`

कांग्रेस नेता शर्माको चेतावनी : समयमै सुधार नभए अझ ठूलो विद्रोह निश्चित छ

Nepal One HD ६ असोज २०८२ १५:२१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले हालको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तोष जनाउँदै भविष्यमा अझ ठूलो आन्दोलन हुनसक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक स्टाटसमार्फत उनले राजनीतिक दलहरू र नेताहरूले समयमै आत्मसमीक्षा नगरे ठूलो जनविद्रोह अवश्यम्भावी रहेको औंल्याएका छन् ।

नेता शर्माले जनयुद्ध, जनआन्दोलन र जेन्जी आन्दोलनका उपलब्धिहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यदि दलहरू अझै पनि आफ्ना गल्ती नसच्याई सत्ता केन्द्रित सोचमै रुमल्लिरहे, त्यसको परिणाम भयानक हुन सक्छ ।’

‘यस पटक जेन्जी आन्दोलनमा नेताहरू कुटिए मात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजी खोजी पासविक रूपमा मारिने छन्,’ शर्माले भनेका छन् । उनले यस्तो अवस्था आउन नदिन वर्तमान राजनीतिले आम जनताको न्यूनतम अपेक्षालाई सम्बोधन गर्नैपर्ने आवश्यकता औंल्याएका छन् । उनले सबै राजनीतिक दल र नेताहरूमाथि बेलैमा आत्मसमीक्षा गर्न र जनता र मुलुकको हितमा गम्भीरतापूर्वक सोच्न आह्वान गरेका छन् ।

शर्माद्वारा प्रस्तावित सुधारका बुँदाहरूः

–प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली लागू गर्नुपर्ने ।
–कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने ।
–सांसद पदमा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नहुनु पर्ने र दुई कार्यकालबीच अन्तराल अनिवार्य गर्नुपर्ने ।
–पार्टी सभापति÷अध्यक्ष पनि दुई कार्यकालसम्म सीमित हुनु पर्ने ।
–प्रत्येक ४ वर्षमा अनिवार्य पार्टी महाधिवेशन हुनु पर्ने ।
–न्यायपालिकामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै लोकसेवा आयोगजस्ता स्वतन्त्र निकायबाट न्यायाधीश नियुक्त गर्ने व्यवस्था ।
–विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनीतिक अधिकार बाहेक अन्य सम्पूर्ण अधिकार सुनिश्चित गर्ने ।
–आर्थिक रूपमा कमजोर अभिभावकलाई १ प्रतिशत व्याजदरमा शिक्षा ऋण उपलब्ध गराउने व्यवस्था ।
–१० लाखसम्मको निशुल्क स्वास्थ्य बीमा व्यवस्था गर्नुपर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *