देउवाको सम्बोधन लगतै कांग्रेसको बैठक स्थगित


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् । ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्ने तर्फ वर्तमान सरकार उद्धत रहेको उनको आरोप छ । सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनस्र्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ ।
सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए । उनले अगाडि भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।