देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । लामो समयदेखि चुनाव भएर नयाँ सरकार बने पनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको उनले बताएका छन् ।
उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नु हुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔं । विधिमा ल्याऔं । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस् ।’
उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले अब पार्टीमा आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।