`

कांग्रेसका जेनजीले मागे सुशासन आयोग

Nepal One HD १३ कार्तिक २०८२ १५:३४
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध जेनजी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेनजी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राखे ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्ति गर्नुपर्ने उनको भनाइ छ । उनले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताए । उनले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘मुलुकको सुशासन कायम गर्नु जेनजी प्रदर्शनको मुख्य माग थियो । नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरुको विगतका प्रवृत्तिको समिक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् ।’

उनले भने, ‘भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा नेपाली कांग्रेसको सहयोग रहनु पर्दछ । नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली कांग्रेसले सार्वजनिक गर्नु पर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागित सुनिश्तिता गरियोस् ।’

उनले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । उनले जेनजी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *