`

सबै धारलाई मिलाएर टिकट वितरण नभए कांग्रेसको अस्तित्वमै संकट आउँछ : बानियाँ

Nepal One HD २९ कार्तिक २०८२ ८:२८
नेपाली कांग्रेस

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा दोस्रो दिन पनि तीव्र राजनीतिक बहसको माहोलमा जारी छ । शुक्रबारबाट सुरु भएको यो बैठकले आगामी महाधिवेशनको तयारी, क्रियाशील सदस्यता सम्बन्धी विवाद र पार्टीभित्र उब्जिएको ध्रुवीकरणलाई कसरी रोक्ने भन्ने विषयलाई केन्द्रबिन्दु बनाएको छ ।

बैठकको उद्घाटन प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए । उद्घाटन वक्तव्यमै उनले क्रियाशील सदस्यता विवाद टुंगोमा नलगाई महाधिवेशनको मिति तोक्न खोजिएको केन्द्रीय नेतृत्वको प्रयास ‘अनावश्यक विवाद’ भएको बताए । बानियाँका अनुसार, केन्द्रले सबैभन्दा पहिले विधान समिति र क्रियाशील सदस्य छानबिन समिति गठन गरेर, सो समितिको प्रतिवेदन आएपछि मात्रै १५ दिनभित्र महाधिवेशनको मिति घोषणा गर्नुपर्नेछ ।

बैठकमा सहभागी १३ जिल्लाका सभापति, प्रदेश समितिका १३० सदस्य र ३७ प्रदेशसभा सदस्यबीच क्रियाशील सदस्यताको विषय महाधिवेशनअघि अनिवार्य रूपमा समाधान हुनुपर्नेमा एकमत देखिएको छ । केन्द्रीय समितिले दुई फरक कार्यतालिका सार्वजनिक गरेपछि प्रदेशभर फैलिएको अन्योल चिर्न ‘पहिले विवादको निकास, तब मात्र महाधिवेशन’ भन्ने धारणा प्रबल बनेको सहभागीहरू बताउँछन् ।

मुख्यमन्त्री बानियाँले पार्टीभित्र फैलिएको अर्को विवाद—चुनावी टिकट वितरणबारे समेत कडा टिप्पणी गरेका छन् । कुनै पनि सभापति आए पनि पार्टीका सबै धारलाई मिलाएर अधिकतम सहमतिमा टिकट वितरण नगरे कांग्रेसको जनआधार खुम्चिने मात्र होइन, ‘अस्तित्वमै संकट’ आउने चेतावनी उनले दिए । बजारमा फैलिएको ‘टिकट मिल्यो, मिलेन’ भन्ने हल्लाबाट कार्यकर्ता मात्र होइन, आम समर्थकसम्मै अन्योल मच्चिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

दुई दिने बैठकले प्रदेशका नेताहरूबीच गहन छलफल गराउँदै केन्द्रीय समितिलाई ठोस र व्यावहारिक सुझाव दिने तयारी गरेको छ ।सहभागीहरुको भनाइमा, यस बैठकले पार्टीभित्र लामो समयदेखि जारी तनावलाई अन्त्य गर्दै आन्तरिक एकता मजबुत बनाउने मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । नगरकोटको शांत वातावरणमा जारी यो बैठकले महाधिवेशनलाई लक्षित गर्दै बागमती कांग्रेसभित्र नयाँ राजनीतिक सन्देश दिने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *