देउवालाई गगन–विश्वप्रकाशको चेतावनी : नमाने अन्य प्रक्रियाबाट अघि बढ्न बाध्य हुन्छौं


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर नेकपा (एमाले) सँग भएको सात बुँदे सहमतिको औचित्य सकिएको घोषणा गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।
सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन् । ‘सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली ! अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका न्भलश् पुस्ता माथिको दमन निन्दनीय छ ।’
उनीहरूले भनेका छन्, ‘तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं । सभापति ज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं ।’
उनीहरूले नवीन राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका प्रधानमन्त्रीले नै खोल्नुपर्ने बताएका छन् । ’प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर ‘नविन राष्ट्रिय सहमति’ निर्माणका लागि ढोका खोल्नुपर्छ,’ उनीहरूले विज्ञप्तिमा भनिएका छन्, ‘जेनजी पुस्तालाई हाम्रो अपील छ– तपाईंहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौं । आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौं ।’ त्यस्तै उनीहरूले सबै राजनीतिक दललाई अहिलेको अवस्थालाई खुला संवादमार्फत समाधान गर्न ऐक्यवद्धताका लागि अपील गरेका छन् ।