मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन् : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा उद्योगी विनोद चौधरीले राजनीति र उद्योग–व्यवसायमा आफूले निर्वाह गरेको भूमिकाको अन्तिम मूल्यांकन इतिहास र जनताले गर्ने बताएका छन् । गत भदौं २४ गतेको जेनजी आन्दोलनमा क्रममा भएको आगजनीबाट क्षतिग्रस्त पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवासको निरीक्षणपछि प्रतिक्रिया दिँदै चौधरीले घटनाप्रति आफ्नो कसैप्रति गुनासो नरहेको स्पष्ट पारेका हुन् ।
भावुक मुद्रामा प्रस्तुत भएका चौधरीले आफूले जीवनभर राष्ट्रको आर्थिक विकास र रूपान्तरणलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरे । उनले भने, ‘मैले सधैँ आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गरेँ । सुरुमा व्यावसायिक मञ्चहरूबाट र पछि नीति निर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको हुँ ।’
चौधरीले देशमा युवापुस्ता (जेनजी) माझ बढ्दो निराशा र पलायनप्रति गहिरो चिन्ता व्यक्त गरे । ‘दैनिक २५ सय बढी नेपाली युवाहरू देश बाहिरिइरहेका छन् । एक करोड बढी नेपाली देशमै बस्न नसक्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘युवाको मनमा भोलि यो नेपाल बन्छ भन्ने आशा पटक्कै छैन । यो हतोत्साहित मनस्थितितर्फ हामी सबै जिम्मेवार व्यक्तिहरूको ध्यान जानुपर्छ ।’
२०७९ सालको निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको स्मरण गर्दै उनले भने, ‘४५ दिनको छोटो अन्तरालमा म यो क्षेत्रमा आएर एकसेएक महारथीहरूसँग निर्वाचन लडेँ । मलाई लाग्छ, त्यो बेला पनि यो मान्छेले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै यहाँका जनताले मलाई जिताउने काम गर्नुभयो ।’ आफ्नो राजनीतिक यात्रा नाम वा दामका लागि नभएको प्रस्ट पार्दै चौधरीले भने, ‘एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनु पर्छ, त्यो नेपालीको न्यूनतम अधिकार हो । एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनु पर्छ र त्यो गर्ने जिम्मेवारी हाम्रो हो ।’
उनले परिवर्तनका लागि आफ्नो प्राणको आहुति दिने युवाहरूको आत्माको चीरशान्तिको कामना समेत गरे । आफ्नो क्षतिग्रस्त घरअगाडि उभिएर उनले भने, ‘जेन–जीको भावनालाई कदर गर्नुपर्छ र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउनुपर्छ । यदि नेपालमा नयाँ परिवर्तन आयो भने मभन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही हुने छैन । यो कुरा म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु ।’
