जेन–जीको हुटहुटी दु:खान्त नहोस् : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जीलाई संयम भएर अगाडि बढ्न सुझाव दिएका छन् । जेन–जीको आन्दोलनपछि पहिलो पटक सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । उनले ‘जेन–जीको हुटहुटी दुखान्त नहोस्’ भन्नेमा सचेत गराएका छन् ।
‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नै पर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीकार गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ ? फेरि अर्को आन्दोलन हुन्छ ।’
अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनको भनाइ छ । ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं । तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’
उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए । गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए । ‘तपाईंहरूले नै सम्हाल्नु पर्छ, बिग्रँन दिन हुँदैन,’ उनले भने । थापाले माफी माग्दै सुध्रने वाचा समेत गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो मात्रै रोक्न सकेको भए सम्भवतः आज यति ठूलो घटना नहुने बताएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न अनुरोध गरेको तर सफल हुन नसकेको सांसद थापाले बताएका छन् ।
उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो । म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु । त्यो अपराध थियो । यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ । किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ । र, त्यो दिन बिहान भनेको थिएँ– युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस् । बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ । हामी सबै मिलेर दबाब सिर्जना गर्यौँ भएन । सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला । अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपथ्र्यो भन्ने लाग्छ । त्यो नगर, नगर भनियो, आखिर भयो ।’