`

गगन–शेखर पक्षको निष्कर्ष : पुस १६ मा नियमित महाधिवेशन

Nepal One HD १४ कार्तिक २०८२ १२:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बिहान कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए ।

छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ । विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

पदाधिकारी बैठक बस्नुअघि महाधिवेशनबारे एउटा साझा एजेन्डा बनाउने प्रयास अहिले कांग्रेसभित्र चलिरहेको छ । आफूले विशेष महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न नपाएपछि थापाले हिजोको बैठक नै बहिस्कार गरेका थिए । तर, आज भने कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन् । कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन् । यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन । महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए । तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *