`

कांग्रेसमा महाधिवेशनको दबाब : देउवाको ‘अस्पष्ट’ जवाफ

Nepal One HD २८ असोज २०८२ १३:४३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी विवाद चुलिंदै गएको छ । मंगलबार दिउँसो बस्ने भनिएको केन्द्रीय समिति बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर विशेष छलफल भएको छ । भेटमा महामन्त्रीद्वयले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अथवा त्यसअघि नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए । तर, सभापति देउवाले ठोस उत्तर नदिई ‘सल्लाह गरेर अघि बढौंला’ भन्ने सामान्य प्रतिक्रिया दिएका छन् । भेटमा सहभागी एक नेताका अनुसार देउवाले निर्णय लम्ब्याउने रणनीति अपनाएका छन् ।

एजेण्डाविहीन बैठक र अन्योल
मंगलबारको केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय भइनसकेको बताइएको छ । केन्द्रीय समितिमा एजेण्डा सभापतिको परामर्शमा महामन्त्रीहरूले प्रस्तुत गर्ने चलन छ । तर गगन थापाले सार्वजनिक रूपमा कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूले पेश नगर्ने घोषणा गरिसकेका छन् । यसैबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा लगातार बसे पनि बैठकको एजेण्डा तय गर्न सकेको छैन । मुख्य विवाद मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्नेबारे केन्द्रित छ ।

विशेष महाधिवेशनको दबाब चुलियो
महामन्त्री थापा र शर्मा मात्र होइन, नेता शेखर कोइरालाले पनि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडान लिएका छन् । तर देउवा पक्षले निर्वाचन तयारीलाई कारण देखाउँदै महाधिवेशन वैशाखमा सार्नुपर्ने तर्क गरिरहेको छ । यही विवादकै बीच महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान तीव्र पारिएको छ । अभियानमा सक्रिय नेता गुरूराज घिमिरेका अनुसार हालसम्म ५४ प्रतिशत बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । ती हस्ताक्षरहरू आजै केन्द्रीय समितिको बैठकअघि बुझाउने तयारी गरिएको छ ।

देउवाको भूमिका अझै अन्योलमा
पार्टीको नेतृत्व निरन्तरता दिने कि नयाँ कार्यवाहक सभापति तोक्ने भन्ने विषयमा पनि देउवाले स्पष्ट संकेत दिएका छैनन् । विशेष गरी जेनजी पुस्ताको भदौ २३–२४ को आन्दोलनपछि देउवा सार्वजनिक रूपमा खासै देखिएका छैनन् । आजको बैठकमा भने उनी सहभागी हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् । यसरी नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र कार्यसमितिको म्यादसम्बन्धी बहसले निर्णायक मोड लिँदै गर्दा देउवाको मौनता र महामन्त्रीहरूको आक्रामक शैलीले पार्टीभित्र शक्ति संघर्ष चर्किन सक्ने संकेत देखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *