मंसिरभित्रै महाधिवेशन गर्न खड्कालाई शर्माका चार सुझाव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव बुझाएका छन् । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो । उक्त भेटमा शर्माले विभिन्न विकल्पसहितका प्रस्तावहरू बुझाएका हुन् । पहिलो विकल्प कार्य सम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ ।
मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ । तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको भनाइ छ । विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् । यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न चौथो विकल्प दिएका छन् । महामन्त्रीद्वयसहित इतर पक्षका नेता डा.शेखर कोइरालाले महाधिवेशन मंसिरबाट पर धकेल्न नसक्ने अडान लिइरहेपनि संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसक्ने पक्षमा उभिएको छ ।
हिजो कावा सभापति खड्काले आफूनिकटका नेताहरूको गुट भेला गरेर वैशाखमा महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा पनि संस्थापन पक्षका नेताहरू त्यही रणनीतिसाथ प्रस्तुत हुँदै छन् । उनले प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने भएपनि फैसलाको प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्नुपर्ने शर्माको प्रस्ताव छ ।
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिला सहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय पार्टीले गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना गर्नेदेखि जेनजी युवाहरूसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव छ ।
हेर्नुस् शर्माका प्रस्ताव
१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)
(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम ’केन्द्रीय समितिले चाहेमाझ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ ।
३) तेस्रो विकल्प– विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै । (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै ।
४) चौथो विकल्प– थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ । (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको ऐतिहासिक मिति)
बैठकबाट तयारी सम्बन्धमा
१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन
फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ िअन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय ।
फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना ।
– जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन
