सिंगापुरमा देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए
काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन् । देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन् ।
जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन् । सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन् ।
त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए । त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ ।
