`

हस्ताक्षर अभियान कांग्रेसलाई ऊर्जा भर्न : शेखर कोइराला

Nepal One HD ३० असोज २०८२ १७:१०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र सञ्चालित हस्ताक्षर अभियानलाई ‘कांग्रेसभित्र ऊर्जा भर्ने अभियान’ को रूपमा व्याख्या गरेका छन् । उनले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै हस्ताक्षर अभियान, महाधिवेशनको समयशिद्धता, पार्टीभित्रको एकता र राष्ट्रिय राजनीति सम्बन्धी महत्वपूर्ण विषयमा स्पष्ट अभिव्यक्ति दिएका छन् ।

जेन–जी आन्दोलनप्रति श्रद्धाञ्जली र न्यायको माग
डा. कोइरालाले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरु तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आन्दोलनका क्रममा लुटिएका हतियार र फरार अभियुक्तलाई खोजी गरी कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरे । उनले भदौ २४ गते भएका तोडफोड, आगजनी र हत्या हिंसालाई सभ्य समाजले स्वीकार गर्न नसक्ने भन्दै अपराधी तत्वलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

संविधान र निर्वाचनको सन्दर्भ
कोइरालाले वर्तमान संविधानलाई ‘अर्धमूर्छित’ अवस्थामा रहेको टिप्पणी गर्दै यसको रक्षाका लागि सबैले उभिनुपर्ने धारणा राखे । उनले आगामी आम निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनु नै राजनीतिक स्थायित्वको आधार हुने बताए ।

कांग्रेसको भूमिका र नेतृत्व
उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचन र राष्ट्रिय परिवर्तनको नेतृत्व लिने हैसियतमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै भने, ‘कांग्रेस मात्र शब्द होइन, यो नेपाली समाजको सभ्यता र इतिहास हो ।’ उनले कांग्रेसभित्र अहिले एकताको अत्यन्त खाँचो रहेको उल्लेख गर्दै एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुने बताए ।

महाधिवेशनको तयारी
डा. कोइरालाले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै त्यसकै माध्यमबाट कांग्रेसलाई नयाँ ऊर्जा र सम्भावनाको पार्टीका रूपमा प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘महाधिवेशनबाट आउने परिणामले २१ फागुनमा हुने राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई फेरि एक पटक जनताबीच जागृत गराउनेछ ।’

अनुशासनको सिफारिस फिर्ता गर्न माग
२०७९ सालको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेताहरूलाई क्षमादान दिनुपर्ने कोइरालाको माग छ । उनले अहिलेको परिस्थितिमा सबैलाई समेटेर एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता, अपनत्व र नेतृत्व क्षमतालाई बलियो बनाउने हो भने कांग्रेस फेरि एकपटक देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *