भदौ २४ को घटना सबै सुनियोजित हो, ज्यानै लिने मनसायले हामीमाथि आक्रमण गरियो : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनकारीबाट आफूहरूलाई सुरक्षाकर्मीले बचाएको बताएका छन् । पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मीले घण्टौंको प्रयासपछि आफूहरूको उद्धार गरेको जानकारी गराएका हुन् । सभापति देउवाले भदौ २४ गतेको आन्दोलनमा क्रममा आफ्नो ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताए ।
आन्दोलनका क्रममा भएका घटनाहरु आकस्मिक र स्वतस्फुर्त नभएर सुनियोजित भएको उनको निष्कर्ष छ । जेनजी आन्दोलनमा आफ्नै निवासभित्र आक्रमणमा परेका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकमा सहभागी हुँदै उनले आफू र परिवारको ज्यान जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।
देउवाले २४ गते त्रासदीपूर्ण घटना भएको भनेका छन् । ’गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,’ सभापति देउवाले भने,’ उनले भने, ‘तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’
उनले उक्त दिनको घटना हेर्दा नेतामाथिको आक्रमण जस्तो देखिए पनि देश र पद्धतिमाथि नै आक्रमण भएको पनि बताएका छन् । ‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,’ उनले भने, ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’
देउवाले आफ्नो निवासमा ठूलो परिमाणमा नगद रकम भेटिएको भन्ने विषयमा कुनै स्पष्ट जवाफ दिएनन् । बरु आफूहरुको प्रतिष्ठा र छवि वगराउन सुनोयोजिरुपमा झुटा प्रचार गरिएको टिप्पणी गरे । घटनाक्रम झट्ट हेर्दा व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने उनको ठहर छ । देउवाले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिएका छन् । घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र
प्रदर्शनले अर्कै रुप लिएर निर्दोष नवयुवकहरुको ज्यान गएको उनको भनाइ छ । यस घटनाले आफूहरुलाई अत्यन्तै मर्माहित बनाएको देउवाले बताएका छन् । पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा देउवाले कार्यवाहक उपसभापति खड्कालाई तोके पनि उनले पदबाट राजीनामा भने दिएका छैनन् ।