`

हाम्रो प्रस्ताव विपरीत संसद विघटन गरियो, जेनजी आन्दोलनकै मर्म खतरामा पर्‍यो : कांग्रेस

Nepal One HD २८ भदौ २०८२ १३:२२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन संविधान विपरित भन्दै विरोध जनाएको छ । विकसित घटनाक्रमबारे उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको सात प्रदेश सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागीमा बसेको बैठकले संसद् विघटनको विरोध गरेको हो ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिँदा समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।’

संविधानको संरक्षक र पालनकर्ताका रूपमा आवश्यकताको सिद्धान्त अनुरूप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र यही प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ ।’

संसद् विघटन संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत भएको कांग्रेसको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ, ‘चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाज लगायतसँग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *