`

विशेष महाधिवेशन माग्दै कांग्रेसमा कतिले गरे हस्ताक्षर ?

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै दुई हजार ४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ । विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर अभियानमा रहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार दुई ४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भइसकेको छ । कांग्रेसका चार हजार ३४७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

‘नियमित महाधिवेशनमा जाने निर्णय गर्ने हो भने त्यहीअनुसार क्यालेन्डर आउनुप¥यो’, उनले भने, ‘होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रयोग हुन्छ ।’ उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ‘कुनै जिल्लाका कम र कुनै जिल्लाका बढी होलान् तर सबै जिल्लाका प्रतिनिधिको हस्ताक्षर रहेको छ’, उनले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने बताइएको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।

जेनजी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक हुँदै देउवा

काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा आक्रमण हुँदा घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आज केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलो पटक बैठकमा सार्वजनिक हुन लागेको देउवा निकट नेताहरुले जनाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकअघि आज ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

कांग्रेस महाधिवेशन माग गर्दै ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५ औँ महाधिवेशन मिति मंसिर मसान्तभित्र गर्न दबाब दिंदै ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रीय समिति बैठक बस्ने अघिल्लो दिन केन्द्रीय कार्यालयमा पुगेर मंसिरभित्र नियमित महाधिवेशन गर्ने कार्यातालिका ल्याउन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको ध्यानाकर्षण पत्र महाधिवेशन सुनिश्चित गर्न नसके कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

ध्यानार्षणपत्रमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र कार्य योजना ल्याउन आग्रह गर्दछौँ । अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग गर्दछौँ ।’ १५ औँ महाधिवेशनका सम्बन्धमा विधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह ९वडादेखि केन्द्रसम्म० युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम भएको उल्लेख छ । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै भएकाले मिति तोक्न माग गरेका छन् ।

उनीहरूले निर्वाचन, संसद् पुनस्थापनालगायतको विषयमा पनि पार्टीको स्पष्ट धारणा तय गर्न माग गरेका छन् । कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापालगायत नेताहरूले शुक्रवार नयाँ बानेश्वरमा बसेको छलफलको निष्कर्षसहित आज केन्द्रीय कार्यालयमार्फत सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘जेनजी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संवैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसद्को सबैभन्दा ठुलो दल तथा संविधान र लोकतन्त्रको पहरेदार पार्टीको हैसियत कायम गरी संसद्वादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौ ।’

कांग्रेसमा विशेष महाधिवेशनको दबाब ‘बेजोड’ : ५१ प्रतिशतको हस्ताक्षरसहित प्रस्ताव तयार

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र नीतिगत परिवर्तनको मागसहित विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीको ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै प्रस्ताव तयार पारिएको छ । प्रस्ताव ढिलोमा भोलि बिहान पार्टी नेतृत्व समक्ष बुझाउने तयारी छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा देशभरबाट महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको हो । नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित कारण खुलाएर माग गरेमा तीन महिनाभित्र सभापतिले विशेष महाधिवेशन बोलाउनु पर्छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि हस्ताक्षर बुझाउने तयारी भएको नेताहरूले बताएका छन् । विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले तयार पारेको प्रस्ताव ‘कभर लेटर’ सहित बुझाइनेछ ।

संस्थापन पक्षको दबाब, मात्र ६ जना पछि हटे
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले हस्ताक्षर फिर्ता गराउन दबाब दिँदै आएको भए पनि हालसम्म जम्मा ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन् । कैलालीका ४ जना, डडेल्धुरा र जाजरकोटका गरी ६ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
कैलालीका यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले असोज २६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर हस्ताक्षर गराइएको भन्दै फिर्ता लिएको घोषणा गरेका थिए । तर, नेताहरूका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्दा स्पष्टरूपमा जानकारी दिइएको थियो ।

मंसिरमा महाधिवेशन गर्ने कि वैशाखमा ?
महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् । उनीहरूका अनुसार २०७८ साल मंसिरमा भएको १४औं महाधिवेशनपछि चार वर्षे कार्यकाल यसै मंसिरमा सकिँदैछ । तर, सभापति देउवा पक्ष मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै वैशाखपछि मात्रै गर्नुपर्ने अडानमा छ । नेताहरूले देउवा पक्षले समयमै महाधिवेशन नगर्न खोजेपछि बाध्य भएर विशेष महाधिवेशन मागिएको बताएका छन् । उनीहरूको भनाइमा यो माग विधिसम्मत छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउने कदम हो ।

सभापति देउवाको भूमिकामाथि प्रश्न

भदौ २४ गते बूढानीलकण्ठ निवासमा भएको जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनपछि सभापति देउवा अझै सार्वजनिक रूपमा देखिएका छैनन्। उनी कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकमा अनुपस्थित रहँदै आएका छन् । तर, सोमबारको केन्द्रीय समिति बैठकमा भने उनको उपस्थिति अपेक्षित गरिएको छ ।

पार्टीभित्र जेनजी पुस्ताको सक्रिय आन्दोलनले नेतृत्व फेरबदल र नीतिगत सुधारको माग बलियो बनाउँदै लगेको छ । विशेष महाधिवेशनको माग पनि सोही निरन्तरताको परिणामका रूपमा आएको विश्लेषण गरिन्छ । कांग्रेसभित्र नेतृत्व र समयमै महाधिवेशन नगर्ने अडानविरुद्ध आन्तरिक असन्तोष उच्च बिन्दुमा पुगेको छ । ५१ प्रतिशत बढी प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको माग विधिसम्मत रूपमा अगाडि बढाइएको छ । अब नेतृत्वले यो मागलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

 

बालेन र सुदनलाई ‘छाड्न नहुने’ नेविसंघको ठहर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनु पर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘सिंहदरवार जलाउनु पर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ । ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुदन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन् । अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ ।’

उनले भदौ २३ गतेको आन्दोलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरेका थिए । त्यस्तै, उनले २०४६ साल पछाडि सार्वजनिक पदमा बसेको मान्छेको सम्पत्ति छानबिन हुनुपर्ने प्रस्ताव पनि ल्याए । पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए ।

 

 

देउवालाई शशांकको सुझाव : तत्काल कार्यवाहक सभापति तोक्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

आज (शनिबार) पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएको जानकारी दिएका हुन् ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ,’ कोइरालाले भने, ‘मैले शेरबहादुरजीलाई भने–यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस् । एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । उनले मिति तय गर्दछन् । मलाई लाग्दछ– मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

कांग्रेस वैठक : निर्वाचन र संसद पुनः स्थापनालाई सँगसँगै लैजानु पर्ने बहस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी रणनीति र महाधिवेशनको विषयमा छलफल गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको जटिल राजनीतिक अवस्थामा पार्टीभित्र एकता कायम राख्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नु पर्ने बताएका छन् । उनले विशेष महाधिवेशनले पार्टीमा ध्रुवीकरण र विभाजनको खतरा बढाउने भन्दै मंसिरमा तय भएको नियमित महाधिवेशनलाई नै प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

‘पार्टीमा सबै मिलेर जाँदा मात्रै चुनौती सामना गर्न सकिन्छ । विशेष महाधिवेशनले ध्रुवीकरण बढाउँछ, त्यसैले नियमित महाधिवेशनमा केन्द्रित हुनुपर्छ,’ उनले भने । उनले युवाहरूको सहभागिता सुनिश्चित गर्दै विधि र प्रक्रियालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्नेमा जोड दिए । महतले वर्तमान सरकारले निर्वाचन गराउने सुनिश्चितता नभएको अवस्थामा संसद् पुनःस्थापनाको विकल्पलाई पनि खुला राख्नुपर्ने बताए । ‘निर्वाचन भएन भने अन्योलपूर्ण अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा संसद् पुनःस्थापनाको ढोका बन्द गर्नु हुँदैन,’ उनले भने ।

नेता कृष्णप्रसाद सिटौलाले पनि संसद् पुनःस्थापनाको मागलाई बन्द गर्न नहुने र निर्वाचनको सुनिश्चितता नभएको अवस्थामा दुवै विकल्पलाई सँगसँगै लैजानुपर्ने धारणा राखे । ‘यो सरकारले चुनाव गराउँछ भन्ने सुनिश्चित छैन । यस्तोमा संसद् पुनःस्थापनालाई पनि विकल्पको रूपमा राख्नु पर्छ,’ उनले भने ।

यस्तै नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, सुजाता कोइराला र आनन्दप्रसाद ढुंगानाले पनि विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनतर्फ तयारी अघि बढाउनुपर्नेमा जोड दिए । उनीहरूले निर्वाचन र संसद् पुनःस्थापनालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । कांग्रेस नेताहरूले भदौ २३ र २४ गतेका घटनालाई फरक–फरक रूपमा हेर्नुपर्ने बताएका छन् । भदौ २३ गतेको जेन–जी आन्दोलनको घटनालाई सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्ने माग उनीहरूले राखेका छन् । भदौ २४ गतेको आगजनी र लुटपाटमा संलग्नहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पनि यी दुई घटनालाई एकै रूपमा नलिन र भदौ २० गतेको विद्रोहमाथि राज्यले अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । राष्ट्रपति पौडेलसँगको आजको बैठकमा पनि कांग्रेसले यो विषयलाई जोडदार रूपमा उठाएको थियो । राष्ट्रपतिले आजै सर्वदलीय बैठक बोलाएकाले कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक भोलिसम्मका लागि सारिएको छ । छलफल नसकिएकाले बैठकलाई निरन्तरता दिने निर्णय भएको नेताहरूले बताए । कांग्रेसले अहिलेको राजनीतिक अन्योल र चुनौतीलाई सम्बोधन गर्न पार्टीभित्र एकता र युवा सहभागितालाई प्राथमिकता दिँदै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन र रणनीति तय गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेस बैठकमा गगन थापाको प्रस्ताव : नियमित महाधिवेशन गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।

बैठकबाट निस्कने क्रममा डा. शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी गराएका हुन् । आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्न सक्ने बताएका थिए । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर संकलन पनि गरिरहेका छन् । नियमित समयमा हुने हो भने कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ ।

जलेकै कार्यालयमा खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ । वैठक जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामै बसेको हो । सभापति शेरबहादुर देउवा अनुपस्थित रहँदा बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आसन्न केन्द्रीय समिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको बताइएको छ । नेताहरूका अनुसार सभापति देउवा आगामी २६ असोजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने तयारीमा छन् । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले २४ भदौमा बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी आगजनी गरेका थिए । त्यस घटनापछि देउवा करीब एक महिना यता सार्वजनिक रूपमा देखिएका छैनन् । हाल उनी काठमाडौँमा घर भाडामा लिएर बस्दै आएका छन् र आफू निकट पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्य नेताहरूसँग फोनमार्फत सम्पर्क राख्ने गरेका छन् । यसबीच, कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
हेर्नुस् तस्वीरहरु

बाहिरबाट सरकार बनेको छ, चुनाव हुनेमा विश्वस्त हुन सकेका छैनौं : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निर्धारित मितिमा चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका छन् । जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीले सत्ता छोडेर भाग्नुपरेको थियो । त्यसपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने म्यान्डेट लिएर सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । सरकारले चुनावको लागि स्रोत साधन जुटाएको बताइरहेको छ । निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तर, बिहीबार निवासमा पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना केन्द्रीय सदस्यसँगको छलफलमा कांग्रेस नेता सिटौलाले चुनाव हुने भरपर्दाे आधार नै नबनेको बताएका हुन् । ‘निर्वाचन हुन्छ हुँदैन निश्चित छैन । संसद् विघटन छ । बाहिरबाट सरकार बनेको छ । सुरक्षाको केही ग्यारेन्टी छैन,’ सिटौलाले भने, ‘अहिले पनि कहिँ आगलागी भयो, तोडफोड भयो भने प्रहरी आउँछ कि आउँदैन कुनै संकेत देखाएको छैन । सुरक्षा निकायले सुरक्षा दिन्छ भन्ने जनता विश्वस्त छैनन् ।’

‘महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्‍याउन सक्छ’
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले महामन्त्रीद्यवको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्री सिटौलाले भने, ‘महामन्त्रीद्वयको यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्‍याइ दिन सक्छ ।’

सिटौलाले जेन–जी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए । संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनको अपिल थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अभियानमा सहभागी हुन बारम्बार फोन गरेको जानकारी गराउँदै सिटौलाले हस्ताक्षर गर्ने र नगर्नेबीचमा समूह विभाजन हुने उल्लेख गरे । यसले आगामी निर्वाचनमा पनि धक्का लाग्नसक्ने संकेत गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले एकजुट भएर निर्वाचनमा जाँदा अन्तर्घात हुने गरेको प्रसङ्ग उठाए ।

हस्ताक्षर अभियानले निर्वाचनमा पनि पार्टीभित्र दुई स्पष्ट धार देखिने उनको दाबी थियो । महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर विशेष महाधिवेशन बोलाउन मागसहित देशव्पापी हस्ताक्षार अभियान चलाइरहेका छन् । ५० प्रतिशत बढी कार्यकर्ताले हस्ताक्षर गरेको उनीहरूको दाबी छ ।

आफैले बोलाएको कांग्रेस पदाधिकारी बैठकमा देउवा नजाने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज कुपण्डोलस्थित एक होटलमा बस्दै छ । बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । पदाधिकारीबीच अनौपचारिक छलफल भएका कारण उनी सहभागी नहुने भएका हुन् । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने जानकारी दिएका छन् ।

उनले भने, ‘पदाधिकारीबीच अनौपचारिक छलफल हो । उहाँ उपस्थित हुनुहुन्न । अरू कुनै कारण छैन ।’ देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन् । सभापति देउवा स्वकीय सचिव भानु देउवाले पनि अनौपचारिक बैठक भएकाले सभापति देउवा नजाने बताए । उनले भने, ‘केन्द्रीय समितिको एजेण्डा बारेको छलफल गर्न अनौपचारिक बैठक हो । उपसभापतिले हेर्नुहुन्छ । स्वास्थ्यको कारण हैन । दिउँसो १ बजे बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

 

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न आज (बिहीबार) पदाधिकारी तथा पूर्व पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

जेन–जी आन्दोलनका क्रममा घर डढेपछि देउवा भाडाको घरमा बस्दै आएका छन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।

आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।

जेन–जी आन्दोलनपछि पार्टीभित्र सभापति देउवालाई नेतृत्व छोड्न व्यापक दबाब छ । अहिलेसम्म कार्यवाहक सभापति समेत नदिएर आफैं नेतृत्व लिइरहेकाले महामन्त्रीद्वयको पहलमा दशैं अगाडिदेखि नै विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि हस्ताक्षर संकलन समेत भएको छ ।

दुई महामन्त्रीले तत्काल पार्टी पुनर्गठनको आवश्यक रहेको भन्दै आगामी मंसिरभित्र नियमित महाधिवशेन गर्ने, नियमित महाधिवेशनका लागि तयार नहुँदा विशेष अधिवेशनको तयारीमा जुट्ने योजना बनाएर अघि बढिरहेका छन्।

जेन–जी आन्दोनलको क्रममा घाइते भएर स्वास्थ्य उपचार गराइरहेका देउवा आफैंले पहिलोपल्ट पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका हुन् । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

‘बैठक बस्नुअघि सबै नेताहरुको छलफल गरी सहमतिबाटै पास हुने गरेर एजेण्डा तय गर्ने परम्परा रहेको छ, त्यही परम्पराअनुसार एजेन्डाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने । एक पदाधिकारीका अनुसार पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत छलफल गरी पार्टीको संस्थागत धारणा बनाउने तयारी छ ।

जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन् : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र चलिरहेको विशेष महाधिवेशनसम्बन्धी बहसमा खुला धारणा सार्वजनिक गर्दै हस्ताक्षर अभियानलाई समर्थन गरेका छन् । उनले २६ असोजको केन्द्रीय कार्य समिति बैठक अगावै २४ असोजभित्र हस्ताक्षर गर्न सक्नेहरूलाई हस्ताक्षर गर्न आह्वान गरेका छन् ।

उनले एक भिडियो सन्देशमार्फत पार्टी कार्यकर्तामा देखिएको अन्योल हटाउँदै भने, ‘साइत केका लागि हेर्नु हुन्छ ? चाहने हो भने २४ गतेभित्रै हस्ताक्षर गर्नुहोस् ।’

‘विधान अनुसारको प्रक्रिया पार्टीलाई कमजोर होइन’
उनले विशेष महाधिवेशनलाई पार्टीको कमजोरी नभई संविधान प्रदत्त अधिकारको प्रयोगका रूपमा चित्रण गर्दै भनेका छन्, ‘जब विधानमै व्यवस्था छ भने त्यसको प्रयोगले पार्टीलाई कमजोर बनाउँदैन । सफल अपरेसनले शरीर तन्दुरुस्त बनाउँछ, पार्टी पनि त्यस्तै हो ।’

शर्माले पार्टीको नियमित महाधिवेशन नै दीर्घकालीन समाधान भएको धारणा पनि राखेका छन् । तर त्यो सम्भव नभएमा भनेका छन्, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरे बमोजिम विशेष महाधिवेशनमा जानु नै वैधानिक बाटो हो ।’

सात बुँदामा शर्माका धारणा :
१) हस्ताक्षर गर्न चाहनेहरू २४ असोजभित्र गर्नुहोस् ।
२) विशेष महाधिवेशन पार्टीलाई कमजोर बनाउँदैन, यो विधानसंगत प्रक्रिया हो ।
३) २६ गतेको बैठक पर्खनुभन्दा अघि नै हस्ताक्षर गर्नु प्रभावकारी हुन्छ ।
४) केन्द्रीय समितिले चाह्यो भने आफै विशेष महाधिवेशन बोलाउन सक्छ ।
५) तर नबोलेमा, प्रतिनिधिहरुको हस्ताक्षरमार्फत प्रक्रिया अघि बढाउन सकिन्छ ।
६) सर्वोत्तम विकल्प भनेको नियमित महाधिवेशन हो, मंसिर मसान्तसम्म गर्नु उपयुक्त ।
७) छोटो समयमै महाधिवेशन सम्भव छ–युवा आन्दोलनले सत्ता उल्टाई दिन्छ भने पार्टी महाधिवेशन गर्न किन नसक्ने ?

 

कांग्रेस नेता शर्माको प्रश्न : नेतृत्वको निन्द्रा कहिले टुट्छ ?

काठमाडौं । ‘वरमेको गुणी पुत्रो न त मूर्खशतोऽपि वा ।’
(अर्थात् सयौं मुर्ख सन्तानभन्दा एक जना गुणी सन्तानको जन्म नै उत्तम हो ।)

यो प्राचीन उक्ति आजको नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक ठहरिँदै आएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस नेता सुनिल शर्माले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति प्रष्ट, तर गहिरो र चित्त छुने शैलीमा गम्भीर प्रश्न उठाएका छन् । नेता शर्माले कांग्रेसको नेतृत्व, संगठन र त्यसभित्र मौलाउँदै गएको बेथिति, निष्क्रियता तथा गुटगत प्रवृत्तिविरुद्ध कडा आलोचना गरेका छन् ।

‘सच्चा नेतृत्व बिना देश बदलिँदैन’
शर्मा भन्छन्, ‘आज मुलुकलाई सयौं नेताको भीड होइन, एक जना सच्चा, निष्ठावान र दूरदर्शी नेताको आवश्यकता छ । हामीले आँखा चिम्लेर समर्थन गर्ने होइन, अन्धो विरोधमा रमाउने पनि होइन । समयले माग गरेको कुरा हो—इमानदार र प्रतिबद्ध नेतृत्व ।’

नेविसंघ र तरुण दलप्रति चिन्ता
उनले ’पार्टीको नर्सरी’ भनिने नेविसंघ र तरुण दल गुटबन्दीमा फसेकोप्रति पनि चिन्ता व्यक्त गर्दै महामन्त्रीहरूको मौनतालाई कटाक्ष गरेका छन् । ‘हुक्कामा भौतारिएको नेविसंघ र ठेक्कामा चलेको तरुण दल देख्दा पनि तपाईंहरू किन चुप बस्नु भएको ?’ भन्ने सवाल उनका शब्दमा स्पष्ट सुनिन्छ ।

‘गुट होइन, गुणी नेताको खोजी हो’
नेता शर्माले चेतावनी दिंदै भनेका छन्, ‘१०–२० जना अघि–पछाडि लगाएर गुट चलाएर, असल कार्यकर्ता लत्याएर, हुके–चाम्चा उत्पादन गरेर नेतृत्व जन्मिँदैन मित्रहरू ! अब समय हो–साहस गरेर भन्नु पर्छ, ‘हामी असल नेतृत्व निर्माण गर्छौं ।’

‘बीपी, गणेशमान, कृष्णप्रसादको मार्गमा फर्कनु पर्छ’
उनले नेपाली कांग्रेसको पुनर्जीवनका लागि बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता नेताहरूको इमान, आदर्श र जनप्रतिबद्धताको बाटो समात्न जरुरी रहेको स्पष्ट पारेका छन् ।

‘नत्र इतिहासले माफ गर्ने छैन’
उनले चेतावनी दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि नेतृत्वले अब पनि आँखा नखोल्ने हो भने समयले तपाईंहरूलाई माफ गर्ने छैन, इतिहासले धिक्कार्ने छ ।’

‘अब नेतृत्वले बोल्नुपर्छ–हामी देश निर्माणमा लाग्छौं !’

कांग्रेस नेता सुनिल शर्माले भनेका छन्, ‘यो अभिव्यक्ति केवल एक व्यक्तिगत आक्रोश होइन, यो हजारौँ असल कार्यकर्ताको मौन चित्कार हो । नेतृत्व अब पनि मौन रहने हो भने कांग्रेसको पतनलाई कसैले रोक्न सक्ने छैन ।’

नेताहरुको पासपोर्ट रोक्काप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति तत्काल रोक्न कडा चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो जिम्मेवारीभन्दा अलग बाटोमा हिँड्न खोजेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले आयोगको हवाला दिँदै गैरकानूनी र गैरसंवैधानिक कार्यहरू गर्न लगाइएको देखिन्छ । सरकारको निर्देशनमै राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कदमहरू खुलेआम राजनीतिक प्रतिशोधको द्योतक हुन् ।’

कांग्रेसले जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अराजकता, आगजनी, तोडफोड र लुटपाट हुँदा मुलुकमा ठूलो क्षति भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको कदमलाई स्वागतयोग्य भने पनि त्यसकै नाममा दल विशेष र नेताहरूमाथि लक्षित प्रतिशोधी कारबाही स्वीकार्य नहुने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी सहित ७६ जनाभन्दा बढीको ज्यान गएको छ, सयौँ घाइते भएका छन्, राष्ट्रलाई खरबौँको क्षति भएको छ । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । तर सरकारद्वारा जारी विज्ञप्ति र गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासन विपरित छ ।’

कांग्रेसले सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने, पीडितलाई अझ आतंकित गर्ने र राजनीतिक दललाई छानीछानी प्रतिशोधी निशाना बनाउने नीति जनताले कहिल्यै स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएको छ । पार्टीले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलमाथि प्रतिशोधपूर्ण राजनीति गर्ने बाटो तत्काल छोड्न आग्रह गरेको छ ।

जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दुःखद घटना : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरे । सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’

उनले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् ।

संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’

उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताएका छन् ।

सभापति देउवाले बडादसै‌ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

इतिहासकै विषम अवस्थामा मुलुक : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मुलुक इतिहासकै सबैभन्दा विषम अवस्थामा उभिएको बताएका छन् । यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको बताएका छन् ।

बडादशैं २०८२ को शुभकामना व्यक्त गर्दै उनले नेपाली कांग्रेसभित्र अझै बलियो एकता आवश्यक रहेको भन्दै बलियो र एकताबद्ध कांग्रेसले नै देशलाई समस्याबाट पार लगाउने बताए ।

जनताको लामो संर्घष, त्याग, बलिदान र उत्सर्गबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको, जननिर्वाचित थलो प्रतिनिधिसभा विघटन गरिएको भन्दै यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनुपर्ने प्रमुख दायित्व नेपाली कांग्रेसमा आएको उल्लेख गरेका छन् ।

‘यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ । त्यसका लागि नेपाली कांग्रेसभित्रको अझै बलियो एकता आवश्यक छ’, उनले भनेका छन्, ‘बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ ।’

प्रतिकूलताबीच पनि सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको भन्दै अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न पनि संयम, संवाद र एकताबाटै सम्भव भएको बताएका छन् ।

‘त्यसले नै मुलुकको हित, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न तथा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ’, डा. कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसले मात्र संविधानलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन र विद्यमान चुनौतीबाट देशलाई पार लगाउन सकिने छ । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सबैलाई आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न म वडा दसैँको अवसरमा आह्वान गर्दछु ।’

डा. कोइरालाले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको प्रदर्शन र ध्वशंसँगै यस वर्षको बडादशैं फरक अवस्था र विषम परिवेशकाबीच मनाउन लागेको उल्लेख गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेका धरोहरहरू नष्ट भएको बताए ।

नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालाको निवास (विराटनगरको कोइराला निवास), ३० वर्षे पञ्चायती कालरात्रिबाट मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनको शंखघोस गरेको गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, सुशासन र सादगी जीवनका पर्याय सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा बाँडेगाउँस्थित आश्रम आगजनीबाट खण्डहरमा परिणत भएकामा दुःख व्यक्त गरेका छन् ।

डा. कोइरालाले ती खण्डहर भनवहरू केबल कसैका घर नभएर सिङ्गो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहास र हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।

कांग्रेस प्रवक्ताको प्रश्न : आक्रमण हुने थाहा हुँदाहुँदै घर नछाड्ने देउवाले देश छाड्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
आज (आइतबार) पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै ‘डिमोरलाइज’ गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनि ‘डिमोरलाइज’ नभएको जिकिर गरे।

‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । सांघातिक हमला हुने देख्दा देख्दै पनि घर छोड्नु भएन भने देश छोड्नु पर्ने कुनै कारण छैन, कल्पना नगरे हुन्छ’ उनले भने ।

प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताएका छन् । ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ’, उनले भने । प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए ।

‘अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन,’ उनले भने ।

कांग्रेस फेरि उठ्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने दावी गरेका छन् । आइतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने बताए । भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गरे । ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौँ’ उनले भने ।

प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । कांग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताए । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने बताए ।

कांग्रेसले यो वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ ।

युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो ।

राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू लगायतमा पनि आगजनी र तोडफोड भएको थियो । ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् ।

नेपाली कांग्रेसले यसलाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना’ को रुपमा लिएको जनाएको छ । त्यसैले यस्तो अवस्थामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय लिइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरी ध्वस्त पारिएको अवस्थाको ‘यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिक बीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ’, भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुबा, दिदीवहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।’

विक्रम संवत् २०३३ सालमा बी.पी. कोइराला भारत निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्किएको दिनको स्मरण गर्दै हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको थियो ।

‘३० मुनिका ३०’ को व्यवस्था पार्टी विधानमा ल्याउनु पर्छ : विश्वप्रकाश शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन् । बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्षमुनिका युवाहरू केन्द्रीय समितिमा समेटिने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् । यसलाई उनले ‘३० मुनिका ३०’ अवधारणा भनेका छन् । ‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिको निश्चित संख्या तोकौं । उनीहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ लाई केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,’ महामन्त्री शर्माले भने ।

शर्माले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रमा सहभागिता सुनिश्चित गर्न प्रत्येक महादेशबाट एक-एक जना तथा मध्यपूर्वबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले देश, लोकतन्त्र र पार्टी नै खतरा परेको बताउँदै पार्टीभित्रको गुटबन्दी रोक्नुपर्ने बताए ।

‘देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनु पर्ने अवस्था आउनु हुँदैन । गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच र संकल्प ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,’ उनले भने । महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बिरगंज पुगेका थिए ।

देउवा दम्पतीमाथि सरकारले बढायो निगरानी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले नयाँ राहदानी बनाएको खुलेपछि सरकारले कडा निगरानी बढाएको छ । उनीहरूको पासपोर्टमा थाइल्यान्ड भिसा समेत लागेको खुलेको छ । देउवा र आरजुले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पाइएको छ ।

उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो । स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट हराएको अनुमान गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेका छन् ।

देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । राहदानी ऐनअनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ । यसअघि देउवा निवासमा बरामद रकमबारे विभागले मुचुल्का उठाइसकेको छ । पूर्व ऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो । यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो ।

गगन र विश्वप्रकाशको एकमत : मंसिरमा नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षर अभियानले हलचल पैदा भइरहेका बेला दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वले अठोट गरेमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् । नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणका काम बाँकी नै रहेका बेला विधानका प्रक्रिया निलम्बन गरेर नियमित महाधिवेशन गर्न सकिने विकल्प उनीहरूले देखाएका हुन् ।

आउँदो मंसिर मसान्तबाट सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिँदैछ । केन्द्रीय कार्यसमितिको म्याद नबढाई नियमित महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिबाट भएमा विशेष महाधिवेशनमा जान नपर्ने तर्क उनीहरुको छ । तर, सभापति तयार नभएकाले विशेष महाधिवेशनको विकल्प अघि बढाउनु परेको उनीहरुको भनाइ छ । नेता शेखर कोइरालाले पनि नियमित महाधिवेशनकै लागि जोड दिँदै आएका छन् ।

पछिल्लो समय आ–आफ्नो समूह निर्माण गरेर अघि बढेका शेखर र गगनबीच विकसित घट्नाक्रमपछि पार्टी रुपान्तरणको दिशामा मिलेरै अघि बढ्ने विषयमा बुधबार लामो छलफल समेत भयो। थापाले नियमित महाधिवेशन चाँडै गराउन अनलाइनबाट सदस्यता भर्न पाउने गरी खुला गरेर प्रत्यक्ष केन्द्रीय नेतृत्व चयन गर्न सकिने विकल्प हुन सक्ने भनेका छन् । ‘विधानका धाराहरू निलम्बन गरेरपनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिने होइन, गर्न सकिन्छ । हाम्रो (दुई महामन्त्री) पहिलो प्राथमिकता यसैमा हो,’ थापाले भने, ‘भाद्र २३ र २४ अगाडि र पछिको नेपाल अब एउटै होइन । त्यसअघि हामीले जे–जे गरेका थियौं, त्यसरी नै अघि बढ्ने सुविधा हामीसँग छैन । पार्टीको नेतृत्व र नीतिमानै हामीले ऐतिहासिक फैसला गर्ने बेला आएको छ । त्यो संकल्प र विश्वास महाधिवेशनबाट सिर्जना गर्नुपर्दछ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न नसकिए मात्रै विशेष महाधिवेशनमा जाने कुरा आफूहरुले उठाएको स्पष्ट पारेका छन् । नियमित महाधिवेशनको नाममा मंसिर कटाउन नहुने दुई महामन्त्रीकै एउटै स्वर छ । ‘विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रक्रियामा हामी लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो,’ शर्माले भने,‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुहुनेछ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन ।’

शर्माले माथिको निर्णयले होस् या तलको दबावले अब नयाँ पार्टीभित्र तत्काल नयाँ नेतृत्व आवश्यक रहेको बताए । पार्टीको विधानको १७ (२) अनुसार बिषम परिस्थितिमा पार्टी केन्द्रीय कार्यसमिति आफैँले विशेष महाधिवेशन बोलाउन सक्छ। २०१४ सालमा केन्द्रीय कार्यसमितिकै निर्णयबाट विशेष महाधिवेशन बोलाएर सुवर्ण शमसेर राणाको ठाउँमा वीपी कोइराला सभापति भएका थिए ।

पार्टी केन्द्रीय कार्यसमितिमा पार्टी सभापति देउवाको दुई तिहाई समर्थन प्राप्त छ । त्यहाँ महामन्त्रीको भन्दा पार्टी सभापतिले चाहेको प्रस्ताव मात्रै पारित हुने भएकाले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन थालिएको महामन्त्री निकट एक पदाधिकारीले बताए ।

‘पार्टी सभापति तत्कालै विशेष वा नियमित महाविधेशनमा जाने पक्षमा हुनुहुन्न । उपचारकै क्रममा रहनु भएका पार्टी सभापति र पूर्व परराष्ट्रमन्त्रीले टेलिफोनबाट विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर पुग्न नदिन आफू निकट नेताहरुमार्फत पहल गर्नु भएको छ’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसमितिले नियमति महाधिवेशन बोलाउला भन्ने विश्वास नभएकालेनै हस्ताक्षर संकलन थालिएको हो ।’

केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग भएमा पार्टी सभापतिले तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउँदापनि मंसिर÷पुसमा जाने, नियमित महाधिवेशन गर्दा मंसिरभित्रै गर्नुपर्ने हुन्छ । दुई विकल्प मध्ये जुनमा गएपनि एउटै समयमा पर्ने भएकाले दुई महामन्त्री र नेता कोइरालाले एउटै स्वरमा मंसिरमै नियमित महाधिवेशनलाई प्राथमिकता दिएका छन् ।

मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिएका छन् ।कांग्रेस प्रदेश सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय समेत गरेको जानकारी दिइन् ।

गत भदौ २४ गते जीनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए । तर फेरि बोली फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते बुझाइसकेको छ ।

तर मुख्यमन्त्री सिंह पछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् । कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको थियो भने एमालेले उनलाई विश्वासको मतसम्म दिने भनिसकेको छ । ‘कांग्रेसले जनमतको नेतृत्वमा सरकारलाई समर्थन दिएको थियो । जब जनमतले नै समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य रहेन’ दलका नेता यादवले भने ।

देउवा दम्पती अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्य स्थिति विश्लेषणपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले जानकारी दिएका छन् । ‘सानेपा र जावलाखेलमध्ये एक ठाउँमा हुन्छ’, उनले भने, ‘उहाँहरूलाई जहाँ उपयुक्त लाग्छ, त्यहीँ जानुहुन्छ ।’

सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ । झम्सिखेलस्थित डा. राणाको स्वामित्वमा रहेको माइती घरसँगै तरुण दलका पूर्व अध्यक्ष तथा राष्ट्रियसभाका सदस्य जितजंग बस्नेतको घर छ ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न समय लाग्ने भएका कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको बताइएको छ । उनको आवास व्यवस्थापनका निम्ति राष्ट्रियसभा सदस्य बस्नेत सक्रिय छन् ।

जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पार्टीका नेताहरूले दिएका छन् । उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) को अगाडि छ । झम्सिखेलको घर भने होटल भिभान्ता नजिकै छ ।
प्रदर्शनकारीले आक्रमण गर्दा सभापति देउवाको गर्धनमा १२ टाँका लगाउनु परेको थियो । डा. राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरुलाई डिस्चार्ज दिन लागेको स्रोतले जानकारी दिएको छ ।

 

कांग्रेस नेता बजगाईका १२ प्रस्ताव : प्रधानमन्त्रीदेखि पार्टी सभापति सबैमा ‘प्राइमरी इलेक्सन’

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले पार्टी रूपान्तरणका लागि १२ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टीलाई लोकतान्त्रिक बनाउँदै लग्नुपर्नेसहितका प्रस्ताव गरेका हुन् । बजगाईले उम्मेदवार छनोट, सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन गरेमात्रै वंशवाद, भागबण्डा र सिन्डिकेट अन्त्य हुने दावी गरेका छन् ।

प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने, जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध सङ्गठनलाई सरल र जबाफदेही बनाउनुपर्ने उनको प्रस्ताव छ । उनले पार्टीको आन्तरिक निर्वाचन चार वर्षमा अनिवार्य हुनुपर्ने, सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिइदिनु पर्ने बताए ।
हेर्नुस नेता बजगाइँका १२ प्रस्ताव–

१. लोकतान्त्रिक पार्टीले के गर्ने ?
प्राइमरी प्रणालीको अवलम्बनः
उम्मेदवार छनोट– सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन ।
मतदाताः
क्लोज्ड प्राइमरी – केवल क्रियाशील सदस्य ।
ओपन प्राइमरी – आम नागरिकलाई सहभागी गराउने ।
नियम – उम्मेदवारले सदस्यता वितरण वा निर्देशन गर्न
सदस्यता वितरण – पूर्णरूपमा अनलाइन डिजिटल प्रणालीमार्फत । तर त्यो Apps अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको हुनुपर्नेछ
उद्देश्य – वंशवाद, भागबन्डा र सिण्डिकेट अन्त्य हुनुपर्नेछ।

२. संगठन संरचना सरलीकरण
प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने ।
जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध संगठनलाई सरल र जवाफदेही बनाउने ।
वडा-नगर इकाई सुदृढ पार्टीको वास्तविक आधार र जनसंपर्क केन्द्र स्थापना ।

३. आन्तरिक निर्वाचन प्रणाली
चार वर्षमा अनिवार्य निर्वाचन।
सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिने हुनुपर्नेछ।
डिजिटल भोटिङ – भ्रष्टाचार, धाँधली र हस्तक्षेप रोक्ने।

४. नीतिगत बहस र थिंक ट्यांक
एयष्अिथ ऋबगअगक निर्माण हुनुपर्नेछ ।
विचारधारात्मक बहसलाई संस्थागत बनाउने ।
प्रमुख नीति – आन्तरिक मतदान र सार्वजनिक बहस अनिवार्य ।

५. पारदर्शिता र जबाफदेहिता
चन्दा-फण्डिङ – पूण रूपमा अनलाइन खातामार्फत सार्वजनिक ।
शून्य सहनशीलता नीति – भ्रष्ट र अपराधीले सदस्यता गुमाउने छ ।
च्भअबिि अधिकार–असफल प्रतिनिधिलाई आम सदस्यले फिर्ता बोलाउने ।

६. समावेशी प्रतिनिधित्व
Youth Quota : ४० वर्ष मुनिका कम्तीमा ५० प्रतिशत ।
Women Quota : न्यूनतम ४० प्रतिशत ।
Diaspora Representation विदेशस्थित नेपालीलाई पनि मतदान अधिकार। तर आन्दोलित Generation बाटै खोज्ने प्रावधान

७. सदस्यता प्रणाली सुधार
डिजिटल एपमार्फत स्वतः सदस्यता नेताले वितरण नगर्ने ।
देशको समग्र प्रणाली विश्वस्तरीय सुरक्षा, liability protection, safeguards पार्टीको विश्वसनीयता प्रधान नीति हुनुपर्नेछ ।

८. बदलिंदो परिस्थितिमा सबै संरचना कार्यसमिति Caretaker हुनुपर्नेछ अनिवार्य छ । सक्रिय कमिटीहरू अस्थायी खारेज तो तदर्थ हुनुपर्नेछ ।

९. सर्वसाधारण मतदान (विशेष व्यवस्था)
कुनै पनि नेपाली नागरिकलाई एक पटक पार्टी नेतृत्व छनोटमा मतदान गर्ने अधिकार । यो पार्टीभित्रका षड्यन्त्रविरुद्ध बाह्य चेक एण्ड ब्यालेन्स अनिवार्य शर्त हो । तर यसलाई क्लोज्ड सदस्यले नियन्त्रण गर्नेछ ।

१०. शून्य सहनशीलता नीति (कठोर प्रतिबद्धता)
भ्रष्टाचार, सामूहिक हत्या वा मानवताविरुद्धको अपराधीलाई आजीवन सदस्यता निषेध गर्नेछ ।
Ethics Committee – अनुशासन र सत्यनिष्ठा सुनिश्चित गर्ने ।

११. राष्ट्रिय सुरक्षा र अर्थनीति
गोर्खा परम्परा पुनर्जागरण – आत्मगौरव र सैनिक शक्ति पुनर्स्थापना ।
महाथिर मोडलबाट प्रेरित पूर्वाधार विकास–एयरपोर्ट, सडक, होटल क्लस्टर, सञ्चार पूर्वाधार ।
उत्तर–दक्षिण ४-६-८ लेन महामार्ग दीर्घकालीन समृद्धिको धमनी ।
विदेशी बैंक र वित्तीय पहुँच नियमनसहित खुला प्रतिस्पर्धा र लगानी प्रवाह ।
सन्तुलित विदेश नीति–भारत, चीन, अमेरिका र पश्चिमसँग व्यवहारिक साझेदारीः राष्ट्रिय स्वार्थ सर्वोपरि ।

१२. युवा र आन्दोलन मान्यता
Gen Z र Alpha लाई निर्णायक ठाउँ नेतृत्व र प्रशिक्षण कार्यक्रम ।
सेप्टेम्बर आन्दोलन–औपचारिक मान्यता, त्यसका मागहरू पार्टी नीतिमा समावेश ।
–नेपाली कांग्रेस वंशवाद–रहित, पारदर्शी, आधुनिक र राष्ट्रिय हितमा अडिग लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुनेछ ।
– सुरक्षा, अर्थतन्त्र, पूर्वाधार, समावेशिता र पारदर्शिता नै भविष्यको कांग्रेसको स्तम्भ ।
– अबको कांग्रेस – जनतासँग, राष्ट्रको आत्मगौरवसहित ।

कांग्रेसले अब संसद पुनर्स्थापनाको माग राख्ने होइन चुनावमा जानुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद पुनर्स्थापनाकाे माग पार्टीले राख्न नहुने बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसद विघटनबारे पार्टीभित्र दुईमत रहेको पनि बताएका छन् ।

उनले भने, ‘संसद् पुनस्र्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन् । चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ । हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौ । तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ । अब संसद पुनर्स्थापनाको माग राख्न हुँदैन ।’

उनले जेनजीले उठाएको मागप्रति समर्थन रहेको पनि बताएका छन् । जेनजीले रूपान्तरण ल्याएर गठन गरेको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति प्रश्न उठाए । उनले भने, ‘बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने जेनजी, जो आउनु भएको छ । एक सय एक आउनु भएको छ । तर, जेनजीको प्रतिनिधित्व बिना सरकारलाई पूर्णता दिने कुरालाई हामीले गम्भीरतापूर्वक राख्नुपर्छ।’

विशेष महाधिवेशन माग्दै कांग्रेसमा शेखर–गगन समूहले थाल्यो हस्ताक्षर अभियान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन् ।

सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ । पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ ।

कांग्रेस नेता शर्माको चेतावनी : समयमै सुधार नभए अझ ठूलो विद्रोह निश्चित छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले हालको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तोष जनाउँदै भविष्यमा अझ ठूलो आन्दोलन हुनसक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक स्टाटसमार्फत उनले राजनीतिक दलहरू र नेताहरूले समयमै आत्मसमीक्षा नगरे ठूलो जनविद्रोह अवश्यम्भावी रहेको औंल्याएका छन् ।

नेता शर्माले जनयुद्ध, जनआन्दोलन र जेन्जी आन्दोलनका उपलब्धिहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यदि दलहरू अझै पनि आफ्ना गल्ती नसच्याई सत्ता केन्द्रित सोचमै रुमल्लिरहे, त्यसको परिणाम भयानक हुन सक्छ ।’

‘यस पटक जेन्जी आन्दोलनमा नेताहरू कुटिए मात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजी खोजी पासविक रूपमा मारिने छन्,’ शर्माले भनेका छन् । उनले यस्तो अवस्था आउन नदिन वर्तमान राजनीतिले आम जनताको न्यूनतम अपेक्षालाई सम्बोधन गर्नैपर्ने आवश्यकता औंल्याएका छन् । उनले सबै राजनीतिक दल र नेताहरूमाथि बेलैमा आत्मसमीक्षा गर्न र जनता र मुलुकको हितमा गम्भीरतापूर्वक सोच्न आह्वान गरेका छन् ।

शर्माद्वारा प्रस्तावित सुधारका बुँदाहरूः

–प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली लागू गर्नुपर्ने ।
–कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने ।
–सांसद पदमा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नहुनु पर्ने र दुई कार्यकालबीच अन्तराल अनिवार्य गर्नुपर्ने ।
–पार्टी सभापति÷अध्यक्ष पनि दुई कार्यकालसम्म सीमित हुनु पर्ने ।
–प्रत्येक ४ वर्षमा अनिवार्य पार्टी महाधिवेशन हुनु पर्ने ।
–न्यायपालिकामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै लोकसेवा आयोगजस्ता स्वतन्त्र निकायबाट न्यायाधीश नियुक्त गर्ने व्यवस्था ।
–विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनीतिक अधिकार बाहेक अन्य सम्पूर्ण अधिकार सुनिश्चित गर्ने ।
–आर्थिक रूपमा कमजोर अभिभावकलाई १ प्रतिशत व्याजदरमा शिक्षा ऋण उपलब्ध गराउने व्यवस्था ।
–१० लाखसम्मको निशुल्क स्वास्थ्य बीमा व्यवस्था गर्नुपर्ने ।

कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।

यस्तै कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ ।

 

चाक्सिबारीमा देउवा निकट पाँच पूर्व पदाधिकारीको छलफल, गच्छदार र श्रेष्ठ अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन् । छलफलमा पूर्व महामन्त्री सिंह, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन् ।

बदलिँदो राजनीतिक घटनाका विषयमा उनीहरूबीच छलफल भएको छ । सात पूर्व पदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । महामन्त्रीद्वयले पार्टी रूपान्तरण गरिछाड्ने बताएका थिए ।

तर प्रवक्ता महतले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए । सिंहलगायत पूर्व पदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै एजेण्डा तय गर्दै अघि बढ्दै आएका थिए । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ । अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको नेताहरुले बताएका छन् ।

 

अन्तरिम सरकार बनाउँदा त्रुटि भएको छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्णरूपमा टेकेर सरकार बन्न नसकेको टिप्पणी गरेका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताए ।

‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं । तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ ।’ उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताएका छन् । ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ । अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ । यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।

प्रवक्ता महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी श्रीमती आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताए । ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ,’ उनले भने ।

गगनलाई प्रकाशशरणको प्रश्न : सभापतिमाथि आक्रमण हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाएका छन् ।

आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।

हेर्नुस् डा. महतको भनाइः

अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ । २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने… हामी त बरु अलि टाढा भएका थियौं । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ ।

उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठिक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठिक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसे हाम्रो पार्टीलाई मजबुत गर्दैन ।

पार्टी रुपान्तरण र पुनर्गठन नगरी टिकाउन सम्भव छैन : गगन थापा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई रुपान्तर र पुनर्गठन गर्नुुपर्ने बताएका छन्। आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै उनले पार्टीलाई पुनर्गठन नगरी चलाउन सकिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

‘यत्रो उथलपुुथल भएको छ,’ थापाले प्रश्न गरेका छन्, ‘हामीले पार्टीलाई जस्ताको तस्तै राखेर राखेर हुन्छ ? राखेर टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नु हुन्छ ?’ आन्दोलनमा व्यक्त भएको भावना अनुसार पार्टी हिँड्ने बनाउन सम्भव रहेको समेत उनले दावी गरेका छन् ।

‘यत्रो उथलपुुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बाउनु छ कि छैन ?,’ थापाको जवाफ छ, छ ।’ तर, त्यसका लागि पार्टी रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।

‘पार्टीको रुपान्तरण, पार्टीको पुनर्गठन नगरीकन यो सम्भव छैन,’ थापाले भनेका छन् । उनले जेनजी आन्दोलनमा व्यापक दमन भएको भन्दै यसको छानविन गरी दोषीमाथि सजाय हुनुपर्ने बताएका छन् ।

सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् ।

आज विराटनगरस्थित शेखर कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए। नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चालेको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको उल्लेख गरे ।

उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ ।

चुनाव तोकिएकै समयमा हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको टिप्पणी गरेका छन् । उनले भने, ‘यस्तो बेलामा सबै कुरा संविधान सम्मत हुँदैन । असंवैधानिक भए पनि भएको संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ । हामीले चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्छ । फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नु पर्छ ।’

उनले सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र चुनावको घोषणा गरेको बताएका छन् । उनले पार्टी पुनर्गठनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए । हिजोको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसबारे उनले भने, ‘कसले के बोल्नु भयो, कसो बोल्नु भयो सबै थाहा छ तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्न सक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्छ।’

शेखर भन्छन्–कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । आज (शनिबार) विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका थिए । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको समेत उनको भनाइ छ । ‘उनीहरूले तीन वटा कुराहरू उठाएका थिए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ ? थाहा छैन,’ उनले भने, ‘चार चोटि जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । ‘म त अचम्ममा परें । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन,’ कोइरालाले भने, ‘घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनु पर्‍यो ।’ संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।

कांग्रेसले कसैलाई कार्यवाहक नदिने, देउवालाई पर्खिने

काठमाडौं । नेपाली कांग्रेसले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।

‘आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ’ उनले सुनाए । आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवाहक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा अहिले उपचाररत छन् । जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा देउवा पनि घाइते छिन् । जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए । आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो ।

संसद् पुनर्स्थापना प्रमुख मुद्दा बनाउनु पर्छ : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाएर जानुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका हुन् ।

सिटौलाले पार्टी बैठकमा राखेको धारणा उदृत गर्दै सहभागी एक नेताले भने, ‘संसद् विघटन संविधान अनुसार छैन । संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि ससद् पुनर्स्थापना हाम्रो प्रमुख माग हुनुपर्छ ।’ उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको छ ।

कांग्रेस कार्य सम्पादन समिति वैठकको निष्कर्ष : संसद विघटन असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको वैठकले संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक भर्चुअल बसेको थियो । सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचारमा छन् । आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पु¥याइएको छ ।