गगन–विश्वले भने–कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी हो


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हालै जेनजी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संयम, संवाद र एकताको माध्यमबाट मात्र मुलुकलाई निकास दिन सकिने बताएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको पनि उनीहरुले स्वीकारेका छन् ।
मंगलबार जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ लैजान सबै पक्षले संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।
उनीहरूले राष्ट्रपतिले अघि सारेको संवाद पहलको स्वागत गर्दै सबै पक्षसँग छलफल गरेर मात्र समाधान खोज्नु पर्नेमा जोड दिइएको छ । संविधानको बाटोबाट बाहिर नजान र नयाँ राजनीतिक संरचना बनाउनु पर्ने अवस्थामा पनि वैधानिक उपाय अवलम्बन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन् ।
सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै उनीहरूले गम्भीर अपराधका घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् । यस्तै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा र आगजनीतर्फ मोड्ने नियतवस घुसपैठ गर्ने समूहहरूको कठोर निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिको छानबिन र पुनर्निर्माणको योजना तत्काल बनाउन आग्रह गरिएको छ ।
उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पनि दुःख प्रकट गर्दै निन्दा गरेका छन् । ‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं,’ उनीहरूले भनेका छन् ।
लोकतान्त्रिक संविधानमाथि आघात नपुग्ने गरी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने, संविधानभन्दा पछाडि फर्किन नहुने र उपलब्ध उपलब्धिलाई उल्ट्याउन नहुने उनीहरूको भनाइ छ । नेपाली कांग्रेस धेरै पटक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अघि बढेको पार्टी भन्दै एकताबद्ध रहन पार्टी शुभचिन्तकहरूलाई उनीहरूले आग्रह गरेका छन् ।
‘हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकूल र प्रतिकूल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ। दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनु भएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ,’ उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो ।
त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं–गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।’
हेर्नुस् विज्ञप्ति