कांग्रेसले नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको छ : खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकोले धैर्य गर्न आग्रह गरेका छन् ।
एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ । त्यसतर्फ लक्ष्य गर्दै कार्यवाहक सभापति खड्काले देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिलो भएको बताएका हुन् ।
‘मेरोबारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्तोसुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहने छ । यिनै टिप्पणी नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न्’, खड्काले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ ।’
सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिन र धैर्यता राखिदिन पनि कार्यवाहक सभापति खड्काले अपिल गरेका छन् । गत असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले बोल्ने क्रम सकिएर सहमति खोज्ने भन्दै बैठक स्थगित भएको छ ।
अब सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्नेछ । उपचार गर्न सिंगापुर गएका सभापति शेरबहादुर देउवा पनि शुक्रबार बेलुकी स्वदेश फर्किएका छन् । कांग्रेसमा चुनावअघि वा पछि नियमित महाधिवेशन गर्ने कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर मागेअनुसार विशेष महाधिवेशन गर्ने भन्नेमा मतभेद छ ।
