कांग्रेस मुख्यालय सानेपामा नाराबाजीपछि युवाको तालाबन्दी {तस्वीरहरु}
काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (४० बर्षमुनि) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्वद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो ।
उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतको नारा लगाएका छन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भुवन भट्टले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नव युवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताए । समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताए ।
उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताए । कांग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिए । तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरे । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँच बिना प्रवेश रोकिएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

