कर्मचारीले कुनै पार्टीको काम गर्नु हुँदैन : देउवा


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए ।
देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै देउवाले पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए ।
सभापति देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौं । हामी अरु पार्टीलाई पनि सहभागी गराउन सक्छौं । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन ।’
सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताएका छन् । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने उनको भनाइ थियो ।