`

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

Nepal One HD १२ कार्तिक २०८३ २१:११
समाचार

कञ्चनपुर, ११ कात्तिक : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आज सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने कच्चा पदार्थ तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि उपभोक्ताले उपोग गर्ने मिठाईलगायतका खाद्य पदार्थका बारेमा सुसूचित गराउन सबै ग्राहकले देख्नेगरी प्रयोग गरिएका कच्चा पदार्थ र मूल्यसूची राख्न आग्रह गरिएको छ ।

“सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्नेगरी राख्नुपर्नेछ”, प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले मिति २०८३ कार्तिक ११ गते बुधबारदेखि नै तोकिएको विवरण नराखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएकोे छ । प्रशासनले मिठाई व्यवसायीलाई निर्देशन पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा ध्यान दिन अनुरोध गरेको छ । आगामी तिहार तथा छठ पर्वमा अरु समयको तुलनामा मिठाईको खपत बढी हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *