`

मुख्यमन्त्री नियुक्ति विवाद : मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड र नाराबाजी

काठमाडौँ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेसका नेता–कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड र नाराबाजी गरेका छन् । त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत फालेका छन् । कांग्रेसको तोडफोडबाट मुख्यमन्त्रीको कार्यकक्षमा क्षति पुगेको छ । त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन् ।

प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपासहितका प्रदेश सांसद र दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन् । आज बिहान मात्रै भण्डारीले बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

त्यसप्रति कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपालगायतका दल असन्तुष्ट छन् । उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए । तर, एमाले कोटामा प्रदेश प्रमुख बनेकी झापा निवासी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद देखिएको हो ।

 

 

कांग्रेसको देउवा समूह तीन धारमा विभाजित

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरुले असंवैधानिक ठहर गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । राजनीतिक दलहरुले संसद विघटनलाई असंवैधानिक बताए पनि नेताहरुले भने सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले निर्वाचनको विकल्प नभएको बताएपनि दुई ठूला दल नेपाली काँग्रेस र एमालेले भने आधिकारिक रुपमा निर्वाचनमा जाने सम्बन्धि निर्णय भने गरेका छैनन् ।

जेन–जी आन्दोलनले सत्ताच्युत भएको नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक हाल जारी छ । नेकपा एमालेले भने संसद पुनःस्थापनामा नै जोड दिएको छ । अन्य साना राजनीतिक दलहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । नेपाली कांग्रेसको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले निर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समितिको बैठकमा सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिनेमा सबै केन्द्रिय सदस्यहरुको मत रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

गत असोजमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा संसद पुनःस्थापनाको निर्णयमा लेखाइएको भए पनि केन्द्रिय समितिमा संसद पुनःस्थापनाको विषयलाई एजेण्डा बनाइएको छैन । संविधानलाई सही ट्रयाकमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको उनको भनाई छ । उनकाअनुसार पार्टीभित्र केही केन्द्रिय सदस्यहरु भने संसद पुनःस्थापनाबाट मात्रै समाधान खोज्नुपर्ने पक्षमा छन् । तर चुनावमा सहभागी हुने धारणा बलियो बन्दै गएको उनले बताए । विशेष गरेर संसदमा रहेका नेताहरुले संसद पुनःस्थापनामा केही जोड दिएको उनको भनाई छ । उनले असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको पक्षमा अडान लिने नेताहरु अहिले केन्द्रिय समितिमा भने मौन रहेको बताए ।

उनले भने, ‘पार्टीको केन्द्रिय समितिको बैठकमा यही सरकारले घोषणा गरेको भए पनि निर्वाचनमा भाग लिने कुरामा सबै केन्द्रिय सदस्यको तर्फबाट कुरा आएको छ । कार्यसम्पादन समितिको असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको विषय त्यो निर्णयमा लेखाइएको थियो । तर यो बैठकमा संसद पुनःस्थापनाको विषय एजेण्डामा आएको छैन । तर संसद पुनःस्थापनाको विषयमा पछिल्लो दिनमा केही केन्द्रिय सदस्यहरुले बोलिरहनु भएको छ । संसद पुनःस्थापनाबाट मात्रै हामी समाधान जानसक्छौँ । संसद पुनस्थापना गरेर फेरि केही संविधान संसोधन गरेर नागरिक सरकार नै भएछ भने पनि त्यसरी जानुपर्छ भन्ने खालको केही धाराणा त्यसरी पनि आएको छ । तर यो बीचमा केन्द्रिय समितिले निर्वाचन समितिको विषय हामी निर्वाचनमा भाग लिने की नलिने भन्ने विषयमा पनि अनेक टिकाटिप्पणी भइरहँदाखेरी केन्द्रिय समितिको बैठकमा भने संविधान अफ्ठ्योरोमा छ ।’

उनले भने, ‘संविधानको बाटो लिगबाट बाहिर छ, त्यसलाई फेरि लिगमा ल्याउन पनि चुनावमा चाँही जानुपर्छ । चुनावबाट निर्वाचित भएर आएको जुन संसद छ, त्यसले नै यो संविधानलाई ट्रयाकमा ल्याउन सक्छ । जित्ने हार्ने आफ्नो ठाउँमा छ तर निर्वाचनमा जानुपर्छ भन्ने मत पार्टीभित्र सघन रुपमा उठेको छ ।’ नेता शिवाकोटीले केन्द्रिय समितिमा निर्वाचनमा जाने आवाज बलियो बन्दै गए पनि पार्टीको १५ औँ महाधिवेशनमा भने विवाद रहेको बताए । महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्नेमा केन्द्रिय सदस्यहरुमा मदभेद रहेको उनको भनाई छ । महाधिवेशनमा मतभेद रहे पनि निर्वाचनको सन्दर्भमा भने एकमत रहेको उनले जानकारी दिए ।

उनले भने, ‘केन्द्रिय समितिको बैठकमा चुनाव अगाडि महाधिवेशन गनुपर्छ भन्ने पनि र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने पनि जसले जे जे भने पनि दुवैले चुनावमा चाहीँ जानुपर्छ, भाग लिनुपर्छ भन्ने आईरहेको छ । संसद पुनःस्थापना नै भयो भने फेरि एउटा कानूनी प्रक्रियामा छ, अदालतको प्रोसेसमा छ, त्यसकारण त्यो एउटा पाटो हुदाँहुँदै यदि त्यो अदालतको निर्णय जे आओस् । अदालतको निर्णय संसद विघटनको पक्षमा नै रहेछ भने पनि चुनावमा जानुपर्छ भन्नेमा एउटा मत त्यहाँभित्र बनिरहेको छ । त्यो मत बन्दै गर्दा पार्टीको महाधिवेशनमा चाहीँ पक्ष र विपक्ष बनिरहेको छ ।’

तीन धारमा विभाजित देउवा समूह
सभापति शेरबहादुर देउवा निकट नेताहरुबीच पनि आगामी महाधिवेशनको समयबारे तीन धार देखिएको नेता शिवाकोटीले जानकारी दिए । उनकाअनुसार केहीले फागुन २१ मा तोकिएको निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने, केहीले निर्वाचनपछि गर्नुपर्ने र केहीले बीचको बाटो खोज्नुपर्ने मत राखेका छन् । संस्थापनइतरको पक्ष भने निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने संस्थापन इतर पक्षको माग छ । विशेष गरी शेखर कोइराला र महामन्त्री गगन थापा पक्षधरका नेताहरुले महाधिवशेन गरेर निर्वाचनमा जानुपर्नेमा एकमत छन् । विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।

त्यसैको आधारमा अहिले पार्टीभित्र नियमित वा विशेष महाधिवेशन पुस २९ भित्रै गर्नुपर्ने दबाब तीब्र बनेको नेता शिवाकोटीले बताए । यसमा संस्थापन पक्ष भने तीन धारमा विभाजित भएको हो । उनले भने, ‘त्यहाँ पार्टी सभापति शेरबहादुर देउवा निकट रहेको टीममा भने तीन धार देखिन्छ । एउटा फागुन २१ मा घोषणा भएको चुनाव अगाडि महाधिवेशन गर्नुपर्छ भन्ने, एउटा चुनाव पछाडि जानुपर्छ भन्ने र अर्को होइन बीचको बाटो निकाल्नु पर्छ भन्ने छ ।’ संस्थापन पक्षका २६ जना केन्द्रिय सदस्य चुनाव अगाडि महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको उनले बताए । अझै ५२ जनाले बोल्न बाँकी रहेकोले महाधिवेशनको विषय साझा निष्कर्षकै रुपमा बाहिर आउने उनको भनाई छ ।

नियमित नभए विशेष महाधिवेशन हुने
महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको दफा १७ (२) अनुसार ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन टार्न नसकिने अवस्था आएको शिवाकोटीले बताए । उनले मंसिरभित्रमा नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरे । संसद पुनस्थापना होस् वा चुनाव नै होस्, दुवै अवस्थामा पुस २९ भित्र नियमित वा विशेष महाधिवेशन गर्ने उनको भनाई । कार्यवाहक सभापति र मुख्यसचिवले हस्ताक्षर दर्ता गरिसकेकाले त्यसलाई बेवास्ता गर्न नमिल्ने उनको दाबी छ। ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार मंसिरमा नियमित महाधिवेशन गर्न नसकेको पुसमा विशेष महाधिवेशन गर्नुपर्ने शिवाकोटीले बताए ।

उनले भने, ‘विशेष महाधिवेशनको प्रस्ताव पार्टीको विधानको दफा १७ (२) मा टेकेर आएको छ । ५५ प्रतिशतले जुन हस्ताक्षर बुझाएका छन् । कार्यवाहक सभापतिले बुझ्नु भएको छ, मुख्यसचिवले दर्ता गर्नुभएको छ, त्यो डकुमेन्टलाई इग्नोर गर्न मिल्दैन । त्यसकारण संसद पुनःस्थापना गरेको शर्तमा होस् अथवा संसद पुनःस्थापना नभएर चुनावमा भएकै शर्तमा होस्, दुवै शर्तमा यो पटक पुस २९ भन्दा अगाडी महाधिवेशन गर्नुको विकल्प छ्रैन । त्यो नियमित गर्नुस्, नियमित नै सही, पार्टीको तर्फवाट केन्द्रिय समितिले निर्णय गरोस्, आफ्नै प्रस्तावको रुपमा अन गरेर विशेष महाधिवेशन त्यो नै सही । त्यो नभएको अवस्थामा ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अर्थमा भएपनि त्यसमा नै सही । कुनैपनि मुल्यमा नियमित तथा विशेष महाधिवेशन पुस २९ भित्र गर्नुपर्छ ।’
उनले केन्द्रिय समितिले सर्वसम्वत रुपमा महाधिवेशन गर्ने निर्णय गर्ने विश्वास व्यक्त गरे । विधानको विपरित कोही पनि जान नसक्ने उनको भनाई छ ।

गालीगलौज गर्ने प्रवृत्ति बढ्यो
नेता शिवाकोटीले केन्द्रिय समितिको बैठकमा अमर्यादित हर्कत भएको पनि बताए । पार्टीका व्यक्ति विशेष गाली लगौज, टिकाटिप्पणी भएको उनको भनाई छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्तक्षेप गनुपर्ने अवस्था समेत बैठकमा सिर्जना भएको उनले जानकारी दिए । उनले कार्यसम्पादनको आधारमा आलोचना गर्न पाइने भए पनि व्यक्तिगत रुपमा निन्दा गर्न नमिल्ने बताए । उनले बैठकमा निन्दा र आलोचना छुट्याउन नसकेको पाइएको उल्लेख गरे । उनले पार्टी सदस्यहरुलाई अनुशासन सिकाउन आवश्यक रहेको बताए । उनले भने, ‘गाली र निन्दा फरक कुरा हो । व्यक्तिगत रुपमा टिका टिप्पणी हुने, कार्यसम्पादनसँग लिएर टिकाटिप्पणी हुने, तपाईको त्यसमा आलोचना गर्न पाइन्छ, आलोचना एउटा कुरा हो निन्दा फरक कुरा हो । आचोलना र निन्दा छुट्याउन नसकेर केन्द्रिय समितिमा साथीहरु प्रस्तुत भइरहनु भएको छ ।’ उनले पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि गालीगलौज गरेर चर्चामा आउने प्रवृत्ति बढेको उल्लेख गरे । यसले समाजलाई नकारात्मक असर पार्ने उनको भनाई छ ।

कांग्रेस मुख्यालय सानेपामा नाराबाजीपछि युवाको तालाबन्दी {तस्वीरहरु}

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (४० बर्षमुनि) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्वद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।

उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतको नारा लगाएका छन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भुवन भट्टले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नव युवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताए । समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताए ।

उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताए । कांग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिए । तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरे । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँच बिना प्रवेश रोकिएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काँग्रेस केन्द्रिय समिति बैठक जारी (तस्बिरसहित)

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । दिउँसो साढे १ बजेबाट शुरु भएको बैठकमा महाधिवेशनबारे विशेष छलफल हुनेछ ।

साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ । दशैँपछिबाट शुरु भएको केन्द्रिय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो । नेताहरुले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रका शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर जानुभएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।

विधिको शासन बलियो बनाउन आग्रह गर्दै कांग्रेस नेता प्रदिप पौडेलको चार बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश अन्यौलमा परेको छ । राजनीतिक शून्यताको यस परिस्थितिलाई चिर्दै लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन तथा देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न हामी सबै एकजुट हुन आवश्यक छ ।’

राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धिको मार्गमा मुलुकलाई लैजान विशेष इतिहास निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यो संवेदनशील समयमा देशलाई शान्ति र प्रगतिको मार्गमा फर्काउन संयम, संवाद र एकताको खाँचो औंल्याएका छन् ।

‘अहिलेको यस संकटको क्षणलाई हामी सबै मिलेर राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने समय आएको छ,’ पूर्वमन्त्री समेत रहेका पौडेलले भनेका छन्, ‘राष्ट्रिय एकता, संयमता र संवादको माध्यमबाट युवाहरूको भावनाबमोजिम वर्तमानमा निकास खोज्न र लोकतान्त्रिक नेपालको यात्रालाई सुनिश्चित गर्न संविधान र विधिको शासन भित्र रहेर समस्याको समाधान गर्न सम्माननीय राष्ट्रपति, सम्पूर्ण जेन जी युवाहरू तथा सबै राजनीतिक दलहरू र नागरिक समाजमा हार्दिक अनुरोध गर्दछु ।’

यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले थालेको संवाद तथा वार्ताको पहल स्वागतयोग्य रहेको भन्दै उनले सबै पक्षलाई संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । साथै, सुरक्षा निकायहरूले शान्ति स्थापनाका लागि गरिरहेको कार्यमा सहयोगका लागि आमनागरिक, समाज, सञ्चार जगत तथा सम्बन्धित सबै पक्षसँग अपेक्षा पनि गरेका छन् ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा नयाँ मुलुक निर्माणमा एकताबद्ध भई जुट्न नेपाली कांग्रेसका देशभरका नेता तथा कार्यकर्ता सबैमा हार्दिक अपील गर्दछु ।

मुलुकलाई तत्काल निकास दिन नेपाली कांग्रेसको बैठक आयोजना गरेर अन्तरिम सरकारको गठन, संविधान संशोधन लगायतका विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव समेत उनले गरेका छन् ।

संविधान संशोधन गरी राज्यको पुर्नसंरचना गर्ने र अनावश्यक प्रावधानहरू खारेज गर्नुपर्ने उनको प्रस्ताव छ । उदाहरणका लागि उनले प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्व हुने गरी सबै सांसदहरू प्रत्यक्ष निर्वाचित हुने १०५ जनाको संसद बनाउने, प्रदेशमा विद्यमान सांसद संख्या आधा कायम गर्ने, स्थानीय तहको संख्या घटाएर ५० प्रतिशतमा झार्ने, संघीय मन्त्रिपरिषद् १५ सदस्यीय बनाउने र प्रदेशको बढीमा ५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

पछिल्लो समय उत्पन्न भएको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा तत्काल भर्चुअल वा भौतिक रूपमा पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरी राष्ट्रिय सरकार गठन तथा मुलुकको विद्यमान समस्या समाधानका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने पनि उनले बताएका छन् ।

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा भेटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

देउवा निवासमा आगोको मुस्लो, सुनियो गोली चलेको आवाज

काठमाडौं । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन् । ठूलो संख्याका प्रदर्नशकारी उनका विरूद्ध नाराबाजी पनि गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा धुँवाको ठूलो मुस्लो आइरहेको छ । तीन–चार राउन्ड गोलीको आवाज सुनिएको स्थानीयले जानकारी दिएका छन् । जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका छन् ।

प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

 

कांग्रेस पार्टी कार्यालयमा लगाइयो आगो, गगन थापाको घर अगाडि ढुंगामुढा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगो लगाइएको छ । आन्दोलनमा उत्रिएका आक्रोशित जेनजीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् । यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।

 

पार्टी बैठकमा गृहमन्त्रीले भने-नैतिकताका आधारमा राजीनामा दिन्छु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी कांग्रेस पदाधिकारी बैठकमा गराएका छन् । उनको राजीनामा आजै आउने सम्भावना रहेको एक पदाधिकारीले जानकारी दिएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।