`

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन् । भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको बताएका हुन् ।

‘आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने,’ उनले भने, ’यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’

उनले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई निमोठ्न खोजिएको बताए ।

‘दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नु पर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ। जलाएर केही हुने होइन।शुन्यतामा कसैले केही गर्न सक्दैन,’ उनले भने । नेता सिंहले प्रदर्शनमा घुसपैठ भएको पनि बताए । ‘यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ,’ उनले भने ।

कांग्रेसका युवा नेताहरूले मागे सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले आठ निष्कर्षसहित पार्टी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूको राजीनामा मागेका छन् । आज मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले पार्टी केन्द्रीय समिति नै विघटन गर्न भनेको हो ।

यसअघि पार्टीका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारका लागि नेतृत्वले पद छोड्न तयार भए आफू पनि तयार रहेको बताएका थिए । भदौ २३ र २४ गते भएको जेन्जीको आन्दोलनपछि शीर्ष राजनीतिक नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ ।

यस्तो छ भेलाको आठ निष्कर्ष
जेनजी युवाहरूको साहसले प्रारम्भ भएको भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाएका वीर नेपाली युवाहरू प्रति पुनः भावपूर्ण श्रध्दाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र हाम्रा कलिला युवाहरूमाथि गोली प्रहार गरी ज्यान लिनेहरूमाथि छानबिन गरी संलग्न जो कोहीलाई पनि तत्कालै कारवाहीको माग गर्दछौं ।

पार्टी सभापति शेरबहादुर देउवा र परिवारमाथि भएको भौतिक आक्रमण, लौह पुरूष गणेशमान सिंह निवास, कोइराला निवास, सन्त नेता किसुनजीको आश्रमलगायत देशभर नेपाली कांग्रेसका पार्टी कार्यलयहरू, देशका सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटजस्ता कार्यको निन्दा गर्दै यसमा संलग्न जो कोहीलाई पनि तत्कालै कारबाहीको माग गर्दछौं ।
कांग्रेसले अबिलम्ब गर्नुपर्ने प्रमुख सुधारका कार्यहरू

१. नेतृत्वमा नयाँ सोच :

– वर्तमान सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने ।
– वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउने, पार्टीको विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गर्नुपर्ने र आत्माआलोचना गर्दै जनताको घरदैलोमा गई विश्वास दिलाउने ।

२. युवाको सहभागिता :

– ४० वर्ष मुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रीय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउने ।

३. भ्रष्टाचार नियन्त्रणः
– पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने ,सरकारी निकायसँग सहकार्य गर्ने र २०४६ देखि यताका उच्च पदस्थ नेता र कर्मचारीहरूको भ्रष्टाचार छानबिन गरी राज्यको अधिनमा ल्याउने ।

४. सदस्यता प्रणालीमा पारदर्शिता र प्रविधिको प्रयोगः
– सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्ने ।
– सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने ।

५. उम्मेदवारी सम्बन्धमा

८ स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्रियाशील सदस्यहरूबाट छनोट गर्ने व्यवस्था लागू गर्ने। एक पटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने ।

६. शक्ति विकेन्द्रीकरण र एक व्यक्ति एक पदः
– पार्टी सभापतिको एकछत्र अधिकारलाई विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने । एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने ।

७. भातृ–संस्थाको समय सीमाः
– निश्चित समयसीमा भित्र भातृ–संस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य गराउने र पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने ।

८. राजनीतिक नियुक्तिमा सुधारः
–राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र, पेशागत बनाउने र विज्ञहरू लाई प्राथमिकता दिने साथै विज्ञहरूसहित दीर्घकालीन विकास अवधारणा र योजनाहरू बनाउने ।

सानेपा राखियो कांग्रेसका अग्रज नेताको तस्बिर
नेपाली कांग्रेसका नेताहरुले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरुले पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । पार्टी कार्यालयमा नेता–कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरुको तस्वीर राखेका छन् । कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए ।

आन्दोलनका क्रममा आफ्नो नेतामाथि भएको आक्रमण भएको सो दिनलाई कांग्रेसले कालो दिनका रुपमा स्मरण गर्ने उनले बताए । उनले छिटै भौतिक रुपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलका महत्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ ।

कांग्रेस नेता मोहन बस्नेतको आक्रोश : माओवादीका ‘छाउरा’ ले मेरो घर जलाए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त बनाउनमा माओवादी केन्द्रको हात रहेको आरोप लगाएका छन् । यसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको उनको आरोप छ ।

बस्नेतले आज सिन्धुपाल्चोकस्थित आफ्नो जलेको घर अगाडि केही मानिसहरु जम्मा गरेर आक्रोश व्यक्त गरेका छन् । आफ्नो घर ध्वस्त पारिएकोमा उनले कडा आक्रोश पोखेका छन् ।

बस्नेतको अभिव्यक्तिको मुख्य अंश :

मेरो तीनकुनेको घर पनि जलाई दिएँ, यहाँको पनि जलाइ दिए । माओवादीको सक्रियतामा यो सबै भएको छ । तर, यहाँ स्वदेशी मात्र छैनन् विदेशी पनि देखिएका छन् । यो गम्भीर परिस्थिति हो । मलाई कतिपय साथीहरुले तँ अब बोल्ने काम नगर, प्रष्ट बोल्दा देशमा पच्दैन भनेर पनि भनेका छन् ।

तर म यो देशको लागि, नेपाली जनताको लागि, प्रजातन्त्रका लागि धेरै सानो उमेरदेखि लडेको हुँ । मेरो परिवार पञ्च हुँदा पनि म प्रजातन्त्रका लागि लडेको हो । नेपाल आमा रोइरहेको बेलामा कसले के भन्ला, प्रहरी र सेनाले के गर्ला भनेर चुप बस्न मिल्दैन ।

व्यक्तिका घर जग्गाहरु आगजनी गरेका छन् । यहाँको वाल अस्ति भत्काए । फेरि अस्थायी वाल लगाएको, फेरि भत्काउन आए । गोदेर लखेटेको हिजो । हामी राष्ट्रका लागि लडेका हौं, एक–दुई–जनाले ट्याइफ्याँइ गर्दैमा चुप लागेर बस्ने स्थिति छैन । हिजो प्रहरी र सेनाले मलाई सुरक्षा दिन सकेन । सुर्खेतमा नेपाली कांग्रेसका लडाकु साथीहरुले सुरक्षा दिएर राखेको हो ।

मुलुकलाई अप्ठेरो पर्दा, प्रजातन्त्र खतरामा हुँदा नेपाली भन्ने दलाल, फटाहा, लुटेरा, आतंककारी फेरि रमझम गर्न थालेका छन् । आन्दोलनले एउटा रुप लेला । तर यसको कमाण्डर छैन । जुन आन्दोलनमा नेता, कमाण्डर हुँदैन त्यो आन्दोलन स्थिर हुँदैन । आन्दोलनकारीको बीचमा भाँडभैलो र कुटाकुट भइरहेको छ । यो स्थितिमा देशले कति दुख पाउने हो । हामीले नेपाल भन्न पाउने पनि हो कि होइन भन्ने अवस्था छ ।

म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा कांग्रेस जतिको विकास कसले गरेको छ ? कोही माइकल लाल छ हामीसित दोहोरो कुरा गर्न सक्ने ? सिंहदरबारमा आगजनी गर्ने, सर्वोच्च अदालतमा आगजनी गर्नेको निस्कियो ? कोही ल क्याम्पसका पूर्वसभापति, कोही किर्तिपुरका । यो देशमा माओवादी भन्ने कति गद्दार रहेछन् भन्ने देखिएको छ ।

अब चुनाव त के होला, संविधान मिचिएको छ । चुनाव हुने स्थिति भयो भने कांग्रेस भाग्दैन । तिमीहरु सबैका जमानत जफत गरिन्छ, माओवादीका छाउरा हो । जेएनजीका नाममा एउटा मुभमेन्ट चल्यो । त्यसको पछि लागेर देशभरि आतंक गरेको छ ।

प्रचण्डले केही दिनअघि मात्रै सिंहदरबार र बालुवाटरमा आगो लाग्छ भन्ने हिसाबले वक्तव्य जारी गरेको थियो । एमालेको एउटा छाउरो मेयर भइसकेको मान्छेले मोहन बस्नेतको घरघरमा आगो लगाउने भनेर लेखेको छ । हाम्रो साथीहरुले स्क्रिन सट गरेर राखेका छन् । आतंककारीहरु।

मैले यति कुरा बोल्दा बोल्दै मलाई आजैबाट खतरा बढ्न सक्छ । खतराको बाउ बढोस् । म देश र जनताको लागि लड्न तयार छु । आँपको विरुवा उखेलेका छन् । गमला घरघरमा लगेका छन् । फुल उखेल्या छ । यो बाटो मैले बनाइद्या हो । आगो लगाउने माओवादीहरुले मोहन बस्नेतले टेरामक्स काण्ड गरेर कमाएको जग्गा भनेको छ । छिमेकीहरुलाई सोधे हुन्छ । ५६ सालमा किनेको जग्गा हो यो ।

अहिले बनेको सरकार… सरकार के भन्नु तीन दिनसम्म मन्त्रीपरिषद बन्या छैन । यसको हुति हेरौं के हुँदो रहेछ । भएन भने फेरि जनताको जिउधनको सुरक्षा गर्ने, प्रजातन्त्रको रक्षा गर्ने, मुलुकको रक्षा गर्ने कांग्रेसको पालो हो ।

म यो ठाउँमा आउँदा रोपनीको ५ लाख रुपैयाँ थियो । मैले बाटोघाटो, खानेपानी, ढलको व्यवस्था गरेपछि आनाको ६० लाख भएको छ ।छिमेकीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले पनि यसको रेखदेख गर्नुपर्ने हुन्छ । तपाईंहरुले पनि के ठिक के बेठिक छुट्याउनु पर्छ । कसले चोरेको भन्नुपर्यो, ठेगान हामी लगाउँला । चोर्न बानी परेकाले भोलि तपाईंको घर चोर्छन् । पर्सी अर्कोलाई लुट्ला । त्यो बेला हाम्रो संरक्षण चाहिन्छ ।

सभापति देउवा र नेतृ राणामाथिको आक्रमण अमानवीय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई पनि कांग्रेसले अमानवीय भन्दै निन्दा गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनमा युवाको ज्यान जानु र खर्बौं मूल्यको सम्पत्ति नष्ट हुनु दुःखद भएको उल्लेख छ । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दै घटनाको छानबिन तत्काल सुरु गर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।

विज्ञप्तिमा आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्ममा भएको तोडफोड र आगजनी निन्दनीय र भत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । कांग्रेसले सरकारले वास्तविक क्षतिको आंकलन तत्काल सुरु गर्न माग गरेको छ ।

हाम्रो प्रस्ताव विपरीत संसद विघटन गरियो, जेनजी आन्दोलनकै मर्म खतरामा पर्‍यो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन संविधान विपरित भन्दै विरोध जनाएको छ । विकसित घटनाक्रमबारे उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको सात प्रदेश सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागीमा बसेको बैठकले संसद् विघटनको विरोध गरेको हो ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिँदा समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।’

संविधानको संरक्षक र पालनकर्ताका रूपमा आवश्यकताको सिद्धान्त अनुरूप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र यही प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ ।’

संसद् विघटन संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत भएको कांग्रेसको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ, ‘चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाज लगायतसँग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।’

अब कांग्रेस पुनर्गठन गर्नैपर्छ : राजेन्द्र बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले अब कांग्रेस पुनर्गठन गर्नैपर्ने बताएका छन् । सामाजिक सञ्जालबाट अपिल जारी गर्दै उनले लेखेका छन्, ‘अब कांग्रेसको पुनर्गठन गर्नैपर्छ, तर विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न सक्दैन ।’

नयाँ उदाउन खोजेका पार्टीहरूमा अन्य दलसहित कांग्रेसबाट विकर्षित युवा धेरै भए पनि उनीहरूमा राष्ट्र निर्माणको निश्चित खाका नरहेको उनको टिप्पणी छ । संख्याको बलमा संसदमा हुने गठबन्धन, चुनावमा निहित नेताको क्षेत्रमा दलबाट एक्लै आशीर्वाद प्राप्त गर्नु र पछिल्ला समयमा प्रतिस्पर्धी दलसँग भइरहेको अनैतिक सहकार्यले समर्थकलाई निरन्तर विकर्षित गराईराखेको उनले बताएका छन् । पार्टीले पछिल्लो समयमा भएका सबै गठबन्धनहरू तोड्दै, राष्ट्रनिर्माणको गठबन्धनको नौलो रणनीति आत्मसात गर्नुपर्ने उनको आग्रह छ ।

हेर्नुस् बजगाईंको अपिल

देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । लामो समयदेखि चुनाव भएर नयाँ सरकार बने पनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको उनले बताएका छन् ।

उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नु हुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔं । विधिमा ल्याऔं । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस् ।’

उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले अब पार्टीमा आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि भएको हातपात घटनाको जति निन्दा गरे पनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्तिमाथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । देउवा निवासमा रहेका सरसामान समेत प्रदर्शनकारीले लिएर लगाएका थिए । उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् ।

कोइरालाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँमाथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरे पनि कम हुन्छ । २४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले एक सय वर्ष भन्दा अगाडि बनाएको घरमा गिरीजाप्रसाद कोइराला हुँदै हाल नेता शेखर बस्दै आएका थिए । हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको निवासमा आगो लगाइएको भन्दै शेखर भन्छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्दैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिइँदैन । कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नव निर्माणमा जुट्ने प्रण गरौं ।’

संकट समाधानका लागि संवैधानिक बाटो रोज्नु पर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिलकुमार शर्माले तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठन गर्न संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन् । सांसद शर्माले राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिएका छन् ।

उनले आन्दोलनरत युवा समूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन् । स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, ६ महिनादेखि एक वर्षभित्र आम निर्वाचन र निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने जनाए छन् ।

शक्ति सन्तुलन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति र प्रधानमन्त्रीमन्त्री हुन नपाउने व्यवस्था गर्ने, न्यायालय सुधार विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

भ्रष्टाचार छानबिन र उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, राजनीतिक दल सुधार राजनीतिक दलको पदाधिकारीहरूको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्नुपर्ने जनाएका छन् ।

जेन–जीले चाहे जस्तै सरकार बन्छ, वातावरण बनाइ दिन संवादमा छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको तत्कालीन राजनीतिक निकासका लागि नेपाली कांग्रेस हर सम्भव प्रयास गरिरहेको बताएका छन् । आज (शुक्रबार) भिडिओ वक्तव्यमार्फत पार्टीलाई सम्बोधन गर्दै गगनले यस्तो जानकारी गराएका हुन् ।

‘हामी सबै पक्षसँग संवाद गरिरहेका छौं । सम्माननीय राष्ट्रपतिलगायत अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं,’ गगनले भने, ‘हामी आन्दोलनकारी साथीहरूसँग पनि कुन न कुनै माध्यमबाट पुग्ने कोशिस गरिरहेका छौं, कुनै न कुनै पहल भइरहेको छ ।’ कांग्रेस जेन–जी आन्दोलनकारीले जे काम राखेका छन् त्यो माग सम्मानसहित सम्बोधन गरेर मात्रै अगाडि बढ्न सकिने कुरामा प्रष्ट रहेको उनले बताए ।

‘अन्तरिम सरकार बन्ने कुरा छ । सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँले छानेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस तयार मात्र होइन, त्यसका लागि वातावरण बनाइदिने कुरामा रहेको छ,’ उनले भने ।

त्यसै सरकारले अगाडिका काम निर्वाचन, घटनाका छानबिन, क्षतिको पुनर्निर्माणको नेतृत्व गर्ने गगनले बताए । उनले भने, ‘तर, एउटै कुरा छ, यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । किनकि २०७२ले दिएको संविधान जोगिएन भने स्थायी समाधान हुँदैन,’ उनले भने । संविधान बाहिर जाँदा बाटै सजिलो नभएको उनले बताए ।

‘यति धेरै भत्किएको छ, कसैले कल्पना पनि गरेको छैन,’ गगनले भने । संविधानकै दायरामा रहेर अन्तरिम सरकार बनाउनेदेखि २०४६ यताका पदाधिकारीको छानबिन गर्ने, अख्तियारको पुनर्नियुक्ति गर्नेलगायतमा पहलकदमी गरिरहेको उनले बताए । महामन्त्री गगन थापाले आफूहरूको अनुहारमा दाग लागेको भएकाले अब जनतासँग माफी माग्नुपर्ने बताएका छन् । भदौ २३ गते कसैले नचाहेको अकल्पनीय घटना हुँदा आफूहरू सरकारमै भएकाले कांग्रेसले माफी माग्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नु पर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नु पर्छ, यो घाउलाई पुर्ने हामीले कोशिस गर्नुपर्छ । भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन् ।’

उनले नियतवश पार्टीसहितका सबै नेताहरूको घर जलाउनेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौँ साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानु पर्छ । तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनु पर्छ ।’

केन्द्रीय कार्यालयमा झण्डा र बीपीको फोटो राख्दै कांग्रेस कार्यकताले लेखे– हामी उठ्ने छौं

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज (शुक्रबार) बिहान युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका हुन् ।

बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ । केही प्रदर्शनकारीले आगजनी गरिदिँदा कांग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्व प्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ । संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल छलफलमै छन् । वार्ता आज हुँदैछ ।

जेन–जीको हुटहुटी दु:खान्त नहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जीलाई संयम भएर अगाडि बढ्न सुझाव दिएका छन् । जेन–जीको आन्दोलनपछि पहिलो पटक सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । उनले ‘जेन–जीको हुटहुटी दुखान्त नहोस्’ भन्नेमा सचेत गराएका छन् ।

‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नै पर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीकार गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ ? फेरि अर्को आन्दोलन हुन्छ ।’

अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनको भनाइ छ । ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं । तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए । गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए । ‘तपाईंहरूले नै सम्हाल्नु पर्छ, बिग्रँन दिन हुँदैन,’ उनले भने । थापाले माफी माग्दै सुध्रने वाचा समेत गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो मात्रै रोक्न सकेको भए सम्भवतः आज यति ठूलो घटना नहुने बताएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न अनुरोध गरेको तर सफल हुन नसकेको सांसद थापाले बताएका छन् ।

उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो । म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु । त्यो अपराध थियो । यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ । किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ । र, त्यो दिन बिहान भनेको थिएँ– युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस् । बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ । हामी सबै मिलेर दबाब सिर्जना गर्‍यौँ भएन । सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला । अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपथ्र्यो भन्ने लाग्छ । त्यो नगर, नगर भनियो, आखिर भयो ।’

 

 

गगन–विश्वले भने–कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हालै जेनजी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संयम, संवाद र एकताको माध्यमबाट मात्र मुलुकलाई निकास दिन सकिने बताएका छन् ।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको पनि उनीहरुले स्वीकारेका छन् ।

मंगलबार जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ लैजान सबै पक्षले संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

उनीहरूले राष्ट्रपतिले अघि सारेको संवाद पहलको स्वागत गर्दै सबै पक्षसँग छलफल गरेर मात्र समाधान खोज्नु पर्नेमा जोड दिइएको छ । संविधानको बाटोबाट बाहिर नजान र नयाँ राजनीतिक संरचना बनाउनु पर्ने अवस्थामा पनि वैधानिक उपाय अवलम्बन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन् ।

सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै उनीहरूले गम्भीर अपराधका घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् । यस्तै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा र आगजनीतर्फ मोड्ने नियतवस घुसपैठ गर्ने समूहहरूको कठोर निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिको छानबिन र पुनर्निर्माणको योजना तत्काल बनाउन आग्रह गरिएको छ ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पनि दुःख प्रकट गर्दै निन्दा गरेका छन् । ‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं,’ उनीहरूले भनेका छन् ।

लोकतान्त्रिक संविधानमाथि आघात नपुग्ने गरी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने, संविधानभन्दा पछाडि फर्किन नहुने र उपलब्ध उपलब्धिलाई उल्ट्याउन नहुने उनीहरूको भनाइ छ । नेपाली कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी भन्दै एकताबद्ध रहन पार्टी शुभचिन्तकहरूलाई उनीहरूले आग्रह गरेका छन् ।

‘हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकूल र प्रतिकूल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ। दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनु भएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ,’ उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो ।

त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं–गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।’

हेर्नुस् विज्ञप्ति

कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नव युवाहरूले अवश्य पनि यस्तो नचाहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर निजी सम्पत्ति, उधोग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ ।’

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’

लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनस्र्थापना लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’ जेन जी आन्दोलनको क्रममा भएको दुःखद घटना भएकोप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा भेटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

विश्वप्रकाशको झापाको घरमा आगजनी

झापा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको झापाको घरमा तोडफोड गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद समेत रहेका शर्माको धुलाबारीस्थित घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।
प्रदर्शनकारीले घरभित्र रहेका सबै सामान बाहिर निकालेर जलाएका हुन् । जेनजी आन्दोलन कोशी प्रदेशमा पनि उग्र बनेको छ । आन्दोलन नियन्त्रण बाहिर गएको छ ।

झापा, विराटनगर र इटहरी तनावग्रस्त बनेको छ । विराटनगरको प्रदेश सभाभित्र प्रवेश गर्न लागेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मास्क तथा रुमालले मुख बाँधेका व्यक्तिहरूले शर्माको घरमा आगो लगाएका हुन् ।

देउवालाई गगन–विश्वप्रकाशको चेतावनी : नमाने अन्य प्रक्रियाबाट अघि बढ्न बाध्य हुन्छौं

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर नेकपा (एमाले) सँग भएको सात बुँदे सहमतिको औचित्य सकिएको घोषणा गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन् । ‘सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली ! अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका न्भलश् पुस्ता माथिको दमन निन्दनीय छ ।’

उनीहरूले भनेका छन्, ‘तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं । सभापति ज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं ।’

उनीहरूले नवीन राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका प्रधानमन्त्रीले नै खोल्नुपर्ने बताएका छन् । ’प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर ‘नविन राष्ट्रिय सहमति’ निर्माणका लागि ढोका खोल्नुपर्छ,’ उनीहरूले विज्ञप्तिमा भनिएका छन्, ‘जेनजी पुस्तालाई हाम्रो अपील छ– तपाईंहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौं । आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौं ।’ त्यस्तै उनीहरूले सबै राजनीतिक दललाई अहिलेको अवस्थालाई खुला संवादमार्फत समाधान गर्न ऐक्यवद्धताका लागि अपील गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयमा लगाइयो आगो, गगन थापाको घर अगाडि ढुंगामुढा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगो लगाइएको छ । आन्दोलनमा उत्रिएका आक्रोशित जेनजीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् । यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।

 

कांग्रेस सभापति देउवा र निवर्तमान गृहमन्त्री लेखकको निवासमा तोडफोड

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ ।

प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् । मंगलबार प्रदर्शनकारीले घर अगाडि टायर बालेर नाराबाजी पनि गरेका छन ।

घरभित्रको सामान झिकेर प्रदर्शनकारीले जलाएका हुन् । प्रहरीले दुई सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । सोमबार जेनजीको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको थियो । मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । १९ जनाको ज्यान गएको भन्दै मंगलबार बिहानैदखि प्रदर्शनकारीहरू नेताहरूको घरघरमा पुगेर तोडफोड गरिरहेका छन् ।

 

कृषिमन्त्री अधिकारीले दिए राजीनामा, कांग्रेसका अरु पनि परामर्शमा

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी बिजय अधिकारीले पुष्टि गरेका छन् । नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब बढेको छ ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको भन्दै कांग्रेसले सरकार छाड्नु पर्ने मत राखेका छन् । यसै गरी कांग्रेसबाट कृषि मन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

‘कर्फ्यू छ बाहिर निसक्न सकेको छैन’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसक्नु भयो ।’ नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन लगाएपपछि उनी निकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए ।

कांग्रेसका अरू मन्त्रीहरू पनि राजीनामाका लागि पार्टीसँग परामर्शमा छन् । एक साता लामो भ्रमणका चीनमा रहेका नेता कोइराला देशको वर्तमान असहज परिस्थितिका कारण बसाई छोट्याएर भोलि (बुधबार) नै नेपाल फर्कदै छन् । हिजो जेनजीको आन्दोलनमा प्रहरी दमन हुँदा १९ जनाको ज्यान गएको थियो । भने साढे तीन सय बढी घाइते भएका छन् ।

आफू पक्षका मन्त्रीलाई चीनबाटै शेखरको फोन : राजीनामा दिनू

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन् । हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।

‘म राजीनामा दिनेबारे अरू साथीहरूसँग सल्लाह गर्दैछु’, उनले भने, ‘कर्फ्यू लागेकाले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ ।’ सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ । कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् ।

शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन् । त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन् । तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन् ।

यता जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि युवाले नयाँ बानेश्वरमा बिहानैदेखि भेला भएर कर्फ्यू उल्लंघन गर्दै विरोध प्रदर्शन थालिसकेका छन् । जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए । उपत्यका बाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ ।

चीन भ्रमण छोट्याएर नेपाल फर्किदै डा. कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन् । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै उनले पूर्व निर्धारित कार्यक्रम छोट्याउने निर्णय गरेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।

चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका डा. कोइराला ‘बेल्ट एन्ड रोड–क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी’ मा प्रमुख वक्ताका रूपमा सहभागी भइरहेका थिए ।

तर, उनले निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्किने निर्णय गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. कोइराला भोलि बुधबार रातिसम्म नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनको हतारको स्वदेश फिर्तीले नेपाली राजनीतिमा थप सरगर्मी बढाउने अनुमान गरिएको छ ।

पार्टी बैठकमा गृहमन्त्रीले भने-नैतिकताका आधारमा राजीनामा दिन्छु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी कांग्रेस पदाधिकारी बैठकमा गराएका छन् । उनको राजीनामा आजै आउने सम्भावना रहेको एक पदाधिकारीले जानकारी दिएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।

मनाङ उपनिर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मनाङमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

‘मनाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ, मुख्य सचिवजीलाई दल दर्ताका लागि जिम्मेवारी दिइएको छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । २०७९ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजिब गुरूङ (दीपक मनाङे) यो क्षेत्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेको सांसद पद खारेज गरेको थियो । उनीमाथि चक्रे मिलनलाई आक्रमण गरेको मुद्दा थियो । रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

देउवाको पोस्टमा बालेनको प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । हिजो (शनिबार) साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए ।

देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु ।’ देउवाले कार्यक्रमका केही तस्वीरहरू पनि सार्वजनिक गरेका छन् ।
त्यही पोस्टमा बालेनले प्रतिक्रिया जनाएका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?’ उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’ बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ ।

कांग्रेस सभापति देउवाले हिजो मोरङमा पत्रकारसँग कुरा गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय नगरेको बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने नभई नियमन गर्ने कुरा गरेको पनि उनले बताएका थिए । एकै पटक २६ वटा सामाजिक सञ्जाल सरकारले निस्क्रिय बनाएपछि आम नागरिकले सकस खेपिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले भने नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय नभएको बताएका हुन् ।

बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ । कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही–३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदैछन् ।

रुपन्देही–३ मा यसअघि राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन र मनाङ खबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ भनिने दीपक मनाङे कारागार चलान भएपछि यी स्थान रिक्त छन् । त्यसमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

 

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय गरेको छैन : देउवा

विराटनगर । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय नगरेको बताएका छन् ।
आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सामाजिक सञ्जाल बन्द हुने हल्ला भ्रामक भएको बताए ।

उनका अनुसार सरकार र अदालत दुवैले सामाजिक सञ्जाल बन्द होइन, दर्ता अनिवार्य गर्ने कुरा मात्र उठाएका जिकिर गरे । ‘सामाजिक सञ्जाल बन्द गर भन्ने कुरा छैन,’ देउवाले भने, ‘दर्ता गर भनिएको हो । अदालतले पनि त्यही भनेको छ ।’

उनलाई पत्रकारले सोधका थिए–सामाजिक सञ्जाल सधैका लागि बन्द भएको हो ? देउवाले त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले पति दर्ता गर भनेको र बन्द गर नभनेको उल्लेख गरे ।

‘त्यो बन्द भएको छैन, दर्ता गर भनेको छ प्रधानमन्त्रीले,’ उनले भने, ‘ओलीजीले पनि दर्ता गर भनेको छ । अदालतले पनि दर्ता गर भनेको छ । बन्द गर त भनेको छैन ।’

देउवाले यस्तो तर्क गरे पनि बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो ।

देउवाले सामाजिक सञ्जाल बन्द हुने भ्रममा नपर्न जनतालाई आग्रह समेत गरे । देउवाले संविधान संशोधन र सरकार पुनर्गठनबारे पनि धारणा राख्दै सर्वदलीय सहमति बिना संविधान संशोधन सम्भव नहुने र मन्त्रिपरिषद् पुनर्गठनको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

कोरियामा जस्तै मासिक दुई लाख बचत गर्न सक्ने गरी रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आज नेपालका केटाकेटीहरूलाई देशभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्ने सपना देख्नु पर्ने बताएका छन् । महामन्त्री थापाले आजको नेपाली कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताए ।

शनिबार काठमाडौँमा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालबाट धेरै युवा रोजगारीको लागि विदेश जाने गरेकाले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कांग्रेसका लागि सरकारमा टिक्नु र सरकारमा रहने नरहने भनेको गौण कुरा मात्रै हुनुपर्ने बताए । उनले भने, ‘आजको कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले कांग्रेस लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् ।’

देशमा थुप्रै कुराहरू बदलिएको भन्दै मान्छेहरूको आकांक्षा पनि बढेको बताए । उनले भने, ‘म अस्ती कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ कमाई अडाई लाख छ मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ, मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०-५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन ।’

उनले देशमा अहिले लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै उनले आजको कांग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए । थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताए । त्यस्तै थापाले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए ।

‘कांग्रेस स्थापनाकाल देखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ,’ उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनु पर्छ ।’

 

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् ।

आज नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए । उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।’

यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे । उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनु पर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए ।

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

विराटनगर । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’ उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने जानकारी दिएका छन् ।

त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनले बताएका छन् । वर्तमान सरकारबाट मन्त्री फिर्ता नगर्ने उनले बताए । मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको उनले बताएका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा आइसकेका छन् ।

 

 

शेरबहादुर देउवा

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक भोलि (आइतबार) बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापना गरियोस् : एनपी साउद

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारसँग सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापनाको लागि आग्रह गरेका छन् । बन्द गर्ने निर्णयले जनताको सूचना सम्प्रेषण, अभिव्यक्ति स्वतन्त्रता, अध्ययन, अनुसन्धान र प्रतिक्रियाको हकलाई गम्भीर असर पुगेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘नेपालमा सामाजिक सञ्जाल नियमनको लागि दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सरकारबाट बन्द गर्ने निर्णयले जनताको सूचना सम्प्रेषण, अभिव्यक्ति स्वतन्त्रता, अध्ययन, अनुसन्धान र प्रतिक्रियाको हकलाई गम्भीर असर पुगेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक मुलुकको स्वतन्त्र अभिव्यक्ति छबिको समेत सम्मान गर्दै सरकारलाई धैर्य र संयमता साथ सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापनाको लागि आग्रह गर्दछु।’ कानुन बमोजिम नियमन प्रक्रियाका लागि आवश्यक थप समय र पूर्वाधार समेत पूरा गर्ने अवसर प्रदान गरेर अगाडि बढ्न उनले सुझाव पनि दिएका छन् ।

कर्मचारीले कुनै पार्टीको काम गर्नु हुँदैन : देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए ।

देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै देउवाले पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए ।

सभापति देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौं । हामी अरु पार्टीलाई पनि सहभागी गराउन सक्छौं । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन ।’

सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताएका छन् । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने उनको भनाइ थियो ।

 

रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिकाे सभापति बनाउने कांग्रेसको तयारी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी अगाडि बढाएको छ । संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ । समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन् ।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए । निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको पाइएपछि संसदीय छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठह¥याएको थियो भने उनले त्यसैका कारण प्रतिनिधि सभाको साउन २७ गते पदबाट राजीनामा दिएका थिए ।

तर खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुलिङ पिरियड दुई वर्ष राख्नु पर्ने अडान राख्दै आएका थिए । कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन लागेको हो । बिहीबार संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ ।

खतिवडालाई नै समिति सभापति पदमा पठाउने तयारीमा पार्टी छ । ‘रामहरिजीलाई संसदीय सुनुवाइ समिति सभापति बनाउने तयारी छ,’ कांग्रेसका एक पदाधिकारीले भने । खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमै दोहोर्‍याउने पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का थिए तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मानेनन्, त्यसपछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने निर्णय भएको थियो ।

कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटि राष्ट्रिय सभाबाट सच्चाइसकिएको अवस्थामा कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई पठाउन लागेको हो । कांग्रेसका ती पदाधिकारीका अनुसार प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई संसदीय सुनुवाइ समिति सभापति पदमा पठाउन खोजे पनि उनले मानेका थिएनन् । खतिवडाले संसदीय समिति सभापतिभन्दा पनि आफू मन्त्री हुन पाए हुन्थ्यो भन्ने कुरा नेताहरूसँग राखेका थिए । ‘भविष्यको जिम्मेवारीको कुरा संसदीय सुनुवाइ समिति सभापति हुँदा पनि रोकिने कुरा होइन’ भनेर खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति पदमा उम्मेदवारी दिन पार्टीले भनेको स्रोतको भनाइ छ ।