`

गगन–शेखर पक्षको निष्कर्ष : पुस १६ मा नियमित महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बिहान कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए ।

छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ । विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

पदाधिकारी बैठक बस्नुअघि महाधिवेशनबारे एउटा साझा एजेन्डा बनाउने प्रयास अहिले कांग्रेसभित्र चलिरहेको छ । आफूले विशेष महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न नपाएपछि थापाले हिजोको बैठक नै बहिस्कार गरेका थिए । तर, आज भने कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन् । कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन् । यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन । महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए । तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन् ।

 

शेखरपछि कार्यवाहक सभापति खड्कासँग दुई महामन्त्री छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठकअघि उनीहरू खड्का निवासमा पुगेर छलफलमा जुटेका हुन् । कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि नेताहरू छलफलमा जुटेका हुन् ।

यसअघि नेता शेखर कोइरालाले पनि आज बिहान आफू निकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए । कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । त्यसपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन कोइरालाले छलफल गरेका छन् । कोइराला समूहको छलफलले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘भड्किएका’ गगनसहितका नेतासँग शेखरको छलफल, के विषयमा भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापन इतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए । नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार बद्रीप्रसाद पाण्डेबीच छलफल भएको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो । सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन् । कांग्रेस नेता कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति तयार नभएपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । उनले विहीवारको बैठक अघोषित बहिष्कार गरे । महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिमा अनुपस्थित रहेका थिए । कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग भइरहेको छ । साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाएका थिए ।

कांग्रेसका जेनजीले मागे सुशासन आयोग

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध जेनजी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेनजी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राखे ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्ति गर्नुपर्ने उनको भनाइ छ । उनले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताए । उनले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘मुलुकको सुशासन कायम गर्नु जेनजी प्रदर्शनको मुख्य माग थियो । नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरुको विगतका प्रवृत्तिको समिक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् ।’

उनले भने, ‘भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा नेपाली कांग्रेसको सहयोग रहनु पर्दछ । नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली कांग्रेसले सार्वजनिक गर्नु पर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागित सुनिश्तिता गरियोस् ।’

उनले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । उनले जेनजी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको पनि बताए ।

दुई महामन्त्रीसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठकअघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने र दुई महामन्त्री चुनावअघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् ।

दुई पक्ष आ–आफ्नो अडानमा कायमै रहेको वेला सहमति खोज्न कार्यवाहक सभापति खड्काले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । महामन्त्री थापाले सहमति जुट्न नसक्दा महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सकेका छैनन् । महामन्त्री थापाले २७ देखि २९ मंसिरभित्र महाधिवेशन गर्न सकिने गरी कार्यतालिकाका दुई प्रस्ताव सार्वजनिक गरेका छन् ।

२९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषका लागि उनीहरूले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनावअघि हुन नसक्ने अडानमा छ । २८ असोजबाट सुरु भई कात्तिक १ गतेबाट रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुनः सुरु हुन लागेको छ ।

मंसिरभित्रै महाधिवेशन गर्न खड्कालाई शर्माका चार सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव बुझाएका छन् । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो । उक्त भेटमा शर्माले विभिन्न विकल्पसहितका प्रस्तावहरू बुझाएका हुन् । पहिलो विकल्प कार्य सम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ ।

मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ । तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको भनाइ छ । विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् । यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न चौथो विकल्प दिएका छन् । महामन्त्रीद्वयसहित इतर पक्षका नेता डा.शेखर कोइरालाले महाधिवेशन मंसिरबाट पर धकेल्न नसक्ने अडान लिइरहेपनि संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसक्ने पक्षमा उभिएको छ ।

हिजो कावा सभापति खड्काले आफूनिकटका नेताहरूको गुट भेला गरेर वैशाखमा महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा पनि संस्थापन पक्षका नेताहरू त्यही रणनीतिसाथ प्रस्तुत हुँदै छन् । उनले प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने भएपनि फैसलाको प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्नुपर्ने शर्माको प्रस्ताव छ ।

महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिला सहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय पार्टीले गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना गर्नेदेखि जेनजी युवाहरूसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव छ ।

हेर्नुस् शर्माका प्रस्ताव

१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)

(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम ’केन्द्रीय समितिले चाहेमाझ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ ।
३) तेस्रो विकल्प– विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै । (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै ।
४) चौथो विकल्प– थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ । (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको ऐतिहासिक मिति)

बैठकबाट तयारी सम्बन्धमा

१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन

फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ िअन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय ।

फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना ।
– जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन

गगन–विश्वप्रकाशलाई प्रकाशशरणको प्रश्न : उपनिर्वाचन देखेकै हो, कुन नयाँ अनुहार चाहियो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वाय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै मंसिरमा विशेष महाधिवेशन भन्ने रटान छाड्न आग्रह गरेका छन् । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई कुनै अचुक औषधि जस्तो नगर्न आग्रह गरे । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् ।

त्यसबारे उनले भने, ‘अहिले पार्टीमा विशेष महाधिवेशन मंसिरमा भन्ने बहस चलिरहेको छ । त्यो नै अचुक औषधि जस्तो छ । यत्रो राष्ट्रिय संकट छ, हामीमाथि उत्रो प्रहार भएको छ । राष्ट्रलाई नै कमजोर गर्ने प्रयास भइरहेको छ । म नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छ । हामीबाट कमी–कमजोरी भएका छन्, त्यसको गम्भीर छलफल र समीक्षा गरौँला ।’

मंसिरमा विशेष कि नियमित भन्ने बहस छाडेर विधि र प्रक्रिया अनुसार नै क्रियाशील सदस्यताको विषय टुङ्ग्याउनुपर्ने बताए । उनले भने, ‘विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन । भोलिदेखि नै केन्द्रीय समिति बैठक बस्दै छ । विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता र सुनिश्चित हुने गरी मिति तोकौँ न । यथार्थ समय कति लाग्छ । मेरो विचारमा वैशाख, जेठसम्म गर्न सकिन्छ ।’

राजनीतिमा सबै खत्तम र बदमास हुन भन्ने नकारात्मक भाष्य जबरजस्त ढङ्गबाट सामाजिक सञ्जालबाट सम्प्रेषित भइरहेको बताए । अहिले देश संकटमा रहेको बेलामा पार्टीभित्र एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले यसअघि भएको उपनिर्वाचनमा दुई महामन्त्रीहरूको नेतृत्वमा गए पनि कांग्रेसका उम्मेदवार पराजित भएको विषय उठाएका छन् ।

‘पार्टीमा नयाँ अनुहार चाहियो ? कुन अनुहार चाहिने ? कुन चाहियो ?,’ उनले दुई महामन्त्रीलाई लक्षित गर्दै भने, ‘उपनिर्वाचनमा देखेकै हो । यो समय त मिलेर गर्ने होला नि । पार्टीलाई बनाउने र निर्वाचनमा भिड्ने तयारी गर्नुपर्ने होला नि । निर्वाचनमा कसरी जाने भनेर यो केन्द्रीय समिति बैठकले टुंगो लगाउनु प र्‍यो ।’ महतले महामन्त्री थापाले जारी केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको तालिका ल्याउनुपर्छ भनिरहँदा अहिले किन चाहियो ? भन्दै प्रश्न गरेका छन् । ‘तालिका अहिल्यै ल्याऔं भन्नेछ । अहिले नै तालिका किन चाहियो मैले बुझेको छैन,’ उनले भने, ’मेरो त के जान्छ । तर म पार्टीको चिन्ता गर्ने मान्छे हो । धेरैले मलाई बुझ्दैनन् ।’

 

 

 

 

मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा उद्योगी विनोद चौधरीले राजनीति र उद्योग–व्यवसायमा आफूले निर्वाह गरेको भूमिकाको अन्तिम मूल्यांकन इतिहास र जनताले गर्ने बताएका छन् । गत भदौं २४ गतेको जेनजी आन्दोलनमा क्रममा भएको आगजनीबाट क्षतिग्रस्त पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवासको निरीक्षणपछि प्रतिक्रिया दिँदै चौधरीले घटनाप्रति आफ्नो कसैप्रति गुनासो नरहेको स्पष्ट पारेका हुन् ।

भावुक मुद्रामा प्रस्तुत भएका चौधरीले आफूले जीवनभर राष्ट्रको आर्थिक विकास र रूपान्तरणलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरे । उनले भने, ‘मैले सधैँ आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गरेँ । सुरुमा व्यावसायिक मञ्चहरूबाट र पछि नीति निर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको हुँ ।’

चौधरीले देशमा युवापुस्ता (जेनजी) माझ बढ्दो निराशा र पलायनप्रति गहिरो चिन्ता व्यक्त गरे । ‘दैनिक २५ सय बढी नेपाली युवाहरू देश बाहिरिइरहेका छन् । एक करोड बढी नेपाली देशमै बस्न नसक्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘युवाको मनमा भोलि यो नेपाल बन्छ भन्ने आशा पटक्कै छैन । यो हतोत्साहित मनस्थितितर्फ हामी सबै जिम्मेवार व्यक्तिहरूको ध्यान जानुपर्छ ।’

२०७९ सालको निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको स्मरण गर्दै उनले भने, ‘४५ दिनको छोटो अन्तरालमा म यो क्षेत्रमा आएर एकसेएक महारथीहरूसँग निर्वाचन लडेँ । मलाई लाग्छ, त्यो बेला पनि यो मान्छेले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै यहाँका जनताले मलाई जिताउने काम गर्नुभयो ।’ आफ्नो राजनीतिक यात्रा नाम वा दामका लागि नभएको प्रस्ट पार्दै चौधरीले भने, ‘एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनु पर्छ, त्यो नेपालीको न्यूनतम अधिकार हो । एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनु पर्छ र त्यो गर्ने जिम्मेवारी हाम्रो हो ।’

उनले परिवर्तनका लागि आफ्नो प्राणको आहुति दिने युवाहरूको आत्माको चीरशान्तिको कामना समेत गरे । आफ्नो क्षतिग्रस्त घरअगाडि उभिएर उनले भने, ‘जेन–जीको भावनालाई कदर गर्नुपर्छ र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउनुपर्छ । यदि नेपालमा नयाँ परिवर्तन आयो भने मभन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही हुने छैन । यो कुरा म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु ।’

सिंगापुरमा देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन् । देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन् ।

जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन् । सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन् ।

त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए । त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ ।

कसैले धूप हाल्दैमा कांग्रेस फुट्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैले धूप हाल्दैमा नेपाली कांग्रेस नफुट्ने बताएका छन् । आज (सोमबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताए ।

‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ । नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन । नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु–कांग्रेस एक ढिक्का रहन्छ । बद्लिएको परिस्थिति बमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ ।’

उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताएका छन् । ‘पार्टीभित्र ठूलो स्वर भयो, यो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने भइरहेको छ । यो त लोकतन्त्र हो नि, अनि नेपाली कांग्रेस हो नि । जहाँनिर सभापतिले ‘यस’ भन्दा ‘यस’ भनेर गोडाफाट भन्दा ‘यस’ भन्दै उभिने होइन नि त । यहाँ फरक मत आउँछन् फरक विचारहरू आउँछन् । एक भएर अघि बढ्छौं ।’

अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छ : विद्वान गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

उनले दुर्गा प्रसाई, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता–कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ ।’

उनले भने, ‘यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अव यिनीहरूको विरुद्ध सडकमा भिँडने हो । यो भन्दा अव अर्को विकल्प नै छैन । अव आउने दिनमा २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ । जसकारण हामीले यति ठुलो क्षति व्यहोर्न गयौं । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अव नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौँ ।’ अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।

कांग्रेसको विशेष कि नियमित महाधिवेशन ? के भन्छन् कार्यवाहक सभापति खड्का ?

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने बताए । उनले केन्द्रीय कार्यसमिति बैठकले घोषणा भएको निर्वाचन, नियमित अधिवेशनलगायत सबै विषयलाई विचार गरेर निर्णय गर्ने पनि बताएका छन् ।

‘सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ,’ उनले भने ।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै त्यसलाई अनुकूलतामा पुर्‍याउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए । खड्काले देश इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा उभिएको पनि बताए । उनले देश मात्र नभई नेपाली कांग्रेस पार्टी पनि प्रतिकूल अवस्थामै रहेको बताए । संविधानमार्फत नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली, शासनको मालिक जनता हुने पद्दति स्थापना भएको घडीमा ठूलो ध्वंश बेहोर्नु परेको उनको भनाइ छ ।

‘शासनको मालिक जनता हुने पद्दति स्थापना गरेर एउटा राजनीतिक परिवर्तनलाई संस्थागत गरिरहेको घडीमा हामीले अत्यन्त ठूलो ध्वंश बेहोर्नुपरेको छ,’ उनले भने, ‘भदौ २३ गतेको जेनजी युवाको शान्तिपूर्ण आन्दोलन भ्रष्टाचार अन्त्य, सुशासन व्यवस्थाको लागू, सामाजिक सञ्जाल बन्द फिर्ता ३ मागअगाडि सारेर सुरु गरिएको थियो । २३ गते नै होनाहार युवाहरूले अमूल्य गुनाउनु पर्‍यो । जेनजीकै भनाइमा शान्तिपूर्ण आन्दोलनमा ठूलो घुसपैठ हुन पुगेर मुलुकले ठूलो विपत्तिको सामना गर्नुपर्‍यो । २४ गते देशैभरि ४ घण्टामा सिंगो देशमा ध्वंश भयो। मानवीय क्षति भयो । नेपालको इतिहासमा पहिलोचोटी । देशको कार्यपालिका, व्यवस्थापिका, सर्वोच्च प्रणालीमाथि आक्रमण भयो खरानी बनाइयो ।’

उनले ००७ सालको शान्तिको प्रतिक विराटनरस्थित कोइराला निवास, लोकतन्त्रको लागि विगुल फुकेको गणेशमान सिंहको निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रमसहित देशभरका कांग्रेस कार्यालय खरानी भएको चर्चा गरे । उनले जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा पनि गरे । त्यस्तै खड्काले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा पनि गरे ।

‘सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि प्राण लिने गरी आक्रमण भए । देशैभर नेताका घर खरानी बनाइए,’ उनले भने, ‘यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु– अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछ । तरुणहरू संगठित हुनुछ ।’

उनले फेरि एकपटक तरुण दलको झन्डा बोकेर अधिकार रक्षाका लागि, नागरिकको रक्षाका लागि एकताबद्ध हुन आह्वान पनि गरे । यस्तो अवस्थामा हुन सक्ने आकस्मिक खतराबाट सुरक्षित हुने तरिका बोध गरेर अघि बढ्न निर्देशन पनि दिए । जारी केन्द्रीय समिति बैठकको पहिलो दिननै सभापति देउवाले दिएको सन्देश प्रेरणादायी भएको भन्दै उनले भने, ‘उपचार गर्दै गरेको अवस्थामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा प्रेरणासहित सन्देश दिनु भएको छ । त्यो दिनको सन्देशले कांग्रेसलाई ठूलो ऊर्जा दिएको छ ।’ विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै थपे, ‘कमी कमजोरी भए होलान् हामी स्वीकार्छौ । परिवर्तनका लागि अधिकारलाई रक्षा गर्ने कामलाई वृहत एकतासहित अघि बढ्छौँ भन्दै सभापतिले सन्देश दिनु भएको छ ।’ उनले जारी केन्द्रीय समिति बैठकले कांग्रेस एक भएको सन्देश दिने पनि बताए ।

 

 

आज सिंगापुर जाँदै देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।

जेन जी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए । केपी ओली नेतृत्वको निवर्तमान सरकारमा आरजु राणा देउवा परराष्ट्र मन्त्री थिइन् ।

सरकारलाई कांग्रेस नेता महरको प्रश्न : तपाईहरू चुनाव गर्न नसके के गर्न सक्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नगर समिति ,परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाट कार्यक्रममा नेता महरले आपत्कालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताएका हुन्

‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो । जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो । आन्दोलनको आदेश पनि त्यही हो । यसबाट सरकार विचलित नहोस्’, उनले भने ।

सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनावका गर्नु भन्ने नै रहेकाले सरकारलाई कत्ति पनि विचलित नभएर त्यसमा थप सक्रियता बढाउन महरले सुझाएका छन् । ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ ? यो प्रश्न आम जनताको हो । त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

राजनीतिक दलहरूसँग संवाद गरेर, देशी विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वासलाई बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकार ध्यान पुग्न नसकेको महरले टिप्पणी गरेका छन् ।

‘मतदानमा दलहरूले भाग लिनका लागि वातावरण बनाउने र जनतालाई मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने वातावरण मिलाउने काम सरकारले गर्नुपर्छ । त्यो हुँदा निर्वाचन भइहाल्छ । दलहरूले हामी चुनाव बहिष्कार गर्छौं भनेका छैनौँ । हाम्रो माग नै शान्तिपूर्ण र समयमा निर्वाचन होस् भन्ने हो’, उनले भने ।

अहिलेको अवस्थामा सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको उनले आरोप लगाएका छन् ’दलहरूमाथि पूर्वाग्रहीरुपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्यो भन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ । त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ । आफ्नो काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ,’ उनले भने ।

उनले जननिर्वाचित सरकार जस्तो एक महिनाको ’हनीमुन प्रियड’ हेरिरहेझैँ गरिरहेको आरोप लगाएका छन् । आफ्नो अधिकारभन्दा बाहिरका क्षेत्रमा गएर कर्मचारीको सरुवालगायतका क्रियाकलाप गरिरहेकाले उनले उद्देश्य भुलेर सरकारलाई यस्ता गतिविधिमा समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको धारणा पनि सरकार फागुन २१ गते नर्वाचन सम्पन्न गर्ने बाटोमा अर्जुन दृष्टि लगाएर अघि बढोस् भन्ने रहेको उनले प्रस्ट पारेका छन् । कार्तिक १३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा चुनावी वातावरणका पक्षमा कांग्रेसले निर्णय नै गरेर अघि बढ्ने उनले बताए । संसद पुनस्र्थापनाको विषय कुनै विकल्प नबचेको अवस्थामा मात्र सम्भव हुने उनले बताए ।

कांग्रेसका दुई महामन्त्रीको परिपत्र : मतदाता सूचीमा नाम दर्ता अभियान चलाउनू

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकृत गर्न मतदाता दर्ता समूह गठन गरेर अभियान चलाउन परिपत्र गरेका छन् । पार्टी संगठनलाई परिपत्र जारी गर्दै थापा र शर्माले पार्टी संरचनालाई युवा उमेर समूहसँग छलफल गर्न र ती युवा समूहबाट खटाउने गरी मतदाता दर्ता समूह गठन गर्न भनेका हुन् ।

आउँदो २१ फागुनमा हुने चुनावका लागि निर्वाचन आयोगले ३० कात्तिकसम्म मतदाताका लागि नाम दर्ता गर्ने समय तोकेको छ । सोही कारण महामन्त्रीद्वयले पार्टी संगठनहरूलाई परिपत्र गरी छठलगत्तै नयाँ मतदाता दर्ता अभियान चलाउन वडा कमिटीसम्मलाई परिपत्र गरेको बताइएको छ । परिपत्रमा महामन्त्रीद्वय थापा र शर्माले मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा परिचालन हुनका लागि माथिल्लो तहका कमिटीले तल्लो तहका कमिटीसँग समन्वय गरी वातावरण बनाउन पनि भनिएको छ ।

जेन–जी आन्दोलनपछि मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउने नयाँ पुस्ताका मतदाताहरूमा आकर्षण बढ्न थालेको छ । सोही मतदातालाई ध्यान दिएर कांग्रेसले अभियान चलाउनुपर्ने महामन्त्रीद्वय थापा र शर्माको संकेत छ । हुन त थापाले पहिलादेखि नै नवपुस्ताका मतदातालाई आकर्षित गर्नुपर्ने बताउँदै आएका थिए । जेन–जी आन्दोलनपछि भने आन्दोलनमा सहभागी युवाहरूलाई आफ्नो पंक्तिमा आकर्षित गर्न थापा लागिपरेका छन् ।

 

कांग्रेस चुनावमा जान तयार छ : कार्यवाहक सभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको बताएका छन् । ‎‎उनले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् । ‎‎मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताए ।

‎‎खड्काले भने, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनु पर्छ । हामी चुनावका लागि तयार छौं । सरकारले वातावरण तयार गरोस् ।’‎‎ उनले कांग्रेस सधैँ लोकतान्त्रिक प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी भएकोले निर्वाचनका लागि जुनसुकै बेला तयार रहेको दोहोर्‍याए ।

खड्काले कुनै पनि प्रकारको कानुनी प्रक्रियाबाट हुने छानबिन तथा अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताएका छन् । तर, वर्तमान सरकारमा रहेका व्यक्तिहरूबाट पूर्वाग्रही तरिकाले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम भइरहेकोमा उनले आपत्ति जनाए । ‘अहिले देशमा देखिएको अन्योललाई बढवा दिने काम पनि सरकारमा रहेका व्यक्तिहरूबाट भएको छ,’ खड्काले थपे ।

निवर्तमान मन्त्री खड्काको प्रश्न : गृहमन्त्री अर्यालले भ्रम छरे, म भागे भन्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नु पर्ने कुनै कारण नरहेको बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उनले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् ।

उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गरेका छन् । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर समेत गरे । उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए ।

पूर्वमन्त्री खड्काले भने, ‘उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ? म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’ नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिए । —न्युज एजेन्सी नेपाल

कांग्रेस धनुषाका सभापतिसहित सात जनाविरुद्ध पक्राउ पुर्जी

धनुषा । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगमा शुक्रबार (असोज ३१) पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला सभापति पञ्जिया, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोराहरु ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध क्षिरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीले जाहेरी दिएका थिए । पक्राउ पुर्जी तामेल गर्न पनि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई अदालतले भनेको छ । केही समय पहिले नेपाली कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच कुटाकुट भएको थियो । दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए ।

नेकपा एमालेका नेताहरू यसअघि नै अदालतमा उपस्थित भएपनि कांग्रेस पक्ष अनुपस्थित भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । वडाध्यक्ष जिवछ मण्डलले पनि ज्यान मार्ने उद्योगमै एमालेका राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिलकुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध जाहेरी दिएका थिए। उनीहरु भने अदालतमा उपस्थित भएर बकपत्र गराइसकेका छन् ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने–केन्द्रिय समितिको म्याद थप्न खोजियो

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्धत रहेको देखिएको बताए ।

वर्तमान केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको बताए । कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताए । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको जिकिर गरे । केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे ।

आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पारे । आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन सचेत गराए । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको बताए । उनले केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस आफूहरुले गरेको बताए । उनले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महसुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताए । उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताए । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बताए । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ का घटनाहरुले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरु निन्दनीय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नै पर्छ । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो की ? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरु कारक छन् की ।’

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७ (२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन् । —न्युज एजेन्सी नेपाल

आउँदो निर्वाचनमा वहुमत ल्याउन यस्तो छ प्रदीप पौडेलको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको रुपान्तरण, पुस्तान्तरण र सुशासनको नयाँ खाका प्रस्तुत गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने स्पष्ट कार्ययोजना अघि सारेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको प्रस्ताव बहुआयामिक सुधारको खाका हो, जसले पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीति र शासन प्रणालीमै गम्भीर बहसको खाँचो पैदा गरिदिएको छ ।

जेन–जी विद्रोह : शंकाको होइन, सम्बोधनको विषय
पौडेलले हालै देखिएको जेन–जी विद्रोहलाई अस्वाभाविक वा शंकास्पद नभई सुशासन, भ्रष्टाचार विरोध, रोजगारी र आर्थिक सुधारका जायज मागका रूपमा हेर्न आह्वान गरेका छन् । उनका अनुसार यस आन्दोलनले उठाएका मुद्दा सम्बोधन नगरे कांग्रेसको भविष्य जोखिममा पर्न सक्छ।

‘युवाको आवाज सम्बोधन नगरे बहुमतको कल्पना पनि गर्न सकिन्न’
पार्टीमा पुस्तान्तरण आवश्यक भन्दै पौडेलले डिजी युथ कंग्रेस गठनको प्रस्ताव गरेका छन् । युवा नेतृत्वको सुनिश्चितताका लागि वडादेखि केन्द्रसम्मको संरचनामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने उनको भनाइ छ ।

खर्चिलो संरचना खारेज : सांसद र मन्त्री कटौती
पौडेलको प्रस्तावमा सबैभन्दा बहसयोग्य विषय हो—संघीय र स्थानीय सरकारको खर्च कटौती ।
उनका मुख्य सुझावहरू यस प्रकार छन् :
–प्रतिनिधि सभा सदस्य संख्या २०१ मा सीमित गरौं ।
–संघीय मन्त्री संख्या १५ जना भन्दा नबढाऔं ।
–प्रदेश मन्त्री परिषद् ५ सदस्यीय बनाऔं ।
–स्थानीय तहको संख्या ४०० मा झारौं ।
–जिल्ला समन्वय समिति खारेज गरौं ।
–उपाध्यक्ष-उपप्रमुख जस्ता पदहरू कटौती गरौं ।

स्वास्थ्य बीमा : समाजवादको कार्यान्वयनको आधार

पूर्व स्वास्थ्य मन्त्रीको हैसियतले पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई समाजवादको आधारभूत औजार बनाउने प्रस्ताव राखेका छन् । विपन्न वर्गलाई लक्षित बीमा प्रणाली सुदृढ गरेर सामाजिक न्याय कार्यान्वयन गर्न सकिने उनको विश्वास छ ।

पारदर्शिता र जवाफदेहिता : सम्पत्ति छानबिन र राष्ट्रियकरण
भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अघि सार्दै पौडेलले २०४६ सालपछि पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न र श्रोत नपुगेको सम्पत्ति राष्ट्रको नाममा गर्ने सुझाव दिएका छन् ।

संगठन सुदृढीकरण : एउटै सदस्यता, प्रत्यक्ष नेतृत्व चयन
पार्टीभित्र समान सदस्यता प्रणाली, प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रीय नेतृत्व चयन, प्राइमरी प्रणालीमार्फत उम्मेदवार छनोट, र प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तोक्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।

महाधिवेशन तत्काल गरौं
पार्टीको नेतृत्व र नीतिको नविकरणका लागि पौडेलले कुनै बहानाबिना १५ औँ महाधिवेशन तत्काल गर्ने आग्रह गरेका छन् । महाधिवेशन नै पार्टी पुनर्जागरणको मूल चाबी हुने उनको भनाइ छ ।

पूर्णपाठ

 

यस्तो छ गगन थापाले वैठकमा पेस गरेको नियमित महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्ने प्रस्ताव भएको छ । महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको बहस चलाइरहेका महामन्त्री थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका छन् । महामन्त्री थापाले नियमित महाधिवशेनका लागि दुई विकल्पसहित कार्यतालिका पेश गरेका छन् ।

गत बुधबारदेखि सुरु भएर विहीबारसम्म निरन्तर बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले यही मंसिरको २७ देखि २९ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तावका रुपमा पेश गरेका छन् । महामन्त्री थापाले कार्यसम्पादन समितिमा पेश गरेको कार्यातालिको पहिलो विकल्प अनुसार नयाँ सदस्य वितरण तथा नवीकरण भएका सदस्यको इन्ट्री कात्तिक २१ सम्मका लागि राखिएको छ । दुई सातामा फारम भर्ने समय र एक सातामा प्रतिनिधि सभा क्षेत्रबाट स्विकृत गर्ने समयसीमा तोकेर कात्तिक २१ भित्र टुंगो लगाउने प्रस्ताव राखेका छन्।

नयाँ सदस्यता सबै वडामा वितरण गर्ने र प्रतिनिधि सभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी जेनजी लगायत नयाँ पुस्तालाई क्रियाशील सदस्यतता उक्त अवधिमा प्रदान गर्ने महामन्त्री थापाको प्रस्तावमा छ । नयाँ सदस्यता तथा नवीकरणको विवाद कात्तिक मसान्तसम्म सक्ने कार्य कार्ययोजना प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाउने समय मंसिर ७ सम्म तोकिएको छ ।

वडा अधिवेशन मंसिर १२ र १३ गते गर्ने गरी महामन्त्री थापाले कार्यतालिका बैठकमा पेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ गते हुने गरी प्रस्ताव पेश गरिएको छ । १५ औं महाधिवेशनका लागि मंसिर २७ देखि २९ सम्मको अवधि तोकेर महामन्त्री थापाले प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले प्रस्तुत गरेको दोस्रो विकल्पमा सबै तहको अधिवेशन गर्ने उल्लेख छ । वडाको मंसिर ५, गाउँ-नगर, उपमहानगर, महानगरको मंसिर ८, प्रदेश सभा क्षेत्रको मंसिर १२, प्रतिनिधि सभा क्षेत्र, केन्द्रीय महाधिवशेन प्रतिनिधि र जनसम्पर्क समितिको मंसिर १५, जिल्लाको मंसिर १८, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रको मंसिर २७ देखि २९ गतेसम्म हुने गरी दोस्रो विकल्प प्रस्तुत गरिएको छ ।

सदस्यताको सन्दर्भमा नवीकरणको सन्दर्भमा महामन्त्री थापाले विकल्प सहित प्रस्ताव गरेका छन् । १४ औं महाधिवेनमा रहेका क्रियाशील सदस्यहरूमा मृत्यु भएका, पार्टी परित्याग गरेका बाहेक सबै जनाको क्रियाशील सदस्यताको नवीकरण भएको मान्यता प्रदान गर्न सकिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

विधानमा भएको व्यवस्था संशोधन गरेर क्रियाशीलबाट सिधै नेतृत्व चयन गर्न सकिने विकल्प पनि महामन्त्री थापाले प्रस्ताव गरेका छन् । क्रियाशील सदस्यता प्रदान, नवीकरण र सबै तहको अधिवेशन सक्नका लागि समयको चाप भएको अवस्थामा ढिलोमा पुसको पहिलो साता हुने गरी १५ औं महाधिवशेनको कार्यतालिका बनाउन सकिने थप विकल्प महामन्त्री थापाले राखेका छन् । उक्त विकल्पमा पनि सहमति नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने थापाको भनाई छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार क्रियाशील सदस्यता असोज मसान्तसम्म ८१ प्रतिशतले नवीकरण गरेका छन् । समितिका अनुसार नवीकरण भएकाहरूको इन्ट्री कार्य भने सकिएको छैन । नवीकरणको कार्य सक्ने जिल्लाको संख्या ६० रहेको छ ।
महामन्त्री थापासहित इतर पक्षका नेताहरू मंसिरभित्रै महाधिवेशन गर्ने पक्षमा उभिएपनि संस्थापन पक्ष धकेल्ने मनस्थितिमा छ । महामन्त्री थापाले बैठकमा प्रस्ताव गरे पनि अहिले छलफल जारी छ ।

 

जेनजी विद्रोहलाई शंकाले नहेरौं, कुनै बहानामा पार्टीको महाधिवेशन मिति नसारौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीभित्र पुस्तान्तरणसहितको नेतृत्व परिवर्तन, भ्रष्टाचारविरुद्ध कडा कार्ययोजना र स्वास्थ्य बीमा प्रणालीमार्फत समाजवादी मूल्यमान्यता स्थापित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । नेता पौडेलले पार्टीको हालको स्थायित्व संकटको समाधान केवल नेतृत्व परिवर्तन होइन, नयाँ पुस्तालाई नेतृत्व जिम्मा दिँदै संगठनात्मक र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताए । ‘यो केवल अनुहार बदल्ने कुरा होइन, सोच, शैली र संस्कारको समग्र रूपान्तरण हो’, प्रस्तावमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारविरुद्ध कठोर नीति : पदमा बसेका सबैको सम्पत्ति छानबिन
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा प्रतिबद्धता जनाउँदै पौडेलले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनी भन्छन्, ‘अवैध सम्पत्ति पुष्टि भएमा त्यसलाई राष्ट्रको स्वामित्वमा ल्याउनु पर्छ ।’ उनले भ्रष्टाचार अन्त्यका लागि स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।

स्वास्थ्य बीमाबाट समाजवाद : पहुँचविहीनलाई सुविधा विस्तार
स्वास्थ्य बीमा सुधारका अगुवा समेत रहेका पौडेलले, आफू मन्त्री हुँदा विपन्न वर्गका लागि बीमाको पहुँच वृद्धि गरिएको उल्लेख गर्दै स्वास्थ्य बीमालाई संस्थागत नीति बनाएर समाजवादी लक्ष्यमा पुग्न सकिने तर्क प्रस्तुत गरेका छन् । ‘हाम्रो पार्टीले स्वास्थ्य बीमालाई सुदृढीकरण गर्दै सार्वजनिकीकरणतर्फ लान सके समाजवाद व्यवहारमा देखिन्छ’, प्रस्तावमा भनिएको छ । उनले स्वास्थ्य नीतिमा आम जनताको पहुँच, गुणस्तरीय सेवा र समावेशितालाई प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

नेतृत्वमा पुस्तान्तरण : समय बदलिएको छ, नेतृत्व पनि बदलिनु पर्छ
पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला पौडेलको प्रस्तावले यो बहसलाई औपचारिक मोड दिएको छ । उनी युवा नेतृत्वका प्रतिनिधिका रूपमा चिनिन्छन् र परिवर्तनशील सोचलाई संस्थागत गर्न चाहन्छन् । ‘आजको युग फरक छ, अब निर्णय गर्ने अनुहार पनि फरक हुनुपर्छ,’ उनले भनेका छन् । पार्टीको आगामी महाधिवेशनतर्फ संकेत गर्दै पौडेलको प्रस्तावले कांग्रेसभित्र विचार र पुस्ताको द्वन्द्वलाई अझ स्पष्ट बनाएको छ ।

निष्कर्ष : नीति, नैतिकता र नव प्रवर्तनको माग

पौडेलको प्रस्ताव केवल आन्तरिक नेतृत्वको कुरा होइन, नीतिगत सुधार, पारदर्शिता र जनमुखी समाजवादको खाका पनि हो । पार्टीले नयाँ सोचलाई आत्मसात गर्दै समाज परिवर्तनका एजेण्डा अगाडि बढाउन सके मात्रै जनविश्वास फर्किन सक्छ भन्ने सन्देश यो प्रस्तावले दिन खोजेको देखिन्छ ।

कांग्रेस वैठकमा प्रस्ताव : चुनाव वैशाखमा सार्नु पर्छ

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा फागुन २१ गतेका लागि तय भएको चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव आएको छ । सानेपामा जारी केन्द्रीय गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताएका हुन् । उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ । वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ ।’ महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

देउवाको कुर्सी खाली
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । देउवाले सक्रिय भूमिका छाडेको बताए पनि कांग्रेस बैठकमा उनको कुर्सी यथावत छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् । कांग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् ।

कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रुपमा अनुपस्थित भएपनि राजनीतिक रुपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताएका छन् । ‘शेरबहादुर दाइप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चाँहि कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देश पनि दिन खोजिएको होला,’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने । कांग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औं महाधिवेशन तयारी, संसद विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल जारी छ ।

 

 

 

विशेष महाधिवेशन पार्टीको एजेण्डामा छैन, बैठकले नियमितकै मिति तोक्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेको बताए ।

आम नागरिकले पूर्ण रुपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणा सदस्यहरुले राखेको बताए । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राखेको दाबी गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराएको बताए । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको बताए । उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाएको जिकिर गरे । बैठकमा कार्यतालिका प्रस्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए ।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानविन हुनुपर्ने धारणाहरु आएको बताए । साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताए ।

नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिए । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताए । सुरक्षाको प्रत्याभूति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताए । संसद पुनःस्थापनातिर लाग्न नहुने उनको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिवन्ध गर्न माग समेत गरे । हरेक छानविनका लागि कांग्रेस तयार रहेको बताए ।

बैठकपछि बोल्दै केन्द्रिय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे । सरकार संविधान विपरित बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राखेको बताए । उनले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताए । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताए । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताए । समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल शुरु भएको बताए ।

निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा काँग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे । एकतावद्ध भएर कार्यतालिका बनाइ कांग्रेस अघि बढ्ने बताए । सबैको भावना समेट्दै कांग्रेस अघि बढ्ने बताए । देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताए । सरकारको प्राथमिकता निर्वाचन रहेको बताए ।

 

विशेष अधिवेशनको मागको जोड मंसिरमा नियमित महाअधिवशन हो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन् । कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताए ।

‘मलाइ विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’ खड्काले बैठक सुरु गर्दै भने, ‘केन्द्रीय समिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।’ नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने र त्यही दिशामा आफूहरू अघि बढ्ने उनले बताए ।

 

हस्ताक्षर अभियान कांग्रेसलाई ऊर्जा भर्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र सञ्चालित हस्ताक्षर अभियानलाई ‘कांग्रेसभित्र ऊर्जा भर्ने अभियान’ को रूपमा व्याख्या गरेका छन् । उनले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै हस्ताक्षर अभियान, महाधिवेशनको समयशिद्धता, पार्टीभित्रको एकता र राष्ट्रिय राजनीति सम्बन्धी महत्वपूर्ण विषयमा स्पष्ट अभिव्यक्ति दिएका छन् ।

जेन–जी आन्दोलनप्रति श्रद्धाञ्जली र न्यायको माग
डा. कोइरालाले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरु तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आन्दोलनका क्रममा लुटिएका हतियार र फरार अभियुक्तलाई खोजी गरी कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरे । उनले भदौ २४ गते भएका तोडफोड, आगजनी र हत्या हिंसालाई सभ्य समाजले स्वीकार गर्न नसक्ने भन्दै अपराधी तत्वलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

संविधान र निर्वाचनको सन्दर्भ
कोइरालाले वर्तमान संविधानलाई ‘अर्धमूर्छित’ अवस्थामा रहेको टिप्पणी गर्दै यसको रक्षाका लागि सबैले उभिनुपर्ने धारणा राखे । उनले आगामी आम निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनु नै राजनीतिक स्थायित्वको आधार हुने बताए ।

कांग्रेसको भूमिका र नेतृत्व
उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचन र राष्ट्रिय परिवर्तनको नेतृत्व लिने हैसियतमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै भने, ‘कांग्रेस मात्र शब्द होइन, यो नेपाली समाजको सभ्यता र इतिहास हो ।’ उनले कांग्रेसभित्र अहिले एकताको अत्यन्त खाँचो रहेको उल्लेख गर्दै एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुने बताए ।

महाधिवेशनको तयारी
डा. कोइरालाले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै त्यसकै माध्यमबाट कांग्रेसलाई नयाँ ऊर्जा र सम्भावनाको पार्टीका रूपमा प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘महाधिवेशनबाट आउने परिणामले २१ फागुनमा हुने राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई फेरि एक पटक जनताबीच जागृत गराउनेछ ।’

अनुशासनको सिफारिस फिर्ता गर्न माग
२०७९ सालको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेताहरूलाई क्षमादान दिनुपर्ने कोइरालाको माग छ । उनले अहिलेको परिस्थितिमा सबैलाई समेटेर एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता, अपनत्व र नेतृत्व क्षमतालाई बलियो बनाउने हो भने कांग्रेस फेरि एकपटक देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे ।

देउवाले आगामी परीक्षा सुम्पिएर जानु भयो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमत हुँदाहुँदै समयको स्वरलाई सम्बोधन गर्दै कार्यवाहक दिएर गएको बताएका छन् । सभापति देउवाले मंगलबार केन्द्रीय कार्यालय सानेपा आएर केन्द्रीय समितिमा बोल्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

महामन्त्री शर्माले सभापति देउवाले आगामी परीक्षा सुम्पिएर गएको टिप्पणी गरेका हुन् । ‘जेनजी प्रदर्शनको जायज माग सम्बोधन गरिनु पर्छ,’ शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार लेखेका छन्, ‘व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनु पर्छ । बहुमत छँदै थियो छ तर दिनु भयो कार्यवाहक र जानु भयो हामी सबैलाई यिनै शब्द साथ ‘आगामी परीक्षा’ सुम्पिएर समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान ।’

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका २४,८८ प्रतिनिधिले बुझाए हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको नेता गुरूराज घिमिरेले जानकारी दिएका छन् । नेपाली कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।

उनकाअनुसार ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न निवेदन पत्र कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन् । उनले उक्त फाइल बुझेपछि ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन् । कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि भइरहेको छ । जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जानु पर्ने पक्षमा छन् ।

 

 

देश र कांग्रेसको नेतृत्व लिन हाम्रो पुस्ता तयार छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने भएकाले नयाँ (हाम्रो) पुस्ता सबै साकारात्मक परिवर्तनको नेतृत्व गर्नका लागि तयार भइसकेको बताए ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता महरले देशलाई वर्तमान अवस्थाबाट उकास्न २१ फाल्गुनका लागि तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुने तथा युवा पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक रहेकोमा उनले जोड दिए ।

पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राख्दै महरले भने, ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ । केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ ।’ पार्टीका समस्याहरूको निकास केन्द्रीय समितिभित्रैबाट खोजिनु पर्ने उनको भनाइ छ ।

नेता महरले पार्टीको पुनर्जागरण र सुधारका निम्ति देशभर चलिरहेका बहसले पार्टीलाई थप सशक्त बनाउन बल पुग्ने विश्वास व्यक्त गरे । नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको प्रमुख आधारका रूपमा व्याख्या गर्दै उनले समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए ।

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गरे ।
‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते भएका उनी आज पहिलो पटक सार्वजनिक रुपमा देखिएका हन् । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उनले लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताए ।
‘अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु’, सभापति देउवाले भने, ‘त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ ।’
मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उनले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गरे । उनले भने, ‘म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
‘घुसपैठले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गयो’
गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गएको बताउँदै सभापति देउवाले यस घटनाले आफूलाई मर्माहित बनाएको उल्लेख गरे । गत भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयलगायत राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको अकल्पनीय घटनाको निन्दा गरे । यसबाट जनधनको अपूरणीय क्षति भएको र सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रुपमा लिपिबद्ध हुने उनको भनाइ थियो ।
केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब एक सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले जानकारी गराए । नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थानका रुपमा परिचित विराटनगरस्थित कोइराला निवास, काठमाडाैं चाक्सीबारीस्थित गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत बनाएको उनले बताए ।नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी  सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको बताउँदै उनले यी दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘राष्ट्रपतिको भूमिकाले अर्को संकट रोकिएको छ’
सभापति देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई बैठकमार्फत धन्यवाद दिए । त्यो प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट टरेको उनले उल्लेख गरे । जेनजी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । उनीहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्ने र यस विषयमा पनि कांग्रेसको बैठकमा छलफल हुने सभापति देउवाले जानकारी दिए ।
यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका सभापति देउवाले बताए । यसको  यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने र यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । देशमा सबै महत्वपूर्ण अङ्गहरुको मनोबल गिरेको अवस्थामा देशका सबै अङ्ग वा निकायको मनोवल उच्च राख्ने गरी काम गर्नुपर्ने र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोवल साथ काम गर्न आह्वान गरे ।
सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए । उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए ।
उनले अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण भएको बताउँदै पार्टीका सबै साथीहरुलाई विषयवस्तुमा व्यापक छलफल गर्न, एकमतका साथ निर्णयमा पुग्न र ठोस् ढङ्गले निर्णयको कार्यान्वयन गर्न आग्रह गरे ।
‘पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु’
सभापति देउवाले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन् । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।’ आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरु कुनै साथी सभापति बन्ने र त्यसमा द्विविधा नभएको उनले स्पष्ट गरे ।
उनले देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उल्लेख गर्दै सभापति देउवाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए ।
‘निर्वाचनका लागि आवश्यक वातावरण बनाउनु पर्छ’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको बताउँदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा जोड दिए । ‘निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो’ उनले भने । यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उहाँले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास व्यक्त गरे ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थाकावाहक राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गर्दै उनले यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए । मुलुकमा संकट आएका बेला त्यसको निकास पनि कांग्रेसले दिनेगरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्न उनले आग्रह गरे ।
आफू किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि अनवरतरुपमा संघर्षरत रहेको उल्लेख गर्दै उनले भने, ‘म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।’
देशमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको उल्लेख गर्दै सभापति देउवाले आफूले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको बताए । देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै  उनले अझै पनि देश र जनताका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
‘मुलुक र जनताका पक्षमा गरेका कामप्रति वर्ग छ’
‘मैले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेँ, चाहे पार्टीभित्र ‘कदमजम’को नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम् समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु’ सभापति देउवाले भने ।
उनले आफूले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएको र पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय रहेको स्पष्ट पारे । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको बताउँदै उनले त्यसका बावजुद पनि कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको अवगत गराए । ‘सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ’ , सभापति देउवाले भने, ‘नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।’ सभापति देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेको बताए ।
‘प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो’
सभापति देउवाले गत भदौ २४ गते सिङ्गो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सुरक्षाकर्मीको अथक प्रयासपछि उद्धार गरिएको जानकारी गराए । उनले आफू र आफ्नो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपरेको र त्यतिले नपुगेर कृतिम बौद्धिकता प्रविधिका माध्यमले आफूहरुको प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको भनी दुःख व्यक्त गरे ।
‘मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ’, उनले भने, ‘यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।’
सभापति देउवाले आक्रमणकारीहरुको कब्जाबाट आफूलाई बचाउने घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको भूमिका जीवनभर स्मरण गरिरहने उल्लेख गरे । सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको बताए । यसलाई ध्यानमा राखी आफ्नो पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो। देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता, संवाद गर्ने उनले बताए ।
खड्का कार्यवाहक सभापति
उनले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गरे । साथै उनले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास पनि व्यक्त गरे ।

भदौ २४ को घटना सबै सुनियोजित हो, ज्यानै लिने मनसायले हामीमाथि आक्रमण गरियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनकारीबाट आफूहरूलाई सुरक्षाकर्मीले बचाएको बताएका छन् । पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मीले घण्टौंको प्रयासपछि आफूहरूको उद्धार गरेको जानकारी गराएका हुन् । सभापति देउवाले भदौ २४ गतेको आन्दोलनमा क्रममा आफ्नो ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताए ।

आन्दोलनका क्रममा भएका घटनाहरु आकस्मिक र स्वतस्फुर्त नभएर सुनियोजित भएको उनको निष्कर्ष छ । जेनजी आन्दोलनमा आफ्नै निवासभित्र आक्रमणमा परेका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकमा सहभागी हुँदै उनले आफू र परिवारको ज्यान जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

देउवाले २४ गते त्रासदीपूर्ण घटना भएको भनेका छन् । ’गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,’ सभापति देउवाले भने,’ उनले भने, ‘तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

उनले उक्त दिनको घटना हेर्दा नेतामाथिको आक्रमण जस्तो देखिए पनि देश र पद्धतिमाथि नै आक्रमण भएको पनि बताएका छन् । ‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,’ उनले भने, ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’

देउवाले आफ्नो निवासमा ठूलो परिमाणमा नगद रकम भेटिएको भन्ने विषयमा कुनै स्पष्ट जवाफ दिएनन् । बरु आफूहरुको प्रतिष्ठा र छवि वगराउन सुनोयोजिरुपमा झुटा प्रचार गरिएको टिप्पणी गरे । घटनाक्रम झट्ट हेर्दा व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने उनको ठहर छ । देउवाले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिएका छन् । घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र

प्रदर्शनले अर्कै रुप लिएर निर्दोष नवयुवकहरुको ज्यान गएको उनको भनाइ छ । यस घटनाले आफूहरुलाई अत्यन्तै मर्माहित बनाएको देउवाले बताएका छन् । पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा देउवाले कार्यवाहक उपसभापति खड्कालाई तोके पनि उनले पदबाट राजीनामा भने दिएका छैनन् ।

 

देउवाको सम्बोधन लगतै कांग्रेसको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् । ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्ने तर्फ वर्तमान सरकार उद्धत रहेको उनको आरोप छ । सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनस्र्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ ।

सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए । उनले अगाडि भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।

 

संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्नेतर्फ वर्तमान सरकार उद्धत रहेको उनले आरोप लगाए ।

सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ । सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए ।

उनले भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।

सानेपामा देउवाको आठ बुँदे सम्बोधन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताएका छन् ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’

आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गरेका छन् । देउवा जेनजी विद्रोहपछि मंगलबार सार्वजनिक भएका हुन् । आजको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेलाई इतिहासकै डरलाग्दो दिन पनि भनेका छन् ।

‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नव युवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ,’ उनले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपीबद्ध हुनेछ ।’

हेर्नुस् देउवाको सम्बोधन

 

 

पाँच पटक प्रधानमन्त्री भएँ, तर एक कार्यकाल पनि पुरा चलाएको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन् । आज (मंगलबार) सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले धेरैले आफूलाई पटक–पटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन् ।

‘पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,’ उनले भने । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको पनि बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए । ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए । सभापति देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवामाथि आक्रमण गरेका थिए ।

 

 

घरमा सँधै एकै जना मुली रहँदैन, १५औं महाधिवेशनबाट विदा लिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट विदा लिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन् ।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने ।

१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे । जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्। १४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।

भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्छ, निर्वाचनको वातावरण बनेको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन् । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन् । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् ।

‘निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन’

सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

जेनजी आन्दोलनपछि देउवा दम्पती पहिलो पटक सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् । उनले कांग्रेस केन्द्री समिति बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन्।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।

देउवा पहिलो पटक सहभागी हुने सानेपा वैठकमा कडा सुरक्षा, नेताहरुको चहलपहल {तस्वीरहरू}

काठमाडौं । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवा पहिलो पटक सहभागी हुन लागेको वैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल देखिएको छ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ । जेनजी आन्दोलनमा कुटपिटमा परेका सभापति देउवा त्यसयता पहिलो पटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा कडा बनाइएको हो ।

अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ । यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ ।

अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस छ । नियमित महाधिवेशनमा नजाने हो भने विशेष महाधिवेशन गर्नुपर्छ भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियानसमेत चलाएका छन् । जेन–जी विद्रोहपछि बस्न लागेको बैठक भएकाले पनि नेता–कार्यकर्ताले यो बैठकलाई उत्सुकतापूर्वक हेरिएको छ । नेताहरूले दिएको जानकारी अनुसार मंगलबारको बैठक स्थगित गर्ने तयारी गरिएको छ । पार्टी सभापति देउवा आएपछि संक्षिप्त बैठक बस्ने र स्थगित गरिएको जानकारी दिइनेछ । केन्द्रीय समितिमा पेस गर्ने कार्यसूचीमा सभापति र महामन्त्रीबीच कुरा नमिलेपछि बैठक सर्न लागेको हो ।

 

 

कांग्रेसमा महाधिवेशनको दबाब : देउवाको ‘अस्पष्ट’ जवाफ

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी विवाद चुलिंदै गएको छ । मंगलबार दिउँसो बस्ने भनिएको केन्द्रीय समिति बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर विशेष छलफल भएको छ । भेटमा महामन्त्रीद्वयले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अथवा त्यसअघि नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए । तर, सभापति देउवाले ठोस उत्तर नदिई ‘सल्लाह गरेर अघि बढौंला’ भन्ने सामान्य प्रतिक्रिया दिएका छन् । भेटमा सहभागी एक नेताका अनुसार देउवाले निर्णय लम्ब्याउने रणनीति अपनाएका छन् ।

एजेण्डाविहीन बैठक र अन्योल
मंगलबारको केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय भइनसकेको बताइएको छ । केन्द्रीय समितिमा एजेण्डा सभापतिको परामर्शमा महामन्त्रीहरूले प्रस्तुत गर्ने चलन छ । तर गगन थापाले सार्वजनिक रूपमा कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूले पेश नगर्ने घोषणा गरिसकेका छन् । यसैबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा लगातार बसे पनि बैठकको एजेण्डा तय गर्न सकेको छैन । मुख्य विवाद मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्नेबारे केन्द्रित छ ।

विशेष महाधिवेशनको दबाब चुलियो
महामन्त्री थापा र शर्मा मात्र होइन, नेता शेखर कोइरालाले पनि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडान लिएका छन् । तर देउवा पक्षले निर्वाचन तयारीलाई कारण देखाउँदै महाधिवेशन वैशाखमा सार्नुपर्ने तर्क गरिरहेको छ । यही विवादकै बीच महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान तीव्र पारिएको छ । अभियानमा सक्रिय नेता गुरूराज घिमिरेका अनुसार हालसम्म ५४ प्रतिशत बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । ती हस्ताक्षरहरू आजै केन्द्रीय समितिको बैठकअघि बुझाउने तयारी गरिएको छ ।

देउवाको भूमिका अझै अन्योलमा
पार्टीको नेतृत्व निरन्तरता दिने कि नयाँ कार्यवाहक सभापति तोक्ने भन्ने विषयमा पनि देउवाले स्पष्ट संकेत दिएका छैनन् । विशेष गरी जेनजी पुस्ताको भदौ २३–२४ को आन्दोलनपछि देउवा सार्वजनिक रूपमा खासै देखिएका छैनन् । आजको बैठकमा भने उनी सहभागी हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् । यसरी नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र कार्यसमितिको म्यादसम्बन्धी बहसले निर्णायक मोड लिँदै गर्दा देउवाको मौनता र महामन्त्रीहरूको आक्रामक शैलीले पार्टीभित्र शक्ति संघर्ष चर्किन सक्ने संकेत देखिएको छ ।