कांग्रेसका दुई महामन्त्रीको परिपत्र : मतदाता सूचीमा नाम दर्ता अभियान चलाउनू
काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकृत गर्न मतदाता दर्ता समूह गठन गरेर अभियान चलाउन परिपत्र गरेका छन् । पार्टी संगठनलाई परिपत्र जारी गर्दै थापा र शर्माले पार्टी संरचनालाई युवा उमेर समूहसँग छलफल गर्न र ती युवा समूहबाट खटाउने गरी मतदाता दर्ता समूह गठन गर्न भनेका हुन् ।
आउँदो २१ फागुनमा हुने चुनावका लागि निर्वाचन आयोगले ३० कात्तिकसम्म मतदाताका लागि नाम दर्ता गर्ने समय तोकेको छ । सोही कारण महामन्त्रीद्वयले पार्टी संगठनहरूलाई परिपत्र गरी छठलगत्तै नयाँ मतदाता दर्ता अभियान चलाउन वडा कमिटीसम्मलाई परिपत्र गरेको बताइएको छ । परिपत्रमा महामन्त्रीद्वय थापा र शर्माले मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा परिचालन हुनका लागि माथिल्लो तहका कमिटीले तल्लो तहका कमिटीसँग समन्वय गरी वातावरण बनाउन पनि भनिएको छ ।
जेन–जी आन्दोलनपछि मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउने नयाँ पुस्ताका मतदाताहरूमा आकर्षण बढ्न थालेको छ । सोही मतदातालाई ध्यान दिएर कांग्रेसले अभियान चलाउनुपर्ने महामन्त्रीद्वय थापा र शर्माको संकेत छ । हुन त थापाले पहिलादेखि नै नवपुस्ताका मतदातालाई आकर्षित गर्नुपर्ने बताउँदै आएका थिए । जेन–जी आन्दोलनपछि भने आन्दोलनमा सहभागी युवाहरूलाई आफ्नो पंक्तिमा आकर्षित गर्न थापा लागिपरेका छन् ।
