पाँच पटक प्रधानमन्त्री भएँ, तर एक कार्यकाल पनि पुरा चलाएको छैन : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन् । आज (मंगलबार) सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले धेरैले आफूलाई पटक–पटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन् ।
‘पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,’ उनले भने । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको पनि बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए । ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए । सभापति देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवामाथि आक्रमण गरेका थिए ।