष महाविशेनलाई दबाब दिनको लागि महिला भेला आयोजना गरिएको बताइन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुमध्ये ६० प्रतिशत महिला रहेको उनको दाबी छ । उनले पार्टीलाई सशक्तिकरण गर्नको लागि महिलाको जागरुकता आवश्यक रहेको समेत बताइन् । उनले भनिन्, ‘हाम्रो यही नेतृत्वले सत्ता चलायो । त्यो सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र आम जनताहरुको समस्याहरुलाई सम्बोधन गर्न नसकेको कारणले गर्दा जेनजीको नाममा आन्दोलन भयो । त्यही कारणले फागुन २१ गते हुने निर्वाचनको घोषणा भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको यही नेतृत्व लिएर गयो भने पार्टी झनै संकटमा पर्ने अवस्थाका कारण नेतृत्व परिवर्तनको लागि हामीले विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत हस्ताक्षर लिखित रुपमा संकलन गरेर पार्टीका दर्ज गरेका छौँ ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ) की पूर्व केन्द्रिय सदस्य एलिजा ढकालले पार्टीले विगतका गल्तीहरूको निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन् । काँग्रेसले जनता माझ सुध्रिएको सन्देश लिएर जानुपर्ने उनको भनाई छ । उनले पार्टी नेतृत्व भ्रष्टाचार, भागबण्डा र संस्थागत कमजोरीले कलंकित भएको आरोप लगाउँँदै त्यसलाई सुधार्नको लागी विशेष महाधिवेशन अपरिहार्य रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले कहाँनेर गल्ती गर्‍यौँ भनेर निर्मम समीक्षा गर्नुपर्छ कि पर्दैन । काँग्रेस जनतको बीचमा जाँदा सुध्रिएको म्यासेज लिएर जानुपर्छ कि पर्दैन । कांग्रेस सुध्रिएको म्यासेज लिएर जनतामाझ जानुपर्छ भन्दै गर्दा काँग्रेसले के विगारेको थियो भन्ने प्रश्न पनि उठ्न सक्छ । काँग्रेसले धेरै कुरा बिगारेको थियो । हरेक ठाउँमा, रहेक संस्थामा हुने भागबण्डामा हिस्सेदारी गरेको थियो, भ्रष्टाचारमा मुछिएको थियो । जनतामा हाम्रा नेताहरुको नाम कलंकित भएको थियो । हामीले विगतमा धेरै गल्तीहरु गरेका थियौँ । त्यसैले हामीले आफ्नो गल्तीको समिक्षा गर्दे जनतामा सुध्रिएर गएको सन्देश दिनको लागी विशेष महाधिवेशन अपरिहार्य छ ।’

पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले नेपाली काँग्रेसले समयमा नै महाधिवेशन गरेर महिला र युवालाई पार्टीमा सहभागीता गराउनुपर्ने बताइन् । नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा लिएर विवाद उत्पन्न भएको छ । काँग्रेसको संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन ईतर पक्ष निर्वाचन अगाडि नै नियमित महाविधेशन या विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ ।

मिनेन्द्रको प्रस्ताव : चुनावसम्म दुई महामन्त्रीलाई पार्टी जिम्मा दिऊ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन र टिकट वितरण गर्ने जिम्मा दुई महामन्त्रीलाई दिन प्रस्ताव गरेका छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूका समर्थकहरूले चुनावमा ‘टिकट बेच्न’ का लागि संस्थापन पक्षका नेताहरूले महाधिवेशन गर्न नचाहेको भन्ने भाष्यप्रति संकेत गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले चुनाव जिताए थप हाइ हाई हुने र १५-२० वर्ष पार्टी हाँक्ने जिम्मा पनि उनीहरूले नै पाउने बताए । ‘संस्थापन पक्षका बुढा नेताहरू, तपाईंहरू साइड लागिदिनुस्, चुनावमा टिकट बेच्नका लागि पस्नु भएको भन्ने छ तपाईंहरू हात झिकिदिनुस्’, केन्द्रीय समितिको बैठकमा रिजालले भने, ‘चुनावसम्म अबको चार महिना पार्टी चलाउने जिम्मा महामन्त्रीद्वयलाई दिउँ, टिकट पनि उहाँहरूले नै बाँड्नु हुन्छ, चुनाव पनि उहाँहरूले नै जिताउनु हुन्छ ।’

चुनाव जिताए त्यसको श्रेय लिँदै महामन्त्रीहरूकै नेतृत्वमा पार्टी जाने र सफल बनाउन नसके बिदा लिनुपर्ने बताए । महामन्त्री समर्थकहरूले संस्थापन पक्षका सात भाइ नेताहरूले चुनावमा टिकट बेच्नका लागि महाधिवेशन गर्न नचाहेको आरोप लगाउने गरेका छन् । महाधिवेशनका पक्षमा भन्दै गरिएका भेलाहरूमा अधिकांश नेताहरूको आरोप सात भाइले टिकट बेच्नका लागि महाधिवेशन टार्न खोजेको भन्ने हुन्छ ।

सोमबार नयाँ बानेश्वरमा भएको अन्तरक्रियामा त तपाईंहरूले पनि टिकट बेच्नकै लागि चुनावअघि महाधिवेशन भन्नु भएको हो भन्दै प्रश्न उठेको थियो । त्यस क्रममा महाधिवेशन पक्षधर नेताहरूले आफूहरूले टिकट बेच्ने प्रवृत्ति नै अन्त्य गर्न लागेको जवाफ दिएका थिए ।

अर्का नेता रमेश लेखकले भने महामन्त्री थापा र संस्थापन पक्षले पेश गरेको कार्यतालिकामाथि छलफल गर्दै नयाँ विकल्प निकाल्नुपर्ने बताए ।रिजालको प्रस्तावमाथि घुमाउरो असहमति जनाउँदै उनले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका हुन् ।

महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्मको कार्यातालिका र सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका पेश गरेका थिए । त्यसप्रति लेखकले भने, ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जाउँ ।’ असोज २८ गतेदेखि शुरु भएको काँग्रेस बैठक अझै सकिएको छैन ।

जेनजी आन्दोलनको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको राज्य पक्षीय दमनप्रति आफू जिम्मेवार नभएको स्पष्ट पारेका छन् । आज (बुधबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले तत्कालीन गृह प्रमुखको रूपमा ‘कुनै अप्रिय घटना नहोस्’ भनेर निरन्तर निर्देशन दिएको भन्दै दमनका लागि आदेश आफूले कहिल्यै नदिएको दाबी गरे ।

‘प्रधानमन्त्री र मन्त्रीले त्यस्तो आदेश दिने कुरा नै होइन, मैले बारम्बार भनेको छु—क्याजुलिटी कुनै हालतमा हुनु हुँदैन,’ लेखकले बैठकमा भने । उनका अनुसार आन्दोलन अगाडि र घटनाको बिहान दुवै प्रहरी प्रमुखलाई सचेत गराइएको थियो । लेखकले हालै अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण र राहदानी रोक्का गरेको विषयमा कुनै पनि औपचारिक जानकारी नदिएको बताएका छन् ।

‘मलाई आजसम्म सरकार वा कुनै निकायले लिखित वा मौखिक रूपमा जानकारी दिएको छैन,’ उनले भने, ‘के कारणले, कुन कानुनका आधारमा र कति अवधिका लागि स्थानहद गरिएको भन्ने थाहा छैन ।’ उनका अनुसार दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकिएको र पासपोर्ट रोक्का गरिएको कुरा उनले माध्यमहरूबाट मात्र सुनेका हुन् ।

जेनजी आन्दोलनपछि भएको मानवीय क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै आफूले गृहमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको तर तत्कालीन प्रधानमन्त्री ओलीले रोकेको पनि लेखकले खुलासा गरेका छन् । ‘भदौ २३ गतेको आन्दोलनपछि मलाई गहिरो पीडा भयो । भोलिपल्टै राजीनामा दिन्छु भनेको थिएँ । प्रधानमन्त्रीले ‘मिल्दैन’ भन्नु भयो, तर म अडिग रहें र अन्ततः लिखित राजीनामा दिएँ,’ लेखकले भने । उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको तर ओलीले नमानेको पनि स्मरण गरे ।

पार्टीभित्र विशेष महाधिवेशनको प्रस्तावबारे बोल्दै लेखकले चेतावनी दिए, ‘‘विशेष महाधिवेशन भनेको जंगलभित्र कांग्रेस पस्ने हो, जहाँबाट फर्कने बाटो फरक–फरक हुन्छ र कांग्रेस सग्लो रहँदैन ।’ उनले नियमित महाधिवेशन गर्न सक्ने क्षमता कांग्रेससँग भएकाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गर्नुपर्ने बताए । ‘४० प्रतिशत हस्ताक्षरले माग गर्न सकिन्छ भन्ने प्रावधान छ, तर कार्यविधि र प्रक्रिया अस्पष्ट छन् । यस्तो अन्योलले पार्टीमा दरार ल्याउँछ,’ उनले भने । लेखकले पुसभित्रै क्रियाशील सदस्यता नवीकरण र वितरण सकेर नियमित महाधिवेशन गर्ने तयारीमा लाग्न सबैलाई आग्रह गरे।

 

 

गगनमाथि जितजंगको कटाक्ष : हामी नेपो किड्स पनि हैनौं, नेपो ज्वाइँ पनि हैनौं’

काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारीे केन्द्रीय कार्यसमिति बैठक बुधबार आरोप–प्रत्यारोप चलेको छ । बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगनकुमार थापामाथि कडा प्रश्न उठाउँदै विशेष महाधिवेशनको नाममा ‘संगठन कब्जा गर्न खोजिएको हो कि ?’ भनेर आशंक व्यक्त गरेका छन् ।

बस्नेतका अनुसार विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर सनाखतको जिम्मेवारी स्वयं महामन्त्रीले पनि लिनुपर्ने हुन्छ । तर उनले त्यो जिम्मेवारी नलिएर संगठन कब्जाको योजना अघि सार्ने प्रयास गरेको आशंका उनले व्यक्त गरे । उनले प्रश्न गरे, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, त्यसको जिम्मेवारी महामन्त्रीले पनि लिनुपर्छ । सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’

बस्नेतले पार्टीमा आफूहरू पनि त्याग, समर्पण र रगत–पसिनाको हिस्सा रहेको स्मरण गराउँदै अहिलेको प्राथमिकता नेतृत्व परिवर्तन होइन, नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । उनले भने, ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन होइन, पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीमा पुनरावलोकन हो । विशेष महाधिवेशन भन्नेहरूसँग प्रश्न छ–कुन नियमावली ? कुन कार्यविधि ? कसरी व्यवस्थापन गर्ने ?’

उनले थपे, ‘क्रियाशील सदस्य छानबिन समितिको संयोजक स्वयं महामन्त्री ज्यू, तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन ?’ बस्नेतले माग गरे, ‘यदि मंसिरमा महाधिवेशन सम्भव छ भने तालिका ल्याउनोस् । तर तालिका ल्याउनुअघि क्रियाशील छानबिन, वितरण; दोस्रो चरणमा वार्डदेखि तहगत अधिवेशन; अनि अन्त्यमा केन्द्रीय अधिवेशन–यही व्यवस्थित क्रमअनुसार अघि बढ्नु पर्छ ।’

उनले गगन थापाद्वारा पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै नसमेटिएको भन्दै प्रस्ताव स्वयंले नै पुसमा महाधिवेशन असम्भव भएको पुष्टि गर्ने टिप्पणी गरे । ‘महामन्त्री ज्यूले प्रस्तुत गर्नुभएको प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका छैन, त्यसैले पुसमा महाधिवेशन असम्भव छ भन्ने कुरा प्रस्तावले नै देखाउँछ’, उनले भने । बैठकमा गगन थापालाई प्रत्यक्ष सम्बोधन गर्दै बस्नेतले भने, ‘हामी नेपो किड्स पनि हैनौं, नेपो ज्वाइँ पनि हैनौं । देश, पार्टी र लोकतन्त्रका लागि आवश्यक परेको बेलामा हामीले अग्रपंक्तिमा उभिएर लडेका छौं । जिम्मेवारीबाट भाग्ने होइन, जिम्मेवारी वहन गर्ने मान्छे हौं ।’

सानेपाको बैठकमा बस्नेतको यो प्रहारपछि कांग्रेसभित्रको गगन समूह र संस्थापन पक्षबीचको तनाव अझ खुला रूपमा सतहमा आएको देखिएको छ । पार्टीभित्र अहिलेको बहस केवल महाधिवेशनको मिति होइन, संगठनको नियन्त्रण र भावी नेतृत्वको दिशाबारे पनि रहेको संकेत बैठकका वक्तव्यहरूले दिएको छन् ।

 

कांग्रेसमा संसद पुनर्स्थापनाको बहसले फुटको बीउ रोप्दै

काठमाडौं । देशव्यापी ‘जेन–जी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ । भदौ २३–२४ गतेको नागरिक आन्दोलनले विघटित प्रतिनिधि सभा र सरकारको पतन भएसँगै बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।

तर पार्टीभित्र संसद पुनर्स्थापनाको मुद्दाले फुटको बीउ रोप्न थालेको छ । केही नेताहरुको हस्ताक्षर अभियानबाट शुरु भएको यो बहसले कांग्रेसलाई दुई धारमा विभाजित गरेको छ । एकातिर ‘आन्दोलनको म्याण्डेट’ लाई निर्वाचनमार्फत सम्मान गर्ने पक्ष, अर्कोतिर विघटित सांसदहरूको ‘संवैधानिक अधिकार’ खोज्ने अभियान जारी छ ।

केन्द्रिय कार्यालय सानेपामा केही समय यता जारी बैठकमा यो विषयले प्राथमिकता पाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत सहमहामन्त्री तथा केन्द्रिय सदस्यहरूको उपस्थिति छ । सभापति शेरबहादुर देउवा सिङ्गापुरमा उपचाररत रहँदा पनि उहाको निर्देशनमा सांसदहरूको हस्ताक्षर संकलन अभियान चलेको छ । तर महामन्त्री थापाले सोमवार सामाजिक सञ्जालमार्फत ‘फागुन २१ को निर्वाचन नै संवैधानिक बाटो’ भन्दै आपत्ति जनाएका छन् । यो मतभेदले पार्टीको रणनीतिक दिशालाई चुनौती दिएको छ ।

जेन–जी विद्रोहको उपलब्धि निर्वाचनमै : शिवाकोटी
केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी संसद पुनर्स्थापनालाई ‘जेन–जी म्याण्डेट’ विरुद्ध ठान्छन् । उनले केही पूर्व सांसदहरूले हस्ताक्षर संकलन गरेको सुने पनि यो पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पारे । देशभर नागरिक आन्दोलित भएको र विद्रोह भएकाले यसको परिणाम स्वीकारेर जानुपर्ने उनको तर्क छ । नत्र आन्दोलनको उपलब्धिविरुद्ध उभिएको हुने उनको भनाइ छ । निर्वाचनमै जाँदा मात्र जनमतको सम्मान हुने भन्दै उनले यसलाई एक मात्र विकल्प ठहर गरेका छन् । यो भनाइले पार्टीभित्र निर्वाचन केन्द्रित समूहको आवाजलाई बल पुर्‍याएको छ ।

सकारात्मक तर मुख्य मुद्दा होइन : पराजुली
अर्का केन्द्रिय सदस्य पुष्प पराजुली संसद पुनस्र्थापनालाई सकारात्मक रूपमा हेर्छन् । तर पनि यसलाई मुख्य एजेण्डा नबनाउने पक्षमा उनी छन् । कांग्रेसले यसलाई सकारात्मक ढङ्गले लिएको उनको भनाइ छ । ‘धेरै साथीहरू र पूर्व सांसदहरू यसको पक्षमा छन् तर मुद्दा बनाउने कार्यक्रम छैन ।’ उनले भने । यो भनाइले पार्टीको आधिकारिक धारणालाई सन्तुलित बनाएको छ ।

निर्वाचन वातावरण बनाउन छलफल : संग्रौला
केन्द्रिय सदस्य डिला संग्रौलाले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार आवश्यकताको सिद्धान्तमा आधारित रहेको बताइन् । उनले कांग्रेस अब निर्वाचनतर्फ केन्द्रित हुने बताए । फागुन २१ को निर्वाचन घोषणा भइसकेको र सबैतिर निर्वाचन वातावरण बनाएर जाने उनको भनाइ छ । बैठकमा यस्ता छलफलले पार्टीको आगामी रणनीतिलाई आकार दिने बताए ।

सांसदको अधिकार स्वाभाविक : खड्का
केन्द्रिय सदस्य दीपक खड्काले संसद पुनर्स्थापनालाई सांसदहरूको ‘संवैधानिक अधिकार’ को रूपमा हेरे । कानूनी राज्यमा विश्वास गर्नुपर्ने भन्दै उनले अदालतको निर्णय पर्खिने बताए । यो तर्कले हस्ताक्षर अभियानलाई वैधानिक आधार दिएको छ ।

व्यक्तिगत धारणा हो, पार्टी निर्णय पर्खौं : बास्तोला
केन्द्रिय सदस्य नानु बास्तोलाले सांसदहरूको हस्ताक्षरलाई ‘व्यक्तिगत अधिकारका रुपमा लिएकी छन् । पार्टीले औपचारिक निर्णय गरि नसकेको र छलफल जारी रहेको उनको भनाइ छ । निर्वाचन मिति घोषित भइसकेको अवस्थामा जनविश्वास पुनर्स्थापना गर्न कांग्रेस निर्वाचनमै जानुपर्ने उनको तर्क छ ।

प्रदेश प्रमुखको कदमप्रति आक्रोश : संघीयतामाथि प्रहार ?
बैठकमा मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयले पनि चर्चा पाएको छ । केन्द्रिय सदस्यहरूले प्रदेश प्रमुखको यो कदमलाई ‘संविधान विपरीत’ ठहराउँदै संघीयताको आधार कमजोर बनाउने बताए । प्रदेश प्रणाली खर्चिलो भयो, हटाउनुपर्छ भन्ने जनमत उठिरहँदा यस्तो क्रियाकलापले संघीयता बलियो नहुने नेताहरुको भनाइ छ । यो विषयले राष्ट्रिय राजनीतिलाई बहसमा उतारेको छ ।

कांग्रेसको बैठक कात्तिक २७ सम्म चल्ने नेताहरु बताउँछन् । विशेष महाधिवेशनको माग पनि जोडिएको छ । जसले पार्टीको आन्तरिक सुधारलाई गति दिनसक्छ । जेन–जी विद्रोहको ‘जनम्याण्डेट’ र निर्वाचनको तयारीबीच कांग्रेसले कुन बाटो रोज्छ ? यो प्रश्नले राजनीतिक हलचल बढाएको छ । अन्तरिम सरकारको नेतृत्वमा रहेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई निर्वाचन सुनिश्चित गर्नुपर्ने दबाब छ । तर कांग्रेसको आन्तरिक द्वन्द्वले राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिनसक्ने अनुमान छ ।

कांग्रेसमा विशेष महाधिवेशनको मागबारे के भन्छन् कानुनविदहरु ?

काठमाडौं । नेपाली कांग्रेसभित्र हाल विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशन गर्ने भन्नेमा मतभिन्नता छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखेर पार्टी कार्यलयमा निवेदन दर्ता गराएका छन् । कानूनविद् समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले कांग्रेसको विधानले ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको बताए ।

उनकाअनुसार विधानको व्यवस्था बाध्यात्मक (म्यान्डेटरी) हो र यसमा अन्यथा सोच्न नपाइने उनको भनाई छ । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले सोझै र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले एजेण्डासहित विशेष महाधिवेशनको माग गर्नसक्ने जानकारी दिए । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानूनी परामर्शका लागि सोमवार आयोजना गरेको छलफलमा वरिष्ठ अधिवक्ता अधिकारीले विशेष महाधिवेशनको माग भएको ९० दिनभित्र महाधिवेशन बोलाउनुपर्ने बताए । महाधिवेशन कसरी गर्ने भन्ने प्रक्रियाको विस्तृत विवरण भने नियमावली वा निर्देशिकामा नभएको उनको भनाइ छ । यद्यपि केन्द्रिय समितिले सानो कार्यविधि बनाएर त्यसलाई टुंग्याउनसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको विधान छ, विधानले प्रष्ट रुपमा नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्नेछन् भनेको छ । यसमा एजेण्डासहित आउनु पर्छ, एजेण्डासहित आएको प्रस्तावमा केन्द्रिय समितिले ९० दिन भित्रमा विशेष महाधिवेशन बोलाएर त्यसलाई टुंगो लगाउनुपर्ने व्यवस्था छ । यसलाई हामी दायाँबायाँ नगरिकन म्यान्डेटरी व्यवस्था भन्छौँ । यसमा अन्यथा सोच्ने, अन्यथा गर्ने कुरै आउँदैन ।’

उनले भने, ‘यो केन्द्रिय समितिले पनि विशेष महाधिवेशन बोलाउन सक्छ, विशेष अवस्था हेरेर र महाधिवेशन प्रतिनिधिहरुले पनि बोलाउन सक्छन् । केन्द्रिय समितिले सोझै सक्छ, महाधिवेशन प्रतिनिधिहरुले संख्या पुर्‍याएर दर्ता गरेपछि ९० दिन भित्र बोलाउन बाध्यात्मक व्यवस्था छ । यसमा कुनै दायाँबायाँ सोच्न पर्दैन । यो विधानको कुरा हो ।’ उनले थपे, ‘विशेष महाधिवेशन बोलाउने प्रक्रिया, विधि र त्यसलाई टुंगामा पुर्‍याउने तरिका विधानमा लेखिएको छैन । नियमावलीमा लेखिएको छैन, अहिलेसम्म निर्देशिकामा पनि लेखिएको छैन । किनभने त्यो असाधारण अवस्थामा बोलाईने कुरा हो । असाधारण भनेर बोलाईएको अवस्थामा त्यो गर्नको लागी केन्द्रिय समितिले सानो निर्देशिका बनाएर त्यसलाई टुंग्याउन सक्छ । त्यो कुनै ठूलो कुरा भएन । खाली के मात्रै हो भने राजनितिक ईच्छाशक्ति चाहियो ।’

वरिष्ठ अधिवक्ता हरिहर दाहालले ४० प्रतिशत सदस्यले माग गरेपछि विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै अहिले ५४ प्रतिशत प्रतिनिधिले माग गरेकोले ढिलाइ गर्न नहुने बताए । उनले केन्द्रिय समितिले भेला नबोलाए महाधिवेशन प्रतिनिधिहरुले नै विशेष भेला पनि बोलाउन सक्ने बताए । यद्यपि यसले पार्टी विभाजनको जोखिम निम्तिनेतिर ध्यान दिन उनले आग्रह गरे । उनले २०७८ सालमा पार्टिको महाधिवेशन भएकोले २०८२ मंसिरमा नियमित महाधिवेशनको समय पनि आइपुगेको बताए । तर कांग्रेस नियमित र विशेष महाधिवेशन दुवै गर्नेतिर नलागरे अनिर्णयको बन्दी बनेको उनको भनाई छ । दाहालले २०१४ सालमा कांग्रेसले विशेष महाधिवेशन गरेको ऐतिहासिक उदाहरण स्मरण गराउँदै तत्कालीन सभापति सूवर्ण शमशेर जबराले नेतृत्व परिवर्तनको मागलाई लोकतान्त्रिक संस्कारका रूपमा स्वीकार गरेको बताए । त्यसबेला त्याग र तपस्याको संस्कार रहे पनि अहिले त्यस्तो संस्कार हराउँदै गएको उनको भनाई छ ।

उनले भने, ‘४० प्रतिशत सदस्यले माग गरेपछि बोलाउनु पर्छ । बोलाएन भने छुट्टै विशेष भेला पनि बोलाउन सकिन्छ तर फेरि त्यसले पार्टी विभाजनको दिशामा जाला, त्यो गरिहाल्न पनि उचित भएन । त्यो राम्रो सन्देश पनि जाँदैन । तर यदि पार्टीलाई माया गर्ने हो भने एक ढिक्का भएर लाने हो भने त ४० प्रतिशतले माग गर्दा त बोलाउन पर्छ भने यहाँ त ५४ प्रतिशत पुगेको छ ।’ उनले भने, ‘समयको हिसावले भन्ने हो भने २०७८ सालमा महाधिवेशन भएको २०८२ साल मंसिरमा त नियमित महाधिवेशन नै गर्ने बेला भइसक्यो नी । अहिले अनिर्णयको बन्दी कसरी भयो भन्दा न त नियमित महाधिवेशन न त विशेष महाधिवेशन । चुनाव पछि अधिवेशन । यो कुरा किमार्थ हुँदैन भन्ने कुरा भनेर मुलुकभरका साथीहरु उठ्नुपर्ने बेला भएको छ ।’

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले विशेष महाधिवेशनको विषय कानूनीभन्दा पनि राजनीतिक भएको बताए । उनले कांग्रेसको विधानले विशेष महाधिवेशनको बारेमा उल्लेख गरेको भए पनि विस्तृत रुपमा उल्लेख भने नगरेको बताए । उनले विशेष महाधिवेशनको आह्वान भएपछि केन्द्रिय समितिले कार्यविधि बनाउने र सोही कार्यविधिअनुसार प्रक्रिया बढ्ने जानकारी दिए । उनले २०१४ सालदेखि हालसम्म कांग्रेसमा विशेष महाधिवेशन नभएकाले पनि प्रक्रियाका बारेमा केही कन्फ्युजन उत्पन्न भएको बताए । उनले विधानमा विशेष महाविशेनको धेरै परिकल्पना नगरिए पनि हुनेबारे भने बाध्यात्मक व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने, ‘यो विषय कानूनी भन्दा पनि राजनीतिक विषय हो । कानुनी त यति नै हो कांग्रेसको विधानको कुरा गर्ने हो भने अहिले विशेष महाधिवेशनको सन्दर्भमा यसले कार्यविधिको कुरा गर्दैन, नियावालीले पनि कार्यविधिको कुरा गर्दैन, निर्वाचन निर्देशिकाले त गर्ने कुरै भएन, विशेष महाधिवेशनको कुरा । अन्य कुराहरु चाहीँ कसरी जान्छ भन्ने कुरा विशेष महाधिवेशनको कार्यविधि उसले आफै तय गर्छ । जब कन्भिन्स हुन्छ, त्यसपछि उसले आफैं कार्यविधि तय गर्छ ।’

उनले भने, ‘विशेष महाधिवेशन भनेको विशेष अवस्थाकै महाधिवेशन हो । त्यसैले कसरी हुने, यसको के के हुने भन्ने कुरा उसले तय गर्दै जान्छ, प्रस्ताव पास गर्दै जान्छ । केन्द्रिय समितिले विशेष महाधिवेशनको आह्वान गरेर एउटा कार्यविधि बनाउँछ र सोही कार्यविधि अनुसार विशेष महाधिवेशन हुन्छ । २०१४ सालबाट अहिलेसम्म भएको रहेनछ, त्यसलै ठ्याक्कै भन्न सकिएन । यसको धेरै लेखेको पनि रहेनछ । यसको धेरै परिकल्पना गरिएको जस्तो बुझिएन । विधानले केवल के परिकल्पना गरेको जस्तो देखियो भने विशेष महाधिवेशन त हुन्छ । भयो भने त्यतिवेला नै देखा जाला भने जस्तो व्यवस्था गरे जस्तो बुझियो ।’

डेमोक्रेटिक लयर एशोसिएसनका अध्यक्ष सीताराम केसीले पनि विशेष महाधिवेशनको माग महाधिवेशन प्रतिनिधिहरुको अधिकार भएको बताए । उनले विधानको धारा १७ (२) ले विशेष महाधिवेशनलाई म्यान्डेटरी व्यवस्था गरेको दाबी गरे । उनले विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेको महाधिवेशनलाई केन्द्रिय समितिले स्वीकार गर्न ढिलाइ गर्नु गलत भएको बताए ।

उनले विशेष महाधिवेशनको प्रक्रियाका बारेमा कन्फ्युजन राख्नुपर्ने अवस्था नभएको पनि बताए । नियमित महाधिवेशन जस्तै गरी विशेष महाधिवेशन गर्न सकिने उनको भनाई छ । यद्दपि विशेष महाधिवेशनले भने केन्द्रिय समिति मात्रै चयन गर्ने उनले बताए । उनले हाल केन्द्रिय समितिमा विशेष कि नियमित महाधिवेशन भनेर व्यर्थको छलफल भईरहेको पनि बताए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विषश महाधिवेशनको माग राखेर हस्ताक्षर बुझाइसकेपछि केन्द्रिय समितिले पहिले विशेष महाधिवेशनको विषय टुंगो लगाउनुपर्ने बताए । हस्ताक्षरकर्ताहरुलाई विश्वासमा लिएर नियमित महाधिवेशनको मिति तोक्ने बाटो पनि खुला भने रहेको उनको भनाई छ ।

उनले भने, ‘विद्यानको धारा १७ (२) को व्यवस्था म्याण्डेटरी व्यवस्था हो, विशेष अधिवेशन । त्यो महाधिवेशन प्रतिनिधिहरुको अधिकार हो । यसमा कुनै दुविधा रहनु पर्दैन । केन्द्रिय समितिले या ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाउन पाउने स्पष्ट व्यवस्था हो, त्यो । यो विशेष अधिवेशनको मोडालिटी के हुन्छ भने जसरी नियमित महाधिवेशन गर्‍यौँ, विशेष महाधिवेशन पनि त्यसरी नै हुन्छ । तर त्यो चाँही केन्द्रमा मात्रै हुन्छ । अहिले विशेष अधिवेशन कि नियमितमा छलफल भईरहेको छ ।’

उनले भने, ‘कतिबेर छलफल भईरहेको छ भन्दा विशेष अधिवेशनको माग गरेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिईसकेपछि । केन्द्रिय समितिमा यो एजेण्डा प्रवेश गरिसकेपछि पहिला यसको निर्णय गर्नुपर्ने थियो केन्द्रिय समितिले । होइन, हामी विशेष महाधिवेशनमा जान सक्ने अवस्था छैन नियमित महाधिवेशनमा जान्छौँ, ४ वर्षे कार्यकाल सक्किसकेको छ भन्ने हो भने पनि विशेष महाधिवेशनको माग गर्नेहरुसंग छलफल गरेर, सम्झौता गरेर केन्द्रिय समितिबाट निर्णय गरेको भए एउटा बाटो हुनसक्थ्यो ।’

उनले थपे, ‘अहिले केन्द्रिय समितिको बहुमत एकातिर, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि एकातिर, कस्तो कन्फ्युजन भईरहको छ । किन यो भईरहेको छ । हिजो यही महाधिवेशन प्रतिनिधि होइन सभापतिदेखि सदस्य चुन्ने ? तिनैमध्येका ५४ प्रतिशतलाई अहिले किन लत्याईएको छ ? केन्द्रिय समितिमा कहाँ कसको बहुमत छ, त्यो सेकेण्डरी कुरा हो । विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि सर्वस्वीकार्य रुपमा गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपानेले भने कांग्रेसमा विधान र प्रक्रियाका कुरा गर्नु नै ‘बेमौसमी बाजा’ भएको टिप्पणी गरे । उनले कांग्रेसमा प्रजातान्त्रिक मूल्यभन्दा एन्टी कम्युनिष्ट विचारधारा प्रमुख बनेको दाबी गरे । कांग्रेसलाई प्रजातान्त्रिक मापदण्डले नाप्न खोज्दा सिद्धान्त, नीति, विचार र व्यवहारमा कतै नदेखिने उनको भनाई छ । उनले महाधिवेशन र विशेष महाधिवेशनको अन्तर छुट्याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘कांग्रेसको लागि कसी लगाएर हेर्ने हो भने प्रजातन्त्र सिद्धान्तमा देखिँदैन, नीति र विचारमा भेटिँदैन, पद्धति र प्रक्रियामा पाइँदैन, व्यवहारलाई हेर्दा छैन, देखिँदैन, परिणामलाई अनुभूति नै गर्न पाइएको छैन । महाधिवेशन र महासमितिबीचको फरक के ? निर्वाचनको काम बाहेक सबै काम गर्न सक्षम महासमिति । महाधिवेशन र विशेष महाधिवेशनको फरक के ? हामी यसमा छलफल गर्न पर्ने कि नपर्ने ?’

उनले भने, ‘महासमिति र महाधिवेशन प्रतिनिधीको फरकको बीचमा विद्यानले संक्षिप्त लेखेको छ । महाधिवेशन र विशेष महाधिवेशनको बारेमा विधानले त्यति संक्षिप्त लेखेन । यसको फरक के ? हामीले खोज्नु पर्दैन ? हामीले महाधिवेशनको अल्टरनेटिभ विशेष महाधिवेशन हो भनेर सोच्न मिल्छ कि मिल्दैन । प्रश्न यहाँनेर हो । कही न कही महाधिवेशन र विशेष महाधिवेशनको बीचमा अन्तर छ भन्ने कुरा चाँही एक्नोलेज गर्नु जरुरी छ ।’

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले विशेष महाधिवेशन हुन नसके जिल्ला र प्रदेशको अधिवेशन बाँकी राखेर बाँकी अधिवेशन गर्न सकिने बताए । उनले महाधिवेशनको जिम्मा आफूहरुलाई दिएमा दुई महिनाभित्र कांग्रेसको महाधिवेशन गरिदिने दाबी गरे । नेपाली कांग्रेसका नेता देवराज चालिसेले जनताको भाव बुझेर समयको प्रवाहअनुसार राजनीतिक दलहरु हिड्न सक्नुपर्ने बताए । नेपाली कांग्रेस पार्टीलाई जनतासँग जोड्नको लागि आफूहरुले महाधिवेशनको माग गरेको उनले जानकारी दिए । वर्तमान नेतृत्वले जनताको भावना बुझ्न नसक्ने उनको भनाई छ । कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दो क्रममा रहेको छ । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भएपछि ९० दिनभित्र महाधिवेशन बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा आन्तरिक असन्तुष्टि चुलिएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।

कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा चर्को बहस चलेको छ । यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्नेबारे पनि बहस चलेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैन : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभूति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताए । देशका १६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको दाबी गरे ।

कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो । करिव ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. शर्माले गरे । सो क्रममा शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थानीयका अनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभइ स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ ।

उनले भने, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्ने हो भने यसरी माला, खादा, तपाईंहरुको प्रेम, सहानुभूति, सद्भाव पाइँदो रहेछ नि । भाग्नुपर्ने, जल्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति वा जनतासँग भेट्न जाँदा प्रहरी वा सेना राखेर जानुपर्ने स्थिति नहुँदो रहेछ । मुलुकको १ सय ६५ क्षेत्रमा मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र हो । कुनै दिन यस्तो दिन पनि आउनसक्छ । अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय रिसर्चरहरुले किन यो क्षेत्रका जनताले छानि छानि विवेक प्रयोग गरेर किन राम्रा मान्छेलाई भोट हाल्दा रहेछन् भनेर अनुसन्धानको विषय बन्नसक्छ ।’

पुल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।

 

 

कांग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतामा जानुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौं । देशको यो संकट कांग्रेसले पार लगाउनेछ ।’ पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गनियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको दाबी गरे । ‘अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो,’ उनले भने ।

जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकांक्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

 

गगन थापाको भिडियो सन्देश : फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् । उनले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।

‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘तर, चुनावमा भोटरको रुपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनु होला ।’ भिडियो सन्देशसँगै महामन्त्री थापाले निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचय पत्र बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

हेर्नुस् भिडियो

 

मधेसको सरकार गठन प्रक्रिया निन्दनीय, संघीयताप्रति थप वितृष्णा बढायो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेशमा संविधानको मर्म विपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको भन्दै यसलाई ‘अराजनीतिक र निन्दनीय’ भनेका छन् । शर्माले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

उनले संविधानको धारा १६८९२० बमोजिम सरकार गठनको सम्भावना रहँदै गर्दा धारा १६८(३) अनुसार गरिएको नियुक्तिलाई ‘मञ्चन भएको प्रहसन’ भनेर व्याख्या गरेका छन् । शर्माले विश्वास व्यक्त गर्दै भनेका छन्, ‘बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले यो गल्ती सच्याउनेछ ।’

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नयाँ मुख्यमन्त्री यादवले सोमबार नै शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सिफारिसमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कञ्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारी मन्त्री बनेका छन् । यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

‘हाम्रो अहिले त्यस प्रकारको सरकारमा सामेल हुने कुनै कार्यक्रम पनि छैन । त्यो पार्टीको सहमतिमा गरिएको कुरा पनि होइन । तत्काल फिर्ता हुन हामीले निर्देशन पनि दिएका छौं,’ अध्यक्ष लिङ्देनले भने । उनले फेसबुकमा पनि यसबारे लेख्दै निर्देशन पालना नगरे कारबाहीको चेतावनी दिएका छन् । ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो,’ लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।’

 

 

 

विशेष महाधिवेशनको माग वाध्यकारी : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका कारण पार्टी विधानले त्यसलाई ९० दिनभित्र पूरा गर्न निर्देशन दिएको स्मरण गराए ।

शर्माले भने, ‘नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्यसअघि–पछि पनि गर्न सकिन्छ, तर विशेष महाधिवेशन भने ९० दिनभित्र सम्पन्न गर्न विधानको दफा १७ (२) ले स्पष्ट निर्देशन दिएको छ । यो बाध्यात्मक व्यवस्था हो ।’ उनका अनुसार बहुमत प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन अब या त विशेष महाधिवेशन बोलाएर वा सोही अवधिभित्र नियमित महाधिवेशन गरेर मात्रै सम्बोधन गर्न सकिने स्थिति बनेको छ । ‘यस विषयमा कुनै ‘इफ, बट, इन्तु, परन्तु’ होइन, स्पष्ट निर्णय लिनु अपरिहार्य छ,’ उनले लेखेका छन् ।

यसबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिलाई लिएर तीव्र विवाद चर्किएको छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । तर, सो पक्षभित्रै पनि एकमत बन्न सकेको छैन । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहितको समूह भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ ।

 

 

 

 

 

 

चन्द्र भण्डारीको चिन्ता : कति फुर्सद ? के जन्मै गालीका लागि ?

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको गालीगलौजको प्रवृत्तिप्रति गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले यस्ता गतिविधिले समाजलाई कुन दिशामा धकेलिरहेको छ भन्ने प्रश्न समेत उठाएका छन् ।

भण्डारीले आफ्नो फेसबुक स्टाटसमा ‘गाली ! गाली ! गाली !!! कति फुर्सद ? के जन्मै गालीका लागि ? कता जाँदैछ हाम्रो समाज ?’ भन्दै आजको समाजको यथार्थ चित्रण गरेका छन् । उनको भनाइअनुसार, तर्कले तर्क खोज्नुपर्ने र विचारले विचारलाई जन्म दिनुपर्नेमा अहिले गाली र आरोप–प्रत्यारोप मात्र मौलाएको छ ।

नेता भण्डारीले गालीलाई मूर्खताको पहिचानका रूपमा परिभाषित गर्दै मानिसहरूसँगको अन्तरक्रिया र अनुभवबाट प्राप्त हुने ज्ञानलाई जीवनको उत्कृष्ट पाठशाला भनेका छन् । उनले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एउटै परिवार हो भन्ने मानव सभ्यताको मूल संस्कारलाई हामीले बिर्सदै गएकोमा दुःख व्यक्त गरेका छन् । ‘मानव सभ्यताको मूल संस्कार ग्रहण गर्न नसक्ने हामी–सभ्य भनिएर पनि असभ्य बन्दैछौ,’ भण्डारीले लेखेका छन् ।

 

कांग्रेस सुधार्न नैनसिंह महरले अघि सारे यस्ता सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी रुपान्तरणका लागि झण्डै तीन दर्जन सुझाव अघि पारेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी रुपान्तरणका लागि लिखित रुपमा पेस गरेको दस्तावेजमा जन भावनाअनुसार काम गर्न संरचनामा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । नयाँ क्रियाशील सदस्यता लिँदा र वीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गर्न सके पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुने उल्लेख छ ।

हेर्नुस् महरका ३४ बुँदे सुझाव

१. एक व्यक्ति एक पद दुई पटक र एक व्यक्ति तीन पटक मात्र सांसदको उम्मेदवार बन्न पाउने व्यवस्था गरिनुपर्छ। पार्टीका सबै तहमा अनिवार्य रूपले एक पदमा बढीमा दुई पटक मात्र रहन पाउने र विजय होस् वा पराजय, तीन पटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्छ। कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ ।

२. तल्लो तहदेखि माथिल्लो तहका कार्यकर्ता तथा नेताहरूलाई जागृत गराउन युवा कांग्रेसको स्थापना गरेर जागरण अभियान सुचारु गर्न आवश्यक छ ।
३. विधानको अक्षरशः पालना हुनुपर्छ ।
४. गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गरौं भन्ने आग्रह गर्दछु ।
५. नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गरौं। यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।
६. वडाध्यक्ष (सभापति) को नेतृत्वमा भ्रातृ संस्थाको एकीकृत टोली निर्माण गरेर ६ हजार ७४३ वडामा जाने ।
७. पार्टी र जनप्रतिनिधिबीच समन्वय गर्ने संयन्त्र बनाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
८. वडाध्यक्ष, वडा सभापतिदेखि केन्द्रमा केन्द्रीय सदस्य, विभागीय प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्मले चौमासिक कार्य प्रगति विवरण पार्टीको तोकिएको निकायमा बुझाउने ।
९. पार्टीका नेता र जनप्रतिनिधिलाई जनताप्रति, घोषणापत्रप्रति उत्तरदायी बनाउन संयन्त्र निर्माण गर्ने ।
१०. कांग्रेसका परिवार (पुराना मतदाता) लाई आफ्नो पक्षमा राख्न नसक्नुको कारण पत्ता लगाई समाधान खोज्ने ।
११. व्यक्तिभन्दा संस्था कसरी बलियो बनाउने भन्ने विषयमा कसैको चासो नभएको हुँदा नेपाली कांग्रेस पार्टी बलियो हुँदा देश र जनता बलियो हुने कुरा तल्लोदेखि माथिल्लो तहमा बहस चलाउने ।
१२. पार्टीभित्र टिकट वितरण गर्दा वडा तहको वडामै र जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा टुङ्ग्याउनु पर्ने ।
१३. पार्टी थिङ्कट्याङ्ङ्क– देश र पार्टीका लागि आवश्यक विषयवस्तु र नीति निर्माण गर्न नेपाली कांग्रेसको अलग्गै थिङ्क ट्याङ्क आवश्यक छ । उक्त थिङ् ङ्कट्याङ्कको विमर्श र छलफलबाट निकालेको निष्कर्ष पार्टीभित्र र सार्वजनिक क्षेत्रका लागि उपयोगी हुन्छ ।
१४. वडाधिवेशनदेखि केन्द्रको महाधिवेशनसम्मका सबै तहको अधिवेशन-महाधिवेशनमा प्रतिनिधि बन्न अनिवार्य रूपले सम्बन्धित तहको निर्वाचन जितेर आउनुपर्ने व्यवस्था मिलाउने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नु पर्दछ । यसबाट केन्द्रको जिम्मेवारी लिने नेता आम कार्यकर्ता र भूगोलप्रति बढी जिम्मेवार हुन्छन् ।
१५. अहिले समाजको मनोविज्ञानमा आएको परिवर्तनलाई ख्याल गरेर नेपाली कांग्रेसले पनि आफूलाई स्वीकार्य बनाउन जरुरी छ । कांग्रेसको सङ्गठनमा काम गर्न समाजका अन्य समुदाय, वर्गबाट जुनसुकै बेला अनुरोध गर्न सक्छन् । जनताको विश्वास र भरोसा कमाएका व्यक्ति यदि कांग्रेसमा रहेर काम गर्न चाहन्छन् भने निश्चित प्रतिशतमा (ल्याटरल इन्ट्री) को प्रबन्ध आवश्यक छ ।
१६. भ्रातृ संस्थाको नियमित महाधिवेशन, अधिवेशन, निर्वाचन र नेतृत्व चयनले लोकतान्त्रिक संस्कृतिमा निखार आउँछ र आन्तरिक लोकतन्त्र संस्थागत हुँदै जान्छ ।
१७. भ्रातृ संस्थाको केन्द्रीय अध्यक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था बनाउनु पर्छ ।
१८. भ्रातृ संस्थाको चौमासिक रिपोर्ट आफूभन्दा माथिल्लो समिति र सम्बन्धित तहको पार्टीमा अनिवार्य बुझाउने ।
१९. जलवायु परिवर्तन र विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणका लागि सरकारी, गैरसरकारी र संस्थाहरूलाई भूमिका प्रदान गर्ने नीति अवलम्बन गरी राष्ट्रिय अभियान सञ्चालन गर्न आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले वडादेखि केन्द्रसम्मका सबै तहमा एक छुट्टै संयन्त्र बनाई परिचालन गर्नुपर्नेछ (कार्यदल बनाउने) । यसलाई प्राकृतिक स्रोतसाधनको व्यवस्थापन तथा परिचालन अभियान पनि भन्न सकिन्छ ।
२०. आचारसंहिताः देश परिवर्तनको अभिभारा बोकेको दलका नेता कार्यकर्ताहरू स्व–अनुशासनमा बस्न र नैतिकताको मापदण्डभित्र बस्नु पर्दछ । जनताको नेता आफ्नो जनताको संस्कृतिसँग मेल खाने गरी सहज, साधारण र सफा जीवनशैलीको हुनु पर्दछ । तडकभडक, उपयोगितावादी चरित्रबाट टाढा रहनु अनिवार्य छ ।
२१. प्रविधिमैत्री पार्टीको निर्माण ।
२२. पार्टीमा ज्ञान व्यवस्थापन र हस्तान्तरण प्रणालीको विकास ।
२३. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने ।
२४. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने।
२५. प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता लिनुभन्दा अघि साधारण सदस्यले नेपाली कांग्रेस पार्टी, राजनीति, अर्थतन्त्र, राष्ट्रियता र समाजलगायतका विषयमा अनिवार्य प्रशिक्षणको व्यवस्था।
२६. अतिआवश्यक कामबाहेक पार्टीका सबै नेता कार्यकर्ताले हिउँदे र वर्षे सिजनमा १०÷१० दिन कृषिमा काम गर्ने, यसबाट श्रमप्रति सम्मान बढ्छ। गाउँ–सहरलाई टेवा पुग्छ ।
२७. जनसम्पर्क समितिः विभिन्न ३७ देशमा रहेका जनसम्पर्क समितिहरूलाई बिनाभेदभाव पार्टीलाई जिम्मा दिनुपर्छ । एनआरएनएको क्लस्टर जस्तै, हरेक महादेशबाट १÷१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्छ ।
२८. कांग्रेसको पालिका अध्यक्ष प्रदेश, केन्द्रको स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ।
२९. ७७ वटै जिल्लाबाट काठमाडौँ बसोबास गरेका पार्टीका साथीहरूले जिल्ला सम्पर्क समितिका माध्यमबाट आफ्ना गतिविधि बढाउनु पर्छ ।
३०. सक्रिय हुन जिल्ला सम्पर्क समितिको अध्यक्ष महाधिवेशन प्रतिनिधि हुने व्यवस्था मिलाउने ।
३१. नेपाली कांग्रेसले आफ्नै साङ्गठनिक तागतमा अबदेखिका निर्वाचनमा एक्लै प्रतिस्पर्धामा होमिने ।
३२. क्रियाशील सदस्यलाई नवीकरण गर्ने र प्रशिक्षणका माध्यमले नेपाली कांग्रेसका सदस्यहरूलाई सशक्तीकरण गर्ने। सबै तहमा युवाको प्रतिनिधित्व कम्तिमा पनि एक तिहाई राख्ने गरि विधानलाई युवामैत्री बनाउने ।
३३. नेपाली कांग्रेसका १३ भ्रातृ र ३६ शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने ।
३४. ३७ नेपाली जनसम्पर्क समितिहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने। उनीहरूका माध्यमले गैरआवासीय नेपालीले राख्दै आएका नागरिकता, मतदानलगायत राजनीतिक अधिकार, लगानीको वातावरण र सहजीकरणलगायत विषयमा विमर्श गर्ने र पार्टीका दूतका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने र ग्लोबल थिङ्कट्याङ्क निर्माण गर्ने।

३५. स्थानीय तहका ७५३ मध्ये ३३२ पालिकामा नेतृत्वमा कांग्रेस रहेको छ । घोषणापत्र कार्यान्वयन, सुशासन र विकासबारे अडिट गर्ने र नागरिकको भरोसा जित्ने ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

बैठक आज (शनिबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

शेखर कोइरालाको प्रस्ताव : नियमित नभए स्वतः विशेष हुन्छ, चुनावअघि महाधिवेशन गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक नेतृत्व परिवर्तनका लागि आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने आफ्नो अडान दोहो¥याएका छन् । आज (शुक्रबार) बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकाका निकटस्थ जिल्ला सभापतिहरूसँगको छलफलमा उनले पुस महिनामै महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

डा. कोइरालाका अनुसार कांग्रेसले पुसको तेस्रो सातासम्म समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेपछि तुरुन्तै महाधिवेशनको तयारी थाल्नु पर्छ । ‘मेरो पहिलो माग निर्वाचनअघि नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने हो’, छलफलमा सहभागी एक जिल्ला सभापतिले कोइरालाको भनाइ उद्धृत गर्दै सुनाए । उनका अनुसार कोइरालाले पुस २५ गतेसम्म बन्दसूची बुझाएर त्यसपछिका दिनमा महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

कोइरालाले आउँदो २१ फागुनमा हुने निर्वाचनमा पार्टीले नयाँ नेतृत्व लिएरै जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । उनका अनुसार यदि वर्तमान केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको निर्णय गर्न असफल भयो भने पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान गर्ने बाध्यता सिर्जना हुनेछ । ‘नियमित महाधिवेशन नभए, विशेष महाधिवेशन स्वतः हुनुपर्ने प्रावधान कार्यान्वयन गर्नैपर्छ’, उनले स्पष्ट पारे ।

डा. कोइरालाले पार्टीमा हाल देखिएको असन्तुष्टिपूर्ण अवस्थालाई संवाद र एकताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा पनि राखेका छन् । ‘पार्टीभित्र संवाद नटुटोस् भन्ने मेरो चाहना हो’, उनले भने, ‘शेरबहादुरजी लगायत मभन्दा सिनियर सबै नेतासँग कुरा गरेर पार्टीलाई मिलाएर लैजान्छु । विरोध भयो भनेर म रिसाउँदिनँ, सबैलाई साथ लिएर अघि बढ्नु पर्छ ।’ उनका अनुसार पार्टीभित्र समानान्तर गतिविधि बढ्दा कांग्रेसलाई ठूलो संकटमा पार्ने सम्भावना छ ।

त्यसैले, उनले केन्द्रीय कार्यसमितिलाई निष्कर्षमा पुग्न आग्रह गरे । छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङ लगायतका जिल्ला सभापतिहरू, केही पूर्व जिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र टेकप्रसाद गुरूङका अनुसार बैठकमा उपस्थित अधिकांश नेताहरूले कोइरालाको प्रस्तावको समर्थन जनाएका थिए । संक्षेपमा, डा. कोइरालाले पार्टीलाई एकजुट बनाएर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याउँदै, महाधिवेशन अब अपरिहार्य भएको सन्देश दिएका छन् ।

 

 

 

गगनलाई उद्धवको चुनौती : हाम्रो नेतृत्वमा भोट नआउने ग्यारेन्टी होस्, राजीनामा दिन्छौं

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् । बत्तीसपुतलीमा जारी संस्थापनपक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताए । उनले कांग्रेसलाई ‘जनताले भोट हाल्दैनन्, जनतामा जान सकिँदैन’ भन्ने भाष्यले पार्टीलाई क्षति गरेको बताए ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ,’ उनले भने, ‘भोट कसले हाल्छन् कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?’ तर, उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकांक्षालाई सम्मान गर्नुपर्ने बताए । ‘मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,’ उनले भने, ‘चुनावबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्छ ।’ अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात् गर्न सकिने उनले तर्क गरे ।

 

कांग्रेसमा महाधिवेशनको ‘किचलो’ : सानेपामा बैठक, बत्तीसपुतलीमा संस्थापन पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा पार्टीको केन्द्रीय समिति बैठक बसिरहँदा बत्तिसपुतलीमा संस्थापन पक्षका नेताहरूले बेग्लै भेला गरेको छ । विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिनको लागि अहिले अनुपम फुडल्यान्डमा संस्थापन पक्षको भेला चलिरहेको छ । महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि संस्थापन पक्षले काउन्टर दिन भेला राखेका हुन्। भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी छन् ।

संस्थापन पक्षका नेता बद्री अर्यालले विशेष महाधिवेशन पार्टीको लागि धोका हुने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भए लगत्तै नेतृत्व छाड्न महामन्त्रीहरूले दबाब दिएको भन्दै आपत्ति जनाए । मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके पूरै कार्यसमिति नै असफल भएको पुष्टि हुने भन्दै सबैले राजीनामा दिनुपर्ने माग गरे ।

मंसिरमा चुनाव सम्भव नहुने उनीहरूको निष्कर्ष छ । महामन्त्रीहरूले चुनावमा केन्द्रित हुनको लागि समेत परिपत्र गरिरहेको भन्दै महाधिवेशनमा लाग्ने कि चुनावमा भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेसभित्र विगतदेखि नै अन्तर्घात हुँदै आएको भन्दै महाधिवेशन गरेर लगत्तै चुनावमा जान नसकिने उनीहरूको साझा बुझाइ छ ।

 

महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्ताव व्यक्तिगत : खड्का

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ । सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए । कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन् । तर सहमहामन्त्रीले प्रस्ताव पेस गरेको र त्यो प्रस्ताव पेस गर्न दिएको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आलोचना भएको थियो ।

आज केन्द्रीय समिति बैठक सुरू हुनासाथ सहमहामन्त्री यादवले पेस गरेको प्रस्तावमाथि अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले नै प्रश्न उठाएका छन् । १४ औं महाधिवेशनमा यादव र मन्सुर दुवै शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए । सहमहामन्त्री मन्सुरले व्यक्तिगत धारणाका रूपमा सहमहामन्त्री यादवको प्रस्ताव आए पनि त्यसलाई सञ्चार माध्यमहरूमा संस्थापन पक्षको प्रस्ताव भनेर आएकोले त्यो आफूलाई स्वीकार्य नहुने बताएका हुन् ।

आफू कुनै पनि गुट भेलामा नगएको र अहिले कुनै पनि गुटमा नरहेको बताएका मन्सुरले यादवले पेस गरेको कार्यतालिकामाथि प्रश्न उठाएका हुन् । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का बोलेका थिए । ‘सहमहामन्त्री महेन्द्र यादवले राख्नु भएको प्रस्ताव उहाँको धारणा हो भनेर मैले भनिसकेको छु । जब अध्यक्षले केन्द्रीय समितिलाई त्यो उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिकाले के समाचार लेखे भनेर यहाँ छलफल गर्नु सान्दर्भिक हुन्न जस्तो लाग्छ, सबैको ध्यानाकर्षण गराएँ,’ कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए ।

कांग्रेस नेता फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाउँ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गरेका छन् । आज (बुधबार) केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको भन्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताएका हुन् ।

‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भाबी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु । उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनु भएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्ष पनि उहाँकै कारण जुटेको हो,’ मन्सुरले भने, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाउँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’

पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने उनले बताए । ‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाएपछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्त्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरले भने, ‘एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको छ । यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्त्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’

गगनलाई ‘थर्काएका’ सिटौलालाई शाहीको जवाफ : तपाई ‘आउटडेटेड’ भइसक्नु भयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले महामन्त्री गगन थापालाई कटाक्ष गर्ने नेता कृष्णप्रसाद सिटौलालाई कडा जवाफ फर्काएका छन् । जारी केन्द्रीय समितिको बैठकमा शाहीले एउटा व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेख्दा देशभरि हंगाामा भएको भन्दै यस्ता कुरालाई हचुवाको रूपमा नलिन आग्रह गरे ।

‘एउटा व्यक्तिले स्टाटस लेख्यो भने देशभरि हंगामा हुन्छ । तहल्का मच्चिन्छ । अनि हाम्रै जिम्मेवार नेता केन्द्रीय समितिको बैठकमा के हो त्यो फेसबुक ? के हो सामाजिक सञ्जाल भनेर भनेर नेतालाई ललकार्नु हुन्छ ? के यस्तो भनेर र अर्कोलाई आरोपित गरेर बस्ने अवस्था छ त ?,’ सिटौलातिर इंगित गर्दै शाहीले भने, ‘इफ यु आर नट अपडेटेड, यु आर आउटडेटेड । हामीले चाहे पनि नचाहे पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैनौं । कतिपयमा दम्भ पनि हुन्छ । हामी नै हौं अरू केही होइन भन्ने छ । यस्तो गलत प्रवृत्तिबाट माथि उठौं ।’

जेनजीले सामाजिक सञ्जालमार्फत् नै आन्दोलनको आँधीबेहरी ल्याएको नबिर्सन पनि उनले नेताहरूलाई आग्रह गरे । मंगलबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री थापामाथि सामाजिक सञ्जाल चलाएर नेताहरूलाई गाली गरेको भन्दै चेतावनी दिएका थिए । महामन्त्रीमाथि अस्वाभाविक लाञ्छना लगाएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सिटौलालाई माफी नै मगाएका थिए । त्यही प्रसंगको सन्दर्भमा शाहीले यस्तै हर्कत देखाइरहे २०६४ सालमा ३७ सिटमा झरे जस्तै यस पटक ७ सिटमा झर्नुपर्ने चेतावनी दिए । ४८ घण्टामा देश तहसनहस भएको भन्दै पार्टीले चाहे नियमित महाधिवेशन जतिखेर पनि गर्न सक्ने उनको भनाइ छ ।

‘एक ठाउँमा उभिउ,ँ नियमित अधिवेशन गरौं । ४८ घण्टामा देश तहसनहस भयो । संसारमा नभएको भयो भनेर हामी नै भन्दैछौं । कांग्रेसले गर्न सक्दैन भन्ने नै होइन । कुनै नेताको अनुहार मन पर्दैन भनेर सोच्नु राम्रो हुँदैन । तर पनि आज होटल होटलमा बैठक बसेका छन् । यहाँ बस्ने बाठाटाठा साथीले महाधिवेशनको कार्यतालिका भनेर प्रस्ताव गर्नुभयो । महामन्त्री पनि प्रस्ताव आयो । सहमतिमा नआएपछि यो विचारमात्रै हो,’ उनले भने, ‘एउटा प्रस्ताव आउनुपथ्र्यो । केन्द्रीय समितिमा छलफल हुनुपथ्र्यो । हामी भोटिङबाट टुंगोमा पुर्याउँथ्यौं । तर एकले अर्कोलाई धाक र धम्की दिने कुरा गरेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ ?’

जतिसुकै हस्ती र जिम्मेवार नेता भने पनि जनताले हराइदिने चेतावनी उनले दिए । ‘हामी सबै अतिवादी भएका छौं । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दा कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्ने छ । बाहिर राम्रो स्थिति छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राम्रो छैन । कमजोर भएका छौं,’ शाहीले भने, ‘बैठक भइरहेको छ । तर समाधानको लागि होइन । टार्न बोलेर हुँदैन जस्तो भएको छ ।’ कार्यवाहक सभापतिलाई कार्यबाहेक बनाउन खोजेको पनि उनले बताए । फागुन २१ मा हुम्लाका हिउँमा चुनाव हुन नसक्ने पनि उनले बताए । ‘हामी हुम्लामा फागुनको चुनाव हिउँले मर्नु छैन । चुनाव हुन्छ हुँदैन एउटा कुरा हो,’ शाहीले भने, ‘तर बसेर नेताहरूले महाधिवेशनबारे एउटा निकास निकाल्नुस् ।’

चन्द्र भण्डारीको प्रस्ताव : संसद् पुनर्स्थापना गरौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘संसद् पुनःस्थापना गरौँ । संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ’ बैठकमा भण्डारीको प्रस्ताव थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो । तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ । फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमालेले भने संसद् पुनःस्थापनालाई हुनुपर्ने निर्णय गरी यसका लागि कानुनी प्रक्रियामा जाने बताइसकेको छ ।

सिटौलाले गगनलाई भने–फेसबुकबाट सभापति छान्ने हो ? पार्टी कब्जा गर्न नखोज्नुस्

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच सवालजवाफ चलेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता सिटौलाले महामन्त्री थापाका गतिविधिबारे प्रश्न उठाएका हुन् । उनले थापा सामाजिक सञ्जालमा सेलिब्रेटी बन्नका लागि पार्टीको महामन्त्री हुँ भन्ने कुरा नै बिर्सेको टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गरेको भन्दै महामन्त्री थापाको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गर्ने भए सचिवालय बन्द गर्ने की नगर्ने भन्दै प्रश्न गरेका थिए । उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले फेसबुकबाट सभापति छान्ने हो ? भन्दै गगनलाई प्रश्न समेत गरेका थिए । नेता सिटौलाले महामन्त्री थापालाई आफ्नो चरित्र सुधार्न र बोल्न मन लागेको कुरा बैठकमा बोल्न आग्रह समेत गरेका छन् । उनले बैठकमा नबोल्ने तर सामाजिक सञ्जालमा लेख्न लगाउने गरेको आरोप समेत लगाए । उनले थापालाई आफू पार्टीको महामन्त्री हुँ भन्ने कुरा थाहा पाइराख्न सुझाव पनि दिए ।

‘महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन’
कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । उनले २२ भदौ अघि र हालको नेपाल एउटै नभएको बताएका छन् । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले गरे । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यस पटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नु परेको बताए ।

महामन्त्री थापाले आन्दोलन कांग्रेस रहेको सरकारका विरुद्ध भएको बताए । ‘हामी एकै पटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’ मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ । थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् ? पार्टीका कमिटीहरू कुरेर बसेका छन् ?’

जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले बताए । सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले बताए । देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’ आफूले नेतृत्व नगरेको कतिपय आन्दोलनको संस्थागत गर्ने नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरे । थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु । हामी छौं, हामीले सम्हाल्छौं भन्नु पर्ने पनि होइन ?’

गगन थापाको महाधिवेशन प्रस्तावविरुद्ध संस्थापन पक्षको ‘काउन्टर’ तालिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मितिको विवाद आधिकारिक रूपमै केन्द्रीय समितिमा प्रवेश भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि ‘काउन्टर’ मा संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले वैशाखको महाधिवेशन तालिका प्रस्ताव राखेका छन् ।

महामन्त्री थापाले पुसको १६ गते देखि १९ गतेसम्मको महाधिवेशन प्रस्ताव राखेका थिए । जुन यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि प्रस्ताव गरिरहेको मिति हो । महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन् ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै त्यसअघि महाधिवेशन गर्न नसकिने अडान राखेको छ । महामन्त्री थापाले प्रस्ताव गरेको पुसको मितिको समयमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय पर्ने देखिन्छ । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव राखे । यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ ।

यो कार्यसमितिको कार्यकाल मंसिरबाट सकिँदै छ। संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने गरी प्रस्ताव राखे । त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ । अहिले दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अडान छ। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन् ।

 

गगनले गरे पुस १६–१९ सम्म नियमित महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । सानेपामा जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् ।

महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दै छन् । उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन् । बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । बानेश्वरमा केही बेरअघिबाट भेला सुरु भएको हो । आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो ।

कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । थप निर्णयका लागि आज केन्द्रीय समिति बैठक बस्दै छ । महामन्त्री थापा र शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए । भेलामा महामन्त्री थापा पक्षधर केन्द्रीय सदस्यहरू समेत सहभागी छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, जुट्ला महाधिवेशन तालिकामा सहमति ?

काठमाडौं । महाधिवेशन मिति तोक्ने विषयको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा नेताहरुबीच अझै सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । नयाँ बानेश्वरमा बसेको भेलाले महाधिवेशनको मिति समेत प्रस्ताव गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा पेस गर्ने ७ बुँदे प्रस्ताव तयार पारेको हो ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रिय रहन आह्वान गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि पौष १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्पन्न गर्न, देशव्यापी घरदैलो अभियान सञ्चालन गर्न र निर्वाचनका लागि जागरण अभियानमार्फत संगठनलाई तयारी अवस्थामा राख्न प्रस्ताव गरिएको छ ।

भेलाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका उम्मेदवारहरूको सिफारिस प्रक्रिया अघि बढाउन समेत सुझाएको छ । भेलाले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०८३ साल वैशाख २५, २६, २७ र २८ गते पार्टीको १५ औं केन्द्रीय महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ।

पार्टीभित्र अवसरको न्यायोचित वितरण हुनुपर्नेमा जोड दिँदै संस्थापन पक्षले समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू बनाउँदा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरू बाहेक, हालसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरूलाई उचित प्रतिनिधित्व गराउन माग गरिएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता छानबिन समिति र विधान संशोधन समिति तत्काल गठन गर्न पनि भेलाले प्रस्ताव गरेको छ ।

केन्द्रीय सदस्य गुरु बरालका अनुसार यी प्रस्तावहरू संस्थापन पक्षको साझा धारणाको रूपमा पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ। संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनु पर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

कांग्रेस संस्थापन पक्ष छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको आज छुट्टै भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा केन्द्रीय कार्य सम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका हुन् । भेलामा पूर्वमन्त्री समेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । भण्डारीले भने, ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ ।’

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् । यस्तै संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् । नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौँ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’ ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन’, बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।’

 

 

कांग्रेसका शीर्ष नेताहरु धोबीघाटमा जुट्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (सोमबार) शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ ।

महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने चुनाव अघि महाधिवेशनमा जानु हुँदैन भन्नेमा पूर्व पदाधिकारीको समूह छ । यही बहसका बीच केन्द्रीय समिति बैठक स्थगित गर्दै तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आए पनि सहमति जुट्न सकेको छैन । केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि सारिएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ । साझा एजेण्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।

 

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ । आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न समय पाउनु पर्ने बताएका थिए ।

आज पनि कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए । कार्यवाहक सभापति खड्काले एक दुई दिन समय आवश्यक रहेको बताएका थिए । कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।