सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापना गरियोस् : एनपी साउद


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारसँग सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापनाको लागि आग्रह गरेका छन् । बन्द गर्ने निर्णयले जनताको सूचना सम्प्रेषण, अभिव्यक्ति स्वतन्त्रता, अध्ययन, अनुसन्धान र प्रतिक्रियाको हकलाई गम्भीर असर पुगेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘नेपालमा सामाजिक सञ्जाल नियमनको लागि दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सरकारबाट बन्द गर्ने निर्णयले जनताको सूचना सम्प्रेषण, अभिव्यक्ति स्वतन्त्रता, अध्ययन, अनुसन्धान र प्रतिक्रियाको हकलाई गम्भीर असर पुगेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक मुलुकको स्वतन्त्र अभिव्यक्ति छबिको समेत सम्मान गर्दै सरकारलाई धैर्य र संयमता साथ सामाजिक सञ्जाल प्लेटफर्महरुको पुनर्स्थापनाको लागि आग्रह गर्दछु।’ कानुन बमोजिम नियमन प्रक्रियाका लागि आवश्यक थप समय र पूर्वाधार समेत पूरा गर्ने अवसर प्रदान गरेर अगाडि बढ्न उनले सुझाव पनि दिएका छन् ।